1
अब कैसरिया सहरमा कर्नेलियस नाउँका एक जना मानिस थिए जो इटालिया नामक पल्टनका कप्तान थिए ।
2
तिनी ईश्वरभक्त मानिस थिए जो आफ्ना सारा घरानासहित परमेश्वरको भय मान्थे । तिनले खाँचोमा परेकाहरूलाई धेरै रूपैयाँ-पैसा दिन्थे, र सधैं परमेश्वरलाई प्रार्थना चढाइरहन्थे ।
3
नवौं घडीतिर तिनले दर्शनमा परमेश्वरका एक स्वर्गदूत आफूतिर आइरहेको देखे । स्वर्गदूतले तिनलाई भने, “ए कर्नेलियस!”
4
कर्नेलियसले एकटक लगाएर स्वर्गदूतलाई हेरे र धेरै भयभीत भएर भने, “हजुर, भन्नुहोस् ।” स्वर्तदूतले तिनलाई भने, “तिम्रा प्रार्थना र तिमीले गरिबहरूलाई दिएका दान सम्झनायोग्य बलिको रूपमा परमेश्वरको उपस्थितिमा पुगेका छन् ।
5
अब पत्रुस भनेर चिनिने सिमोन नाउँ गरेको मानिसलाई ल्याउन योप्पा सहरमा मानिसहरू पठाऊ ।
6
तिनी सिमोन नामक चर्मकारसित बसिरहेका छन् जसको घर समुद्रको छेउमा छ ।”
7
आफूसित बोल्ने स्वर्गदूत गएपछि कर्नेलियसले आफ्नो घरका दुई जना सेवक, र तिनको सेवा गर्ने सिपाहीहरूमध्ये परमेश्वरलाई पुज्ने एक जना सिपाहीलाई बोलाए ।
8
कर्नेलियसले तिनीहरूलाई सबै कुरा बताएर तिनीहरूलाई योप्पा पठाए ।
9
अब भोलिपल्ट लगभग छैटौं घडीमा, तिनीहरू यात्रा गरेर सहरको नजिक आइपुग्दा पत्रुस प्रार्थनाको लागि घरको माथिल्लो कौसीमा उक्ले ।
10
तब तिनी भोकाए र तिनले केही खाने मन गरे, तर मानिसहरूले केही खानेकुरा पकाइरहँदा तिनीलाई एउटा दर्शन दिइयो,
11
र तिनले आकाश खुलेको र चारै कुनामा बाँधिएको एउटा ठुलो तन्नाजस्तो एउटा वस्तु पृथ्वीतिर खसिरहेको देखे ।
12
त्यसमा सबै किसिमका चारखुट्टे प्राणीहरू र पृथ्वीमा घस्रने जन्तुहरू, र आकाशका चराचुरुङ्गीहरू थिए ।
13
त्यसपछि एउटा आवाजले तिनलाई भन्योः “ पत्रुस उठ, मार र खाऊ ।”
14
तर पत्रुसले भने, “हुँदैन प्रभु; किनकि मैले कहिल्यै अशुद्ध र अपवित्र कुराहरू खाएको छैनँ ।”
15
तर त्यो आवाज दोस्रो पटक पनि तिनीकहाँ आयोः “परमेश्वरले जे शुद्ध पार्नुभएको छ तिमीले त्यसलाई अशुद्ध भन्न हुँदैन ।”
16
तीन पटकसम्म यसै भयो; त्यसपछि त्यो वस्तु तुरुन्तै आकाशतिर लगियो ।
17
अब आफूले देखेको दर्शनको अर्थ के होला भनेर पत्रुस
साह्रै अन्योलमा परिरहँदा, हेर, कर्नेलियसद्वारा पठाइएका मानिसहरू त्यस घरको बाटो खोज्दै ढोकाको सामु खडा भए ।
18
पत्रुस भनिने सिमोन त्यहाँ बसिरहेका छन् कि छैनन् भनी तिनीहरूले बोलाएर सोधे ।
19
पत्रुसले दर्शनको बारेमा अझै सोचिरहेकै बेला पवित्र आत्माले तिनलाई भन्नुभयो, “हेर, तीन जना मानिसले तिम्रो खोजी गर्दैछन् ।
120
उठ र तल जाऊ अनि तिनीहरूसँगै लाग । तिनीहरूसँगै जान नहिचकिचाऊ, किनभने मैले नै तिनीहरूलाई पठाएको हुँ ।”
21
त्यसैले पत्रुस ती मानिसहरूकहाँ ओर्ले र भने, “तपाईंहरूले खोजिरहनुभएको व्यक्ति मै हुँ । तपाईंहरू किन आउनुभएको?”
