26

1 येशूले ती सबै कुराहरू भनेर सक्‍नुभएपछि, उहाँले चेलाहरूलाई भन्‍नुभयो, 2 “तिमीहरूलाई थाहा छ कि अबको दुई दिनमा हामीहरू निस्तार-चाड मनाउनेछौं । त्यो समयमा कसैले मानिसको पुत्रलाई तिनीहरूका हातमा सुम्‍पिदिनेछ जसले उसलाई क्रुसमा काँटीमा झुण्‍डाउनेछन् ।” 3 त्यसै समयमा मुख्य पुजारीहरू र यहूदी अगुवाहरू प्रधान पुूजारीको घरमा भेला भए जसको नाम कैयाफा थियो । 4 कुनै छली किसिमले कसरी तिनीहरूले येशूलाई गिरफ्‍तार गर्न सक्‍छन् भनी त्यहाँ तिनीहरूले योजना गरे, जसले गर्दा तिनीहरूले उहाँलाई मृत्युदण्ड दिन सक्‍थे । 5 तर तिनीहरूले भने, “हामीले यो कुरा निस्तार-चाडको समयम गर्नुहुँदैन, किनभने हामीले त्‍यसो गर्‍यौं भने, मानिसहरूले हिंसा भड्‍काउन सक्छन् ।” 6 येशू र उहाँका चेलाहरू बेथानियामा हुँदा, उहाँहरूले सिमोनको घरमा खाना खानुभयो, जसलाई येशूले कुष्‍ठ रोगबाट निको पार्नुभएको थियो । 7 खानाको समय, एकजना स्‍त्री त्यस घरमा आइन् । तिनले धेरै महंगो सुगन्धित अत्तर भएको ढुङ्गाको एउटा सुन्‍दर भाँडो समातेकी थिइन् । येशूले खाँदैगर्दा तिनी उहाँकहाँ गइन् र उहाँको शिरमा सबै अत्तर खन्याइन् । 8 जब चेलाहरूले त्यो देखे, तिनीहरू साह्रै रिसाए । तिनीहरूमध्ये एकजनाले भने, “यो अत्तरलाई व्‍यर्थमा नाश गर्नु अत्‍यन्तै नराम्रो कुरा हो ! 9 हामीले यसलाई बिक्री गर्न र त्‍यसबाट धेरै पैसा बनाउन सक्‍थ्‍यौं । त्यसपछि त्यो पैसा हामीले गरीब मानिसहरूलाई दिन सक्‍थ्‍यौं ।” 10 तिनीहरू के भन्‍दै थिए त्‍यो येशूलाई थाहा थियो, यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले यी स्‍त्रीलाई दुःख दिनुहुँदैन । यिनले मेरो निम्ति सुन्दर काम गरेकी छिन् ।” 11 यो कुरा मनमा राख कि गरीब मानिसहरू तिमीहरूको माझमा सधैंभरि हुनेछन्, यसैले जब तिमीहरूले इच्छा गर्छौ तब तिमीहरूले तिनीहरूलाई सहायता गर्न सक्छौ । तर म तिमीहरूसँग सधैंभरि रहनेछैन !” 12 यिनले यो सुगन्धित अत्तर मेरो शरीरमा खन्याउँदा, यो यस्तो लाग्‍थ्‍यो कि यिनलाई थाहा थियो कि म चाँडै नै मर्न जाँदैछु । र यो यस्तो लाग्‍छ कि यिनले मेरो शरीरलाई दफनको निम्ति अभिषेक गरेकी थिइन् । 13 म तिमीहरूलाई यो भन्‍नेछुः सारा संसारमा जहाँजहाँ मानिसहरूले मेरो बारेमा सुसमाचार प्रचार गर्छन्, यी स्‍त्रीले जे गरेकी छन् त्‍यो तिनीहरूले भन्‍नेछन्, र परिणामस्वरूप, मानिसहरूले सधैं यिनलाई याद गर्नेछ्न् ।” 14 तब यहूदा स्करियोत, ऊ बाह्रजना चेलाहरूमध्येको एकजना भए तापनि, मुख्य पुजारीहरूकहाँ गयो । 