1 अर्को बिहान सबेरै सबै मुख्य पुजारीहरू र यहूदी अगुवाहरूले येशूलाई मृत्युदण्ड दिनलाई कसरी रोमीहरूलाई मनाउने भन्ने बारेमा निर्णय गरे । 2 त्यसपछि तिनीहरूले उहाँका हातहरू बाँधे र उहाँलाई रोमी गवर्नर पिलातसकहाँ लगे । 3 त्यसपछि येशूलाई मार्नैपर्छ भनी तिनीहरूले निर्णय गरेका थिए भन्ने कुरा येशूलाई धोका दिने यहूदाले महसुस गर्यो । यसैले उसले जे गरेको थियो त्यसप्रति पश्चातापले व्याकुल भयो । उसले तीसवटा सिक्काहरू मुख्य पुजारीहरू र अगुवाहरूकाहाँ फिर्ता लग्यो । 4 उसले भन्यो, “मैले पाप गरेको छु । मैले निर्दोष मानिसलाई धोका दिएको छु ।” तिनीहरूले जवाफ दिए, “त्यो कुराले हामीलाई कुनै अर्थ राख्दैन ! त्यो तेरो समस्या हो !” 5 यसैले यहूदाले पैसा लियो र त्यसलाई मन्दिरको चोकमा फाल्यो । त्यसपछि ऊ गयो र आफैं झुण्डिएर मर्यो । 6 मुख्य पुजारीहरूले ती सिक्काहरू उठाए र भने, “यो हामीले एकजना मानिसलाई मार्न तिरेको पैसा हो, यस्तो पैसा मन्दिरको कोषमा राख्न हाम्रो व्यवस्थाले हामीलाई अनुमति दिंदैन ।” 7 यसैले तिनीहरूले त्यो पैसाले कुमालेको खेत भनिने जमीन किन्ने प्रयोग गर्ने निर्णय गरे । तिनीहरूले त्यो खेतलाई यरूशलेममा मृत्यु हुने परदेशीहरू दफन गर्ने ठाउँ बनाए । 8 त्यसकारण त्यो ठाउँलाई अझै पनि, “रगतको खेत” भनिन्छ ।” 9 त्यो खेत किनेर, यार्मिया अगमवक्ताले धेरै अघि लेखेका यी वचनहरू तिनीहरूले पूरा गरेः “तिनीहरूले तीसवटा चाँदीका सिक्काहरू लिए – उहाँको मूल्य त्यति नै हो भनी इस्राएलका अगुवाहरूले निर्णय गरे -- 10 र त्यो पैसाले तिनीहरूले कुमालेको खेत किने । परमप्रभुले मलाई आज्ञा गर्नुभए झैं तिनीहरूले त्यसो गरे ।” 11 त्यसपछि येशू गवर्नरको सामु खडा हुनुभयो । गवर्नरले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हुँ भनी भन्छौ ?” येशूले जवाफ दिनुभयो, “हो, तपाईंले भर्खरै भन्नुभए जस्तै हो ।” 12 तर मुख्य पुजारीहरू र अगुवाहरूले येशूलाई धेरै किसमका खराब कामहरू गरेको आरोप लगाउँदा पनि, उहाँले जवाफ नै दिनु भएन । 13 यसैले पिलातसले येशूलाई भने, “तिम्रो बारेमा तिनीहरूले कति धेरै आरोपहरू लगाउँदैछन् सो तिमी सुन्दैछौ; के तिमी जवाफ दिने छैनौ ?” 14 तर येशूले कुनै कुरा पनि बोल्नभएन । तिनीहरूले उहाँलाई जे कुराहरूका बारेमा आरोपहरू लगाउँदै थिए, उहाँले कुनैको पनि जवाफ दिनु भएन । परिणामस्वरूप, गवर्नर धेरै अचम्ममा परे । 