1
पावलले परिषद्का मानिसहरूलाई सिधा हेरे र भने, “भाइहरू हो, आजको दिनसम्म म परमेश्वरको अगि सबै असल विवेकमा जिएको छु ।"
2
प्रधान पूजाहारी हननियाले
आफ्ना नजिकमा उभिरहेकाहरूलाई पावलको मुखमा हिर्काउन आज्ञा दिए ।
3
त्यसपछि पावलले उनलाई भने, “परमेश्वरले तिमी चुन पोतेको पर्खाललाई प्रहार गर्नुहुनेछ । तिमी व्यवस्थाद्वारा मेरो न्याय गर्न बसिरहेको छौ, र पनि व्यवस्थाको विरुद्धमा गएर मलाई हिर्काउने आज्ञा दिन्छौ?”
4
ती नजिकमा उभिरहेकाहरूले भने, “के तँ परमेश्वरका प्रधान पूजाहारीको यसरी निन्दा गर्छस्?”
5
पावलले भने, “भाइहरू हो, उहाँ प्रधान पूजाहारी हुनुहुन्छ भन्ने मलाई थाहा थिएन । किनकि यस्तो लेखिएको छ, तैंले आफ्ना मानिसहरूका शासकबारे खराब कुरा बोल्नुहुँदैन ।”
6
जब पावलले परिषद्को एक भाग सदूकीहरू र अर्को भाग फरिसीहरू रहेछन् भनी देखे, तब तिनले परिषद्मा ठुलो सोरले भने, “भाइहरू हो, म फरिसीको छोरा एक फरिसी हुँ । मृतकहरूको पुनरुत्थानमा दृढ आशा भएकै कारणले मेरो न्याय गरिंदैछ ।”
7
तिनले यो भनेपछि सदूकी र फरिसीहरूका बीचमा वादविवाद सुरु भयो, र भीड विभाजित भयो ।
8
किनकि सदूकीहरूले पुनरुत्थान हुँदैन, स्वर्गदूतहरू छैनन्, र आत्माहरू छैनन् भन्छन्, तर फरिसीहरूले यी सबै कुराहरू मान्छन् ।
9
त्यसैले त्यहाँ ठुलो होहल्ला भयो, अनि कतिपय फरिसीहरूमध्येका शास्त्रीहरू उठे र यसो भन्दै तर्क गरे, “यी मानिसमा हामी कुनै गल्ती भेट्टाउँदैनौं । यदि आत्मा वा स्वर्गदूतले नै तिनीसँग बोलेका हुन् भने, के गर्ने त?”
10
जब त्यहाँ अझै ठुलो विवाद उठ्यो, तिनीहरूले पावललाई टुक्रा-टुक्रा पार्लान् कि भनेर मुख्य कप्तान डराए । त्यसैले उनले तल गएर परिषद्का सदस्यहरूका बीचबाट पावललाई जबरजस्ती किल्लामा ल्याउन सिपाहीहरूलाई आदेश दिए ।
11
अर्को रात प्रभु तिनको छेउमा उभिनुभयो र भन्नुभयो, “नडराऊ, किनकि जसरी तिमीले मेरो बारेमा यरूशलेममा गवाही दिएका छौ, त्यसरी नै तिमीले रोममा पनि गवाही दिनुपर्छ ।”
12
जब उज्यालो भयो, केही यहूदीहरूले षड्यन्त्र गरे, र तिनीहरूले पावललाई नमारेसम्म न केही खानेछन्, न त पिउनेछन् भनी शपथ खाएर आफैंमाथि श्राप ल्याए ।
13
यसरी षड्यन्त्र गर्नेहरू चालिस जनाभन्दा बढी थिए ।
14
तिनीहरू मुख्य पूजाहारीहरू र धर्म-गुरुरूकहाँ गएर भने, “हामीले पावललाई नमारेसम्म केही नखाने भनी शपथ खाएर आफैंमाथि ठुलो श्राप ल्याएका छौं ।
15
त्यसैले अब तिनको मुद्दालाई अझ ठिक प्रकारले निर्णय गर्ने भनी मुख्य कप्तानलाई पावललाई तल ल्याउनलाई परिषद्ले भनोस् । हामीचाहिं तिनी यहाँ आउनुअगावै तिनलाई मार्न तयार हुन्छौं ।”
16
तर तिनीहरूले तिनलाई मार्न पर्खिरहेका थिए भनी पावलको भान्जाले सुने । त्यसैले ऊ किल्लाभित्र प्रवेश गरी पावललाई त्यो कुरा बताइदियो ।
17
पावलले कप्तानहरूमध्ये एक जनालाई बोलाएर भने, “यो जवान केटालाई मुख्य कप्तानकहाँ लगिदिनुहोस्, किनकि ऊसँग उहाँलाई भन्ने केही कुरा छ ।”
18
त्यसैले कप्तानले जवान केटोलाई मुख्य कप्तानकहाँ लगे, र भने, “कैदी पावलले मलाई बोलाए, र यो जवान केटोलाई तपाईंकहाँ लैजान भने । ऊसँग तपाईंलाई भन्ने केही कुरा छ ।”
19
मुख्य कप्तानले त्यो केटोलाई हातले समातेर एकान्त ठाउँमा लगेर उसलाई सोधे, “तिमीले मलाई के भन्नु छ?”
