1
जसै पत्रुस र यूहन्ना मानिसहरूसँग बोलिरहेका थिए, पूजाहारीहरू, मन्दिरका कप्तान र सदुकीहरू तिनीहरूकहाँ आए ।
2
पत्रुस र यूहन्नाले मानिसहरूलाई सिकाइरहेका र येशू मृत्युबाट पुनरुत्थान हुनुभएको घोषणा गरिरहेका कारण उनीहरू साह्रै विचलित भएका थिए ।
3
उनीहरूले तिनीहरूलाई पक्रे र अर्को बिहानसम्मका लागि झ्यालखानामा हालिदिए, किनभने त्यतिबेला साँझ परिसकेको थियो ।
4
तर सन्देश सुनेका मानिसहरूमध्ये धेरै जनाले विश्वास गरे; र विश्वास गर्ने मानिसहरूको सङ्ख्या करिब पाँच हजार थियो ।
5
अर्को दिन तिनीहरूका शासकहरू, धर्म-गुरुहरू र शास्त्रीहरू यरूशलेममा जम्मा भए ।
6
प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका सबै आफन्तहरू त्यहाँ थिए ।
7
जब उनीहरूले पत्रुस र यूहन्नालाई उनीहरूका माझमा राखे तब उनीहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले कुन शक्तिबाट वा कुन नाउँमा यसो गरेका हौ?”
8
अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे मानिसहरूका शासकहरू र धर्म-गुरुहरू हो,
9
यदि यस बिरामी मानिसलाई गरेको असल कामको बारेमा, र यस मानिसलाई कसरी ठिक पारियो भनी आज हामीलाई प्रश्न गरिदैंछ भने,
10
तपाईंहरू सबै र इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि तपाईंहरूले क्रूसमा टाँग्नुभएका तर परमेश्वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रीष्टको नाउँमा यो मानिस तपाईंहरूको बीचमा स्वस्थ भएर उभिएको छ ।
11
येशू ख्रीष्ट त्यो ढुङ्गा हुनुहुन्छ जसलाई तपाईं घर निर्माणकर्ताहरूले इन्कार गर्नुभयो तर अहिले मुख्य कुनेढुङ्गा बनाइएको छ ।
12
अरू कुनै व्यक्तिमा मुक्ति छैन, किनकि हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन ।”
13
जब उनीहरूले पत्रुस र यूहन्नाको साहस देखे र महसुस गरे कि तिनीहरू साधारण र आशिक्षित मानिसहरू थिए, तब पत्रुस र यूहन्ना येशूसँगै रहने गर्थे भन्ने कुरा थाहा पाएर उनीहरू छक्क परे ।
14
उनीहरूले त्यो निको भएको मानिस तिनीहरूसँगै उभिरहेको देखेको कारण त्यस विरुद्ध उनीहरूले केही बोल्न सकेनन् ।
15
तर प्रेरितहरूलाई परिषद् बैठक छोड्न आज्ञा दिएपछि उनीहरू एकआपसमा कुरा गर्न थाले ।
16
उनीहरूले भने, “यी मानिसहरूलाई हामी के गरौं? किनकि तिनीहरूद्वारा गरिएको उल्लेखनीय आश्चर्यकर्मको वास्तविकता यरूशलेममा बस्ने सबैलाई थाहा छ; हामी यसलाई इन्कार गर्न सक्दैनौं ।
17
तर यो कुरा अझ बढी मानिसहरू बीचमा नफैलियोस् भनेर तिनीहरूलाई यस नाउँमा अब उसो कसैसँग पनि नबोल्नू भनी चेताउनी दिऔं ।”
18
तब उनीहरूले पत्रुस र यूहन्नालाई भित्र बोलाए र येशूको नाउँमा बोल्दै नबोल्नू वा शिक्षा कदापि नदिनू भनी आज्ञा दिए ।
19
तर पत्रुस र यूहन्नाले उनीहरूलाई जवाफ दिए र भने, “परमेश्वरको नजरमा उहाँको भन्दा बढी तपाईंहरूको आज्ञापालन गर्नु उचित हो कि होइन, तपाईंहरू नै न्याय गर्नुहोस् ।
