1
"भाइहरू र बुबाहरू हो, मेरो बचाउको कुरा सुन्नुहोस्, जुन म अहिले तपाईंहरूलाई बताउनेछु ।”
2
जब पावलले तिनीहरूसँग हिब्रू भाषामा बोलेको भीडले सुने, तिनीहरू चुप लागे । तिनले भने,
3
“म किलिकियाको टार्ससमा जन्मेको एक यहूदी हुँ, तर यही सहरमा गमलिएलको चरणमा शिक्षा पाएको व्यक्ति हुँ । मलाई हाम्रा पुर्खाहरूको व्यवस्थाको कडा नियमहरूअनुसार शिक्षा दिइएको थियो । आज तपाईंहरूजस्तै म पनि परमेश्वरको निम्ति जोसिलो छु ।
4
मैले स्त्रीहरू र पुरुषहरू दुवैलाई बाँध्दै र तिनीहरूलाई झ्यालखानामा सुम्पदै, यस मार्गलाई मृत्युसम्मै सताएँ,
5
जुन प्रधान पूजाहारी र सबै धर्म-गुरुहरूले गवाही दिन सक्छन् । मैले दमस्कसका भाइहरूका लागि उहाँहरूबाट पत्र प्राप्त गरे, र तिनीहरूलाई दण्ड दिनको लागि यरूशलेममा बाँधेर ल्याउन म त्यहाँ गएँ ।
6
म यात्रा गर्दै दमस्कसको नजिकै पुग्दा, मध्यान्हतिर अचानक स्वर्गबाट एउटा विशाल ज्योति मेरो वरिपरि चम्किन लाग्यो ।
7
म भुइँमा लडें, र मलाई यस्तो भनेको आवाज सुनें, ʻए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँदैछौ?ʼ
8
मैले जवाफ दिएँ, 'तपाईं को हुनुहुन्छ, प्रभु?' उहाँले मलाई भन्नुभयो, ʻम नासरतको येशू हुँ, जसलाई तिमी सताउँदैछौ ।ʼ
9
मसँग भएकाहरूले त्यो ज्योति त देखे, तर मसँग बोल्नुहुनेको आवाजलाई भने बुझेनन् ।
10
मैले भनें, ʻप्रभु, मैले के गर्नुपर्छ?ʼ प्रभुले मलाई भन्नुभयो, ʻउठ, र दमस्कसमा जाऊ । त्यहाँ तिमीले गर्नुपर्ने सबै कुरा तिमीलाई बताइनेछ ।'
11
मैले त्यो ज्योतिको चमकले गर्दा देख्न सकिनँ, र मसँग भएकाहरूका हातबाट डोर्याइएर म दमस्कस आएँ ।
12
मैले त्यहाँ व्यवस्थाअनुसार भक्तिपूर्ण जीवन जिएका र त्यहाँ बस्ने सबै यहूदीहरूबाट सम्मान पाएका हननिया नाउँ गरेका मानिसलाई भेटें ।
13
तिनी मकहाँ आए, मेरो छेउमा उभिए, र भने, ʻभाइ शाऊल, तिम्रो दृष्टि प्राप्त गर ।ʼ त्यत्तिखेरै, मैले तिनलाई देखें ।
14
तब तिनले भने, ʻहाम्रा पितापुर्खाहरूका परमेश्वरले उहाँको इच्छा जान्नको लागि, धार्मिक जनलाई देख्न, र उहाँको आफ्नै मुखबाट निस्केको आवाजलाई सुन्न तपाईंलाई छान्नुभएको छ ।
15
किनकि तपाईंले देखेका र सुनेका कुराहरूको बारेमा तपाईं सबै मानिसहरूका सामु उहाँको लागि गवाही बन्नुहुनेछ ।
16
अब तपाईं किन पर्खिंदै हुनुहुन्छ? उठ्नुहोस्, बप्तिस्मा लिनुहोस्, र उहाँको नाउँ पुकारेर आफ्ना पापहरू पखाल्नुहोस् ।
