1 शबाथ सकिएपछि, आइतबार बिहान सबेरै, मरियम मग्दलिनी र अर्की मरियम येशूको चिहान हेर्नलाई गए । 2 त्यहाँ एउटा ठुलो भूकम्प गयो किनभने परमेश्वरका एउटा दूत स्वर्गबाट आए । तिनी चिहानमा गए र ढुङ्गालाई प्रविशद्वारबाट गुडाएर हटाइदिए । तब तिनी त्यो ढुंगामा बसे । 3 तिनको शरीर बिजुली चम्केको जस्तै चहकिलो थियो र तिनका वस्त्रहरू हिउँ जस्तै सेता थिए । 4 पहरेदारहरू डरले थरथर कामे, र तिनीहरू मरेका मानिस जस्तै भएर जमीनमा ढले । 5 त्यो स्वर्गदूतले ती दुईजना स्त्रीलाई भने, “तिमीहरू डराउनु हुँदैन ! मलाई थाहा छ कि तिमीहरू येशूलाई खोज्दैछौ, जो क्रुसमा काँटीमा झुण्डाइनुभएको थियो । 6 उहाँ यहाँ हुनुहुन्न ! येशूले तिमीहरूलाई भन्नुभए जस्तै परमेश्वरले उहाँलाई फेरि जीवित बनाउनुभएको छ ! आओ र उहाँको शरीर राखिएको ठाउँलाई हेर ! 7 यसपछि तरून्तै जाओ र उहाँका चेलाहरूलाई भन, ‘उहाँ मृत्युबाट जीवित हुनुभएको छ ! उहाँ तिमीहरूभन्दा अगाडि गालील जिल्लामा जानुहुनेछ । तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ ।’ मैले तिमीहरूलाई भनेका कुरामा ध्यान देओ !” 8 यसैले ती स्त्रीहरूले तुरून्तै त्यो चिहान छाडेर गए । तिनीहरू डराएका थिए, तर तिनीहरू धेरै अनन्दित पनि थिए । जे भएको थियो त्यो कुरा भन्नलाई तिनीहरू चेलाहरूकहाँ दौडे । 9 तिनीहरू दौडँदै गर्दा, अचानक येशू तिनीहरूकहाँ देखा पर्नुभयो । उहाँले भन्नुभयो, “तिमीहरूलाई अभिवादन !” स्त्रीहरू उहाँको नजीक आए । तिनीहरूले घुँडा टेके र उहाँका पाउ समाते र उहाँको आराधना गरे । 10 तब येशूले तिनीहरूलाई भन्नुभयो, “नडराओ ! जाओ र मेरा चेलाहरूलाई भन कि तिनीहरू गालीलमा जानुपर्छ । तिनीहरूले मलाई त्यहाँ देख्नेछन् ।” 11 ती स्त्रीहरू जाँदै गर्दा, त्यो चिहानको सुरक्षा गरिरहेका केही सिपाहीहरू सहरमा गए । हुन आएका हरेक घटनाहरू तिनीहरूले मुख्य पुजारीहरूलाई बताए । 12 यसैले मुख्य पुजारीहरू र यहूदी अगुवाहरू एकसाथ भेला भए । त्यो चिहान किन रित्तो भयो भनी बताउनलाई तिनीहरूले एउटा उपाय सोचे । तिनीहरूले ती सिपाहीहरूलाई घुसको रूपमा धेरै पैसा दिए । 13 तिनीहरूले भने, “मानिसहरूलाई भन, ‘त्यसका चेलाहरू रातको समयमा आए र हामी सुतिरहेको बेला त्यसको शरीर चोरे ।’ 14 गवर्नरले यसको बारेमा सुने भने, तिनी नरिसाउन् र तिमीहरूलाई दण्ड नदिऊन् भनेर हामी आफैं पक्का गर्नेछौं । यसैले तिमीहरूले चिन्ता गर्नुपर्दैन ।” 15 यसैले ती सिपाहीहरूले त्यो पैसा लिए र तिनीहरूलाई सिकाइएझैंँ गरे । र आजको दिनसम्मै यहूदीहरूका माझमा यही वर्णन दिइएको छ । 16 पछि एघारजना चेलाहरू गालीलमा गए । येशूले तिनीहरुलाई जानू भनी आज्ञा दिनुभएको डाँडामा तिनीहरू गए । 17 तिनीहरूले उहाँलाई त्यहाँ देखे र उहाँको आराधना गरे । तर कसैले उहाँ साँच्चै येशू नै हुनुहुन्थ्यो र उहाँ फेरी जीवित हुनुभएको थियो भन्ने कुरामा शङ्का गरे । 18 तब येशू तिनीहरूको नजीक आउनुभयो र भन्नुभयो, “मेरा पिताले मलाई स्वर्गमा र पृथ्वीमा भएका हरेक कुरा र हरेक व्यक्तिमाथि सबै अधिकार दिनुभएको छ । 19 यसैले जाओ, र सबै मानिसहरूका समूहहरूमा भएका सबै मानिसहरूलाई मेरो शन्देस प्रचार गर्नलाई मेरो अधिकारलाई प्रयोग गर जसले गर्दा तिनीहरू मेरा चेलाहरू हुन सकून् । पिता, पुत्र र पवित्र आत्माको अधिकारमा हुनलाई तिनीहरूलाई बप्तिस्मा देओ । 20 मैले तिमीहरूलाई आज्ञा दिएका हरेक कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । र यो याद राख कि यस युगको अन्त्यसम्म नै सधैंभरि म तिमीहरूका साथमा हुनेछु ।”