अध्याय ७

1 प्रधान पूजाहारीले भने, “के यी कुराहरू साँचा हुन्?” 2 स्तिफनसले भने, “दाजुभाइ तथा पिताहरू हो, मेरो कुरा सुन्‍नुहोस्ः हाम्रा पिता अब्राहाम हारानमा बस्‍नुअगि महिमाका परमेश्‍वर मेसोपोटामियामा तिनीकहाँ देखा पर्नुभयो; 3 उहाँले तिनलाई भन्‍नुभयो, 'तिम्रो देश र तिम्रा नातेदारहरूलाई छोड, र मैले देखाउने देशमा जाऊ ।' 4 त्यसपछि तिनी कल्दीहरूको देश छोडे अनि तिनी हारानमा आएर बसे; त्यहाँ तिनका पिताको मृत्यु भएपछि परमेश्‍वरले तिनलाई यस देशमा ल्याउनुभयो जहाँ अहिले तपाईंहरू बस्‍नुहुन्छ । 5 उहाँले तिनलाई यसको कुनै पनि कुरा पैत्तृक सम्पत्तिको रूपमा दिनुभएन, यहाँसम्म कि पर्याप्‍त पाइला राख्‍ने ठाउँ पनि दिनुभएन । तर अब्राहामको कुनै सन्तान नहुँदा पनि उहाँले त्यो देश तिनलाई सम्पत्तिको रूपमा दिनुहुनेछ र तिनीपछि तिनका सन्तानहरूलाई दिनुहुनेछ भनी तिनीसित प्रतिज्ञा गर्नुभयो । 6 परमेश्‍वरले तिनलाई भन्दै हुनुहुन्थ्यो कि तिनका सन्तानहरू विदेशी भूमिमा केही समयको लागि बस्‍नेछ र त्यहाँका बासिन्दाहरूले तिनीहरूलाई कमारा तुल्याउनेछ र चार सय वर्षसम्म तिनीहरूलाई थिचोमिचो गर्नेछ । 7 'तर तिनीहरू जुन जातिको कमारा हुनेछन् म तिनीहरूको न्याय गर्नेछु', परमेश्‍वरले भन्‍नुभयो, 'र त्यसपछि तिनीहरू त्यहाँबाट बाहिर निस्‍कनेछन् र यस ठाउँमा मेरो आराधना गर्नेछन् ।' 8 अनि परमेश्‍वरले अब्राहामसित खतनाको करार बाँध्‍नुभयो, त्यसैले अब्राहाम इसहाकका पिता बने र तिनले आठौं दिनमा उनको खतना गरे; इसहाक याकूबका पिता बने, र याकूब बाह्र कुलका पिता बने । 9 कुलपतिहरूले योसेफसँग डाह गरे र तिनलाई मिश्रमा बेचिदिए । तर परमेश्‍वर तिनीसित हुनुहुन्थ्यो 10 र तिनलाई सबै दुःखकष्‍टबाट छुटाउनुभयो । उहाँले मिश्रका राजा फारोको सामने तिनलाई कृपा र बुद्धि दिनुभयो जसले तिनलाई मिश्र र तिनका सारा घरानाका हाकिम बनाए । 11 त्यस बेला सारा मिश्र र कनानभरि अनिकाल पर्‍यो, र ठुलो सङ्कष्‍ट आइपर्‍यो । हाम्रा पुर्खाहरूले कुनै खानेकुरा पाएनन् । 12 तर जब मिश्रमा अन्‍न पाईंदोरहेछ भनी याकूबले सुने तिनले पहिलो पटक हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए । 13 दोस्रो पटकको भेटघाटमा योसेफले आफूलाई आफ्ना दाजुहरूकहाँ प्रकट गरे, र योसेफको परिवार फारोकहाँ परिचित भए । 14 आफ्ना पिता याकूब र तिनका सबै नातेदारहरू अर्थात् पचहत्तर प्राणीलाई मिश्रमा आउनुहोस् भनी योसेफले आफ्ना दाजुहरूमार्फत खबर पठाए । 