1
जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै जना एकैसाथ एकै ठाउँमा थिए ।
2
एक्कासि स्वर्गबाट जोडसँग शक्तिशाली हावाको झोक्का जस्तै आवाज आयो र त्यसले तिनीहरू बसिरहेको पूरै घर भरियो ।
3
भागभाग भएका आगोका जस्ता जिब्राहरू तिनीहरूकहाँ देखा परे, र ती तिनीहरू प्रत्येकमाथि बसे ।
4
तिनीहरू सबै जना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई दिनुभएअनुसार अरू भाषाहरूमा बोल्न थाले ।
5
अब स्वर्गमुनि भएका हरेक जातिबाटका ईश्वरभक्त यहूदीहरू यरूशलेममा बसिरहेका थिए ।
6
जब यो आवाज सुनियो, मानिसहरूका भीड एकसाथ आयो र अन्योलमा पर्यो किनभने हरेकले आ-आफ्ना भाषामा तिनीहरू बोलिरहेका सुन्यो ।
7
तिनीहरू छक्क र चकित भए; तिनीहरूले भने, “साँच्चै, के यी सबै बोलिरहनेहरू गालीलीहरू होइनन्?
8
त्यसो भए किन तिनीहरू प्रत्येकले हाम्रो आफ्नै मातृभाषामा नै बोलिरहेका हामी सुनिरहेका छौं?
9
पार्थीहरू र मादीहरू र एलामीहरू र मेसोपोटामिया, यहूदिया र कापाडोकिया, पोन्टस र एसिया
10
फ्रिगिया र पामफिलिया, मिश्र र कुरेनी नजिकका लिबियाका भागहरूका बासिन्दाहरू, र रोमका आगन्तुकहरू,
11
यहूदीहरू र यहूदी मत मान्नेहरू, क्रेट निवासी र अरबीहरू, तिनीहरूले परमेश्वरका महान् कामहरूका बारेमा हाम्रै भाषामा बताइरहेका हामीले सुन्छौं ।”
12
तिनीहरू सबै जना चकित र जिल्ल परे; तिनीहरूले एकअर्कालाई भने, “यसको तात्पर्य के हो?”
13
तर अरूले चाहिं गिज्याए र भने, “तिनीहरू नयाँ मद्यले टन्न भएका छन् ।”
14
तर पत्रुस एघार जनासँगै खडा भएर उच्च स्वरले तिनीहरूलाई भने, “यहूदिया र यरूशलेममा बस्ने सबै मानिसहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस्; मेरा कुराहरू ध्यान दिएर सुन्नुहोस् ।
15
किनकि तपाईंहरूले ठान्नुभएजस्तो यी मानिसहरू मातेका छैनन्, कारण अहिले दिनको तेस्रो घडी मात्र भएको छ ।
16
तर अगमवक्ता योएलद्वारा यो कुरा बोलिएको थियोः
17
‘परमेश्वर भन्नुहुन्छ, “अन्त्यका दिनहरूमा यस्तो हुनेछ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु । तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन्, तिमीहरूका जवानहरूले दर्शन देख्नेछन्, र तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्नेछन् ।
18
निश्चय नै, ती दिनहरूमा मेरा दास र दासीहरूमाथि म मेरो आत्मा खन्याउनेछु, र तिनीहरूले अगमवाणी बोल्नेछन् ।
19
म माथि आकाशमा अचम्मका कुराहरू र तल पृथ्वीमा रगत, आगो, र धूवाँको मुस्लोका चिन्हहरू देखाउनेछु ।
20
परमप्रभुको महान् र उल्लेखनीय दिन आउनअगि सूर्य अँध्यारोमा र चन्द्रमा रगतमा परिणत हुनेछ ।
21
यस्तो हुनेछ कि परमप्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ ।
22
हे इस्राएलका मानिसहरू हो, यी कुराहरू सुन्नुहोस्∶ नासरतका येशू मानिस हुनहुन्थ्यो जसलाई परमेश्वरले शक्तिशाली कामहरू, आश्चर्यकर्महरू र चिन्हहरूद्वारा तपाईंहरूमा मान्यता दिनुभयो जुन कामहरू परमेश्वरले येशूद्वारा तपाईंहरूको माझमा गर्नुभएको तपाईंहरूलाई थाहै छ ।
23
परमेश्वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो; र तपाईंहरू, अधर्मी मानिसहरूको हातद्वारा क्रूसमा टाँगेर मार्नुभयो ।
24
तर उहाँलाई मृत्युका पीडाहरूबाट छुटाएर परमेश्वरले उहाँलाई जीवित पार्नुभयो किनभने उहाँ यसको अधीनमा रहिरहन सम्भव थिएन ।
