1 तिमीले कति पापपूर्णरूपमा काम गरेको छौ भनी परमेश्वरले भन्नुहुने छैन भन्ने हेतुले अरूहरूले कति पापपूर्णरूपमा काम गरेका छन् भन्ने कुरा नगर । 2 यदि तिमीले अरू मानिसहरूलाई दोष लगाउँछौ भने, परमेश्वरले पनि तिमीलाई दोष लगाउनुहुने छ । तिमीले अरूहरूलाई जति दोष लगाउँछौ, तिमीलाई पनि त्यति नै दोष लगाइने छ । 3 अरू कसैका सा-साना कमजोरीहरूका बारेमा तिमीहरूमध्ये कसैले पनि चिन्ता लिनुहुँदैन ! त्यो त त्यस व्याक्तिको आँखामा भएको एउटा सानो कसिङ्गरलाई देखेजस्तो हुन्छ । तर तिम्रा आफ्नै ठुल्ठुला कमजोरीहरूका बारेमा तिमीले चिन्ता गर्नुपर्छ किनभने तिमीले आफ्नै आँखामा भएको काठको एउटा ठुलो फल्याकलाई देख्दैनौ । 4 जब तिम्रो आफ्नै आँखामा काठको एउटा ठुलो फल्याक छ भने, तिमीले अरू मानिसहरूका सा-साना कमजोरीहरूका बारेमा तिनीहरूलाई भन्नुहुँदैन, ‘मलाई तिम्रो आँखाबाट कसिङ्गर हटाउन देऊ !’ 5 यदि तिमीले त्यसो गर्छौ भने, तिमी एक कपटी हौ ! अरू कसैको आँखाबाट कसिङ्गरलाई बाहिर निकाल्ने कोसिस गर्नुअघि तिमीले पहिला आफ्नै आँखाबाट काठको त्यो ठुलो फल्याकलाई हटाउनुपर्छ ।” 6 “परमेश्वरको कुराहरू तिमीहरूलाई आक्रमण गर्ने कुकुरहरूलाई तिमीहरू नदेऊ । र बहूमूल्य मोतीहरूलाई तिमीहरूले घिनलाग्दा सुँगुरहरूको अघि नफाल, किनभने तिनीहरूले तीमाथि कुल्चिन्छन् । यसरी नै, परमेश्वरको बारेमा भएका अति राम्रा कुराहरू ती मानिसहरूलाई नभन जसले त्यसको बदलामा तिमीहरूको खाराबी गर्ने छन् भन्ने तिमीहरूलाई थाहा छ । 7 “तिमीहरूलाई जे आवश्यक छ त्यो परमेश्वरसँग निरन्तर मागिरहो, र उहाँले त्यो तिमीहरूलाई दिनुहुने छ भनी आशा गरिरहो । 8 किनभने हरेक जसले परमेश्वरसँग केही कुरा माग्छ, र जसले त्यो उहाँले उसलाई दिनुहुन्छ भनी आशा गर्छ, उसले त्यो पाउने छ । 9 यदि तिमीहरूका छोराले तिमीहरूसँग रोटी माग्यो भने, तिमीहरूमध्ये कसैले पनि उसलाई ढुङ्गा दिंदैनौ, दिन्छौ र ? 10 यदि तिमीहरूका छोराले तिमीहरूसँग माछा माग्यो भने, तिमीहरूमध्ये कसैले पनि उसलाई सर्प दिंदैनौ, दिन्छौ र ? 11 तिमीहरू दुष्ट भए तापनि, कसरी आफ्ना छोराछोरीलाई असल कुराहरू दिनुपर्छ भनी तिमीहरू जान्दछौ । यसैले, स्वर्गमा हुनुहुने तिमीहरूका पिता परमेश्वरले उहाँसँग माग्नेहरूलाई अझ बढी निश्चितरूपमा असल कुराहरू दिनुहुने छ । 12 यसैले अरूहरूले जसरी तिमीहरूप्रति व्यवहार गरून् भनी तिमीहरू इच्छा गर्छौ, त्यसरी नै तिमीहरूले पनि तिनीहरूप्रति व्यवहार गर्नुपर्छ, किनभने परमेश्वरको व्यवस्था र अगमवक्ताहरूले धेरै अघि लेखेका हरेक कुराको अर्थ त्यही नै हो । 13 “स्वर्गमा हुनुहुने परमेश्वरसँग सदासर्वदा बास गर्न जानु कठिन छ; यो एउटा कठिन बाटो जस्तो हो जसमा तिमीहरू हिंड्नुपर्छ । अर्को बाटो पनि छ, जसमा धेरै मानिसहरू हिंड्छन् । 14 त्यो बाटो फराकिलो छ; एउटा फराकिलो द्वारमा नपुगेसम्म तिनीहरू त्यसमा हिंडिरहन्छन्, तर जब तिनीहरू त्यसबाट भित्र जान्छन्, तब तिनीहरू मर्ने छन् । यसैले म तिमीहरूलाई भन्दै छु, स्वर्गमा हुनुहुने परमेश्वरसँग सदासर्वदा बास गर्नलाई कठिन बाटो हिंड र साँगुरो द्वारभित्र पस ।” 