अध्याय १७

1 अब तिनीहरू अम्फिपोलिस र अपोल्लोनियाका सहरहरू हुँदै यहूदीहरूको सभाघर भएको थेसलोनिकेको सहरमा आइपुगे । 2 पावलले आफ्नो आदतअनुसार उनीहरूकहाँ गए र तीनवटा विश्रामको दिनसम्म त्यहाँका मानिसहरूसँग धर्मशास्‍‍त्रबाट तर्क गरे । 3 तिनले धर्मशास्‍‍त्र खोल्दै र ख्रीष्‍टले दुःख भोग्‍नु र मृत्युबाट फेरि जीवित हुनु आवश्यक थियो भनी व्याख्या गर्दै थिए । तिनले भने, “यिनै येशू जसलाई मैले तपाईंहरूका बीचमा घोषणा गरेको छु, उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ ।” 4 केही यहूदीहरूले साथै ठुलो संख्यामा ईश्‍वरभक्त ग्रीकहरू, र धेरै अगुवा स्‍‍त्रीहरू पावल र सिलासको कुरामा विश्‍वास गरेर तिनीहरूसँग लागे । 5 तर अविश्‍वासी यहूदीहरू ईर्ष्याले भरिएर बजारबाट केही दुष्‍ट मानिसहरूलाई जम्मा गरे र ठुलो भीड बनाएर सहरमा होहल्ला मच्‍चाए । तिनीहरूले यासोनको घरमा आक्रमण गरेर पावल र सिलासलाई मानिसहरूका बीचमा बाहिर ल्याउन चाहन्थे । 6 तर जब तिनीहरूले पावल र सिलासलाई भेटाएनन्, तब यासोन र केही भाइहरूलाई यसो भन्दै कराउँदै घिसारेर सहरका अधिकारीहरूकहाँ ल्याए, “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन् । 7 यासोनले स्वागत गरेका यी मानिसहरूले कैसरको आदेश विपरित काम गर्छन्; येशू भन्‍ने अर्को एक जना राजा पनि छन् भनेर तिनीहरू भन्छन् ।” 8 यी कुराहरू सुनेर भीड र सहरका हाकिमहरू आत्तिए । 9 तर तिनीहरूले यासोन र बाँकीकाहरूलाई जरिवानाको रकम तिर्न लगाएपछि तिनीहरूलाई जान दिए । 10 त्यही रात भाइहरूले पावल र सिलासलाई बेरियामा पठाइदिए । त्यहाँ आइपुगेपछि तिनीहरू यहूदीहरूको सभाघरमा पसे । 11 अब थेसलोनिकेमा भएका मानिसहरूभन्दा यहाँका मानिसहरू अझ असल थिए किनकि यिनीहरूले सिकाइएका कुराहरू त्यस्तै हुन् कि होइनन् भनी दैनिक रूपमा धर्मशास्‍‍त्रबाट जाँच्दै परमेश्‍वरको वचनलाई उत्सुकतासाथ ग्रहण गर्थे । 12 यसकारण केही प्रभावशाली ग्रीक स्‍‍त्रीहरू र धेरै पुरुषहरूसहित, तिनीहरूमध्ये धेरैले प्रभुमा विश्‍वास गरे । 13 तर जब पावलले परमेश्‍वरको वचन बेरियामा पनि घोषणा गर्दैछन् भनी थेसलोनिकेका यहूदीहरूले थाहा पाए, तिनीहरू त्यहाँ गएर भीडहरूलाई उक्साए र खलबल मच्‍चाउन लगाए । 14 त्यसपछि भाइहरूले पावललाई तुरुन्तै समुद्रतिर पठाइदिए, तर सिलास र तिमोथी त्यहीं बसे । 15 पावललाई डोर्‍याइरहेका मानिसहरूले तिनलाई एथेन्स सहरसम्म लगे । पावललाई त्यहाँ छोड्दा, सिलास र तिमोथीलाई जतिसक्दो छिटो तिनीकहाँ आउनू भनेर तिनीबाट तिनीहरूले निर्देशन पाए । 