9

1 येशू र उहाँका चेलाहरू डुङ्गामा चढ्‍नुभयो । उहाँहरू तालमाथि यात्रा गर्नुभयो र उहाँ बसोबास गर्दै रहनुभएको कफर्नहुम सहरमा जानुभयो । 2 कोही मानिसहरूले पक्षघात भएर ओछ्‍यानमा थला परेको एकजना मानिसलाई उहाँकहाँ ल्‍याए । जब येशूले त्यस पक्षघात भएको मानिसलाई निको पार्न सक्‍नुहुन्छ भनी तिनीहरूले विश्‍वास गरेको उहाँले महसुस गर्नुभयो, तब उहाँले भन्‍नुभयो, “जवान मानिस, साहसी होऊ ! म तिम्रा पापहरू क्षमा गर्छु ।” 3 यहूदी व्यवस्था सिकाउने मानिसहरूमध्ये कसैले आफ्‍नो माझमा भने, “यो मानिस आफैँलाई परमेश्‍वर ठान्छ; उसले पापहरू क्षमा गर्न सक्दैन !” 4 तिनीहरूले के सोच्‍दै थिए भनी येशूले थाहा पाउनुभयो, यसैले उहाँले भन्‍नुभयो, “तिमीले दुष्‍ट विचाहरूर गर्नुहुँदैन ! 5 उसका पापहरू क्षमा भएका छन् भनी उसलाई भन्‍नु वा उसलाई उठ र हिंड भन्‍नु, कुनचाहिँ सजिलो छ ? 6 यसैले परमेश्‍वरले म, मानिसको पुत्रलाई पापहरू क्षमा गर्ने अधिकार दिनुभएको छ भनी तिमीहरूले जान भन्‍ने उदेश्‍यले म केही काम गर्न जाँदै छु ।” त्यसपछि उहाँले पक्षघात भएको मानिसलाई भन्‍नुभयो, “उठ, आफ्नो ओछ्‍यान उठाऊ र घर जाऊ !” 7 तुरन्तै त्यो मानिस उठ्‍यो, आफ्नो ओछ्‍यान उठायो र घर गयो ! 8 जब भिडहरूले यो देखे, तिनीहरू साह्रै भयभीत भए । मानिसहरूलाई यस्तो अधिकार दिनुभएकोमा तिनीहरूले परमेश्‍वरको प्रशंसा गरे । 9 जसै येशू यहाँबाट जाँदै हुनुहुन्थ्यो, उहाँले मत्ती नाम गरेको मानिसलाई देख्‍नुभयो । तिनी रोमी सरकारको लागि कर उठाउँने टेबलमा बस्‍दै थिए । येशूले तिनलाई भन्‍नुभयो, “मसँग आऊ र मेरो चेला होऊ !” यसैले मत्ती उठे र उहाँसँग गए । 10 येशू र उहाँका चेलाहरू भोजनको लागि एउटा घरमा बस्‍नुभयो । उहाँहरूले खादै गर्नुहुँदा, धेरै कर उठाउनेहरू र अरू व्‍यक्तिहरू आए र उहाँहरूसँग खाए । 11 जब फरिसीहरूले त्‍यो देखे, तिनीहरू चेलाहरूकहाँ गए र भने, “तिमीहरूका गुरूले कर उठाउनेहरू र तिनीहरूजस्तै अरू मानिसहरूसँग खाने र सम्बन्ध राख्‍ने काम अति घिनलाग्दो छ ।” 12 तिनीहरूले भनेका कुरा येशूले सुन्‍नुभयो, यसैले उहाँले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो; “बिरामी मानिसहरूलाई डाक्टरको जरुरत पर्छ, स्‍वस्‍थ मानिसहरूलाई पर्दैन । 13 परमेश्‍वरले भन्‍नुभएका यी वचनहरूको अर्थ के हो तिमीहरूले सिक्‍नु आवश्यक छः ‘तिमीहरूले बलिदानहरू मात्र चढाउने होइन, मानिसहरूसँग कृपापुर्णरूपमा व्‍यवहार पनि गर भन्‍ने म इच्‍छा गर्छु ।’ यो याद गर कि म तिमीहरूकहाँ आफूलाई धर्मी छु भनी विचार गर्ने मानिसहरूलाई, तिनीहरूको आफ्‍नो पापपुर्ण जीवनबाट फर्केर मकहाँ आउनलाई बोलाउन आएको होइन, तर आफैँलाई पापीहरू हुन् भनी जान्‍ने मानिसहरूलाई बोलाउन आएँ ।” 