अध्याय ४

1 तिमीहरूका माझमा झगडा र विवाद कहाँबाट आउँछ? के त्यो तिमीहरूका सदस्यहरूका बीचमा लडन्त गर्ने तिमीहरूका अभिलाषाहरूबाट आउँदैनन् र? 2 तिमीहरू इच्छा गर्छौ, र तिमीहरूसँग हुँदैन । तिमीहरू हत्या गर्छौ र लालच गर्छोे, र तिमीहरू प्राप्‍त गर्न सक्षम हुँदैनौ । तिमीहरू लड्छौ र झगडा गर्छौ । तिमीहरूसँग छैन किनभने तिमीहरू माग्दैनौ । 3 तिमीहरू माग्छौ र पाउँदैनौ किनभने तिमीहरूले आफ्ना अभिलाषाको निम्ति प्रयोग गर्न सकियोस् भनेर खराब नियतले माग्छौ । 4 तिमी व्‍यभिचारीहरू हो! संसारसितको मित्रता परमेश्‍वरको विरुद्धमा भएको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन? त्यसकारण जसले संसारको मित्र हुने इच्छा गर्छ, त्यसले आफैंलाई परमेश्‍वरको शत्रु बनाउँछ । 5 वा के तिमीहरू ठान्छौ कि धर्मशास्‍‍त्रले व्यर्थमा भन्छ, “उहाँले हामीमा बास गर्न लगाउनुभएका आत्मा अत्यन्तै डाही हुनुहुन्छ।” 6 तर परमेश्‍वरले अझ बढी अनुग्रह दिनुहुन्छ, यसैकारण धर्मशास्‍‍त्रले भन्छ, “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ ।” 7 त्यसकारण परमेश्‍वरमा आफैंलाई समर्पण गर । शैतानको विरोध गर, र त्यो तिमीहरूबाट भाग्‍नेछ । 8 परमेश्‍वरको नजिक आओ, र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ । ए पापीहरू हो, तिमीहरूका हात सफा पार, र ए दोमनका मानिसहरू हो, तिमीहरूका हृदय शुद्ध पार । 9 दुःखी होओ; विलाप गर; र रोओ! तिमीहरूका हाँसो दुःखमा र तिमीहरूको आनन्द निराशामा परिणत होस् । 10 प्रभुको सामु आफैंलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई माथि उठाउनुहुनेछ । 11 भाइहरू हो, एक अर्काको विरुद्धमा नबोल । कुनै एक जना भाइको विरुद्धमा बोल्ने वा आफ्नो भाइको न्याय गर्ने व्यक्‍तिले व्यवस्थाको विरुद्धमा बोल्छ र व्यवस्थाको न्याय गर्छ । यदि तिमीहरू व्यवस्थाको न्याय गर्छौ भने, तिमीहरू व्यवस्थालाई पालन गर्नेहरू हुँदैनौ, तर न्यायकर्ता पो हुन्छौ । 12 व्यवस्था दिने र न्यायकर्ता एक जना मात्र हुनुहुन्छ । बचाउन र नाश गर्न सक्‍नुहुने उहाँ मात्र एक हुनुहुन्छ । आफ्नो छिमेकीको इन्साफ गर्ने तिमीहरू को हौ? 13 अब सुन, तिमीहरू जसले भन्छौ, “आज वा भोलि हामी यो सहरभित्र प्रवेश गर्नेछौं, र त्यहाँ एक वर्ष बिताउनेछौं र व्यापार गरेर नाफा कमाउनेछौं। " 14 भोलि के हुनेछ, र तिम्रो जीवन कस्तो छ भन्‍ने कुरा कसलाई थाहा छ? किनकि तिमीहरू त तुवाँलो हौ जुन केही समय देखा पर्छ र त्यसपछि हराइहाल्छ । 15 यसको साटो तिमीहरूले यस्तो भन्‍नुपर्छ, “यदि प्रभुले इच्छा गर्नुभयो भने, हामी जिउनेछौं र यो वा त्यो गर्नेछौं ।” 16 तर अहिले तिमीहरू आफ्ना अभिमानी योजनाहरूका विषयमा शेखी गरिरहेका छौ । यस्ता सबै शेखी खराब हुन् । 17 त्यसकारण जसले भलाइ गर्न जानेर पनि भलाइ गर्दैन भने त्यो त्यसको निम्ति पाप हुन्छ ।