20
हामीले देखेका र सुनेका कुराहरूको बारेमा हामी नबोली रहन सक्दैनौं ।”
21
पत्रुस र यूहन्नालाई अझ बढी चेताउनी दिएपछि उनीहरूले तिनीहरूलाई जान दिए । उनीहरूले तिनीहरूलाई दण्ड दिनको निम्ति कुनै पनि दोष भेट्टाउन सकेनन्, किनभने जे गरिएको थियो त्यसको निम्ति सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए ।
22
यो चंगाइको आश्चर्यकर्म अनुभव गर्ने मानिस चालिस वर्षभन्दा माथिको थियो ।
23
तिनीहरूलाई स्वतन्त्र छोडेपछि, पत्रुस र यूहन्ना आफ्ना मानिसहरूकहाँ आए र मुख्य पूजाहारीहरू र धर्म-गुरुहरूले तिनीहरूलाई भनेका सबै कुरा बताए ।
24
तिनीहरूले यो सुनेपछि आफ्ना आवाज परमेश्वरमा एकसाथ उचाले र भने, “हे प्रभु, तपाईं जसले स्वर्ग र पृथ्वी र समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो,
25
तपाईंले पवित्र आत्माद्वारा तपाईंका सेवक हाम्रा पिता दाऊदको मुखद्वारा बोल्नुभयो, ‘गैरयहूदीहरू किन क्रोधित भए, र मानिसहरूले अर्थहीन कुराहरू कल्पना गरे?
26
तपाईंले भन्नुभयो, 'परमप्रभु र उहाँका ख्रीष्टको विरुद्धमा पृथ्वीका राजाहरू एक मत भए, र शासकहरू एकसाथ भेला भए ।'
27
वास्तवमा, हेरोद र पन्तियस पिलातस दुवै, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए ।
28
तपाईंको बाहुलीबाट र तपाईंको योजनाबाट पहिले नै निर्णय भएको सबै कुरा गर्नलाई तिनीहरू सँगसँगै भेला भए ।
29
हे प्रभु, अब तिनीहरूका चेताउनीलाई हेर्नुहोस् र तपाईंका सेवकहरूलाई तपाईंको वचन पूरा साहससित बोल्न दिनुहोस् ।
30
तपाईंले निको पार्न र तपाईंका पवित्र सेवक येशूको नाउँद्वारा चिन्हहरू र आश्चर्यकर्महरू गर्न आफ्नो हात पसार्नुहोस् ।”
31
तिनीहरूले प्रार्थना गरेर सिध्याएपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो, र तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले परमेश्वरको वचन साहससित बोले ।
32
विश्वास गर्नेहरूको त्यो ठुलो समूह एउटै हृदय र प्राणका थिए । कसैले पनि आफूसँग भएको कुनै पनि थोक
त्यसको आफ्नो हो भनेनन्, तर तिनीहरूका सबै थोक साझा थिए ।
33
ठुलो शक्तिसाथ प्रेरितहरूले प्रभु येशूको पुनरुत्थानको बारेमा गवाही घोषणा गर्दैथिए र तिनीहरू सबैमाथि ठुलो अनुग्रह थियो ।
34
तिनीहरूमध्ये कुनै थोकको अभाव भएको कुनै व्यक्ति थिएन किनकि जति जनासँग जग्गाहरू र घरहरू थिए, तिनीहरूले ती बेच्थे र बेचेर आएको पैसा ल्याउँथे
35
र प्रेरितहरूका पाउमा राखिदिन्थे, र आवश्यकतापरेअनुसार
प्रत्येकलाई ती वितरण गरिन्थ्यो ।
36
साइप्रसबाट आएका योसेफ नाउँका एक जना मानिस थिए जो लेवी कुलका थिए जसलाई प्रेरितहरूले बारनाबास (जसको अर्थ उत्साहको पुत्र हुन्छ) नाउँ राखिदिएका थिए,
37
तिनले आफूसँग भएको जमिन बेचे र त्यसको पैसा ल्याएर प्रेरितहरूको पाउमा राखिदिए ।