अध्याय ३

1 मेरा भाइहरू हो, धेरै जना शिक्षक बन्‍नु हुँदैन । हामी यो जान्‍दछोे, कि हामी, शिक्षा दिनेहरूको अझ धेरै कडा इन्साफ हुनेछ । 2 किनकि हामी धेरै किसिमले ठेस खान्छौं। यदि कोही वचनमा ठक्‍कर खाँदैन भने, त्यो पूर्ण रूपमा परिपक्‍व मानिस हो, जसले त्यसको सारा शरीरलाई नै नियन्‍‍त्रण गर्न सक्छ । 3 आज्ञा पालन गराउनको निम्ति अब यदि हामीले घोडाहरूका मुखमा लगाम लगायौं भने, हामीले त्यसका सारा शरीरलाई नै नियन्‍‍त्रण गर्न सक्छौं । 4 पानी जहाजहरूलाई ख्याल गर, तिनीहरू धेरै ठुला हुन्छन् र तिनीहरू तेज बतासले चलाइँदा पनि धेरै सानो पतवारद्वारा चालकले जहाँ लैजान चाहन्छ त्यो त्यहीं लगिन्छ । 5 त्यसै गरी, जिब्रो पनि शरीरको एउटा सानो अङ्ग हो, तरै पनि त्यसले ठुला कुराहरूको शेखी गर्छ । ख्याल गर, एउटा सानो आगोको झिल्कोले कसरी ठुलो जङ्गलमा डढेलो लगाउँछ । 6 जिब्रो पनि आगो नै हो, हाम्रा शरीरका अङ्गहरूमध्ये यो अधर्मको दुनियाँ नै हो । जिब्रोले सम्पूर्ण शरीरलाई अशुद्ध तुल्याउँछ र जीवनको मार्गमा आगो लगाउँछ । नरकद्वारा यो आफैं आगोले सल्किएको छ । 7 किनकि सबै किसिमका जङ्‍गली जनावरहरू, चराचुरुङ्गीहरू, घस्रने जन्तुहरू, र समुद्रमा भएका प्राणीहरूलाई वशमा राखिएको छ र ती मानव-जातिद्वारा नै वशमा राखिएको छ । 8 तर कुनेे मानिसले पनि जिब्रोलाई वशमा राख्‍न सक्देेन । यो घातक विषले भरिएको र नियन्‍‍त्रण गर्न नसकिने दुष्‍ट हो । 9 यही जिब्रोले हामी प्रभु र पिताको प्रशंसा गर्छौं, र यसैले हामी परमेश्‍वरको स्वरूपमा बनाइएका मानिसहरूलाई सराप्छौं । 10 एउटै मुखबाट आशिष् र सराप निस्किन्छन् । मेरा भाइहरू हो, यस्ता कुराहरू हुनुहुँदैन । 11 के एउटा छहराको मुखबाट त्यसले मिठो र तितो पानी दुवै निकाल्छ र? 12 मेरा भाइहरू हो, के अन्जीरको बोटले जैतून फलाउँछ र? वा दाखको बोटले अन्जीर फलाउँछ? न त नुनिलो पानीले मिठो पानी निकाल्न सक्छ । 13 तिमीहरूका माझमा बुद्धिमान् र समझदार को छ? त्यस व्यक्‍तिले बुद्धिको नम्रतामा आफ्ना कामहरूद्वारा एउटा असल जीवन जिएर देखाओस् । 14 तर यदि तिमीहरूको हृदयमा तितो ईर्ष्‍या र अभिलाषा छ भने, सत्यको विरुद्धमा शेखी नगर र झुटो नबोल । 15 यो माथिबाट तल आउने विवेक होइन । बरु, यो त सांसारिक, अनात्मिक र शैतानिक हो । 16 किनकि जहाँ ईर्ष्‍या र अभिलाषा हुन्छ, त्यहाँ भ्रम र हरेक किसिमको दुष्‍ट काम हुन्छ । 17 तर स्वर्गबाट आउने विवेकचाहिं सर्वप्रथम शुद्ध हुन्छ, त्यसपछि शान्तिप्रिय, कोमल, प्रतिक्रियाशील, कृपा र असल फलले पूर्ण, निष्पक्ष र निष्कपट हुन्छ । 18 अनि धार्मिकताको फलचाहिं शान्ति कायम गर्नेहरूका माझमा शान्तिमा छरिएको छ ।