15 त्यस्ता मानिसहरूसँग होशियार रहो जो तिमीहरूकहाँ आउँछन् र झुट बोलेर भन्छन् कि परमेश्वरले जे भन्नुभएको छ त्यो तिनीहरूले तिमीहरूलाई भन्दै छन् । तिनीहरू सिधासादाजस्तो देखा पर्नलाई आफैँलाई भेडाको छालाले ढाकेका ब्वाँसाहरू जस्ता हुन्छन् तर तिमीहरूलाई आक्रमण गर्छन् । 16 रूखहरूले उब्जाउने फल हेरेर, ती कस्ता रूखहरू हुन् त्यो तिमीहरू जान्दछौ । काँडाको झाङ्ले अंगुरहरू उब्जाउँदैन र सिउँडीहरूले अञ्जीरहरू उब्जाउँदैन, यसैले काँडाको झाङ्बाट अंगुरहरू वा सिउँडीहरूबाट अञ्जीरहरू टिप्ने कुरा कसैले सोच्दैन । 17 यहाँ अर्को उदाहरण छ∶ फलका असल रुखहरू सबैले असल फल उब्जाउँछन्, तर सडेका रूखहरू सबैले काम नलाग्ने फल उब्जाउँछन् । 18 कुनै पनि फलको असल रूखले काम नलाग्ने फल उब्जाउँदैन, र कुनै पनि सडेको रूखले असल फल उब्जाउँदैन । 19 असल फल नउब्जाउने सबै रूखहरूलाई कामदारहरूले काटेर ढाल्छन् र जलाउँछन् । 20 वोटबिरुवाको उब्जनी हेरेर, तिनीहरू कस्ता किसिमका वोटबिरुवा हुन् भनी तिमीहरू जान्दछौ । त्यसरी नै, तिमीहरूकहाँ आउने मानिसहरूले जे गर्छन् त्यसलाई तिमीहरूले हेर्दा, तिनीहरूले साँच्चै नै असल उब्जनी दिन्छन् कि दिंदैनन् भनी तिमीहरू जान्दछौ । 21 धेरै मानिसहरूले तिनीहरूसँग मेरो अधिकार छ भन्ने बहाना गर्ने बानी परेकाले मलाई प्रभु भन्छन्, तापनि, तिनीहरूमध्ये कसैमा परमेश्वरले स्वर्गबाट राज्य गर्न सहमत हुनुहुने छैन , किनभने उहाँले जे इच्छा गर्नुहुन्छ त्यो तिनीहरूले गर्दैनन् । मेरो पिता जे इच्छा गर्नुहुन्छ त्यो गर्नेहरूमा मात्र उहाँले राज्य गर्न सहमत हुनुहुने छ । 22 परमेश्वरले हरेकको न्याय गर्ने दिनमा, धेरैले मानिसहरूले मलाई भन्ने छन्, ‘प्रभु, हामीले तपाईंका प्रतिनिधिहरू भएर परमेश्वरको वचन प्रचार गर्यौँ ! तपाईंकाो प्रतिनिधिहरू भएर हामीले भुत आत्माहरूलाई मानिसहरूबाट निकाल्यौँ ! र तपाईंका प्रतिनिधिहरू भएर हामीले धेरै पल्ट शक्तिशाली कामहरू गर्यौँ !’ 23 तब म तिनीहरूलाई खुल्लारूपले भन्ने छु, ‘तिमीहरू मेरा हौ भनेर मैले कदापी स्वीकार गरिन । तिमीहरू जसले दुष्ट काम गर्छौ, मबाट हटेर जाऊ !’” 24 यसैले, म जे भन्छु त्यो सुन्ने र म जे आज्ञा गर्छु त्यो मान्ने कुनै पनि व्यक्ति चट्टानमाथि आपनो घर बनाउने एउटा बुद्धिमान मानिसजस्तो हुने छ । 25 पानी पर्यो र नदीमा बढी आयो, र हावाहुरि चल्यो र त्यस घरमा ठोकियो, तापनि त्यो घर ढलेन किनभने त्यो एउटा मजबुत चट्टानमाथि बनाइएको थियो । 26 अर्कोतर्फ, म जे भन्छु त्यो सुन्ने तर मेरो आज्ञा नमान्ने कुनै पनि व्यक्ति आफ्नो घर बालुवामाथि बनाउने एउटा मूर्ख मानिसजस्तो हुने छ । 27 जब पानी पर्यो, र नदीमा बढी आयो, हावाहुरि चल्यो र त्यो घरमा ठोकियो, त्यो घर ढल्यो र भत्केर पूर्णरूपमा टुक्रा-टुक्रा भयो, किनभने त्यो बालुवामाथि बनाइएको थियो । यसैले मैले जे तिमीहरूलाई भनेको छु त्यो तिमीहरूले मान्नुपर्छ ।” 28 जब येशूले ती सबै कुराहरू सिकाएर सक्नुभयो, तब भिडहरू जसले उहाँको शिक्षा सुनेका थिए, उहाँले जसरी सिकाउनु भयो त्यसमा चकित भए । 29 उहाँले एउटा शिक्षकले जस्तै सिकउनुभयो जो आफैँले जानेको कुरामा भर पर्छ । यहूदी व्यवस्था सिकाउनेहरूले जस्तो गरी उहाँले सिकाउनुभएन, जसले अरू मानिसहरूले सिकाएका विभिन्न कुराहरू दोहोर्याउँथे ।