अध्याय ९

1 तर शाऊल अझै प्रभुका चेलाहरूको विरुद्धमा हत्याको धम्की दिंदै प्रधान पूजाहारीकहाँ गए 2 र त्यस मार्गका पुरुष होस् या स्‍‍त्रीहरू जोसुकैलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी तिनले दमस्कसका सभाघरहहरूको नाउँमा पत्र मागे । 3 जसै तिनी यात्रा गरिरहेका थिए, तिनी दमस्कस नजिकै आइपुग्दा, अकस्मात् तिनको वरिपरि स्वर्गबाट आएको ज्योति चम्क्यो; 4 र तिनी भुइँमा ढले र तिनलाई यसो भन्‍दै गरेको आवाज सुने, “ए शाऊल, ए शाऊल, किन तिमी मेरो खेदो गर्दैछौ?” 5 शाऊलले जवाफ दिए, “प्रभु, तपाईं को हुनुहुन्छ?” प्रभुले भन्‍नुभयो, “म येशू हुँ जसको तिमी खेदो गर्दैछौ; 6 तर उठ, र सहरमा जाऊ, र तिमीले के गर्नुपर्छ भनी तिमीलाई बताइनेछ ।” 7 शाऊलसँगै यात्रा गर्ने मानिसहरूले आवाजचाहिं सुने तर कसैलाई नदेखेर अवाक भई उभिरहे । 8 शाऊल भुइँबाट उठे, र तिनले आफ्ना आँखा खोल्दा तिनले केही देखेनन्; त्यसैले तिनीहरूले हात समातेर तिनलाई दमस्कस पुर्‍याए । 9 किनकि तिनी तीन दिनसम्म नदेख्‍ने भए, र तिनले न त खाए न पिए । 10 अब दमस्कसमा हननिया नाउँ गरेका चेला थिए । प्रभुले दर्शनमा तिनलाई भन्‍नुभयो, “ए हननिया!” तिनले भने, “हेर्नुहोस्, प्रभु, म यहीं छु ।” 11 प्रभुले तिनलाई भन्‍नुभयो, “उठ, र सोझो भनिने गल्लीमा जाऊ, र त्यहाँ यहूदाको घरमा टार्ससका शाऊल नाउँ गरेका मानिसको खोजी गर किनकि तिनी प्रार्थना गर्दैछन् । 12 तिनले दर्शनमा हननिया नाउँ गरेका मानिस भित्र आएर तिनले फेरि देख्‍न सकून् भनेर तिनीमाथि हात राखेको देखेका छन् ।” 13 तर हननियाले जवाफ दिए, “प्रभु, यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कति धेरै हानि पुर्‍याएका छन् भनी यस मानिसको बारेमा मैले धेरै जनाबाट सुनेको छु । 14 तपाईंको नाउँ लिने हरेकलाई गिरफ्तार गर्न तिनले मुख्य पूजाहारीहरूबाट अधिकार पाएका छन् ।” 15 तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि गैरयहूदीहरू र राजाहरू र इस्राएलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन्; 16 किनकि मेरो नाउँको खातिर तिनले कति धेरै दुःख भोग्‍नुपर्नेछ भनी म तिनलाई देखाउनेछु ।” 17 त्यसैले हननिया गए, र त्यस घरभित्र प्रवेश गरे । तिनीमाथि आफ्ना हात राख्दै तिनले भने, “भाइ शाऊल, तिमीले आफ्नो द‍ृष्‍टि पाउन सक र पवित्र आत्माले भरिन सक भनी तिमी आउँदा बाटोमा देखा पर्नुहुने प्रभु येशूले मलाई पठाउनुभएको छ ।” 18 तुरुन्तै शाऊलका आँखाबाट पाप्राजस्ता केही खसे, र तिनले द‍ृष्‍टि पाए; तिनी उठे र बप्‍तिस्मा लिए; 19 र तिनले केही खाए र बल पाए । तिनी केही दिनसम्म दमस्कसका चेलाहरूसँगै बसे । 20 तुरुन्तै येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्दै तिनले सभाघरहरूमा उहाँको प्रचार गरे । 21 तिनका कुरा सुन्‍नेहरू सबै छक्‍क परे र भने, “यरूशलेममा यो नाउँ लिनेहरूलाई नष्‍ट गर्ने मानिस यिनी नै होइनन् र? तिनीहरूलाई बाँधेर मुख्य पूजाहारीहरूकहाँ लैजान तिनी यहाँ आएका हुन् ।” 22 तर शाऊल झन‍्झन् शक्तिशाली बने र येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने प्रमाण दिएर दमस्कसमा बस्‍ने यहूदीहरूलाई तिनले अकमक्‍क पारिदिए । 