अध्याय ८

1 तिनको हत्यामा शाऊल सहमत थिए । त्यसैले त्यस दिन त्यहँ यरूशलेमको मण्डलीको विरुद्धमा ठुलो सतावट सुरु भयो; र प्रेरितहरूबाहेक विश्‍वासीहरू सबैजना यहूदिया र सामारियाका क्षेत्रहरूमा तितर-बितर भएर गए । 2 ईश्‍वरभक्त मानिसहरूले स्तिफनसलाई गाडे र तिनको लागि बेसरी विलाप गरे । 3 तर शाऊलले मण्डलीलाई हानि पुर्‍याउन कोसिस गरे । तिनी घरैपिच्छे जान्थे, तिनले पुरुष र स्‍‍त्रीहरूलाई घिसारेर ल्याउँथे र तिनीहरूलाई झ्यालखानामा हालिदिन्थे । 4 तथापि तितर-बितर भएका विश्‍वासीहरूले चारैतिर वचन प्रचार गर्दै गए । 5 फिलिप सामरियाको सहरमा ओर्ले र तिनीहरूलाई ख्रीष्‍टको प्रचार गरे । 6 मानिसहरूका भीडले फिलिपले भनेका कुरा ध्यान दिएर सुनिरहेका थिए; एकै मनको भएर तिनीहरूले तिनलाई सुने, र तिनीहरूले तिनले गरेका चिन्‍हहरू देखे । 7 भूत लागेका धेरै जनाबाट अशुद्ध आत्माहरू ठुलो सोरले चिच्‍च्याउँदै निस्किआए, र धेरै पक्षाघाती र लङ्गडाहरू निको भए । 8 त्यसैले त्यस सहरमा बडो आनन्द भयो । 9 तर त्यस सहरमा सिमोन नाउँ गरेको एक जना मानिस थियो जसले पहिले जादुगरी गर्ने गर्थ्यो; त्यसले आफूलाई एक महत्त्वपूर्ण मानिस हुँ भनी दाबी गर्दै तिनले सामरियाका मानिसहरूलाई छक्‍क पार्ने गर्थ्यो । 10 सबैभन्दा सानादेखि सबैभन्दा ठुलासम्मका सबै सामरीहरूले त्यसका कुरा ध्यान दिएर सुन्थे; तिनीहरूले भन्थे, “यी मानिस परमेश्‍वरका ती शक्ति हुन् जसलाई महान् भनिन्छ ।” 11 तिनीहरूले त्यसका कुरा सुन्थे किनभने त्यसले आफ्नो जादुगरीद्वारा लामो समयदेखि तिनीहरूलाई चकित पार्दै आएको थियो । 12 तर फिलिपले परमेश्‍वरको राज्य र येशू ख्रीष्‍टको नाउँको सुसमाचारको बारेमा प्रचार गर्दा जब तिनीहरूले तिनीमाथि विश्‍वास गरे, तब तिनीहरू, पुरुष र स्‍‍त्रीहरू दुवैले बप्‍तिस्मा लिए । 13 सिमोन आफैंले पनि विश्‍वास गर्‍यो, र त्यसले बप्‍तिस्मा लिएपछि त्यो फिलिपसँगै लागिरह्‍यो । चिन्हहरू र उदेकका कामहरू देखेर त्यो छक्‍क पर्‍यो । 14 अब सामरियाका मानिसहरूले परमेश्‍वरको वचनलाई ग्रहण गरे भन्‍ने कुरा जब यरूशलेमका प्रेरितहरूले सुने, तिनीहरूले पत्रुस र यूहन्‍नालाई उनीहरूकहाँ पठाए । 15 तिनीहरू तल आएपछि उनीहरूले पवित्र आत्मा पाउन सकून् भनी उनीहरूका निम्ति तिनीहरूले प्रार्थना गरे । 16 किनकि त्यस बेलासम्म पवित्र आत्मा उनीहरूमध्ये कसैमाथि पनि आउनुभएको थिएन; प्रभु येशूको नाउँमा मात्र उनीहरूको बप्‍तिस्मा भएको थियो । 17 त्यसपछि पत्रुस र यूहन्‍नाले उनीहरूमाथि आफ्ना हात राखे र उनीहरूले पवित्र आत्मा पाए । 18 अब प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाइँदोरहेछ भनी जब सिमोनले देख्यो त्यसले तिनीहरूलाई रूपैयाँ-पैसा दिन लाग्यो । 19 त्यसले भन्यो, “मलाई पनि यो शक्ति दिनुहोस् ताकि मैले जो कसैमाथि हात राख्दा उसले पवित्र आत्मा पाओस् ।” 20 तर पत्रुसले त्यसलाई भने, “तेरो चाँदी तैंसित नष्‍ट होस् किनभने तैंले परमेश्‍वरको वरदानलाई रूपैयाँ-पैसाले प्राप्‍त गर्ने विचार गरिस् । 21 यस विषयमा तेरो कुनै हिस्सा वा भाग छैन किनभने तेरो हृदय परमेश्‍वरसित ठिक छैन । 