20
त्यो जवान मानिसले भन्यो, “ती यहूदीहरूले तिनको मुद्दालाई अझ ठिकसँग सोधपुछ गर्ने भनी तिनीहरू भोलि पावललाई तल परिषद्मा ल्याउनका लागि तपाईंलाई अनुरोध गर्न सहमत भएका छन् ।
21
तर तपाईंले तिनीहरूको कुरा नमान्नुहोला, किनभने त्यहाँ चालिसभन्दा बढी मानिस तिनलाई मार्न पर्खेर बसिरहेका छन् । तिनीहरूले पावललाई नमारेसम्म न त खाने न पिउने भनी शपथ खाएर आफैंमाथि श्राप ल्याएका छन् । तिनीहरू अहिले पनि तपाईंको सहमति पर्खिंदै तयारीमा छन् ।"
22
त्यसैले मुख्य कप्तानले त्यो जवान मानिसलाई यस्तो निर्देशन दिएर जान दिए, “तिमीले मलाई यी कुराहरू
भनेका छौ भनी अरू कसैलाई नभन्नू ।”
23
त्यसपछि तिनले दुई जना कप्तानलाई बोलाए र भने, “कैसरियासम्म जानको लागि दुई सय जना सिपाही, साथै सत्तरी जना घोडचढी र दुई सय जना भालाधारी सिपाही तयार पार । तिमीहरू रातको तेस्रो घडीमा हिंड्नुपर्नेछ ।”
24
उनले पावलले चढ्न सक्ने जनावरहरू उपलब्ध गराउन र तिनलाई शासक फेलिक्सकहाँ सुरक्षित पुर्याउन पनि आज्ञा गरे ।
25
त्यसपछि उनले यस्तो चिट्ठी लेखे ।
26
“क्लाउडियस लुसियसबाट, माननीय बडा हाकिम फेलिक्सलाई अभिवादन ।
27
यी मानिस यहूदीहरूबाट पक्रिएका थिए र तिनीहरूबाट मारिन लागेका थिए तर यिनी रोमी नागरिक रहेछन् भन्ने कुरा थाहा पाउँदा सैन्यदलसहित म तिनीहरूकहाँ गएँ र यिनको उद्धार गरें ।
28
तिनीहरूले यी मानिसलाई किन दोष लगाए भनी मैले जान्न चाहे, त्यसैलेे मैले यिनलाई तिनीहरूको परिषद्मा ल्याएँ ।
29
मैले थाहा पाएँ कि तिनीहरूको आफ्नै व्यवस्थाको विरुद्धमा यिनलाई दोष लगाइएको रहेछ, तर मृत्युदण्ड दिनुपर्ने वा झ्यालखानामा हाल्नुपर्ने त्यस्तो दोष मैले यिनको विरुद्धमा देखिनँ ।
30
तब मलाई यो जानकारी गराइयो कि त्यहाँ यी मानिसको विरुद्ध षड्यन्त्र गरिएको थियो, त्यसैले मैले तुरुन्तै यिनलाई तपाईंकहाँ पठाए, र यिनलाई दोष लगाउनेहरूलाई पनि यिनको विरुद्धमा जे-जे छ तपाईंकै उपस्थितिमा राख्नू भनी निर्देशन दिएको छु । बिदा !”
31
त्यसैले सिपाहीहरूले तिनीहरूलाई दिइएको आज्ञा पालन गरे । तिनीहरूले पावललाई लगे र तिनलाई राती नै एन्टिपाट्रिस ल्याए ।
32
अर्को दिन धेरैजसो सिपाहीहरूले घोडचढीहरूलाई तिनीसँग छोडे र तिनीहरू आफूचाहिं किल्लामा फर्के ।
33
जब घोडचढीहरू कैसरिया पुगे र हाकिमलाई पत्र हस्तान्तरण गरे, तिनीहरूले पावललाई पनि तिनीकहाँ हाजिर गराए ।
34
जब हाकिमले चिट्ठी पढे, तिनले पावल कुन प्रान्तबाट आएका हुन् भनी सोधे । पावल किलिकियाबाट आएको कुरा थाहा पाएर
35
तिनले भने, “तिमीलाई दोष लगाउने मानिसहरू यहाँ आएपछि म पूर्ण रूपमा तिम्रो कुरा सुन्नेछु ।” तब तिनले पावललाई हेरोदको दरबारमा राख्ने आज्ञा गरे ।