अध्याय २१

1 जब हामी तिनीहरूबाट छुट्टिएर जहाजमा यात्रा सुरु गर्‍यौं, हामी सिधै कोस सहरतिर लाग्यौं, र अर्को दिन रोडस सहरतिर र त्यहाँबाट पटारा सहरतिर लाग्यौं । 2 जब हामीले फोनिकेतिर जाँदै गरेको एउटा जहाज भेट्‍यौं, हामी त्यही जहाजमा चढेर यात्रा सुरु गर्‍यौं । 3 साइप्रस देखापरेपछि, त्यसलाई बायाँतर्फ पारेर हामी जहाजबाट सिरियातर्फ लाग्यौं, र टुरोसमा उत्र्यौं, जहाँ त्यस जहाजले ल्याएको मालसमान झार्नुपर्थ्यो । 4 हामीले चेलाहरूलाई भेट्टाएपछि हामी त्यहाँ सात दिनसम्म बस्यौं । ती चेलाहरूले आत्माद्वारा पावललाई यरूशलेममा नजान भनिरहे । 5 जब हाम्रा ती दिन पूरा भए, हामी त्यहाँबाट बिदा भयौं र हाम्रो बाटो लाग्‍यौं र तिनीहरू सबै, आफ्ना पत्‍नीहरू र छोराछोरीहरू सहित हामीसँगै सहरबाहिर आए । त्यसपछि हामीले समुद्रको किनारमा घुँडा टेकेर प्रार्थना गर्‍यौं, 6 र एक अर्कासँग बिदा भयौं । त्यसपछि हामी जहाजमा चढेर अगाडि बढ्‍यौं, र तिनीहरू आफ्ना घरतर्फ लागे । 7 जब हामीले टुरोसबाटको जलयात्रा सिध्‍याएका थियौं, हामी टोलेमाइसमा आइपुग्यौं । त्यहाँ हामीले भाइहरूलाई अभिवादन गर्‍यौं, र तिनीहरूसँगै त्यहाँ एक दिन बस्यौं । 8 अर्को दिन हामी बिदा भयौं, र कैसरियातिर लाग्यौं । हामी सुसमाचार प्रचारक फिलिपको घरमा गयौं, जो सात जना मध्येका एक जना थिए । हामी तिनीसँगै बस्यौं । 9 अब यी मानिसका चार जना कन्ये छोरीहरू थिए, जसले अगमवाणी गर्थे । 10 हामी त्यहाँ केही दिन बस्दा, त्यहाँ यहूदियाबाट अगाबस नाउँको कोही एक जना अगमवक्‍ता आए । 11 तिनी हामीकहाँ आए, र पावलको पेटी लिए । त्यो पेटीले तिनले आफ्ना हात र खुट्टा बाँधे, र भने, “पवित्र आत्मा यसो भन्‍नुहुन्छ, ʻयरूशलेमका यहूदीहरूले यस पटुकाको मालिकलाई यसरी नै बाँध्‍नेछन्, र तिनीहरूले त्यसलाई गैरयहूदीहरूका हातमा सुम्पिदिनेछन्ʼ ।” 12 जब हामीले यस्ता कुराहरू सुन्यौं, हामी र त्यस ठाउँमा बस्‍ने मानिसहरू दुवैले पावललाई यरूशलेममा नजान बिन्ती गर्‍यौं । 13 त्यसपछि पावलले जवाफ दिए, “तिमीहरू रुँदै र मेरो हृदयलाई तोड्दै के गरिरहेका छौ? किनकि म प्रभु येशूको नाउँको खातिर बाँधिन मात्र होइन, यरूशलेममा मर्न पनि तयार छु ।” 14 पावललाई मनाउन नसकिने भएकोले हामी चूप लाग्यौं र त्यसपछि हामीले भन्यौं, “प्रभुको इच्छा पूरा होस् ।” 15 ती दिनपछि हामीले आफ्ना झोलाहरू लियौं, र यरूशलेमतर्फ लाग्यौं। 16 कैसरियाबाट केही चेलाहरू पनि हामीसँगै गए । तिनीहरूले साइप्रसका मनासोन नाउँका एक जना पुराना चेलालाई ल्याए, जससँग हामी बस्‍नुपरेको थियो । 17 जब हामी यरूशलेममा आइपुग्यौं, दाजुभाइहरूले हामीलाई खुसीसाथ स्वागत गरे । 18 अर्को दिन पावल हामीसँगै याकूबकहाँ पुगे, जहाँ सबै धर्म-गुरुहरू उपस्थित थिए । 19 जब पावलले तिनीहरूलाई अभिवादन गरे, तिनले आफ्‍नो सेवकाइद्वारा परमेश्‍वरले गैरयहूदीहरूका माझमा गर्नुभएका कुराहरू एक-एक गरेर बताए । 20 तिनीहरूले यो सुनेपछि तिनीहरूले परमेश्‍वरको प्रशंसा गरे, र तिनीहरूले तिनलाई भने, “हेर भाइ, यहूदीका बीचमा कति हजारौंले विश्‍वास गरेका छन् । तिनीहरू सबै व्यवस्था पालना गर्नमा द‍ृढ छन् । 21 तपाईंले गैरयहूदीहरूका माझमा बस्‍ने सारा यहूदीहरूलाई मोशालाई त्याग्‍न भनी सिकाउनुहुन्छ, र आफ्ना बालकहरूको खतना नगर्नू, र पुराना रीतिरिवाज नमान्‍नू भन्‍नुहुन्छ भनी तपाईंको बारेमा तिनीहरूलाई भनिएको छ । 22 हामीले के गर्नुपर्छ? अवश्‍य, तिनीहरूले तपाईं आउनुभएको छ भन्‍ने सुन्‍नेछन् । 