14 त्यसपछि बप्‍तिस्‍मा दिने यूहन्‍नाका चेलाहरू येशूकहाँ आए र उहाँलाई सोधे, “हामीहरू र फरिसीहरू प्रायः खानेकुराबाट अलग बस्छौं, किनकि हामी परमेश्‍वरलाई खुशी पर्न चाहन्छौँ तर तपाईंका चेलाहरूले त्यसो गर्दैनन् । तिनीहरू किन गर्दैनन् ?” 15 येशूले जवाफ दिनुभयो, “जब दुलाहाले विवाह गर्छन् तब तिनी आफ्‍ना मित्रहरूसित हुँदा ती मानिसहरूले शोक गर्दैनन्, गर्छन् र ? गर्दैनन्, किनभने त्यो समयमा तिनीहरू उदास हुँदैनन् । तर जब दुलाहले तिनीहरूलाई छोड्नुपर्छ, तिनीहरूले खानेकुराबाट अलग बस्‍ने छन्, किनभने तिनीहरू उदास हुने छन् । 16 एउटा पुरानो लुगाको प्‍वाल टाल्‍नलाई मानिसहरूले एउटा नखुम्‍चेको कपडाको टालो प्रयोग गर्दैनन् । यदि तिनीहरूले त्यसो गरे भने, जब तिनीहरूले लुगा धुन्छन्, त्‍यो टालो खुम्चिन्छ, र लुगा फाट्छ र त्‍यो प्वाल झनै ठुलो बन्छ । 17 न त कसैले ताजा दाखरसलाई राख्‍न पुरानो मशकहरूमा खन्याउँछन् । यदि कसैले त्यसो गर्‍यो भने, जब रस दाखमद्य बन्छ, तब ती मशकहरू फाट्छन् । मशकहरू नष्‍ट हुन्छन् र दाखमद्य भुईंमा पोखिन्छ । त्‍यसको साटोमा, मानिसहरूले नयाँ दाखरसलाई नयाँ मशकहरूमा राख्छन् र जब दाखरस मद्य बन्‍नलाई फैलिन्‍छ, मशहरू पनि तन्किने छन् । यसरी, दाखमद्य र मशकहरू दुवै सुरक्षित हुने छन् । 18 येशूले त्यसो भन्‍दै गर्नुहुँदा, सहरको एकजना अगुवा आए र उहाँको सामु घोप्‍टो परे । तब तिनले भने, “भर्खरै मेरी छोरीको मृत्‍यु भएको छ । तर यदि तपाईं आउनुभयो र तिनीमाथि तपाईंको हात राख्‍नुभयो भने, तिनी फेरि जीवित हुने छिन् !” 19 यसैले, येशू उठ्नुभयो, र उहाँ र चेलाहरू त्यो मानिससित जानुभयो । 20 त्यसपछि बाह्र वर्षदेखि निरन्तर रगत बगिरहेकोले दुःख पाएकी एकजना स्‍त्री येशूको नजीक आइन् । 21 तिनी पछाडिबाट आइन् र उहाँको वस्‍त्रको छेउलाई छोइन् । तिनी मनमनै भन्दै थिइन्, “यदि मैले उहाँको वस्‍त्रमात्र छोएँ भने पनि, म निको हुने छु ।” 22 तब उहाँलाई कसले छोयो भनी हेर्नलाई येशू पछाडि फर्कनुभयो । र जब उहाँले ती स्‍त्रीलाई देख्‍नुभयो, उहाँले तिनलाई भन्‍नुभयो, “सहसी होऊ, प्रिय नारी । मैले तिमीलाई निको पार्न सक्छु भनेर तिमीले विश्‍वास गरेकी हुनाले मैले तिमीलाई निको पारेको छु ।” त्यसै क्षणमा ती स्‍त्री निको भइन् । 23 येशू त्यस मानिसको घरमा आउनुभयो र बाँसुरी बादकहरूले अन्‍त्येष्‍टिको सङ्गीत-धुन बजाउँदै गरेको देख्‍नुभयो; त्यहाँ धेरै शोक-सन्‍तप्‍त मानिसहरू पनि ठुलो स्‍वरले विलाप गर्दै थिए किनकि त्‍यो केटीको मृत्‍यु भइसकेको थियो । 24 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाऊ र यो अन्‍त्येष्‍टिको सङ्गीत-धुन र विलाप वन्‍द गर, किनकि यो केटीको मृत्‍यु भएको छैन । तिनी निदाएकी मात्र छिन् !” मानिसहरूले उहाँको उपहास गरे, किनकि तिनको मृत्‍यु भएको तिनीहरूलाई थाहा थियो । 