अध्याय २

1 मेरा भाइहरू हो, केही मानिसहरूप्रति पक्षपात गर्दै महिमाका प्रभु हाम्रा प्रभु येशू ख्रीष्‍टमा तिमीहरूले विश्‍वास नगर । 2 मानोें कि कोही मानिस तिमीहरूको सभामा सुनका औंठीहरू र राम्रा-राम्रा लुगाहरू लगाएर प्रवेश गर्‍यो र त्यहाँ एउटा गरिब मानिस पनि फोहोर पहिरनमा प्रवेश गर्‍यो । 3 यदि तिमीहरूले त्यस राम्रा-राम्रा लुगा लगाएको मानिसतर्फ हेर्छौ र “कृपया यहाँ यस राम्रो स्थानमा बस्‍नुहोस्” भनेर भन्छौ, तर तिमीहरूले त्यस गरिब मानिसलाई “तँ यहीं उभी” वा “मेरो पाउनेर बस्” भनेर भन्छौ भने, 4 के तिमीहरूले आफ्‍नेे बीचमा न्याय गरिरहेका छैनौ र? के तिमीहरू दुष्‍ट विचारहरू भएका न्यायकर्ताहरू बनेनौ र? 5 मेरा प्रिय भाइहरू हो, सुन, के परमेश्‍वरले संसारका गरिबहरूलाई विश्‍वासमा धनी हुनको निम्ति र उहाँलाई प्रेम गर्नेहरूका निम्ति उहाँले प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारीहरू हुनलाई चुन्‍नुभएन र? 6 तर तिमीहरूले गरिबहरूलाई अनादर गरेका छौ! के तिमीहरूमाथि दमन गर्ने धनीहरू नै होइनन् र? तिमीहरूलाई अदालतमा तानेर लैजाने तिनीहरू नै होइनन् र? 7 तिमीहरूलाई जुन असल नामद्वारा बोलावट भएको छ त्यसको तिनीहरूले अपमान गर्दैनन् र? 8 तथापि, यदि तिमीहरूले धर्मशास्‍‍त्रअनुसार “आफ्ना छिमेकीलाई आफूलाई झैं प्रेम गर” भन्‍ने राजकीय व्यवस्थालाई पूरा गर्छौ भने, तिमीहरूले असलै गर्छौ । 9 तर यदि तिमीहरूले कोही मानिसहरूप्रति भेदभाव देखायौ भने, तिमीहरूले पाप गरिरहेका हुन्छौ, र तिमीहरू व्यवस्थाद्वारा अपराधीको रूपमा दोषी ठहरिन्छौ । 10 किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ, तर एउटै कुरामा मात्र ठक्‍कर खान्छ भने, त्यो सम्पूर्ण व्यवस्थाको उल्लङ्घन गरेकोमा दोषी ठहरिन्छ । 11 किनकि जसले “व्यभिचार नगर” भनेर भन्‍नुभयो उहाँले “हत्या नगर” पनि भन्‍नुभयो । यदि तिमीहरूले व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरू व्यवस्थाको अपराधी भएका छोे । 12 यसकारण, स्वतन्‍‍त्रताको व्यवस्थाद्वारा न्याय हुनेहरूझैं गरी बोल र व्यवहार गर । 13 किनकि कृपा नदेखाउनेहरूमाथि कृपाविना नै न्याय आउँछ । कृपा न्यायमाथि विजयी हुन्छ । 14 मेरा भाइहरू हो, यदि कोही मानिसले त्यससित विश्‍वास छ भनी भन्छ तर त्यसले कुनै काम गर्दैन भने, त्यसबाट के लाभ? के त्यस विश्‍वासले त्यसलाई बचाउन सक्छ र? 15 मानोें कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र त्यसको निम्ति दैनिक भोजनको अभाव छ । 16 मानोें कि तिमीहरूमध्ये कसैले त्यसलाई “शान्तिसँग जाऊ, न्यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्छौ । यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिं तिनीहरूलाई दिंदैनौ भने, त्यसबाट के लाभ भयो र? 17 त्यसेेगरी यदि विश्‍वास पनि कामबिनाको छ भने त्यो मरेतुल्य हुन्छ । 18 तर पनि कसैले यसो भन्ला, “तिमीहरूसँग विश्‍वास छ, र मसँग कामहरू छन् ।” कामविना तिमीहरूको विश्‍वास मलाई देखाऊ र मैले मेरा कामहरूद्वारा आफ्नो विश्‍वास तिमीहरूलाई देखाउनेछु । 19 परमेश्‍वर एउटै हुनुहुन्छ भनेर तिमीहरू विश्‍वास गर्छौ; तिमीहरूले त्यो असल गर्छौ । तर भूतात्माहरूले पनि विश्‍वास गर्छन्, र तिनीहरू थरथर काम्छन् । 20 मूर्ख मानिस हो, के तिमी यो जान्‍न चाहन्छौ, कि कामविनाको विश्‍वास व्यर्थ हुन्छ? 1 21 जब हाम्रा पिता अब्राहामले वेदीमा आफ्ना पुत्र इसहाकलाई अर्पण गरे, के तिनी कामद्वारा नै धर्मी ठहरिएका थिएनन् र? 22 तिमीहरू देख्छौ, कि तिनका कामहरूसँगै विश्‍वासले कार्य गर्‍यो, र कामहरूद्वारा नै तिनको विश्‍वास पूर्ण भयो । 23 धर्मशास्‍‍त्रको यस्तो भन्‍ने वचन पूरा भयो, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र त्यो तिनको निम्ति धार्मिकता गनियो ।” र तिनी परमेश्‍वरको मित्र कहलिए । 24 तिमीहरू देख्छौ, कि कामद्वारा मानिस धर्मी ठहरिन्छ, विश्‍वासद्वारा मात्र होइन । 25 त्यसै गरी, राहाब वेश्याले पनि गुप्‍तचरहरूलाई स्वागत गरेर अर्कै बाटोबाट पठाइदिंदा, के तिनी कामद्वारा नै धर्मी ठहरिएकी थिइनन् र? 26 जसरी आत्मादेखि अलग हुँदा शरीर मर्छ, त्यसै गरी कामबाट अलग हुँदा विश्‍वास पनि मर्छ ।

1केही महत्वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिमा मूर्ख मानिस हो, के तिमी यो जान्‍न चाहन्छौ, कि कामविनाको विश्‍वास मृत हुन्छ ?