15 निस्तार-चाडको उत्सवको समयमा प्रत्येक वर्ष कैदमा रहेको एकजना व्यक्तिलाई छोड्ने गवर्नरको प्रचलन थियो । मानिसहरूले जुन कैदीलाई छोडिदिउन् भनी इच्छा गर्थे, तिनले त्यसैलाई छोड्थे । 16 त्यो समयमा यरूशलेममा एकजना बारब्बा नाम गरेका प्रख्यात कैदी थियो । 17 यसैले जब भीड जम्मा भयो, पिलातसले तिनीहरूलाई सोधे, “तिमीहरूका निम्ति म कुनचहीं कैदीलाई छोडुँ भन्ने तिमीहरूको इच्छा छः बारब्बा वा येशू, जसलाई तिनीहरूले ख्रीष्ट भन्दछन् न?” 18 मुख्य पुजारीहरूले येशूको ईर्ष्या गरेको कारणले मात्र तिनीहरूले उहाँलाई तिनीकाहाँ ल्याएका हुन् भन्ने तिनलाई लागेको हुनाले नै तिनले त्यो प्रश्न सोधे । र भीडले येशूलाई छोड्ने कुरा रोज्छन् भन्ने विचार पिलातसलाई भयो । 19 पिलातस न्यायको आशनमा बसेकै समयमा, तिनकी पत्नीले यो सन्देश पठाइनः “त्यस मानिसको कारण आज सबेरै मैले एउटा नराम्रो सपना देखें । यसैले त्यो धर्मी मानिसलाई दोषी नठहराउनुहोस् !” 20 तर मुख्य पुजारीहरू र अगुवाहरूले बारब्बालाई छोड्न, र येशूलाई मृत्युदण्ड दिन पिलातससँग अनुरोध गर्न भीडलाई मनाए । 21 यसैले गवर्नरले तिनीहरूलाई सोधे, “यी दुईजना मानिसहरूमध्ये कुनचाहींलाई मैले तिमीहरूका लागि छोडुँ भन्ने तिमीहरूको इच्छा छ ?” तिनीहरूले जवाफ दिए, “बारब्बा !” 22 पिलातस तिनीहरूलाई सोधे, “यसैले येशूलाई म के गरूँ जसलाई तिमीहरूमध्ये कसैले ख्रीष्ट भन्छौ ?” तिनीहरू सबैले जवाफ दिए, “त्यसलाई क्रुसमा झुण्डाउन तपाईंका सिपाहीहरूलाई आदेश दिनुहोस् !” 23 पिलातसले जवाफ दिए, “किन ? उसले के अपराध गरेको छ ?” तर तिनीहरूले झन् ठूलो स्वरले कराए, “त्यसलाई क्रुसमा झुण्डाउनुहोस् !” 24 पिलातसले केही गर्न नसकेको महसुस तिनलाई भयो । उल्टै मानिसहरूले हिंसा भड्काउँदै गरेको तिनले देखे । यसैले भीिडले हेर्दै गरेको अवस्थामा, तिनले पानी भएको एउटा बाटा लिए र आफ्ना हातहरू धोए । तिनले भने, “मैले आफ्ना हातहरू धोएर म तिमीहरूलाई यो देर्शाउँदैछु कि यो मानिस मर्छ भने, यो तिमीहरूको दोष हो, मेरो होइन !” 25 र सबै मानिसहरूले जवाफ दिए, “त्यसलाई मार्न दोष लगाएको निम्ति हामी दोषी छौं र हाम्रा छोराछोरीमा पनि त्यसको दोष लागोस् !” 26 त्यसपछि तिनीहरूका निम्ति बारब्बालाई छोड्ने आदेश तिनले सिपाहीहरूलाई दिए । तर येशूलाई कोर्रा लगाउन आफ्ना सिपाहीहरूलाई तिनले आदेश दिए । र त्यसपछि तिनीहरूका निम्ति येशूलाई क्रुसमा काँटीमा झुण्डाउनलाई तिनले येशूलाई सिपाहीहरूका हातमा सुम्पिदिए । 