15 उसले तिनीहरूलाई भन्यो, “येशूलाई गिरफ्‍तार गर्न मैले तपाईंहरूलाई सहयोग गरें भने, तपाईंहरू मलाई कति पैसा दिन इच्छुक हुनुहुन्छ ?” उसलाई तीस चाँदीका सिक्‍काहरू दिन तिनीहरू सहमत भए । यसैले तिनीहरूले सिक्‍काहरू गन्ती गरे र ती उसलाई दिए । 16 त्यो समयदेखि तिनीहरूले येशूलाई कतिबेला गिरफ्‍तार गर्न सक्‍छन् भनी यहूदाले मौका हेर्न थाल्‍यो । 17 अखमिरि रोटीको एकहप्‍ता-लामो चाडको पहिलो दिनमा, चेलाहरू येशूकहाँ गए र सोधे, “निस्तार-चाडको उत्सवको लागि हामी भोज कहाँ तयार गरौं भनी तपाईं इच्‍छा गर्नुहुन्‍छ जसले गर्दा हामी त्‍यो तपाईंसँगै खाना सकौं ?” 18 येशूले चेलाहरूमध्ये दुईजनालाई तिनीहरूले के गर्नुपर्छ भन्‍ने बारेमा सुझाव दिनुभयो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सहरमा एकजना मानिसकहाँ जाओ जससँग मैले पहिले नै यो कुरा मिलाएको छु । उसलाई भन, म गुरुले यसो भन्‍नुहुन्छः ‘मैले तिमीसँग भनेको कुराको निम्‍ति समय नजिक छ । म आफ्‍ना चेलाहरूसँग तिम्रो घरमा निस्तार-चाडको भोजको उत्‍सव मनाउन जाँदैछु, र भोज तयार पार्नलाई मैले यी दुई जनालाई पठाएको छु ।’ ” 19 यसैले येशूले दुईजना चेलाहरूलाई भन्‍नुभए जस्तै तिनीहरूले गरे । तिनीहरू गए र त्यो मानिसको घरमा निस्तार-चाडको भोज तयार पारे । 20 जब त्यो साँझ आइपुग्‍यो, येशू बाह्रजना चेलाहरूसँग भोज खादै हुनुहुन्‍थ्‍यो । 21 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो कुरा ध्‍यान दिएर सुनः तिमीहरूमध्य एकजनाले मलाई गिरफ्‍तार गर्न मेरा सत्रुहरूलाई सहायता गर्दैछ ।” 22 चेलाहरू साह्रै उदास भए । तिनीहरूले उहाँलाई एकपछि अर्को गर्दै भन्‍न सुरु गरे, “प्रभु, त्यो निश्‍चय पनि म होइन !” 23 उहाँले जवाफ दिनुभयो, “मलाई गिरफ्‍तार गर्नलाई मेरा शत्रुहरूलाई मद्दत गर्ने तिमीहरूमध्ये एकजना त्‍यो हो जसले मसँगै कचौरामा रोटी चोप्‍दैछ ।” 24 यो पक्‍का हो कि म, मानिसको पुत्र, मर्नेछु, किनकि मेरो बारेमा धर्मशास्‍त्रले त्‍यही भन्‍छ । तर मलाई गिरफ्‍तार गर्नलाई मेरा शत्रुहरूलाई मद्दत गर्ने मानिसलाई डरलाग्दो दण्ड हुनेछ ! त्यो मानिसको त जन्म नै नभएको भए उसको लागि असल हुन्‍थ्‍यो । 25 तब उहाँलाई धोका दिन जाँदै गरेको यहूदाले भन्यो, “गुरुज्‍यू, त्‍यो निश्‍चय पनि म होइन !” येशूले जवाफ दिनुभयो, “हो, त्‍यो तिमी नै भन्‍दैछौ ।” 26 उहाँहरूले खान सुरु गर्नुहुँदा, येशूले एउटा रोटी लिनुभयो र त्‍यसको निम्‍ति परमेश्‍वरलाई धन्यवाद दिनुभयो । उहाँले त्यसलाई टुक्रा पार्नुभयो, त्‍यो चेलाहरूलाई दिनुभयो र भन्‍नुभयो, “यो रोटी लेओ र यो खाओ । यो मेरो शरीर हो ।” 