15 त्यसैले याकूब मिश्रमा गए, र त्यहाँ तिनको मृत्यु भयो, र हाम्रा पुर्खाहरू पनि त्यहीं नै मरे । 16 तिनीहरूका मृत शरीर शकेममा लगिए र अब्राहामले शकेममा हमोरका छोराहरूबाट चाँदीको मूल्यमा किनेको चिहानमा राखिए । 17 परमेश्‍वरले अब्राहामसित प्रतिज्ञा गर्नुभएको समय नजिकिंदै गर्दा मानिसहरू मिश्रमा बढ्दै गए, 18 जबसम्म मिश्रमा अर्का राजाको उदय भएन, जसले योसेफलाई चिन्दैनथ्ये । 19 ती राजाले हाम्रा मानिसहरूलाई छल गरे र हाम्रा पुर्खाहरूलाई आफ्ना शिशुहरूलाई बाहिर फाल्न कर लगाए ताकि तिनीहरू नबाँचून् । 20 त्यही बेला मोशाको जन्म भयो; तिनी परमेश्‍वरको सामु सुन्दर थिए र तीन महिनासम्म तिनका पिताको घरमा तिनको स्याहार गरियो । 21 जब तिनलाई फ्याँकियो, फारोकी छोरीले तिनलाई उठाइन् र तिनलाई आफ्नै छोरासरह हुर्काइन् । 22 मोशालाई मिश्रका सारा विद्यामा शिक्षा दिइयो, र तिनी आफ्ना वचन र कर्ममा शक्तिशाली बने । 23 तर जब तिनी करिब चालिस वर्ष पुगे, तिनलाई आफ्ना दाजुहरू अर्थात् इस्राएलका सन्तानहरूलाई भेट गर्न मन लाग्यो । 24 एक जना इस्राएलीमाथि अन्याय भएको देखेर मोशाले त्यसको रक्षा गरे र त्यस मिश्रीलाई मारेर अन्यायमा पर्नेको बदला लिएः 25 परमेश्‍वरले तिनका हातद्वारा तिनका दाजुभाइहरूको छुट्कारा गर्न खोज्दै हुनुहुन्थ्यो भन्‍ने कुरा तिनीहरूले बुझ्लान् भनी तिनले सोचे, तर तिनीहरूले त्यो कुरा बुझेनन् । 26 अर्को दिन तिनीले दुई जना मानिसहरुलाई झगडा गरिरहेका देखे र तिनले यसो भन्दै तिनीहरूको झगडा मिलाउन खोजे, “ए मानिसहरू हो, तपाईंहरू दाजुभाइ हुनुहुन्छ; किन तपाईंहरू एकअर्कालाई चोट पुर्‍याउँदै हुनुहुन्छ?” 27 तर जसले आफ्नो छिमेकीलाई हानि पुर्‍याएको थियो त्यसले तिनलाई धकेलेर भन्यो, “तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता तुल्यायो? 28 हिजो तिमीले त्यस मिश्रीलाई मारेझैं के तिमी मलाई पनि मार्न चाहन्छौ?” 29 यो सुनेर मोशा भागे; तिनी मिद्यान देशमा परदेशी बने जहाँ तिनी दुई छोराका पिता बने । 30 चालिस वर्ष बितेपछि सीनै पर्वतको उजाड-स्थानमा जलिरहेको आगोको पोथ्रामा एउटा स्वर्गदूत तिनीकहाँ देखा परे । 31 जब मोशाले ज्वालालाई देखे, यो द‍ृश्य देखेर तिनी छक्‍क परे; र त्यसलाई हेर्न तिनी नजिक जाँदा त्यहाँ यसो भन्दै परमप्रभुको आवाज आयो, 32 'तिम्रा पुर्खाहरू अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर मै हुँ ।' मोशा काँपे र तिनले हेर्ने साहस गरेनन् । 