अध्याय ३

1 अब पत्रुस र यूहन्‍ना प्रार्थना गर्ने समयको नवौं घडीमा मन्दिरतिर जाँदै थिए । 2 त्यहाँ एक जना जन्मैदेखि लङ्गडो मानिसलाई बोकेर मन्दिरको सुन्दर नाउँको ढोकामा ल्याइन्थ्यो । तिनीहरूले त्यसलाई हरेक दिन त्यहाँ राख्थे ताकि त्यसले त्यस मन्दिरमा जाँदै गरेका मानिसहरूसँग भिक्षा माग्‍न सकून् । 3 जब त्यसले पत्रुस र यूहन्‍नालाई त्यस मन्दिरमा पस्‍न लागेका देखे, त्यसले तिनीहरूसँग भिक्षा मागे । 4 यूहन्‍नासित पत्रुसले त्यसतर्फ नजर अडाएर भने, “हामीलाई हेर ।” 5 त्यस लङ्गडा मानिसले तिनीहरूबाट केही चीज प्राप्‍त गर्ने आशा राखेर तिनीहरूलाई हेरे । 6 तर पत्रुसले भने, “मसँग सुन र चाँदी छैन, तर जे मसँग छ त्यो म तिमीलाई दिनेछु । नासरतका येशू ख्रीष्‍टको नाउँमा हिंड ।” 7 पत्रुसले त्यसको दाहिने हात समाएर त्यसलाई उठाए, र तुरुन्तै त्यस मानिसको गोडा र गोलिगाँठोमा बल प्राप्‍त भयो । 8 त्यो लङ्गडो मानिस उफ्रँदै उठ्‍यो र हिंड्नलाई सुरु गर्‍यो, अनि पत्रुस र यूहन्‍नासँगै हिंड्दै, उफ्रँदै र परमेश्‍वरको प्रशंसा गर्दै मन्दिरभित्र प्रवेश गर्‍यो । 9 सबै मानिसहरूले त्यसलाई हिंडिरहेको र परमेश्‍वरको प्रशंसा गरिरहेको देखे । 10 तिनीहरूले देखे कि त्यो त्यही मानिस थिए जो त्यस मन्दिरको सुन्दर ढोकामा भिक्षा माग्‍नलाई बस्दै आइरहेको थियो र त्यसमाथि भएका कुराले तिनीहरू आश्‍चर्य र विस्मयले भरिएका थिए । 11 त्यसले पत्रुस र यूहन्‍नाको हात समाइरहँदा, सबै मानिसहरू अति चकित हुँदै तिनीहरू भएका सोलोमनको दलानतर्फ दगुरे । 12 जब पत्रुसले यो देखे, तब तिनले मानिसहरूलाई जवाफ दिए, “हे इस्राएलका मानिसहरू हो, तपाईंहरू किन चकित हुनुभएको छ? किन तपाईंहरूले त्यसलाई हामीले आफ्नै शक्ति वा धार्मिकताले हिंड्ने बनाएको जस्तै गरी हामीलाई एक टकले हेर्नुहुन्छ? 13 अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर, हाम्रा पूर्खाका परमेश्‍वरले आफ्ना सेवक येशूलाई महिमित पार्नुभएको छ । उहाँ नै हुनुहुन्छ जसलाई तपाईंहरूले पक्राइदिनुभयो र पिलातसले उहाँलाई छोड्ने निर्णय गर्दा पनि तपाईंहरूले तिनको सामु उहाँलाई इन्कार गर्नुभयो । 14 तपाईंहरूले पवित्र र धर्मी जनलाई इन्कार गर्नुभयो, र उहाँको सट्टामा तपाईंहरूले एउटा हत्यारालाई छोडिदिन आग्रह गर्नुभयो । 15 तपाईंहरूले जीवनका कर्ताको हत्या गर्नुभयो जसलाई परमेश्‍वरले मृत्युबाट उठाउनुभयो, र हामी यसको साक्षी छौं । 16 उहाँको नाउँमाथिको विश्‍वासले गर्दा उहाँकै नाउँले यी मानिसलाई बलियो बनायो, जसलाई तपाईंहरूले देख्‍नु र जान्‍नुहुन्छ । येशूप्रति त्यसको विश्‍वासले त्यसलाई तपाईंहरू सबैको सामुन्‍ने पूर्ण स्वास्थ्य प्रदान गरेको छ । 17 अब भाइहरू हो, म जान्दछु कि तपाईंहरूले अज्ञानतामा कार्य गर्नुभयो, जसरी तपाईंका शासकहरूले पनि गरे। 18 तर उहाँका ख्रीष्‍टले दु∶ख भोग्‍नुपर्छ भनी परमेश्‍वरले पहिले नै ती सबै अगमवक्‍ताहरूका मुखबाट बताउनुभएको कुराहरू उहाँले अहिले पूरा गर्नुभएको छ । 19 त्यसकारण पश्‍चाताप गर्नुहोस्, र फर्कनुहोस् ताकि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट ताजा बनाउने समय आओस्; 20 र उहाँले नियुक्त भइसक्‍नुभएका ख्रीष्‍ट येशूलाई तपाईंहरूका निम्ति पठाउनुभएको होस् । 21 उहाँ नै हुनुहुन्छ जसलाई सबै कुराहरूको पुनर्स्थापना नभएसम्म स्वर्गले ग्रहण गर्नुपर्छ, जसको बारेमा परमेश्‍वरले उहाँका पवित्र अगमवक्‍ताहरूद्वारा धेरै पहिलेदेखि बोल्नुभयो । 22 वास्तवमा मोशाले भने, ‘परमप्रभु परमेश्‍वेरले तिमीहरूका दाजुभाइहरूका बीचबाट मजस्तै अगमवक्‍तालाई खडा गर्नुहुनेछ । उहाँले तिमीहरूलाई भन्‍नुहुने सबै कुराहरू तिमीहरूले सुन्‍नुपर्नेछ । 23 यसो हुनेछ कि ती अगमवक्‍तालाई नसुन्‍ने हरेक व्यक्ति मानिसहरूका बीचबाट पूर्ण रूपमा नाश हुनेछ ।’ 24 हो, शमूएलदेखिका र तिनीपछि आएका सबै अगमवक्‍ताहरूले यी दिनहरूका बारेमा घोषणा गरे । 25 तपाईंहरू अगमवक्‍ताका र परमेश्‍वरले तपाईंहरूका पुर्खाहरूसँग गर्नुभएको करारका पुत्रहरू हुनुहुन्छ, जसरी उहाँले अब्राहामलाई भन्‍नुभयो, ‘तिम्रो सन्तानद्वारा नै यस पृथ्वीका सबै परिवारहरू आशिषित हुनेछन् ।’ 26 परमेश्‍वरले आफ्ना सेवकलाई उठाउनु भएपछि तपाईंहरूमध्ये हरेकलाई तपाईंहरूको दुष्‍टताबाट फर्काएर तपाईंहरूलाई आशिष् दिनलाई उहाँलाई पहिला तपाईंहरूकहाँ पठाउनुभयो ।”