27 पछि उहाँले दाखमद्यको एउटा कचौरा लिनुभयो र त्‍यसको निम्ति परमेश्‍वरलाई धन्यवाद दिनुभयो । तब त्‍यो उहाँले तिनीहरूलाई दिनुभयो र भन्‍नुभयो, “तिमीहरू सबैजना यो कचौराबाट पिओ । 28 यो कचौरामा भएको दाखमद्य मेरो रगत हो, जुन चाँडै नै मेरो शरीरबाट बग्‍नेछ । यो रगत नयाँ करारको चिन्ह हुनेछ जसलाई धेरै मानिसहरूको पापहरू क्षमा गर्नलाई परमेश्‍वरले बग्‍न दिंदै हुनुहुन्‍छ । 29 यो होसियारसाथ ध्‍यान देओः जबसम्‍म मैले यसलाई एउटा नयाँ अर्थको साथमा तिमीहरूसँग पिउने समय हुँदैन तबसम्‍म म यसरी अब अरू दाखमद्य पिउनेछैन । मेरा पिताले पूर्णरूपले राज्‍य गर्नुहुँदा यो हुनआउनेछ ।” 30 उहाँहरूले एउटा भजन गाएपछि, उहाँहरू जैतूनको डाँडातिर जान लाग्‍नुभयो । 31 बाटोमा येशूले तिनीहरूलाई भन्‍नुभयो, “मलाई जे हुनेछ त्यो कारणले आज राती तिमीहरू सबैले मलाई त्याग्‍नेछौ ! यो निश्‍चितरूपमा हुनुपर्छ किनभने परमेश्‍वरले भन्‍नुभएका यी वचनहरू धर्मशास्‍त्रमा लेखिएका छन्ः ‘मानिसहरूले गोठालोलाई मार्ने म बनाउनेछु र तिनीहरूले सबै भेडाहरू तितरबितर पार्नेछन् ।” 32 तर मेरो मृत्‍यु भई र फेरि जीवित भएपछि, म तिमीहरूका अघि गालीलमा जानेछु र तिमीहरूलाई त्यहाँ भेट्नेछु ।” 33 पत्रुसले जवाफ दिए, “जब तपाईंलाई हुने घटना अरू सबै चेलाहरूले देख्‍छन्, तब सायद तिनीहरूले तपाईंलाई त्‍याग्‍नेछन् तर म निश्‍चितरूपमा तपाईंलाई कदापि छोड्नेछैन !” 34 येशूले तिनलाई जवाफ दिनुभयो, “सत्य यही हो कि आजकै रातमा, भाले बास्‍नुभन्दा पहिले, तिमीले मलाई चिन्‍दैनौ भनेर तिमीले तीन पल्‍ट भन्‍नेछौ !” 35 पत्रुसले उहाँलाई भने, “मैले तपाईंको सुरक्षा गर्दैजाँदा तिनीहरूले मलाई मार्छन् भने पनि, मैले तपाईंलाई चिन्दिन भेनर म कहिल्यै पनि भन्‍नेछैन !” अरू बाँकी सबै चेलाहरूले पनि यही कुरा भने । 36 त्यसपछि येशू चेलाहरूसँग गेतसमनी भन्‍ने ठाउँमा जानुभयो । त्यहाँ उहाँले भन्‍नुभयो, “मैले त्यहाँ जाँदा र प्रार्थना गर्दा तिमीहरू यहाँ बस ।” 37 उहाँले पत्रुस, याकूब र यूहन्‍नालाई आफ्‍नो साथमा लानुभयो । उहाँ अत्‍यन्‍तै बिचलित हुनुभयो । 38 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म साह्रै दुःखी भएको छु, यतिसम्‍म कि म मर्न लागेझैँ मलाई महसुस भएको छ ! यहाँ बस र मसँगै जागा रहो !” 39 अलि पर पुगेपछि, उहाँ आफैं घोप्‍टो परेर जमीनमा लत्रिनुभयो । उहाँले प्रार्थना गर्नुभयो, “मेरो पिता, यदि सम्भव हुन्‍छ भने, मैले दुःख भोग्‍नुपर्नेछ भनी मैले जानेको किसिमले दुःख भोग्‍ने मलाई नबनाउनुहोस् । तर मेरो इच्‍छा अनुसार नगर्नुहोस् । बरु, तपाईंको इच्छा अनुसार गर्नुहोस् !” 