1 जब येशू डाँडाबाट तल जानुभयो, ठुला भिडहरू उहाँको पछि लाग्यो । 2 येशूले भिडहरूलाई छोड्नु भएपछि, छालाको रोग लागेको एकजना मानिस आयो र उहाँको सामु घुँडा टेक्यो । उसले येशूलाई भन्यो, “प्रभु, कृपया मलाई निको पार्नुहोस्, किनभने मलाई थाहा छ, यदि तपाईंले इच्छा गर्नुहुन्छ भने, तपाईंले मलाई निको पार्न सक्नुहुन्छ, ।” 3 तब येशूले आफ्नो हात बढाउनु भयो र त्यस मानिसलाई छुनुभयो । उहाँले त्यसलाई भन्नुभयो, “म तिमीलाई निको पार्न इच्छा गर्छु, र म तिमीलाई अहिले नै निको पार्छु !” तुरन्तै त्यो मानिस आफ्नो रोगबाट निको भयो । 4 त्यसपछि येशूले त्यसलाई भन्नुभयो, “मैले तिमीलाई निको परेको बारेमा पुजारीबाहेक अरू कसैलाई तिमीले खबर नगर्न पक्का गर । त्यसैले यरूशलेममा भएको मन्दिरमा जाऊ र मोशाले आज्ञा गरेको भेटी देऊ, यसरी मानिसहरूले यसको बारेमा जान्ने छन् । ” 5 जब येशू कफर्नहुम सहरमा जानुभयो, एकसय सिपाहीहरूमाथि आदेश दिने एकजना रोमी अधिकारी उहाँकहाँ आए । तिनले सहायताको निम्ति येशूमा विन्ती गरे । 6 तिनले उहाँलाई भने, “प्रभु, मेरो सेवक घरमा ओछ्यानमा थला पर्दै छ र पक्षघात भएको छ, र उसलाई असह्य पीडा छ । ” 7 येशूले तिनलाई भन्नुभयो, “म तिम्रो घरमा जाने छु र उसलाई निको पार्ने छु ।” 8 तर अधिकारीले उहाँलाई भने, “तपाईं मेरो घरमा आउनलाई म योग्यको छैन । त्यसको साटोमा, मेरो सेवक निको हुन्छ मात्र भन्नुहोस्, र त्यो निको हुने छ । 9 मसँग पनि त्यस्तै हुन्छ । म एक सिपाही हुँ; मैले आफ्ना अधिकारीहरूको आदेश मान्नुपर्छ, र मसँग पनि मैले आदेश दिने सिपाहीहरू छन् । जब म तिनीहरूमध्ये एकलाई ‘जाऊ !’ भन्छु, ऊ जान्छ । जब म अर्कोलाई ‘आऊ !’ भन्छु, ऊ आउँछ । जब म आफ्नो दासलाई ‘यो गर !’ भन्छु, उसले त्यो गर्छ ।” 10 जब येशूले यो सुन्नुभयो, उहाँ आश्चर्यचकित हुनुभयो । उहाँसँगै हिंडिरहेको भिडलाई उहाँले भन्नुभयो, “यो कुरा सुन : यस गैर-यहूदी मानिसले जति ममा विश्वास गर्ने कुनै व्यक्ति मैले यस अघि कदापी भेट्टाएको छैन । इस्राएलमा पनि, जहाँ मानिसहरूले ममा विश्वास गरून् भनी म आशा गर्छु, मैले कुनै व्यक्ति भेट्टाएको छैन जसले ममा यति धेरै विश्वास गर्छ । 11 म सत्य भन्छु कि परमेश्वरले स्वर्गबाट हरेक कुरामाथि पूर्णरूपले राज्य गर्नुहुँदा धेरै अरू गैर-यहूदी मानिसहरूले ममा विश्वास गर्ने छन्, र तिनीहरू सुदुर पूर्व र सदुर पश्चिम लगाएत, टाढा-टाढा देशहरूबाट आउने छन्, र तिनीहरू अब्राहाम, इसहाक र याकूबसँग भोज खान बस्ने छन् । 