23 धेरै दिनपछि यहूदीहरूले आपसमा तिनलाई मार्ने षड्यन्‍‍त्र रचे । 24 तर शाऊलले तिनीहरूको षड्यन्‍‍त्र थाहा पाए । तिनलाई मार्नको लागि तिनीहरू दिनरात ढोकाहरूमा चेवा गरे । 25 तर तिनका चेलाहरूले तिनलाई राती नै पर्खालबाट टोकरीमा हालेर ओह्रालिदिए । 26 शाऊल यरूशलेममा आएपछि तिनी चेलाहरूसँग मिल्न खोजे, तर तिनी चेला हुन् भन्‍ने कुरा नपत्याएर तिनीहरू सबै तिनीदेखि डराए । 27 तर बारनाबासले तिनलाई समाते र प्रेरितहरूकहाँ ल्याए, र कसरी शाऊलले बाटोमा प्रभुलाई देखे र प्रभु तिनीसित बोल्नुभयो अनि दमस्कसमा कसरी तिनले साहसपूर्वक येशूको नाउँ प्रचार गरे भनी तिनले तिनीहरूलाई बताए । 28 यरूशलेममा भित्र-बाहिर गर्दा तिनी तिनीहरूसित थिए । तिनले साहसपूर्वक प्रभु येशूको नाउँमा बोले 29 र तिनले ग्रीक-यहूदीहरूसित वादविवाद गरे; तर तिनीहरूले तिनलाई मार्न खोजिरहे । 30 जब भाइहरूले यो कुरा थाहा पाए, तिनीहरूले तिनलाई कैसरिया ल्याए र त्यहाँबाट तिनलाई टार्सस पठाइदिए । 31 यसरी सारा यहूदिया, गालील र सामरियाभरिका मण्डलीमा शान्ति छायो र मण्डली मजबुत भयो; प्रभुको भयमा र पवित्र आत्माको सान्त्वनामा मण्डली सङ्ख्यामा बढ्दै गयो । 32 अब पत्रुस पूरै इलाकामा जाने क्रममा तिनी लुड्‌डा नगरमा बस्‍ने परमेश्‍वरका विश्‍वासीहरूकहाँ पनि आइपुगे । 33 तिनले त्यहाँ एनियास नाउँका एक जना मानिसलाई भेट्टाए, जो आठ वर्षसम्म ओछ्‍यानमा थिए किनकि तिनलाई पक्षाघात भएको थियो । 34 पत्रुसले तिनलाई भने, “ए एनियास, येशू ख्रीष्‍टले तिमीलाई निको पार्नुहुन्छ । उठ र तिम्रो ओछ्‍यान मिलाऊ,” र तिनी तुरुन्तै उठे । 35 त्यसैले लुड्‌डा र शारोनमा बस्‍ने सबैले ती मानिसलाई देखे र तिनीहरू प्रभुतिर फर्के । 36 अब योप्पामा तबीता (जसको अर्थ डोरकास) नाउँकी एक जना चेली थिइन् । यी स्‍‍त्री असल काम र कृपापूर्ण कार्यले भरिएकी थिइन् जुन तिनले गरिबहरूको लागि गरिन्। । 37 ती दिनमा तिनी बिरामी परिन् र मरिन्; तिनीहरूले तिनको मृत शरीरलाई धोएर माथिल्लो कोठामा राखे । 38 लुड्‌डा योप्पाबाट नजिकै भएकोले र पत्रुस त्यहाँ थिए भनी चेलाहरूले सुनेकाले तिनीहरूले यस्तो अनुरोध गर्दै तिनीकहाँ दुई जना मानिस पठाए, “विलम्ब नगरीकन हामीकहाँ आइदिनुहोस् ।” 39 पत्रुस उठे र तिनीहरूसँगै गए । तिनी आइपुगेपछि तिनीहरूले तिनलाई माथिल्लो कोठामा लगे, र पत्रुसको नजिकै उभिएका सबै विधवाहरू रुँदै, डोरकास तिनीहरूसँग छँदा तिनले बनाएका वस्‍‍त्र र अरू पोशाकहरू तिनलाई देखाउँदै थिए । 40 पत्रुसले तिनीहरू सबैलाई कोठाबाट बाहिर पठाए, घुँडा टेके र प्रार्थना गरे; त्यसपछि मृतकपट्टि फर्केर तिनले भने, “ए तबीता, उठ ।” तब तिनले आफ्ना आँखा खोलिन् र पत्रुसलाई देखेपछि तिनी उठेर बसिन् । 41 त्यसपछि पत्रुसले तिनलाई आफ्ना हात दिए र तिनलाई उठाए; र जब तिनले परमेश्‍वरका विश्‍वासीहरू र विधवाहरूलाई डाके, तिनीहरूको उपस्थितिमा तिनलाई जीवित प्रस्तुत गरे । 42 यो खबर सारा योप्पाभरि फैलियो र धेरै मानिसहरूले प्रभुमा विश्‍वास गरे । 43 पत्रुस धेरै दिनसम्म योप्पामा सिमोन नाउँ गरेका चर्मकारसँग बसे ।