40 त्यसपछि उहाँ तीनजना चेलाहरूकहाँ फर्कनुभयो र तिनीहरू निदाइरहेको देख्‍नुभयो । उहाँले पत्रुसलाई उठाउँनुभयो र तिनलाई भन्‍नुभयो, “तिमीहरू निन्द्रामा परेको र मसँग अलिकति समय पनि जागा रहन नसकेको देख्‍दा म निराश छु ! 41 तिमीहरू जागा रहनु र प्रार्थना गर्नुपर्छ यसैले कि कसैले तिमीहरूलाई पाप गर्न परीक्षामा पार्न खोज्दा तिमीहरू त्यसको विरोध गर्न सक्‍छौ । म जे तिमीहरूलाई भन्छु, त्यो गर्न तिमीहरू इच्छा त गर्छौ, तर त्‍यो साँच्‍चै नै गर्नलाई तिमीहरू सामर्थी छैनौ ।” 42 उहाँ दोस्रोपल्ट त्यो ठाउँबाट अलिपर जानुभयो । उहाँले प्रार्थना गर्नुभयो, “मेरा पिता, मैले यो दुःख भोग्‍नु आवश्यक छ भने, तपाईंको इच्‍छा पूरा होस् ।” 43 जब उहाँ तीनजना चेलाहरूकहाँ फर्कनुभयो, उहाँले तिनीहरूलाई फेरि पनि निदाएको देख्‍नुभयो । तिनीहरूले आफ्नाो आँखा खुला राख्‍न सकेनन् । 44 यसैले उहाँले तिनीहरूलाई छोड्नुभयो र फेरि अलिपर जानुभयो । यसअघि प्रार्थना गर्दा भन्‍नुभएजस्‍तै गरी उहाँले तेस्रोपल्ट पनि प्रार्थना गर्नुभयो । 45 त्यसपछि उहाँ सबै चेलाहरूकहाँ फर्कनुभयो । उहाँले तिनीहरूलाई बिउँझाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू अझै पनि निदाउँदै र आराम गर्दै रहेकोले म निराश छु ! हेर ! म, मानिसको पुत्रलाई गिरफ्‍तार गर्नलाई कसैले पापी मानसिहरूलाई मद्दत गर्न लाग्‍दैछ ! 46 उठ ! हामी तिनीहरूलाई भेट्न जाऔं ! मलाई गिरफ्‍तार गर्न तिनीहरूलाई मद्दत गर्ने एकजना यहाँ आउँदैछ !” 47 येशू बोल्‍दाबोल्‍दै, यहूदा आइपुग्यो । ऊ बाह्रजना चेलाहरूमध्ये एकजना थियो, तापनि येशूलाई गिरफ्‍तार गर्न उहाँका शत्रुहरूलाई मद्दत गर्नलाई ऊ आयो । तरवारहरू र लाट्ठीहरू बोकेर एउटा ठुलो भिड उसँगै आउँदै थियो । मुख्य पुूजारीहरू र एल्डरहरूले तिनीहरूलाई पठाएका थिए । 48 तिनीहरूलाई एउटा संकेत दिनेछ भनेर यहूदाले पहिले नै कुरा गरेको थियो । उसले तिनीहरूलाई भनेको थियो, “जुन मानिसलाई म चुम्बन गर्नेछु, तपाईंहरूले खोजेको मान्छे तिनै हुन् । तिनलाई गिरफ्‍तार गर्नुहोस् !” 49 ऊ तुरुन्तै येशूकहाँ गयो र भन्यो, “अभिवादन गुरुज्‍यू !” तब उसले येशूलाई चुम्बन गर्‍यो । 50 येशूले जवाफ दिनुभयो, “मित्र, तिमी जे गर्न खोज्‍दैछौ, त्यो छिटो गर ।” त्यसपछि यहूदासँग आएका मानिसहरू अगाडि आए र येशूलाई पक्रे । 51 अचानक, येशूसँगै भएका मानिसहरूमध्‍ये एकजनाले म्यानबाट आफ्नो तरवार निकाले । तिनले प्रधान पुजारीको सेवकलाई मार्नलाई तिनीमाथि प्रहार गरे, तर त्‍यसको कान मात्र काटियो । 