12 तर यहूदीहरू जसमा परमेश्वरले राज्य गर्ने उदेश्य राख्नुभयो - उहाँले तिनीहरूलाई नरकमा फल्नुहुने छ, जहाँ पूर्ण अँध्यारो छ । तिनीहरूको पीडाको कारणले त्यहाँ तिनीहरू रुने छन्, र तिनीहरू आफ्ना दाह्राहरू किट्नेछन् किनभने तिनीहरूलाई असह्य पीडा हुने छ । ” 13 अनि येशूले त्यस अधिकरीलाई भन्नभयो, “घर जाऊ । तिमीले जे विश्वास गर्छौ त्यो हुने छ ।” त्यसपछि, ती अधिकरी घर गए र येशूले तिनको सेवकलाई निको पार्छु भन्नुभएको समयमा नै त्यो निको भएको भेट्टाए । 14 जब येशू र उहाँका चेलाहरूमध्ये कोही पत्रुसको घरमा जानुभयो, येशूले पत्रुसको सासूलाई देख्नुभयो । तिनी ओछ्यानमा थला परेकी थिइन् किनभने तिनलाई ज्वरो आएको थियो । 15 उहाँले तिनको हात छुनुभयो, तुरन्तै तिनलाई ज्वरो थिएन । अनि तिनी उठिन् र उहाँहरूलाई केही खाना पस्किन् । 16 त्यो साँझ जब विश्राम-दिन सकियो, भिडले धेरै मानिसहरूलाई येशूकहाँ ल्याए जसलाई दुष्ट आत्माहरूले अधीन गरेको थियो र अरू मानिसहरू जो बिरामी थिए । उहाँले दुष्ट आत्माहरूलाई हप्काएर तिनीहरूलाई भगाउनुभयो र उहाँले सबै मानिसहरूलाई निको पार्नुभयो जो बिरामी थिए । 17 जब उहाँले यसो गर्नुभयो, यशैया अगमवक्ताले जे लेखेका थिए, उहाँले पुरा गर्नुभयो, ‘उहाँले मानिसहरूलाई बिरामी हुनबाट मुक्त पार्नुभयो, र उहाँले तिनीहरूलाई स्वस्थ पार्नुभयो ।’ 18 येशूले आफ्नो वरिपरी भएको भिडलाई देख्नुभयो, उहाँलाई डुङ्गाद्वारा तालको अर्को किनारमा लैजान उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो । 19 जसै उहाँहरू डुङ्गातिर जाँदै हुनुहुन्थ्यो, यहूदी व्यवस्था सिकाउने एकजना मानिस उहाँकहाँ आए र भने, “गरुज्यू, तपाईं जहाँ जानुहुन्छ, म तपाईंसँगै जाने छु ।” 20 येशूले तिनलाई जवाफ दिनुभयो, “स्यालहरू बस्नलाई जमिनमा दुलाहरू छन्, र चराहरूका गुँडहरू छन्, तर म मानिसको पुत्र भए, तापनि मसँग घर छैन जहाँ म निदाउँन सक्छु ।” 21 येशूका चेलाहरूमध्ये अर्को एकजना मानिसले उहाँलाई भन्यो, “प्रभु, पहिले मलाई घर जाने अनुमति दिनुहोस् । मेरो बुबाको मृत्यु भएपछि, म उहाँलाई दफन गर्ने छु, र म त्यसपछि म तपाईंसँग आउने छु ।” 22 तर येशूले तिनलाई भन्नुभयो, “अहिले नै मसँग आऊ । मृतजस्ता मानिसहरूले नै तिनीहरूका आफ्ना मानिसहरूको मृत्युको प्रतिक्षा गरून् ।” 23 त्यसपछि येशू डुङ्गामा चढ्नुभयो र उहाँका चेलाहरू उहाँको पछि लागे । 