33 परमप्रभुले तिनलाई भन्‍नुभयो, 'तिम्रा खुट्टाबाट जुत्ता फुकाल किनकि तिमी उभिएको ठाउँ पवित्र भूमि हो । 34 निश्‍चय नै मैले मिश्रमा भएका मेरा मानिसहरूको दुःखकष्‍टलाई देखेको छु; मैले तिनीहरूको क्रन्दन सुनेको छु, र म तिनीहरूलाई छुट्कारा दिन तल ओर्लिआएको छु; अब आऊ, म तिमीलाई मिश्रमा पठाउनेछु ।' 35 यी मोशा जसलाई तिनीहरूले इन्कार गरे, जसलाई तिनीहरूले भनेका थिए, 'कसले तिमीलाई शासक र न्यायकर्ता तुल्यायो?', तिनैलाई परमेश्‍वरले शासक र उद्धारकर्ता दुवै बनाएर पठाउनुभयो । पोथ्रामा मोशाकहाँ देखा पर्ने स्वर्गदूतका हातद्वारा परमेश्‍वरले तिनलाई पठाउनुभयो । 36 मिश्र, लाल समुद्रसाथै उजाड-स्थानमा चालिस वर्षसम्म आश्‍चर्यकर्म र चिन्हहरू गरेर मोशाले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याए । 37 'यी तिनै मोशा थिए जसले इस्राएलका मानिसहरूलाई भनेका थिए, “परमेश्‍वरले तिमीहरूका दाजुभाइहरूकै बीचबाट मजस्तै एक जना अगमवक्‍ता खडा गर्नुहुनेछ ।' 38 यी तिनै मानिस हुन् जो उजाड-स्थानमा भएको समुदायसित स्वर्गदूतसँगै थिए जो सीनै पर्वतमा तिनीसित बोलेका थिए, जो हाम्रा पुर्खाहरूसित थिए, र जसले हामीलाई दिन जीवित वचनहरू प्राप्‍त गरे । 39 तर हाम्रा पुर्खाहरूले तिनको आज्ञापालन गर्न इन्कार गरे; तिनीहरूले तिनलाई आफूहरूबाट पन्छाए, र तिनीहरू आफ्ना हृदयमा मिश्रमा फर्के । 40 त्यस बेला तिनीहरूले हारूनलाई भने, 'हाम्रो निम्ति हामीलाई अगुवाइ गर्ने देवताहरू बनाउनुहोस् । हामीलाई मिश्र देशबाट अगुवाइ गरेर ल्याउने यी मोशालाई के भयो हामीलाई थाहा छैन ।' 41 ती दिनमा तिनीहरूले एउटा बाछो बनाए र तिनीहरूले त्यस मूर्तिमा बलिदान चढाए, र तिनीहरूआफ्ना हातका काममा रमाए । 42 तर परमेश्‍वर तर्कनुभयो र तिनीहरूलाई आकाशका ताराहरूको पूजा गर्न छाडिदिनुभयो, जस्तो अगमवक्‍ताका पुस्तकहरूमा लेखिएको छ, 'इस्राएलका घराना हो, के तिमीहरूले मलाई चालिस वर्षसम्म उजाड-स्थानमा पशुबलि र बलिदानहरू चढायौ र? 43 तिमीहरूले मोलोखको पवित्र वासस्थान र रेफन देवताको तारा, र आफूले पूजा गर्न बनाएका मूर्तिहरूलाई स्वीकार गर्‍यौ: र म तिमीहरूलाई बेबिलोनभन्दा पर लैजानेछु ।' 44 उजाड-स्थानमा हाम्रा पुर्खाहरूको गवाहीको पवित्र वासस्थान थियो जुन मोशाले देखेको नमुना जस्तै बनाउनुपर्छ भनी परमेश्‍वरले मोशासँग बोल्नुहुँदा तिनलाई आज्ञा गर्नुभयो । 