अध्याय ६

1 अब ती दिनमा जब चेलाहरूको सङ्ख्या बढ्दै गयो ग्रीक-यहूदीहरूले हिब्रूहरूका विरुद्धमा गनगन गर्न थाले किनभने तिनीहरूका विधवाहरूलाई दैनिक खाद्य वितरणमा वेवास्ता गरिंदै थियो । 2 बाह्र प्रेरितले चेलाहरूको समूहलाई बोलाएर भने, “खुवाउने-पियाउने सेवाको लागि हामीले परमेश्‍वरको वचनलाई छोड्‍नु उपयुक्त हुँदैन । 3 यसकारण भाइ हो, तपाईंहरूमध्येबाट सात जना मानिसलाई छान्‍नुहोस् जो नाउँ चलेका, पवित्र आत्मा र बुद्धिले भरिएका होऊन् जसलाई हामी यस कामको लागि नियुक्त गर्न सकौं । 4 हाम्रो सम्बन्धमा भन्‍नुपर्दा, हामी सधैं निरन्तर रूपमा प्रार्थना र वचनको सेवामा लागिरहनेछौं ।” 5 तिनीहरूको भनाइ पूरै समुदायलाई मन पर्‍यो । त्यसैले, तिनीहरूले विश्‍वास र पवित्र आत्माले भरिएका स्तिफनस भन्‍ने, र फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी मत मान्‍ने निकोलाउसलाई छाने । 6 विश्‍वासीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामु ल्याए जसले प्रार्थना गरे र तिनीहरूमाथि आफ्ना हात राखे । 7 यसरी परमेश्‍वरको वचन फैलिंदै गयो, र यरूशलेममा चेलाहरूको सङ्ख्या धेरै वृद्धि भयो, र पूजाहारीहरूको ठुलो सङ्‍ख्‍या यस विश्‍वासमा आज्ञाकारी भए । 8 अब अनुग्रह र शक्तिले भरिएर स्तिफनसले मानिसहरूका बीचमा महान् आश्‍चर्यकर्म र चिन्हहरू देखाउँदै थिए । 9 तर त्यहाँ स्वत‍न्‍‍त्र दल नामक सभाघरका केही मानिसहरू, कुरेनीहरू र अलेक्ज्यान्ड्रियाका मानिसहरू, र किलिकियासाथै एसियाका केही मानिसहरू खडा भए । यी मानिसहरू स्तिफनससित वादविवाद गर्दै थिए । 10 तर स्तिफनसले जुन बुद्धि र आत्माले बोले तिनीहरूले त्यसको सामना गर्न सकेनन् । 11 त्यसपछि तिनीहरूले केही मानिसहरूलाई घुस दिएर यसो भन्‍न लगाए, “हामीले स्तिफनसले मोशा र परमेश्‍वरको विरुद्धमा ईश्‍वर-निन्दक वचनहरू बोलेका सुनेका छौं ।” 12 तिनीहरूले मानिसहरू, धर्म-गुरुहरू, र शास्‍‍त्रीहरूलाई उक्साए, अनि स्तिफनससित मुकाबला गरे र तिनलाई पक्रे र परिषद्‍को सामु ल्याए । 13 तिनीहरूले झूटा साक्षीहरू पेस गरे जसले भने, “यो मानिसले यस पवित्रस्थान र व्यवस्थाको विरुद्धमा बोल्न छाड्दैन । 14 किनकि नासरतको यो येशूले यस स्थानलाई नष्‍ट पार्नेछ र मोशाले हामीलाई सुम्पेका चलनहरूलाई बद्लनेछ भनी त्यसले बोलेको हामीले सुनेका छौं ।” 15 परिषद्‍मा जम्मा भएका हरेकले आफ्नो आँखा तिनमा केन्द्रित गरे र तिनको मोहोडा स्वर्गदूतको मोहोडा झैं देखे ।