1
त्यसैले अग्रिपासले पावललाई भने, “तिमी आफ्नो निम्ति बोल्न सक्छौ ।” तब पावलले आफ्ना हातहरू पसारे, र आफ्नो बचाउ गरे ।
2
“यी यहूदीहरूले लगाएका सबै आरोपहरूको विरुद्धमा मेरो मुद्दालाई राजा अग्रिपास तपाईंको आगाडि राख्न पाउँदा म आफैंलाई धन्यको ठान्छु,
3
खास गरी, किनभने तपाईं यी सबै यहूदी रीतिरिवाजहरू र प्रश्नहरूबारे ज्ञाता हुनुहुन्छ । त्यसैले तपाईंले मेरो कुरा धैर्यपूर्वक सुनिदिनुहोस् भनेर म बिन्ती गर्छु ।
4
साँच्चै, यी सबै यहूदीहरूले जान्दछन्, कि म कसरी मेरो जवानीदेखि मेरो आफ्नै जातिको बीचमा र यरूशलेममा जिएँ ।
5
तिनीहरूले मलाई सुरुबाट नै जान्दथे र मैले फरिसीको रूपमा जिएको कुरा तिनीहरूले स्वीकार गर्नुपर्छ, जुन हाम्रो धर्मको अति कठोर सम्प्रदाय हो ।
6
अब परमेश्वरले हाम्रा पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको आशाको कारण म यहाँ न्याय गरिनको लागि उभिन्छु ।
7
यो
त्यहीं प्रतिज्ञा हो जुन हाम्रा बाह्र कुलले उत्कटतासाथ दिन र रात परमेश्वरको सेवा गरेर प्राप्त गर्न आशा गर्छन् र त्यहीं आशाको निम्ति हे राजा, यहूदीहरू मलाई आरोप लगाइरहेका छन् ।
8
परमेश्वरले मृतकहरूलाई जीवित बनाउने कुरा अपत्यारिलो छ भनेर तपाईंहरूमध्ये कोही किन विचार गर्नुहुन्छ?
9
अब वास्तवमा, येशू नासरीको नाउँको विरुद्धमा धेरै कुराहरू गर्नुपर्छ भन्ने म आफैंले पनि विचार गरें ।
10
मैले यरूशलेममा यी कामहरू गरें । मैले मुख्य पूजाहारीहरूबाट अधिकार पाएर परमेश्वरका सन्तहरूमध्ये धेरैलाई झ्यालखानामा थुनें; र जब तिनीहरू मारिए, मैले तिनीहरूका विरुद्धमा मेरो मत जाहेर गरें ।
11
मैले तिनीहरूलाई सबै सभाघरहरूमा बारम्बार सजाय दिएँ र मैले तिनीहरूलाई ईश्वरको निन्दा गर्ने बनाउन कोसिस गरें । म तिनीहरूसित अति नै रिसाएको थिएँ र तिनीहरूलाई विदेशका सहरहरूमा पनि खेदो गरें ।
12
यसो गर्ने क्रममा मुख्य पूजाहारीहरूबाट अधिकार र आज्ञा पाएर म दमस्कसमा गएँ;
13
अनि त्यहाँ बाटोमा, मध्यदिनमा, हे राजा, मैले स्वर्गबाट आएको ज्योति देखें, जुन सूर्यभन्दा पनि चम्किलो थियो, र त्यो म र मसँग यात्रा गर्ने मानिसहरू दुवैका वरिपरि चम्कियो ।
14
जब हामीहरू सबै जना भुइँमा लड्यौं, मैले हिब्रू भाषामा मसँग यसो भनेर बोलिरहेको एउटा आवाज सुनें, 'ए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ? सुइरोमा लात हान्नु तिमीलाई कठिन हुन्छ ।'
15
तब मैले भनें, ʻतपाईं को हुनुहुन्छ, प्रभु? ʼ प्रभुले जवाफ दिनुभयो, ʻम येशू हुँ, जसलाई तिमी सताउँछौ ।
16
अब उठ, र आफ्नो पाउमा खडा होऊ; किनभने तिमीलाई सेवक बनाउने र अहिले तिमीले मेरो बारेमा जानेका कुराहरू र पछि मैले तिमीलाई देखाउने कुराहरूको गवाही बनाउने उद्देश्यले म तिमीकहाँ देखा परें;