24 अचानक पानीमा प्रचण्ड हावाहुरी चल्यो, र धेरै अग्ला छालहरू डुङ्गामा बजारिँदै र त्यसलाई भर्दै थिए । तर येशू निदाउँदै हुनुहुन्थ्यो । 25 तिनीहरू गए र उहाँलाई बिउँझाए, र उहाँलाई भने, “प्रभु, हामीलाई बचाउनुहोस् ! हामी डुब्न लाग्यौँ !” 26 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू डराउनु हुँदैन ! मैले तिमीहरूलाई बचाउन सक्छु भनेर तिमीहरू त्यति धेरै विश्वास गर्दैनौ ।” अनि उहाँ उठ्नुभयो र हावाहुरीलाई हप्काउनुभयो र छालहरूलाई शान्त हुन भन्नुभयो । तुरन्तै हावाहुरी चल्न बन्द भयो र पानी शान्त भयो । 27 मानिसहरू आश्चर्यचकित भए, र तिनीहरूले एक आपसमा भने, “यी मानिस निश्चितरूपमा एक असाधारण व्यक्ति हुन् ! सबै कुराहरू उहाँको नियन्त्रणमा छन् ! हावाहुरी र छालहरूले पनि उहाँका आज्ञा मान्छन् !” 28 जब तिनीहरू तालको पूर्वतर्फ आए, तिनीहरू गदरिनीहरू बस्ने क्षेत्रमा पुगे । त्यसपछि भूत आत्माहरूले नियन्त्रण गरेका दुईजना मानिसहरू तिनीहरू बस्दै गरेका दफनको चिहानबाट बाहिर आए । तिनीहरू अत्यन्त हिंसात्मक र मानिसलाई आक्रमण गर्ने भएका कारणले, कसैले पनि त्यो बाटोमा यात्रा गर्ने साहस गर्दैनथे । 29 अचानक तिनीहरू चिच्याउँदै येशूलाई भने, “तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ ! तपाईंको हामीसँग केही पनि सहभागिता नभएको कारणले हामीलाई हस्तक्षेप नगर्नुहोस् ! के परमेश्वरले हामीलाई दण्ड दिन तय गर्नुभएको समयभन्दा अघि नै हामीलाई सताउन तपाईं यहाँ आउनुभएको हो ?” 30 त्यहाँ नजिकै सुँगुरहरूको एउटा ठुलो बथान चर्दै थियो । 31 यसैले भूत आत्माहरूले येशूलाई विन्ती गरे र भने, “तपाईंले हामीलाई यी मानिसहरूबाट बाहिर निकाल्दै हुनुहुन्छ, यसैले हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस् !” 32 येशूले तिनीहरूलाई भन्नुभयो, “यदि तिमीहरू त्यस्तो इच्छा गर्छौ भने, जाओ !” यसैले भूत आत्माहरूले ती मानिसहरूलाई छाडे र सुँगुरहरूमा पसे । अचानक सुँगुरहरूकाो सम्पुर्ण बथान भिरालो किनारबाट तलतिर पानीमा दौडे र डुबेर मरे । 33 सुँगुरहरूका रेखदेख गर्दै रहेका मानिसहरू डराए र सहरतिर दौडे र भूत आत्माहरूले नियन्त्रण गरेका ती दुईजना मानिसहरूलाई जे भएको थियो त्यो लगाएत जे भएको थियो त्यो सबै कुरा खबर गरे । 34 तब त्यो सहरमा बसोबास गर्ने सबै मानिसहरू येशूलाई भेट्न गएको जस्तो देखिन्थ्यो । जब तिनीहरूले उहाँलाई र भूत आत्माहरूले नियन्त्रण गरेका ती दुईजना मानिसहरूलाई देखे, तब तिनीहरूको क्षेत्रलाई छोडेर जान तिनीहरूले येशूलाई विन्ती गरे ।