22
तिनीहरूले भने, “कर्नेलियस नाउँ गरेका कप्तान, एक धर्मी मानिस र परमेश्वरको भय मान्ने, र सारा यहूदी जातिद्वारा असल कहलिएका मानिसलाई, तपाईंलाई बोलाएर उहाँको घरमा ल्याऊ भनी उहाँलाई परमेश्वरका पवित्र स्वर्गदूतद्वारा भनिएको थियो ताकि उहाँले तपाईंको सन्देश सुन्न सकून् ।”
23
त्यसैले पत्रुसले तिनीहरूलाई भित्र आई तिनीसित बस्न निमन्त्रणा दिए । भोलिपल्ट बिहान पत्रुस उठे र तिनीहरूसँगै गए, र योप्पाका केही भाइहरू पनि तिनीसँगै लागे ।
24
अर्को दिन तिनीहरू कैसरिया आइपुगे । कर्नेलियसले तिनीहरूको प्रतीक्षा गर्दै थिए; तिनले आफ्ना नातेदारहरूसाथै घनिष्ठ मित्रहरूलाई पनि बोलाएका थिए ।
25
पत्रुस भित्र पसेपछि कर्नेलियसले तिनलाई भेटे र तिनका पाउ परी दण्डवत् गरे ।
26
तर पत्रुसले तिनलाई यसो भन्दै उठाए, “उठ्नुहोस्! म पनि मानिस नै हुँ ।”
27
पत्रुस तिनीसित बातचित गरिरहँदा तिनी भित्र प्रवेश गरे र धेरै मानिसहरू जम्मा भएका देखे ।
28
तिनले तिनीहरूलाई भने, “तपाईंहरू आफैंलाई थाहा छ कि एउटा यहूदीले अर्को जातिका मानिसहरूसित सङ्गत गर्नु वा तिनीहरूलाई भेटघाट गर्नु अनुचित कार्य हो । तर मैले कुनै पनि मानिसलाई अशुद्ध वा अपवित्र भन्नु हुँदैन भनी परमेश्वरले मलाई देखाउनुभएको छ ।
29
त्यसकारण मलाई बोलाइँदा म गनगन नगरीकन आएँ । तपाईंहरूले मलाई किन बोलाउनुभएको हो भनी मलाई भन्नुहोस् ।
30
कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा नवौं घडीमा प्रार्थना गरिरहेको थिए; र हेर, चहकिलो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए ।
31
तिनले भने, ‘हे कर्नेलियस, परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानहरूले परमेश्वरलाई तिम्रो सम्झना गराएको छ ।
32
त्यसैले कसैलाई योप्पामा पठाऊ र पत्रुस भनिने सिमोनलाई डाकेर ल्याऊ । तिनी समुद्रको छेउमा सिमोन भनिने चर्मकारको घरमा बसिरहेका छन् ।’
233
त्यसैले तुरुन्तै मैले तपाईंलाई बोलाउन पठाएँ । तपाईं दया गरीकन आइदिनुभयो । अब प्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्न हामी सबै परमेश्वरको सामुन्ने यहाँ उपस्थिति छौं ।”
334
तब पत्रुसले आफ्नो मुख खोले र भने, “साँच्चै म जान्दछु कि परमेश्वरले कसैको पक्षपात गर्नुहुन्न ।
35
बरु, हरेक जातिमा उहाँको भय मान्ने र धार्मिक कामहरू गर्ने व्यक्ति उहाँको अगि स्वीकारयोग्य हुन्छ ।
36
परमेश्वरले इस्राएलका मानिसहरूलाई पठाउनुभएको सन्देश तपाईंहरूलाई थाहै छ, जब उहाँले सबैका प्रभु अर्थात् येशू ख्रीष्टद्वारा शान्तिको बारेमा सुसमाचार प्रचार गर्नुभयो,
37
तब यूहन्नाले प्रचार गरेको बप्तिस्मापश्चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ;
38
ती घटनाहरू नासरतका येशूको बारेमा हुन् कि कसरी परमेश्वरले पवित्र आत्मा र शक्तिले उहाँलाई अभिषेक गर्नुभयो । उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरू सबैलाई निको पार्दै जानुभयो किनकि परमेश्वर उहाँसित हुनुहुन्थ्यो ।
39
यहूदीहरूको देश र यरूशलेम दुवैमा येशूले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौं । तिनीहरूले उहाँलाई काठमा झुण्ड्याएर मारे,
40
तर परमेश्वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र उहाँलाई प्रकट गराउनुभयो,
41
सबैकहाँ होइन, तर परमेश्वरले पहिले नै छान्नुभएका साक्षीहरूकहाँ—हामीकहाँ जसले उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएपछि उहाँसँगै खायौं र पियौं ।
42
परमेश्वरले उहाँलाई नै जिउँदा र मरेकाहरूको न्यायकर्ता हुन चुन्नुभएको छ भनी मानिसहरूलाई प्रचार गर्न र गवाही दिन उहाँले हामीलाई आज्ञा दिनुभयो ।
43
सबै अगमवक्ताहरूले उहाँको निम्ति गवाही दिएका छन् ताकि उहाँमाथि विश्वास गर्ने हरेकले उहाँको नाउँद्वारा पापको क्षमा पाओस् ।”
44
पत्रुसले यी कुराहरू बताइरहँदा तिनको सन्देश सुन्नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो ।
45
खतनाको समूहका विश्वासी मानिसहरू—पत्रुससँगै आएका ती सबै—छक्क परे, किनभने पवित्र आत्माको वरदान गैरयहूदीहरूमाथि पनि खन्याइएको थियो ।
46
किनकि तिनीहरूले यी गैरयहूदीहरूले अन्य भाषाहरूमा बोलेका र परमेश्वरको प्रशंसा गरिरहेका सुने । तब पत्रुसले जवाफ दिए,
47
"हामीले जस्तै पवित्र आत्मा प्राप्त गरेका यी मानिसहरूले पानीको बप्तिस्मा नलिऊन् भनेर के कसैले यिनीहरूदेखि पानी रोक्न सक्छ?"
48
तब तिनले तिनीहरूलाई येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिनू भनी आज्ञा दिए । तिनीहरूले तिनलाई केही दिन तिनीहरूसँगै बस्न अनुरोध गरे ।
1केही प्राचीन प्रतिलिपिहरूमा
दुई जना मानिसले तिम्रो खोजी गर्दैछन्
वा
केही मानिसहरूले तिम्रो खोजी गर्दैछन्
छ ।
2केही प्राचीन प्रतिलिपिहरूमा थप पाइन्छः
जब तिनी आउँछन्, तिनी तिमीसँग बोल्नेछन्
।
3केही प्राचीन प्रतिलिपिहरूमा
प्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा
को सट्टा
परमेश्वरले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा
छ ।