25 तर येशूले तिनीहरूलाई घरबाहिर निस्‍कन भन्‍नुभयो । त्यसपछि उहाँ कोठाभित्र जानुभयो, जहाँ केटीलाई सुताइएको थियो । उहाँले तिनको हातलाई समात्‍नुभयो र तिनी फेरि जीवित भइन् र उठिन् । 26 तब त्यहाँका सम्पूर्ण क्षेत्रका मानिसहरूले यस कुराको बारेमा सुने । 27 जसै येशू त्यहाँबाट जानुभयो, दुईजना दृष्‍टविहीन मानिसहरू उहाँको पछि लागे र चिच्‍याए, “तपाईं, दाऊद राजाका सन्तान, हामीमाथि कृपा गर्नुहोस् र हामीलाई निको पार्नुहोस् !” 28 येशू घरभित्र जानुभयो, र तब दृष्‍टिविहीन मानिसहरू पनि भित्र गए । येशूले तिनीहरूलाई भन्‍नुभयो, “के म तिमीहरूलाई निको पार्न सक्छु भनी तिमीहरू विश्‍वास गर्छौ ?” तिनीहरूले उहाँलाई भने, “गर्छौं, प्रभु !” 29 त्यसपछि येशूले तिनीहरूको आँखालाई छुनुभयो र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूका आँखालाई निको पार्न सक्छु भनी तिमीहरूले विश्‍वास गरेको कारणले म ती अहिले नै निको पार्दै छु !” 30 र तिनीहरूले देख्‍न सक्‍ने भए ! तब येशूले तिनीहरूलाई कडारूपमा भन्‍नुभयो, “मैले तिमीहरूका निम्‍ति जे गरेको छु त्‍यो तिमीहरुले कसैलाई नभन्‍नु !” 31 तर तिनीहरू बाहिर गए र त्यो सम्पूर्ण क्षेत्रमा त्‍यो समाचार फैलाए । 32 जब ती दुई मानिसहरू जाँदै थिए, केही मानिसहरूले एकजना बोल्न नसक्‍ने मानिसलाई येशूकहाँ ल्‍याए किनभने त्‍यो दुस्‍ट आत्माको अधीनमा थियो । 33 येशूले भूतलाई निकाल्‍नु भएपछि त्यो मानिस बोल्न सुरु गर्‍यो ! भीडहरूले यो देखे र तिनीहरू छक्‍क परे र भने, “हामीले यसअघि इस्राएलमा योभन्‍दा अचम्मको कुनै कुरा भएको कहिल्यै पनि देखेको थिएनौं !” 34 तर फरिसीहरूले भने, “यो दुष्‍ट आत्‍माहरूमाथि राज्‍य गर्ने शैतान हो, जसले मानिसहरूबाट भूतहरू निकाल्नलाई यस मानिसलाई सक्षम बनाउँछ ।” 35 त्‍यसपछि येशू र उहाँका चेलाहरू गालील जिल्लाको धेरै सहरहरू र नगरहरूमा जानुभयो । उहाँ सभाघरहरूमा सिकाउँदै हुनुहुन्थ्यो र परमेश्‍वरले कसरी स्‍वर्गबाट राज्‍य गर्नुहुने छ भन्‍ने बारेमा सुसमाचार प्रचार गर्दै हुनुहुन्थ्यो । उहाँले मानिसहरूलाई निको पनि पार्दै हुनुहुन्थ्यो जोसँग अनेकौं रोगहरू र बिमारहरू थिए । 36 जब उहाँले मानिसहरूको भिडहरूलाई देख्‍नुभयो, उहाँले तिनीहरूलाई दया गर्नुभयो किनकि तिनीहरू उदास र चिन्तित थिए । तिनीहरू गोठालो नभएका भेंडाहरूजस्ता थिए । 37 त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयोः “मेरो सन्देश ग्रहण गर्न तयार हुने मानिसहरू एउटा खेतबारीजस्तो हो जहाँ अन्‍नहरू कटानी गर्नलाई तयार छन् । तर अन्‍नहरू जम्मा गर्न जानलाई मानिसहरू धेरै छैनन् । 38 यसैले, प्रार्थना गर र उहाँका अन्‍नहरू जम्मा गर्नलाई अरूे धेरै मानिसहरू पठाउनलाई परमप्रभु परमेश्‍वरसँग विन्ती गर ।