52 येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो तरवार त्‍यसको म्यानमा राख ! अरूलाई तरवारले मार्न खोज्‍नेहरू सबैलाई -- अरू कसैले तिनीहरूलाई तरवारले मार्नेछ ! 53 मैले आफ्‍नो पितालाई बिन्‍ति गरें भने, उहाँले मलाई मद्दत गर्नलाई तुरुन्तै बाह्र पल्टनभन्‍दा बढी स्वर्गदूतहरू पठाउनुहुन्‍न भन्‍ने तिमीहरूको विचार छ ? 54 तर मैले त्यसो गरेको भए, ख्रिष्टलाई के हुनेछ भन्‍ने बारेमा अगमवक्‍ताहरूले धर्मशास्‍त्रमा लेखेका कुरा पूरा हुने थिएन ।” 55 त्‍यो समयमा येशूलाई पक्रँदै गरेको भिडलाई उहाँले भन्‍नुभयो, “म एक डाँकु भए जस्तै गरी तपाईंहरू यहाँ मलाई पक्रनलाई तरवारहरू र लाठ्ठीहरू बोकेर आउनुभएको छ । दिनदिनै मानिसहरूलाई शिक्षा दिंदै म मन्दिर परिसरमा बसें । तपाईंहरूले किन मलाई त्यसबेला पक्रनुभएन ? 56 तर धर्मशास्‍त्रमा अगमवक्‍ताहरूले मेरो बारेमा जे लेखेका छन् त्‍यो पूरा हुनलाई यी सबै घट्नाहरू हुन आए ।” त्यसपछि सबै चेलाहरूले येशूलाई छाडे र भागे । 57 येशूलाई गिरफ्‍तार गरेका मानिसहरूले उहाँलाई प्रधान पुूजारी कैयाफा बसोबस गर्ने दरवारमा लिएर गए । यहूदी व्‍यवस्‍था सिकाउने मानिसहरू र यहूदी अगुवाहरू पहिले नै त्यहाँ भेला भएका थिए । 58 पत्रुस टाढैबाट येशूको पछि लागे । तिनी प्रधान पुूजारीको आँगनमा गए । तिनी आँगनमा पसे र के हुन्छ भनी हेर्नलाई पहरेदारहरूसँगै बसे । 59 मुख्य पुजारीहरू र अरू बाँकी यहूदी सभासदहरूले यस्ता व्‍यक्तिहरू खोज्‍ने प्रयास गर्दै थिए जसले येशूको बारेमा झुटा कुराहरू बोल्‍नेछन्, यसैले कि तिनीहरूले उहाँलाई मृत्‍यदण्‍डको लागि दोषी घोषणा गर्न सकून् । 60 तर धेरै मानिसहरूले उहाँको बारेमा झुटो कुराहे बोले तापनि, कसैले कुनै पनि उपयोगी कुरा भनेको एकजना पनि तिनीहरूले पाउन सकेनन् । अन्तमा दुईजना मानिसहरू अघि आए 61 र भने, “यो मानिसले भन्यो, ‘म परमेश्‍वरको मन्दिरलाई नाश गर्न र त्‍यसलाई तीन दिनमा फेरि बनाउन सक्‍छु ।’” 62 त्यसपछि प्रधान पुजारी खडा भए र येशूलाई सोधे, “के तिमी जवाफ दिंदैनौ ? तिमीलाई दोष लगाउनलाई तिनीहरूले भन्‍दै गरेका यी कुराहरूका बारेमा तिमी के भन्‍छौ ?” 63 तर येशू शान्‍त रहनुभयो । तब प्रधान पुजारीले उहाँलाई भने, “सत्य कुरा हामीलाई भन्‍न म तिमीलाई आदेश दिन्छु; तिमीलाई जान्‍दछौ कि सर्वशक्‍तिमान परमेश्‍वरले तिम्रा कुरा सुन्‍दै हुनुहुन्छः के तिमी परमेश्‍वरको पुत्र, ख्रीष्‍ट हौ ?” 