17
म यरूशलेम फर्केपछि मैले मन्दिरमा प्रार्थना गरिरहँदा, यसो भयो कि मलाई एउटा दर्शन दिइयो ।
18
उहाँले मलाई यसो भन्नुभएको मैले देखें, ʻछिटो गर, र चाँडै यरूशलेम छोड, किनभने तिनीहरूले मेरोबारे तिम्रो गवाही ग्रहण गर्नेछैनन् ।ʼ
19
मैले भनें, ʻहे प्रभु, मैले हरेक सभाघरमा तपाईंमा विश्वास गर्नेहरूलाई जेलमा हालेको र पिटेको तिनीहरू आफैंलाई थाहा छ ।
20
तपाईंका साक्षी स्तिफनसको रगत बगाइँदा, म पनि नजिकै उभिएर सहमत हुँदै थिएँ, र तिनलाई मार्नेहरूको कपडा कुरिरहेको थिएँ ।
21
तर उहाँले मलाई भन्नुभयो, ʻगइहाल, किनभने म तिमीलाई गैरयहूदीहरूकहाँ टाढा-टाढासम्म पठाउनेछुʼ ।”
22
तिनले यतिसम्म बोलेको मात्र तिनीहरूले सुने । त्यसपछि तिनीहरू चिच्च्याए र भने, “यस्ता मानिसलाई पृथ्वीबाट हटाइदओस्, किनकि त्यो बाँच्नु ठिक छैन ।”
23
तिनीहरू कराउँदै, आफ्ना लुगाहरू फाल्दै, र हावामा धुलो उडाउँदै गर्दा,
24
मुख्य कप्तानले पावललाई किल्लाभित्र ल्याउन आज्ञा गरे । उनले तिनलाई कोर्रा लगाउँदै सोधपुछ गर्न आदेश दिए, ताकि तिनीहरू तिनको विरुद्ध किन त्यसरी चिच्च्याइरहेका थिए भनी तिनी आफैंले थाहा पाउन सकून् ।
25
जब तिनीहरूले पावललाई डोरीले बाँधे, तब पावलले नजिकै उभिरहेका कप्तानलाई भने, “के एक रोमी नागरिक र दोषी नठहराइएको मानिसलाई कोर्रा लगाउनु तपाईंको निम्ति न्यायसङ्गत छ र?”
26
जब कप्तानले यो सुने, तब उनी
मुख्य कप्तानकहाँ गए, र उनलाई भने, “तपाईंले के गर्न लाग्दै हुनुहुन्छ? किनकि यी मानिस त रोमी नागरिक हुन् ।”
27
मुख्य कप्तान आए र तिनलाई भने, “मलाई भन, के तिमी रोमी नागरिक हौ?” पावलले भने, “हुँ ।”
28
मुख्य कप्तानले जवाफ दिए, “मैले धेरै ठुलो धनराशी खर्च गरेर मात्र नागरिकता पाएँ ।” तर पावलले भने, “म त रोमी नागरिक भएरै जन्मेको हुँ ।”
29
त्यसपछि पावललाई सोधपुछ गर्न गइरहेका मानिसहरूले तुरुन्तै तिनलाई छोडेर गए । पावल रोमी नागरिक रहेछन् भनी थाहा पाएपछि मुख्य कप्तान पनि डराए, किनभने उनले तिनलाई बाँधेका थिए ।
30
भोलिपल्ट मुख्य कप्तानले पावलको विरुद्धमा यहूदीहरूले लगाएको अभियोगको सत्यता जान्न चाहे । त्यसैले उनले तिनको बन्धन फुकाइदिए र मुख्य पूजाहारीहरूसाथै
सबै परिषद्हरूलाई भेला हुनलाई आदेश दिए । त्यसपछि उनले पावललाई तल ल्याए र तिनलाई तिनीहरूका बीचमा राखे ।