17
र म तिमीलाई मानिसहरूबाट र गैरयहूदीहरूबाट उद्धार गर्नेछु, जसकहाँ मैले तिमीलाई पठाइरहेको छु,
18
तिनीहरूका आँखा खोल्न र तिनीहरूलाई अन्धकारबाट ज्योतिमा फर्काउन र शैतानको शक्तिबाट परमेश्वरमा फर्काउनको लागि, ताकि तिनीहरूले परमेश्वरबाट पापको क्षमा र ममाथिको विश्वासद्वारा शुद्ध पारिएकाहरूले मैले दिने उत्तराधिकार प्राप्त गर्न सकून् ।
19
त्यसकारण राजा अग्रिपास, मैले त्यो स्वर्गीय दर्शनको अवाज्ञा गरिनँ;
20
तर पहिले दमस्कसमा भएकाहरूकहाँ, त्यसपछि यरूशलेममा र यहूदियाको सारा देशमा, र गैरयहूदीहरूकहाँ मैले तिनीहरूलाई सन्देश दिए कि तिनीहरूले पश्चात्ताप गर्नुपर्छ र पश्चात्ताप योग्यका कार्यहरू गरेर परमेश्वरतर्फ फर्कनुपर्छ ।
21
यसैकारण यहूदीहरूले मलाई मन्दिरमा पक्राउ गरे र मलाई मार्ने प्रयास गरे ।
22
परमेश्वरले अहिलेसम्म मलाई सहायता गर्नुभएको छ, त्यसैले म खडा भएर साधारण मानिसहरू र ठुला मानिसहरूलाई अगमवक्ताहरू र मोशाले जे हुने थियो भनेका थिए ती कुराहरूभन्दा बढी कुनै पनि कुराको गवाही दिन्नँ—
23
कि ख्रीष्टले दु:ख भोग्नुपर्छ, र उहाँ मृतकहरूबाट जीवित हुनेहरूमा पहिलो हुनुहुन्छ, र यहूदीहरूसाथै गैरयहूदीहरूमा ज्योतिको घोषणा गर्ने जन हुनुहुनेछ ।"
24
पावलले आफ्ना बचाउका कुराहरू पूरा गरिसकेपछि फेस्तसले उच्च सोरमा भने, “पावल, तिमी पागल भएका छौ; तिम्रो धेरै विद्याले तिमीलाई पागल बनाएको छ ।”
25
तर पवालले भने, “म पागल होइनँ, अति माननीय फेस्तस, तर मैले भनेका कुराहरू सत्य र गम्भीर छन् ।”
26
किनकि राजाले यी कुराहरूको बारेमा जान्नुहुन्छ; र त्यसैले म उहाँसँग खुलेर बोल्छु, किनकि मलाई विश्वास छ, कि यीमध्ये कुनै पनि कुराहरू उहाँबाट लुकेका छैनन्; किनकि यो कुरा गुपचुपमा गरिएको छैन ।
27
राजा अग्रिपास, के तपाईं अगमवक्ताहरूमा विश्वास गर्नुहुन्छ? म जान्दछु, कि तपाईंले विश्वास गर्नुहुन्छ ।”
28
अग्रिपासले पवाललाई भने, “के तिमी छोटो समयमा मलाई फकाएर ख्रीष्टियान बनाउन चाहन्छौ?”
29
पावलले भने, “चाहे छोटो समयमा होस्, या लामो समयमा होस्, तपाईं मात्र होइन तर आज मेरो कुरा सुन्ने जति सबै यी झ्यालखानाका साङ्लाहरूबाहेक अरू कुरामा म जस्तै होऊन् भनी म परमेश्वरमा प्रार्थना गर्छु ।”
30
त्यसपछि राजा उठे, र हाकिम, साथै बरनिकी र तिनीहरूसँग बसिरहेकाहरू पनि उठे;
31
जब तिनीहरू सभा भवनबाट निस्के, तिनीहरूले एक अर्कामा कुराकानी गरे, र भने, “यी मानिसले मृत्यु वा कैदमा पर्न लायक कुनै कुरो गरेका छैनन् ।”
32
अग्रिपासले फेस्तसलाई भने, “यदि यी मानिसले कैसरकहाँ अपील नगरेको भए उसलाई छाड्न सकिन्थ्यो ।”