27 त्यसपछि गवर्नरका सिपाहीहरूले येशूलाई सिपाहीहरूको अड्डामा लगे । उहाँको वरिपरी सारा पल्टन नै जम्मा भए । 28 तिनीहरूले उहाँका वस्त्र ताने र उहाँलाई राजाको बाहाना बनाएर चहकिलो रातो वस्त्र उहाँलाई लगाइदिए । 29 काँडा भएका केही हाँगाहरू तिनीहरूले लिए र मुकुट बनाउनलाई ती बुने र त्यो उहाँको शिरमा लगाइदिए । राजाले समाउने राजदण्ड जस्तै तिनीहरूले उहाँको दाहिने हातमा नर्कटको एउटा लौरो राखिदिए । त्यसपछि तिनीहरू उहाँको सामु घुँडा टेके र उहाँलाई यसो भन्दै गिज्याए, “यहूदीहरूका राजालाई प्रणाम !” 30 तिनीहरूले उहाँलाई थुकिरहे । तिनीहरूले लौरो लिए र त्यसले उहाँको टाउकोमा हिर्काइरहे । 31 जब तिनीहरूले उहाँको गिल्ला गरिसके, तब तिनीहरूले वस्त्र फुकाले र उहाँको आफ्नै वस्त्र लगाइदिए । त्यसपछि तिनीहरूले उहाँलाई त्यो ठाउँमा लिएर गए जहाँ तिनीहरूले उहाँलाई क्रुसमा काँटीमा झुण्डाउँछन् । 32 येशूले आफ्नो क्रुसलाई अलिपरसम्म बोकेपछि, सिपाहीहरूले सिमोन नाम गरेको एकजना मानिसलाई देखे जो कुरेनी सहरबाट आएका थिए । तिनीहरूले उनलाई येशूको निम्ति क्रुस बोकिदिन जवरजस्ती गरे । 33 तिनीहरू गलगथा भन्ने ठाउँमा आइपुगे । त्यो नाउँको अर्थ “एउटा खप्पर जस्तो ठाउँ” भन्ने हुन्छ । 34 जब तिनीहरू त्यहाँ पुगे, तिनीहरूले दाखमद्यमा असाध्ये तितो हुने केही कुरा मिसाए । तिनीहरूले त्यो पिउनलाई येशूलाई दिए, जसले गर्दा तिनीहरूले उहाँलाई क्रुसमा काँटीमा झुण्डाउँदा उहाँलाई धेरै दुख्दैन । तर जब उहाँले यो चाख्नुभयो, उहाँले यो पिउन इन्कार गर्नुभयो । केही सिपाहीहरूले उहाँको वस्त्र लिए । 35 त्यसपछि तिनीहरूले उहाँलाई क्रुसमा काँटीमा झुण्डाए । त्यसको लगत्तै, प्रत्येकले कुन टुक्रा पाउनेछ भनी निर्णय गर्नलाई गोटीजस्तै केही कुराले चिट्ठा हानेर तिनीहरूले उहाँका वस्त्रहरूलाई आफ्नो माझमा भाग लगाए । 36 त्यसपछि कसैले उहाँलाई बचाउने कोसिस गर्नबाट रोक्नलाई सिपाहीहरू उहाँको सुरक्षा गर्दै त्यहाँ बसे । 37 क्रुसमा येशूको शिरमाथि तिनीहरूले संकेत झुण्डाए जसमा तिनीहरूले उहाँलाई किन क्रुसमा काँटीमा झुण्डाउँदै थिए भनी लेखिएको थियो । तर लेखिएकोचाहीं यही थियो, “यो यहूदीहरूको राजा येशू हो ।” 38 तिनीहरूले दुईजना डाँकुहरूलाई पनि क्रुसहरूमा काँटीमा झुण्डाए । तिनीहरूले एउटा क्रुसलाई येशूको दायाँपट्टी र अर्कोलाई बायाँपट्टी राखे । 39 हिंड्दै गरेका मानिसहरूले आफ्ना शिरहरू हल्लाउँदै उहाँ एकजना दुष्ट मानिस भएझैं उहाँको अपमान गरे । 