45 पछि हाम्रा पूर्खाहरूले, यहोशूको अगुवाइमा, त्यो पवित्र वासस्थान प्राप्‍त गरे र यस देशलाई अधिकारमा ल्याउँदा त्यसलाई तिनीहरूसँगै ल्याए । परमेश्‍वरले ती जातिहरूबाट देश लिनुभयो र तिनीहरूलाई हाम्रा पुर्खाहरूको उपस्थितिमा धपाउनुभयो । दाऊदको समयसम्म पवित्र वासस्थान यस देशमा रह्‍यो, 46 जसले परमेश्‍वरको द‍ृष्‍टिमा निगाह पाए, र तिनले याकूबका परमेश्‍वरको निम्ति एउटा वासस्थान निर्माण गर्नका निम्ति अनुरोध गरे । 47 तर परमेश्‍वरको निम्ति एउटा भवन बनाउने सोलोमन थियो । 48 तथापि सर्वोच्‍च परमेश्‍वर हातले बनाएका घरहरूमा बस्‍नुहुन्‍न, जस्तो अगमवक्‍ताले भनेका छन्, 49 ‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरा खुट्टाको पाउदान । तिमीहरूले मेरो निम्ति कस्तो किसिमको घर बनाउन सक्छौ?’ परमप्रभु भन्‍नुहुन्छ, वा मेरो विश्रामको स्थान कुन हो? 50 के यी सबै कुराहरू मेरै हातले बनाएका होइनन् र?’ 51 हे हठी मानिसहरू हो, हृदय र कानको खतना नभएकाहरू, तपाईंहरू सधैं पवित्र आत्माको विरोध गर्नुहुन्छ; तपाईंहरूका पुर्खाहरूले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ । 52 तपाईंहरूका पुर्खाहरूले कुनचाहिं अगमवक्‍तालाई सताएनन्? तिनीहरूले अगमवक्‍ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परे; र अहिले तपाईंहरू उहाँका विश्‍वासघाती र हत्यारा पनि बन्‍नु भएको छ, 53 तपाईंहरूले स्वर्गदूतहरूद्वारा स्थापित व्यवस्था पाउनुभयो तर त्यसको पालना गर्नुभएन ।” 54 जब परिषद्का सदस्यहरूले यी कुराहरू सुने, तिनीहरूका मुटु छेडियो र तिनीहरूले स्तिफनसमाथि दाह्रा किटे । 55 तर तिनले पवित्र आत्माले भरिएर एकटकले स्वर्गतिर हेरे र परमेश्‍वरको महिमा देखे; साथै येशूलाई परमेश्‍वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे । 56 स्तिफनसले भने, “हेर्नुहोस्, म स्वर्ग उघ्रेको र मानिसका पुत्रलाई परमेश्‍वरको दाहिने हातपट्टि उभिरहनुभएको देख्छु ।” 57 परिषद्का सदस्यहरूले आफ्ना कान थुने, र ठुलो सोरले चिच्‍च्याए, तिनीहरू एकै मनका भएर तिनीमाथि जाइलागे । 58 तिनीहरूले तिनलाई सहरबाहिर ल्याए र तिनीमाथि ढुङ्गा बर्साउन थाले । साक्षीहरूले शाऊल नाउँ गरेका जवान मानिसको खुट्टानेर आफ्ना बाहिरी वस्‍‍त्रहरू खोलेर राखे । 59 तिनीहरूले स्तिफनसमाथि ढुङ्गा बसाईरहँदा तिनले निरन्तर रूपमा यसो भन्दै प्रभुको पुकारा गरे, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस् ।” 60 तिनले घुँडा टेकी ठुलो सोरले चिच्‍च्याए, “हे प्रभु, तिनीहरूलाई यो पापको दोष नलागोस् ।” यति भनेपछि तिनले आफ्नो प्राण त्यागे ।