64 येशूले जवाफ दिनुभयो, “हो, तपाईंले भने जस्तै हो । तर म तिमीहरू सबैलाई यो पनि भन्छुः कुनै दिन तिमीहरूले मानिसको पुत्रलाई सर्वशक्‍तिमान परमेश्‍वरको छेउमा बसिरहेको र राज्‍य गरिरहेको देख्‍नेछौ । तिमीहरूले उसलाई स्वर्गबाट बादलहरूमा आउँदै गरेको पनि देख्‍नेछौ !” 65 प्रधान पुजारी साह्रै रिसाए र तिनले आफ्नो बाहिरी वस्‍त्र च्याते । तब तिनले भने, “यो मानिसले परमेश्‍वरको निन्दा गरेको छ ! उसले परमेश्‍वरको बराबरी भएको दाबी गर्छ ! हामीलाई निश्‍चय पनि यस मानिसको विरुद्धमा गवाही दिनलाई कोही पनि आवश्यक छैन ! त्‍यसले के भन्‍यो त्‍यो तिमीहरूले सुन्यौ ! 66 तिमीहरू के विचार गर्दछौ ?” यहूदी अगुवाहरूले जवाफ दिए, “हाम्रो व्‍यवस्‍थाअनुसार ऊ दोषी छ र मृत्‍युदण्‍डको योग्य छ !” 67 त्‍यसपछि तिनीहरूमध्ये कसैले उहाँको मुखमा थुके । अरूहरूले उहाँलाई आफ्‍ना मुक्‍काले हाने । अरूहरूले उहाँलाई थप्पड हाने 68 र भने, “तैंले आफूलाई ख्रीष्‍ट हुँ भनी दाबी गरेको छस्, कसले तँलाई हान्‍यो, हामीलाई भन् !” 69 पत्रुस आँगनबाहिर बस्‍दै थिए । एकजना कमारी तिनीकहाँ आइ र तिनलाई हेरी । त्‍यसले भनी, “तिमी पनि गालील जिल्लाबाट आएको मानिस येशूसँगै थियौ !” 70 तर त्‍यहाँ भएका हरेकले सुन्‍दैगर्दा, तिनले त्‍यो कुरा इन्कार गरे । तिनले भने, “तिमीले के को बारेमा कुरा गर्दैछौ, मलाई थाहा छैन !” 71 त्यसपछि तिनी आँगनको प्रवेशद्वारबाहिर गए । अर्की एकजना कमारीले तिनलाई देखी र नजीक खडा भएका मानिसहरूलाई भनी, “नासरतबाट आएको मानिस येशूसँगै यो मानिस पनि थियो ।” 72 तर पत्रुसले फेरि त्‍यो कुरा इन्कार गरे । तिनले भने, “मैले झुटा कुरा बोल्‍दै गरेको भए, परमेश्‍वरले मलाई दण्ड दिनुभएको होस् । म तिमीलाई भन्छु, म त्‍यो मानिसलाई चिन्दै चिन्दिन !” 73 केही समयपछि, त्यहाँ खडा भएका मानिसहरू पत्रुसको नजीिक आए र तिनलाई भने, “त्‍यो मानिससँग भएकाहरूमध्ये तिमी पनि एकजना हौ भन्‍ने कुरा यो पक्‍का हो । तिमी गालीलबाट आएका हौ भनेर तिम्रो बोलीबाट हामी भन्‍न सक्छौं ।” 74 त्यसपछि पत्रुसले ठूलो स्‍वरले कराउँदै भन्‍न लागे कि तिनले झुटा बोल्‍दै थिए भने, परमेश्‍वरले तिनलाई स्राप दिनुहुन्‍छ । तिनले आफू सत्य बोल्‍दै थिए भनी साक्षी हुन स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पुकारे र भने, “म त्‍यो मानिसलाई चिन्दिन ।” तुरुन्तै एउटा भाले बस्यो । 75 तब येशूले पत्रुसलाई भन्‍नुभएका शब्दहरू तिनलाई याद आयो, “भाले बास्‍नुभन्दा पहिले, तिमीले मलाई चिन्दिन भनेर तीनपल्‍टसम्म भन्‍नेछौ ।” र पत्रुस धुरुधुरु रुँदै आँगनबाट बाहिर गए, किनभने तिनले जे गरेका थिए त्यसमा तिनी साह्रै दुःखी भए ।