40 तिनीहरूले भने, “तिमीले भन्यौ कि तिमीले मन्दिरलाई भत्काउँछौ र त्यसलाई फेरि तीन दिनमा बनाउँछौ ! यसैले तिमीले त्यो गर्न सक्छौ भने, तिमीले आफैंलाई बचाउन सक्नुपर्छ ! तिमी परमेश्वरका पुत्र हौ भने, क्रुसबाट तल आऊ !” 41 त्यसरी नै, मुख्य पुजारीहरू, यहूदी व्यवस्थाका शिक्षकहरू र अगुवाहरूले उहाँको गिल्ला गरे । तिनीहरूले यस्ता कुराहरू भने, 42 “उसले अरूहरूलाई तिनीहरूका विमारीहरूबाट बचायो, तर उसले आफैंलाई मद्दत गर्न सक्दैन !” “उसले भन्छ कि ऊ इस्राएलका राजा हो । यसैले ऊ क्रुसबाट तल आउनुपर्छ । त्यसपछि हामी उसमा विश्वास गर्छौं ! ” 43 “उसले भन्छ कि उसले परमेश्वरमा विश्वास गर्छ र ऊ एकजना त्यस्तो मानिस हो जो आफैं परमेश्वर पनि हो । यसैले परमेश्वर उसँग खुशी हुनुहुन्छ भने, परमेश्वरले उसलाई अहिले नै बचानुपर्छ !” 44 र उहाँसँगै क्रुसमा भएका दुईजना डाकुहरूले पनि त्यस्तै कुराहरू भनेर उहाँको अपमान गरे । 45 मध्यदिनमा सारा देशभरि अन्धकार भयो । यो अन्धकार दिउँसो तीनबजेसम्म नै रह्यो । 46 करीब तीन बजे येशू जोडले चिच्याउनु भयो, “एलि एलि लामा सबखथानी ?” त्यसको अर्थ, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, मलाई किन त्याग्नुभएको छ ?” 47 जब त्यहाँ खडा भएका केही मानिसहरूले “एली’ भन्ने शब्द सुने, उहाँले एलिया अगमवक्तालाई बोलाउँदै हुनुहुन्छ भनी तिनीहरूले विचार गरे । 48 तिनीहरूमध्ये एकजना तुरून्तै दौड्यो र एउटा स्पन्ज लिएर आयो । उसले त्यसलाई अमीलो दाखमद्यमा चोप्यो । तब उसले त्यो स्पन्जलाई एउटा लौरोको टुप्पामा राख्यो र येशूले त्यसमा भएको दाखमद्य चुस्न सक्नुभएको होस् भन्ने उदेश्यले त्यो माथि उचाल्यो । 49 तर त्यहाँ भएका अरू मानिसहरूले भने, “पर्ख ! हामी हेरौं कतै तिनलाई बचाउन एलिया आउँछन् कि !” 50 त्यसपछि येशूले फेरि ठूलो स्वरले कराउनु भयो, आफ्नो आत्मा परमेश्वरलाई दिंदै उहाँ मर्नु भयो । 51 त्यही क्षणमा मन्दिरको महापवित्र स्थानलाई अलग गर्ने धेरै बाक्लो पर्दा माथिदेखि तलसम्म दुई भाग भएर च्यातियो । पृथ्वी थरथर काँप्यो र केही ठुला चट्टानहरू टुक्राटुक्रा भए । 52 चिहानहरू खुल्ला भए, र परमेश्वरलाई आदर दिएका धेरैजना मानिसहरूको मृत शरीरहरू फेरि जीवित भए । 53 तिनीहरू चिहानबाट बाहिर आए, र येशू फेरि जीवित हुनुभएपछि, तिनीहरू यरूशलेममा गए र त्यहाँ भएका धेरैजना मानिसहरूकहाँ देखा परे । 