22 त्यसकारण तेरो दुष्‍टताको लागि पश्‍चात्ताप गर्, र प्रभुलाई प्रार्थना चढा, कतै उहाँले तेरो हृदयको विचारको लागि तँलाई क्षमा गरिदिनुहुन्छ कि । 23 किनकि म देख्छु कि तँ तिक्ताको विष र पापको बन्धनमा छस् ।” 24 सिमोनले जवाफ दियो र भन्यो, “मेरो निम्ति प्रभुसँग प्रार्थना गरिदिनुहोस् ताकि तपाईंले भन्‍नुभएको कुनै पनि कुरा ममाथि आइनपरोस् ।” 25 पत्रुस र यूहन्‍नाले साक्षी दिई प्रभुको वचन बोलेपछि सामरियाका धेरै गाउँहरूमा सुसमाचार प्रचार गर्दै तिनीहरू यरूशलेम फर्के । 26 अब प्रभुका एउटा दूतले फिलिपलाई भने, “उठ र दक्षिणतिर यरूशलेमदेखि गाजासम्म जाने बाटो जाऊ (यो बाटो उजाड-स्थानमा पर्छ) ।” 27 तिनी उठे र गए । हेर, त्यहाँ इथियोपियाका एक जना नपुंसक थिए जो इथियोपिया देशकी रानी कन्दाकीका पदाधिकारी थिए । तिनी उनका सारा सम्पत्तिको कोषाध्यक्ष थिए । तिनी आराधनाको लागि यरूशलेम आएका थिए । 28 तिनी फर्किरहेका थिए र आफ्नो रथमा यशैया अगमवक्‍ताको पुस्तक पढिरहेका थिए । 29 आत्माले फिलिपलाई भन्‍नुभयो, “माथि जाऊ र त्यस रथको साथ लाग ।” 30 त्यसैले फिलिप तिनीकहाँ दौडेर गए, र तिनले यशैया अगमवक्‍ताको पुस्तक पढेको सुने र तिनले सोधे, “के तपाईंले पढिरहनुभएको कुरा बुझ्‍नुहुन्छ?” 31 तब इथियोपियालीले भने, “कसैले मलाई नबुझाएसम्म म कसरी बुझ्‍न सक्छु र?” तिनले फिलिपलाई रथमा चढेर तिनीसँगै बस्‍न अनुरोध गरे । 32 अब इथियोपियालीले पढेको धर्मशास्‍‍त्रको खण्ड यो थियो, “काटिने थुमाजस्तै उसलाई लगियो; जसरी थुमा ऊन कत्रनेको सामु मौन हुन्छ त्यसै गरी उसले आफ्नो मुख खोल्दैन ।” 33 उसको अपमानमा उसको न्याय खोसियो । कसले उसको पुस्ताको पूर्ण रूपमा बयान गर्ने? किनकि उसको जीवन यस पृथ्वीबाट हरण गरियो ।” 34 त्यसैले नपुंसकले फिलिपलाई सोधे, “म तपाईंलाई बिन्ती गर्छु, मलाई बताइदिनुस् कि अगमवक्‍ताले कसको बारेमा भन्दै छन्, आफ्नै बारेमा वा अरू कसैको बारेमा?” 35 फिलिपले बताउन थाले, र धर्मशास्‍‍त्रको यसै खण्डबाट सुरु गरेर तिनले तिनलाई येशूको सुसमाचार बताइदिए । 36 तिनीहरू बाटोमा जाँदै गर्दा तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे र नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी छ । मलाई बप्‍तिस्मा लिनदेखि केले रोक्छ?” 37 1 38 त्यसैले ती इथियोपियालीले रथ रोक्‍न आज्ञा दिए । फिलिप र नपुंसक दुवै जना पानी भएको ठाउँमा ओर्ले, र फिलिपले तिनलाई बप्‍तिस्मा दिए । 39 तिनीहरू पानीबाट बाहिर आएपछि प्रभुका आत्माले फिलिपलाई लैजानुभयो, र नपुंसकले तिनलाई फेरि देखेनन् तर तिनी रमाउँदै आफ्नो बाटो लागे । 40 तर फिलिप अश्दोदमा देखा परे र तिनी कैसरिया नपुगुञ्‍जेलसम्म तिनी त्यस क्षेत्रबाट भएर सबै सहरहरूमा सुसमाचार सुनाउँदै गए ।

1प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा प्रेरित ८ः३७ छैन, फिलिपले भने, यदि तपाईंले सारा हृदयले विश्‍वास गर्नुहुन्छ भने, तपाईंले बप्‍तिस्मा लिन सक्नुहुन्छ । इथियोपियालीले जवाफ दिए, म विश्‍वास गर्छु कि येशू ख्रीष्‍ट नै परमेश्‍वरका पुत्र हुनुहुन्छ