23 त्यसैले हामीले जे भन्छौं तपाईंले त्यही गर्नुहोस् । हामीसँग भाकल गरेका चार जना मानिस छन् । 24 यी मानिसहरूलाई लैजानुहोस् र तिनीहरूसँगै आफैंलाई शुद्धिकरण गर्नुहोस्, र तिनीहरूको खर्च तिरिदिनुहोस् ताकि तिनीहरूले आफ्नो कपाल खौरिऊन् । यसरी तपाईंको बारेमा भनिएका कुराहरू झूटा हुन् भनी सबैले थाहा पाउनेछन् । तपाईंले पनि व्यवस्था पालना गर्नुहुन्छ भनी तिनीहरूले जान्‍नेछन् । 25 तर विश्‍वास गर्ने गैरयहूदीहरूको सम्बन्धमा, तिनीहरूले आफैंलाई मूर्तिहरूलाई बलि चढाएका कुराहरू, रगत, घाँटी निमोठेर मारेको कुरा, र व्यभिचारबाट अलग रहनुपर्छ भनी हामीले लेख्यौं, र निर्देशन दियौं ।” 26 त्यसपछि पावलले ती मानिसहरूलाई लिए, र अर्को दिन तिनीहरूसँगै आफैंलाई शुद्ध पारे । त्यसपछि तिनीहरू प्रत्येकको निम्ति भेटी चढाउने र शुद्धिकरण पूरा हुने दिनको सूचना दिंदै तिनीहरू मन्दिरभित्र पसे । 27 सात दिनको समय पूरा हुन लाग्दा, एसियाबाट आएका केही यहूदीहरूले पावललाई मन्दिरमा देखेर सबै भीडलाई नै उत्तेजित बनाए, र तिनीमाथि हात हाले । 28 तिनीहरू चिच्‍च्‍याउँदै थिए, “हे इस्राएलका मानिसहरू हो, हामीलाई सहायता गर्नुहोस् । मानिसहरू, व्यवस्था र यस ठाउँको विरुद्धका कुराहरू जताततै सबै मानिसहरूलाई सिकाउने मानिस यिनै हुन् । साथै यिनले ग्रीकहरूलाई पनि मन्दिरभित्र ल्याएका छन्, र यो पवित्र ठाउँलाई अशुद्ध तुल्याएका छन् ।” 29 किनकि तिनीहरूले पहिले एफिससका त्रोफिमसलाई तिनीसँग सहरमा देखेका थिए, र पावलले नै त्यसलाई मन्दिरभित्र ल्याएका थिए भन्‍ने तिनीहरूले सोचे । 30 सारा सहर नै उत्तेजित भयो, र मानिसहरू सँगै दौडे, र पावललाई समाते । तिनीहरूले तिनलाई घिसार्दै मन्दिर बाहिर ल्याए, र ढोकाहरू तुरुन्तै थुनिए । 31 तिनीहरूले तिनलाई मार्न कोसिस गरिरहँदा, सारा यरूशलेम नै खलबलिएको थियो भन्‍ने खबर सुरक्षाकर्मीहरूका प्रमुख कप्‍तानकहाँ आयो । 32 तुरुन्तै सिपाहीहरू र कप्‍तानहरू लिएर तिनी त्यस भीडतिर दौडे । जब मानिसहरूले प्रमुख कप्‍तान र सिपाहीहरूलाई देखे, तिनीहरूले पावललाई कुट्न छोडे । 33 त्यसपछि प्रमुख कप्‍तान नजिक गए र पावललाई समाते, र तिनलाई दुईवटा सिक्रीले बाँध्‍न आदेश दिए । त्यसपछि तिनले तिनी को थिए, र तिनले के गरेका थिए भनी सोधे । 34 भीडमा केही मानिसहरू एउटा कुरा र अरूहरू अर्कै कुरा भनी चिच्‍च्याउँदै थिए । यी सबै हल्लाले गर्दा कप्‍तानले केही पनि भन्‍न नसकेको हुनाले तिनले पावललाई किल्लामा ल्याउनलाई आदेश दिए । 35 जब पावल सिंढीमा आए, भीडको हिंसाले गर्दा तिनी सेनाहरूद्वारा बोकेर लगिए । 36 किनकि मानिसहरूको भीड पछि-पछि लाग्यो, र तिनीहरू यसरी चिच्‍च्याइ रहे, “त्यसलाई सिद्‍ध्याइदेऊ!” 37 पावललाई किल्लाभित्र ल्याउन लाग्दा, तिनले मुख्य कप्‍तानलाई भने, “के म तपाईंलाई केही कुरा भनूँ?” कप्‍तानले सोधे, “के तिमी ग्रीक बोल्छौ? 38 के तिमी त्यही मिश्री होइनौ र जसले पहिले विद्रोह सुरु गरी चार हजार हत्याराहरूलाई उजाड-स्थानतिर लग्यौ?” 39 पावलले भने, “म किलिकियाको टार्सस सहरको एक यहूदी हुँ । म एउटा महत्त्वपूर्ण सहरको नागरिक हुँ । म तपाईंलाई आग्रह गर्छु कि, मलाई यी मानिसहरूसँग बोल्न दिनुहोस् ।” 40 जब कप्‍तानले पावललाई अनुमति दिए, पावल सिँढीमाथि चढे, र तिनले मानिसहरूतिर हात हल्लाए । जब त्यहाँ गहन मौनता छायो, तिनले तिनीहरूसँग हिब्रूमा बोले । तिनले भने,