अध्याय १८

1 यी कुराहरूपछि पावल एथेन्स छोडेर कोरिन्थमा गए । 2 त्यहाँ तिनले इटालीबाट आएका अकिला नाउँ गरेका पोन्टस निवासी एक यहूदी र तिनकी पत्‍नी प्रिस्किलालाई भेटे, किनभने क्लाउडियसले सबै यहूदीहरूलाई रोम छोड्न आदेश दिएका थिए । पावल तिनीहरूकहाँ गए, 3 किनभने तिनको पेसा तिनीहरूसँग मिल्दथ्यो, तिनी तिनीहरूसँगै बसे र काम गरे, किनकि तिनीहरू पेसाले पाल बनाउनेहरू थिए । 4 त्यसैले पावलले हरेक विश्रामको दिनमा सभाघरमा गएर ग्रीक र यहूदी दुवैलाई मनाउने प्रयास गर्दै बहस गरे । 5 जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावलले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा यहूदीहरूलाई बताउँदै, आफैंलाई वचनप्रति समर्पित गरे । 6 तर जब यहूदीहरूले पावलको विरोध गरे र तिनको अपमान गरे, तब पावलले आफ्नो कपडा टकटक्याए र तिनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्; म निर्दोष छु । अबदेखि म गैरयहूदीहरूकहाँ जानेछु ।” 7 तब तिनी त्यो ठाउँ छाडेर तीतस युस्तसको घरमा गए जसले परमेश्‍वरको आराधना गर्थे । तिनको घर सभाघरको छेउमा पर्दथ्यो । 8 सभाघरका अगुवा क्रिस्पस र तिनका घरमा बस्‍ने सबैले प्रभुमा विश्‍वास गरे; र यो सुन्‍ने कोरिन्थीहरूमध्ये धेरै जनाले विश्‍वास गरे र बप्‍तिस्मा लिए । 9 राति दर्शनमा प्रभुले पावललाई भन्‍नुभयो, “नडराऊ, तर बोल र चुप नलाग । 10 किनकि म तिमीसँग छु, र तिमीलाई कसैले हानि गर्ने कोसिस गर्नेछैन किनकि यस सहरमा मेरा थुप्रै मानिसहरू छन् ।” 11 त्यस ठाउँमा तिनीहरूका बीचमा परमेश्‍वरको वचन सिकाउँदै पावल एक वर्ष छ महिनासम्म बसे । 12 तर जब गालियो अखैयाका हाकिम बने, तब यहूदीहरू एक मनका भई पावलको विरुद्धमा उठे र तिनलाई न्याय आसनको सामु ल्याए; 13 तिनीहरूले भने, “यस मानिसले व्यवस्थाको विपरित परमेश्‍वरको आराधना गर्न मनाउँछ ।” 14 तर जब पावलले बोल्नै लागेका थिए, गालियोले यहूदीहरूलाई भने, “तिमी यहूदीहरू, यदि यो कुनै गल्ती वा अपराधको विषय भएको भए यस विषयमा तिमीहरूसँग बोल्नु तर्कपूर्ण नै हुनेथियो । 15 तर यी प्रश्‍नहरू त शब्दहरू र नाउँहरू र तिमीहरूका आफ्नै व्यवस्थाको विषयमा भएकाले तिमीहरू आफैं मिलाऊ । यी विषयहरूमा म न्यायधीश हुन चाहन्‍नँ ।” 16 गालियोले तिनीहरूलाई न्याय आसन छोड्न लगाए । 17 त्यसैले तिनीहरू सबैले सभाघरका शासक सोस्थेनसलाई समातेर न्याय आसनको अगाडि नै पिटे । तर गालियोले तिनीहरूले गरेका कुराको वास्तै गरेनन् । 18 धेरै दिन त्यहाँ बसेपछि पावलले भाइहरूलाई छोडे अनि प्रिस्किला र अकिलालाई साथमा लिएर सिरियातिरजहाज चढी गए । बन्दरगाह छोड्नुभन्दा पहिले, आफूले भाकल गरेको हुनाले पावलले किंक्रियामा आफ्नो कपाल खौरे । 19 जब तिनीहरू एफिससमा आइपुगे तब पावलले प्रिस्किला र अकिलालाई त्यहीं छोडे, तर तिनी आफैंचाहिं सभाघरमा गए र यहूदीहरूसँग बहस गरे । 20 जब तिनीहरूले पावललाई अझै केही समय बस्‍न अनुरोध गरे, तब तिनले इन्कार गरे । 21 तर तिनीहरूसँग बिदा लिंदै तिनले भने, “यदि परमेश्‍वरको इच्छा भएमा म तपाईंहरूकहाँ फेरि फर्किआउनेछु ।” त्यसपछि तिनी जहाज चढेर एफिससतर्फ लागे । 22 जब पावल कैसरियामा जहाजबाट उत्रे, तिनी उक्लेर गई यरूशलेमका मण्डलीलाई अभिवादन गरे अनि त्यसपछि एन्टिओखियातर्फ झरे । 23 त्यहाँ केही समय बिताएपछि पावल त्यहाँबाट निस्केर गलातिया र फ्रिगिया क्षेत्रहरू भएर गए र सबै चेलाहरूलाई बलियो बनाए । 24 अब अपोलोस नाउँ गरेका एक जना यहूदी जो जन्मका आधारमा एलेक्जेन्ड्रियाका थिए, तिनी एफिससमा आए । तिनी बोल्नमा दक्ष र धर्मशास्‍‍त्रीय ज्ञानमा पोख्त थिए । 25 अपोलोस प्रभुको वचनका बारेमा ज्ञान पाएका थिए । आत्मामा जोशिलो हुँदै येशूको बारेमा ठिक कुराहरू बोल्थे र सिकाउँथे, तर तिनलाई यूहन्‍नाको बप्‍तिस्माको बारेमा मात्र थाहा थियो । 26 अपोलोसले सभाघरमा साहसका साथ बोल्न थाले । तर जब प्रिस्किला र अकिलाले तिनले बोलेको सुने, तब तिनीहरू तिनको साथ लागे र तिनलाई परमेश्‍वरको मार्गको बारेमा अझै ठिकसँग बताइदिए । 27 जब तिनले अखैया हुँदै जाने इच्छा गरे, भाइहरूले तिनलाई प्रोत्साहन दिए र अखैयाका चेलाहरूले तिनलाई ग्रहण गरून् भनेर पत्र लेखे । त्यहाँ आइपुगेपछि तिनले अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई ठूलो मद्दत गरे । 28 धर्मशास्‍‍त्रद्वारा येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने देखाएर, अपोल्लोसले सार्वजनिक बहसमा यहूदीहरूलाई शक्तिशाली रूपमा गलत ठहराए ।