1
अब, फेस्तस त्यस प्रान्तमा प्रवेश गरे, र तीन दिनपछि, उनी कैसरियाबाट यरूशलेममा पुगे ।
2
मुख्य पूजाहारी र विशिष्ट यहूदीहरूले पावलका विरुद्ध आरोपहरू प्रस्तुत गरे, र तिनीहरूले फेस्तसलाई आग्रह गरे,
3
र पावललाई यरूशलेममा ल्याउन तिनको विरुद्धमा निगाहको निम्ति तिनीहरूले अनुरोध गरे ताकि तिनीहरूले तिनलाई बाटोमा नै लुकेर मार्न सकून् ।
4
तर पावल कैसरियाका कैदी थिए, र फेस्तस आफैं पनि चाँडै त्यहाँ जाँदै थियो भनी तिनले जवाफ दिए ।
5
तिनले भने “यसकारण जान सक्नेहरू हामीसँगै त्यहाँ जानुपर्छ । यदि त्यो मानिसमा कुनै गल्ती छ भने, तिमीहरूले त्यसलाई दोष लगाउनुपर्छ ।”
6
फेस्तस आठ वा दश दिन भन्दा बढी बसेनन् र त्यसपछि तिनी कैसरियातिर गए, र अर्को दिन तिनी न्यायको आसनमा बसे र पावललाई तिनीकहाँ ल्याइयोस् भनी आदेश दिए ।
7
जब उनी आइपुगे, यरूशलेमका यहूदीहरू नजिकै उभिए, र तिनीहरूले साबित नै गर्न नसक्ने गम्भीर आरोपहरू लगाए ।
8
पावलले आफ्नो बचाउ गरे र भने, “मैले यहूदीहरूको व्यवस्थाको विरुद्धमा वा मन्दिरको विरुद्धमा वा कैसरको विरुद्धमा केही गल्ती गरेको छैनँ ।”
9
तर फेस्तसले यहूदीहरूको समर्थन पाउन चाहन्थे, र त्यसैले तिनले पावललाई जवाफ दिए र भने, “के तिमी यरूशलेम गएर यी कुराहरूको इन्साफ मद्वारा गरिएको चाहन्छौ?”
10
पावलले भने, “म कैसरको न्यायको आसनको सामु खडा छु, जहाँ मेरो इन्साफ गरिनुपर्छ । तपाईंलाई पनि राम्ररी थाहा छ कि मैले कुनै पनि यहूदीलाई खराबी गरेको छैनँ ।
11
तैपनि यदि मैले गल्ती गरेको छु र यदि मैले मृत्युको योग्य केही कुरा गरेको छु भने, म मर्नलाई इन्कार गर्दिनँ । तर यदि तिनीहरूका आरोपहरू केही पनि होइनन् भने, कसैले पनि मलाई तिनीहरूको हातमा सुम्पन सक्दैन । म कैसरलाई गुहार्छु ।
12
फेस्तसले परिषद्मा कुरा गरेपछि तिनले जवाफ दिए, “तिमीले कैसरसँग गुहार मागेका छौ । तिमी कैसरकहाँ नै जानेछौ!”
13
अब केही दिनपछि राजा अग्रिपा र बर्निकी कैसरियामा फेस्तसलाई कामकाजी भेटघाट गर्न आइपुगे ।
14
तिनीहरू त्यहाँ धेरै दिनसम्म बसेपछि, फेस्तसले पावलको मुद्दा राजाका अघि प्रस्तुत गरे; तिनले भने, “फेलिक्सले एक जना मानिसलाई कैदीको रूपमा छोडेका थिए ।
15
जब म यरूशलेममा थिएँ, मुख्य पूजाहारी र यहूदीहरूका धर्म-गुरुहरूले यो मानिसको विरुद्ध मकहाँ आरोपहरू लगाए, र तिनीहरूले उसको विरुद्ध दण्डको लागि अनुरोध गरे ।
16
मैले तिनीहरूलाई जवाफ दिएँ, कि आरोप लगाइएको मानिसले त्यसलाई आरोप लगाउनेहरूको सामना नगरेसम्म र आफूमाथिका आरोपहरू विरुद्ध आफैंलाई बचाउ गर्ने मौका नदिएसम्म कसैलाई सुम्पने रोमीहरूको प्रचलन छैन ।
17
यसकारण जब तिनीहरू सँगै यहाँ आए, मैले पर्खिनँ, तर अर्को दिन म न्याय आसनमा बसें र त्यो मानिसलाई भित्र ल्याउने आदेश दिएँ ।
18
जब आरोप लगाउनेहरू उठे र उसलाई आरोप लगाए, तिनीहरूले उसको विरुद्ध लगाएको कुनै पनि आरोपहरू मलाई गम्भीर लागेन ।
19
यसको सट्टामा, तिनीहरूको आफ्नै धर्म सम्बन्धी र पावलले जीवित छन् भनी दावी गरेका कोही मरेको येशूको बारे तिनीहरूको विवाद थियो ।
20
म यो कुरामा कसरी अनुसन्धान गर्ने भनी अन्योलमा परें, र त्यसैले यी आरोपहरूको बारेमा इन्साफ गरिनको निम्ति ऊ यरूशलेम इच्छुक छ कि भनी मैले उसलाई सोधें ।
21
तर जब पावलले सम्राटको फैसला कुरुन्जेल, हिरासतमा राखिनलाई इच्छा गरे, मैले उसलाई कैसरकहाँ नपठाएसम्म हिरासतमा राख्नलाई आदेश दिएँ ।”
22
अग्रिप्पाले फेस्तससँग भने, “म पनि यो मानिसका कुराहरू सुन्न चाहन्छु ।” फेस्तसले भने, “भोलि तपाईंले उसको कुरा सुन्नुहुनेछ ।”
23
यसरी अर्को दिन अग्रिप्पा र बर्निकी भव्य समारोहसँग आए; तिनीहरू सैनिक अधिकारीहरू र सहरका विशिष्ट व्यक्तिहरूसँग भवनभित्र आए । फेस्तसले आदेश दिएपछि पावललाई तिनीहरूकहाँ ल्याइयो ।
24
फेस्तसले भने, “राजा अग्रिप्पा, र यहाँ हामीसँग हुनुभएका सबै मानिसहरू, तपाईंहरूले यो मानिसलाई देख्नुहुन्छ; यरूशलेममा र यहाँ पनि यहूदीहरूका सारा भीडले मसँग छलफल गरे, र ऊ जीवित रहनुहुँदैन भनी तिनीहरू मसँग कराए ।
25
मैले थाहा पाएँ कि यो मानिसले मृत्युको लायकको त्यस्तो कुनै गल्ती गरेको छैन; तर उसले सम्राटकहाँ जाने अपिल गरेकोले, मैले उसलाई पठाउने निर्णय गरें ।
26
तर मसँग सम्राटलाई लेख्ने कुनै निश्चित कुराहरू छैन । यसकारण मैले उसलाई तपाईंहरूकहाँ ल्याएको छु, विशेषगरी राजा अग्रिप्पाकहाँ, ताकि मसँग मुद्दाको बारेमा लेख्ने केही कुराहरू होस् ।
27
किनकि एउटा कैदीलाई पठाउनु र उसको विरुद्धमा भएका आरोपहरू उल्लेख नगर्नु मलाई अनुपयुक्त जस्तो लाग्छ ।”