अध्याय २४

1 पाँच दिनपछि, मुख्य पूजाहारी हननिया, केही धर्म-गुरुहरू, र तर्तुलस नाउँ गरेका कुशलवक्ता त्यहाँ गए । यी मानिसहरूले हाकिमकहाँ पावलको विरुद्धमा दोष लगाए । 2 जब पावल हाकिमका अगाडि उभिए, ततुर्लसले तिनलाई दोष लगाउन थाल्यो र हाकिमलाई भन्यो, “तपाईंको कारणले हामीलाई ठूलो शान्ति मिलेको छ, र तपाईंको दूरद‍ृष्‍टिले हाम्रो जातिमा असल सुधार ल्याउँछ; 3 त्यसैले अति माननीय फेलिक्स, सबै धन्यवादका साथ तपाईंले गर्नुभएको हरेक कुरालाई हामी स्वागत गर्छौं । 4 त्यसैले म तपाईंलाई अल्झाउँदिनँ, दया गरी मेरो कुरा छोटकरीमा सुनिदिनलाई आग्रह गर्छु । 5 किनकि हामीले यस मानिसलाई दु:ख दिने र संसारभरिका सारा यहूदीहरूलाई विद्रोह गर्न लगाउने व्यक्तिको रूपमा पाएका छौं । ऊ नाजरी सम्प्रदायको एउटा अगुवा हो । 6 उसले मन्दिरलाई अशुद्ध पार्न पनि प्रयास गर्‍यो, त्यसैले हामीले उसलाई पक्रियौं । 1 7 2 8 जब तपाईंले यी सबै कुराहरू बारे पावललाई प्रश्‍न गर्नुहुन्छ, हामीले उसको विरुद्धमा लगाएका यी दोषहरूको बारेमा तपाईंले थाहा पाउनुहुनेछ ।" 9 यहूदीहरूले यी दोषहरू सत्य हुन् भन्दै दोषारोपणमा एकसाथ जोडिए । 10 तर जब हाकिमले पावललाई बोल्नका लागि इशारा गरे, पावलले जवाफ दिए, “म बुझ्छु कि तपाईं यस जातिको निम्ति धेरै वर्षदेखि न्यायकर्ता हुनुभएको छ, र यसैले म आफैंलाई तपाईंको सामु खुसीसाथ बयान गर्छु । 11 तपाईंले थाहा पाउनु हुनेछ कि म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन । 12 जब तिनीहरूले मलाई मन्दिरमा भेट्टाए, मैले कसैसँग विवाद गरिनँ, र मैले सभाघरहरू वा सहरहरूमा भीडलाई उक्साइनँ । 13 तिनीहरूले अहिले मेरो विरुद्धमा जुन दोष लगाइरहेका छन् त्यो तिनीहरूले तपाईंको अगाडि प्रमाणित गर्न सक्दैनन् । 14 तर तपाईंसामु म यो स्वीकार गर्छु कि तिनीहरूले पन्थ भन्‍ने गरेको मार्गअनुसार नै म मेरा पुर्खाहरूका परमेश्‍वरको सेवा गर्छु । व्यवस्थामा भएका सबै कुराप्रति र अगमवक्‍ताहरूले लेखेका पुस्तकहरूप्रति म विश्‍वासयोग्य छु । 15 यी मानिसहरूको आशा परमेश्‍वरमा भएजस्तै ममा पनि त्यस्तै छ, कि दुवै धर्मी र अधर्मीहरूको पुनरुत्थानको हुनेछ। 16 त्यसैले परमेश्‍वर र मानिसहरूको सामु शुद्ध विवेक राख्‍न म सधैं प्रयत्‍न गर्छु । 17 अहिले धेरै वर्षपछि म मेरो जातिलाई सहायता गर्न र पैसाको उपहारहरू ल्याउन आएँ । 18 जब मैले यो गरें, एसियाका केही यहूदीहरूले मलाई शुद्धिकरणको समारोहमा मन्दिरमा भेट्टाए, जहाँ कुनै भीडभाड वा होहल्ला थिएन । 19 ती मानिसहरू अहिले तपाईंको अगाडि हुनुपर्दथ्यो अनि यदि मेरो विरुद्धमा तिनीहरूको केही थियो भने भन्‍नुपर्दथ्यो । 20 नत्र भने म यहूदी परिषद्‍ अगि खडा हुँदा तिनीहरूले ममा के गल्ती भेट्टाए, यिनै मानिसहरूले भन्‍नुपर्छ, 21 केवल यहीं एक कुरा मात्र हो जुन मैले तिनीहरूको माझमा खडा भएर ठुलो स्वरमा कराएँ, ʻमृतकहरूको पुनरुत्थान बारेको कुराले नै आज तपाईंद्वारा मेरो मुद्धा चलिरहेछ ।'” 22 त्यसपछि फेलिक्स जो यो मार्गको बारेमा जानकार थिए, तिनले सुनुवाइ पछि सारे । तिनले भने “यरूशलेमबाट सेनापति लुसियस तल आएपछि म तिम्रो मुद्दाको फैसला गर्नेछु ।” 23 त्यसपछि तिनले कप्‍तानलाई पावललाई पहरामा राख्‍नू, तर तिनलाई स्‍वतन्‍‍त्रता दिनू ताकि तिनका कुनै साथीहरूलाई तिनको आवश्‍यकताहरू पूरा गर्न नरोकून् भनी आज्ञा दिए । 24 केही दिनपछि, फेलिक्स आफ्नी श्रीमती द्रूसिल्लासँग फर्के, तिनी यहूदी थिईन्, अनि उनले पावललाई बोलाए, र तिनीबाट ख्रीष्‍ट येशूप्रतिको विश्‍वासको बारेमा सुने । 25 तर जब पावलले उनलाई धार्मिकता, संयमता र आउँदै गरेको न्यायको बारे उनीसँग बहस गरे, फेलिक्स भयभीत भए अनि उनले भने, “अहिलेलाई जाऊ । तर जब मलाई पछि समय मिल्छ, म तिमीलाई बोलाउनेछु ।” 26 त्यही समयमा, पावलले उनलाई पैसा दिन्छन् कि भनी उनले आशा गरेका थिए, त्यसैले उनले पावललाई प्रायः बोलाउँथे र तिनीसँग कुरा गर्थे । 27 तर जब दुई वर्ष बित्यो, फेलिक्सपछि पर्सिअस फेस्तस हाकिम बने, तर फेलिक्सले यहूदीहरूको समर्थन प्राप्‍त गर्न चाहन्थे, त्यसैले उनले पावललाई निरन्तर पहरामा नै छोडिराखे ।

1केही प्राचीन प्रतिलिपिहरूमा हामीले यसलाई हाम्रो व्यवस्था अनुसार न्याय गर्ने इच्छा गर्‍यौं थपिएको छ ।
2केही प्राचीन प्रतिलिपिहरूमा पद ७ र पद ८ को सुरुको खण्डमा ७ तर हाकिम लुसियस आए, र तिनले उसलाई हाम्रो हातबाट बलजफ्ती गरेर खोसेर लगे, ८ र उसलाई दोष लगाउनेहरूलाई तपाईंकहाँ आउने आज्ञा दिनुभयो छ ।