54 येशूलाई क्रुसमा काँटीमा झुण्डाउने सिपाहीहरूका निरीक्षण गरेको अधिकारी नजीकै खडा थिए । क्रुसहरूका सुरक्षा गर्दै गरेका तिनका सिपाहीहरू पनि त्यहीं थिए । जब तिनीहरूले भू-कम्पको महसुस गरे र हुन आएका सबै घटनाहरू देखे, तब तिनीहरू भयभित भए । तिनीहरूले चकित भएर भने, “साँच्चै नै यिनी त परमेश्वरका पुत्र रहेछन् !” 55 त्यहाँ धेरैजना स्त्रीहरूले टाढैबाट हेर्दै थिए । येशूलाई खाँचो पर्ने कुराहरूको प्रवन्ध गर्नको लागि यी स्त्रीहरू उहाँसगै गालीलदेखि आएका थिए । 56 यी महिलाहरू मध्येमा मरियम मग्दलिनी, र याकूब र योसेफकी आमा अर्की मरियम र याकूब र यूहन्नाकी आमा थिए । 57 जब साँझ पर्नै लाग्यो, योसेफ नाउँ गरेका एकजना धनी मानिस त्यहाँ आए । तिनी अरिमाथिया नगरबाट आएका थिए । तिनी पनि येशूका एकजना चेला नै थिए । 58 तिनी पिलातसकहाँ गए र येशूको शरीरलाई लैजान र त्यसलाई दफन गर्न आफूलाई अनुमति दिन पिलातससित बिन्ति गरे । 59 यसैले योसेफ र अरूहरूले शरीर लिए र त्यसलाई एउटा सेतो कपडामा बेह्रे । 60 तब तिनीहरूले उहाँको मृत शरीरलाई योसेफको आफ्नै नयाँ चिहानमा राखे, जसलाई कामदारहरूले ठाडो चट्टान खोपेर बनाएका थिए । चिहानको प्रवेशद्वारमा तिनीहरूले एउटा ठूलो गोलो च्याप्टो ढुंगा गुडाइदिए । त्यसपछि तिनीहरू गए । 61 मरियम मग्दलिनी र अर्की मरियम चिहानको अर्कोपट्टि बसेर हेर्दै थिए । 62 अर्को दिन शनिवार, यहूदीहरूको विश्राम-दिन थियो । मुख्य पुजारीहरू र फरिसीहरूमध्ये कोही पिलातसकहाँ गए । 63 तिनीहरूले भने, “सर, त्यो छली जीवित छँदा, त्यसले भनेको कुरा हामीलाई याद छ, उसले भन्यो, ‘म मरेको तीन दिनपछि फेरि जीवित हुनेछु ।” 64 यसैले सिपाहीहरूलाई तीन दिनसम्म त्यो चिहानको सुरक्षा गर्ने आदेश दिनुहोस् भनी हामी तपाईंलाई बिन्ति गर्छौं । तपाईंले त्यसो गर्नुभएन भने, उसका चेलाहरू आउलान् र उसको शरीर चोर्लान् । त्यसपछि तिनीहरूले मानिसहरूलाई भन्नेछन् कि ऊ मृत्युबाट जीवित भएको छ । तिनीहरूले मानिसहरूलाई त्यसो भनेर छल गरे भने, उसले पहिले मानिसहरूलाई छल गरेको भन्दा त्यो झन् नराम्रो हुनेछ । 65 पिलातसले जवाफ दिए, “तिमीहरूले केही सिपाहीहरू लाैन सक्छौ । चिहानमा जाओ र त्यसलाई तिमीहरूले सकेसम्म सुरक्षित बनओ ।” 66 यसैले तिनीहरू गए र चिहानलाई सुरक्षित बनाउन प्रवेशद्वारमा राखिएको डुंगालाई चट्टानको हरेक दिशातर्फ बलियो लठ्ठाले बाँधे र त्यसलाई छाप लगाए । तिनीहरूले चिहानको सुरक्षा गर्नलाई केही सिपाहीहरूलाई पनि त्यहाँ राखे ।