25
किनकि दाऊदले उहाँको बारेमा भन्छन्, ‘परमप्रभुलाई मैले सधैं मेरो मुहार अगाडि देखें, किनकि म नडगमगाऊँ भनेर उहाँ मेरो दाहिने हातको छेउमा हुनुहुन्छ ।
26
यसकारण मेरो हृदय आनन्दित भयो र मेरो जिब्रोले आनन्द मनायो । साथै मेरो शरीर पनि आशामा जिउनेछ ।
27
किनकि तपाईंले मेरो प्राणलाई पातालमा त्याग्नुहुनेछैन न त तपाईंले आफ्ना पवित्रजनलाई कुहिन दिनुहुनेछ ।
28
तपाईंले मलाई जीवनका मार्गहरू प्रकट गर्नुभयो; तपाईंले आफ्नो मुहारले मलाई खुसीले भरिपूर्ण बनाउनुहुनेछ ।
29
हे भाइहरू हो, म हाम्रा पुर्खा दाऊदका बारेमा दृढतासाथ बोल्न सक्छु, कि तिनी मरे र गाडिए, र तिनको चिहान आजको दिनसम्म हामीसँग छ ।
30
यसकारण तिनी एक अगमवक्ता थिए र परमेश्वरले तिनकै सन्तानहरूमध्येबाटै एक जनालाई तिनको सिंहसानमा बसाल्नुहुनेछ भनी उहाँले तिनीसँग शपथ खानुभएको कुरा तिनलाई थाहा थियो ।
31
तिनले भविष्यमा हुन लागेको कुरा पहिला नै देखे र ख्रीष्टको पुनरुत्थानको बारेमा बताए कि उहाँ न पातालमा त्यागिनुभयो न त उहाँको शरीर नै कुहियो ।
32
यी नै येशू—परमेश्वरले उहाँलाई जीवित पार्नुभयो जसको हामी सबै जना साक्षी छौं ।
33
यसकारण उहाँ परमेश्वरको दाहिने हातपट्टि उठाइनुभएर र पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा पाउनुभएर, उहाँले यो खन्याउनुभएको छ जुन तपाईंहरू देख्नु र सुन्नुहुन्छ ।
34
किनकि दाऊद स्वर्ग चढेनन् तर तिनी भन्छन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, “मेरो दाहिने हातपट्टि बस,
35
जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिनँ ।”’
36
यसकारण इस्राएलका सबै घरानाले यो निश्चयसाथ जानून् कि यही येशू जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट दुवै बनाउनुभएको छ ।
37
अब तिनीहरूले यो सुनेपछि, तिनीहरूको हृदय छिया-छिया भयो, र पत्रुस र अरू बाँकी प्रेरितहरूलाई तिनीहरूले भने, “भाइहरू हो, हामी के गरौं?”
38
अनि पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर र तिमीहरू प्रत्येकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नेछौ ।
39
किनकि यो प्रतिज्ञा तिमीहरूका लागि र तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि हो जस-जसलाई परमप्रभु हाम्रा परमेश्वरले बोलाउनुहुनेछ ।”
40
अरू धेरै कुराहरूद्वारा तिनले गवाही दिए र तिनीहरूलाई यसो भन्दै आग्रह गरे, “यो दुष्ट पुस्ताबाट बच ।”
41
तब तिनीहरूले तिनको कुरा ग्रहण गरे र बप्तिस्मा लिए, र झन्डै तीन हजार प्राणहरू त्यस दिन थपिए ।
42
तिनीहरू प्रेरितहरूको शिक्षा र सङ्गति, रोटी भाँच्ने कार्य र प्रार्थनामा लागिरहे ।
43
हरेक प्राणमाथि डर छायो, र प्रेरितहरूद्वारा धेरै अचम्मका कार्यहरू र चिन्हहरू भए ।
44
विश्वास गर्नेहरू सबै जना सँगसँगै बस्थे र तिनीहरूका सबै चिज साझा थिए,
45
र तिनीहरूले आफ्ना सम्पत्ति र स्वामित्वमा भएका कुराहरू बेचे र कसैको आवश्यकता अनुसार ती सबैलाई बाँडचुँड गरे ।
46
यसरी तिनीहरू दिनहुँ एकै मनको भएर समर्पित भई मन्दिरमा लागिरहन्थे । तिनीहरूले घरघरमा रोटी भाँच्थे, र आनन्द र नम्र हृदयका साथ भोजन बाँडचुँड गर्थे ।
47
तिनीहरूले परमेश्वरको प्रशंसा गर्दै र सबै मानिसहरूमाझ शुभेच्छा पाउँदै बस्थे, र प्रभुले उद्धार पाइरहेकाहरूलाई दिनदिनै तिनीहरूका माझमा थप्नुहुन्थ्यो ।