16 अब पावलले सिलास र तिमोथीलाई एथेन्समा पर्खंदै गर्दा, त्यो सहर मूर्ति नै मूर्तिले भरिएको देखेर तिनको आत्मा तिनीभित्र वेचैन भयो । 17 त्यसैले तिनले यहूदीहरू र परमेश्‍वरको आराधना गर्नेहरूसँग सभाघरहरूमा साथै बजारमा भेट्‍नेहरूसँग पनि यसको बारेमा बहस गरे । 18 तर त्यहाँ कतिजना एपिक्युरी र स्तोइकी दार्शनिकहरूसँग पनि तिनको जम्का भेट भयो । केहीले भने, “यो बकबकेले के भन्‍न खोज्दैछ?” अरूहरूले भने, “त्यो त विदेशी देवताहरूलाई पछ्‍‍याउन मानिसहरूलाई बोलाउने जस्तो देखिन्छ,” किनभने तिनले येशू र पुनरुत्थानको बारेमा सुसमाचार प्रचार गर्दै थिए । 19 तिनीहरूले पावललाई अरिओपागसमा यसो भन्दै ल्याए, “के तपाईंले बताइरहनुभएको यो नयाँ शिक्षाको बारेमा हामी जान्‍न सक्छौं? 20 किनकि तपाईंले केही अनौठा कुराहरू हाम्रा कानमा ल्याउनुहुन्छ । त्यसकारण हामी यी कुराहरूको अर्थ के हो भनी जान्‍न चाहन्छौं ।” 21 (अब सबै एथेन्सबासीहरू र त्यहाँ बस्‍ने परदेशीहरूले केही नयाँ कुराहरू बताउँदै वा सुन्‍दै गर्नु बाहेक अन्य केही कुरामा समय बिताउँदैनथे । ) 22 त्यसैले पावल अरिओपागसको बीचमा उभिए र भने, “एथेन्सका मानिसहरू हो, तपाईंहरू हरेक कुरामा अति धार्मिक हुनुहुन्छ भन्‍ने कुरा म देख्छु । 23 किनकि यहाँ हिंड्दै गर्दा मैले तपाईंहरूले पुज्‍ने वस्तुहरू देखें, मैले यस्तो एउटा वेदी पनि देखें, जसमा ʻअज्ञात ईश्‍वरका निम्तिʼ भन्‍ने कुँदिएको थियो । यसकारण जसलाई तपाईंहरूले नजानिकन पुज्‍नुहुन्छ, उहाँकै बारेमा म तपाईंहरूलाई बताउँछु । 24 परमेश्‍वर जसले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो, उहाँ स्वर्ग र पृथ्वीका प्रभु हुनुभएको कारण उहाँ मानिसका हातहरूले बनाएका मन्दिरहरूमा बस्‍नुहुन्‍न । 25 न त उहाँलाई केही कुराको खाँचो परेजस्तै मानिसका हातद्वारा सेवा गरिन्छ, किनकि उहाँले नै मानिसहरूलाई जीवन, सास र सबै थोक दिनुहुन्छ । 26 उहाँले निश्‍चित ऋतुहरू र मानिसहरू बस्‍ने क्षेत्रका सिमानाहरू निर्धारण गरेर पृथ्वीको सतहमाथि रहनको लागि एउटा मानिसबाट सबै जातिका मानिसहरूलाई बनाउनुभयो, 27 ताकि तिनीहरूले परमेश्‍वरलाई खोजून् र सायद तिनीहरूले उहाँतर्फ आफ्नो बाटो भएको महसुस गरून् र उहाँलाई भेट्टाऊन् । तापनि उहाँ हामीमध्ये कसैबाट टाढा हुनुहुन्‍न । 28 किनकि हामी उहाँमा नै जिउँछौं र हिँडडुल गर्छौं र उहाँमै हाम्रो अस्तित्व छ, जसरी तपाईंहरूका आफ्नै कविहरूमध्ये एक जनाले भनेका छन्: ʻकिनकि हामीहरू पनि उहाँकै सन्तान हौं ।ʼ 29 यसकारण हामी परमेश्‍वरका सन्तान भएका हुनाले परमेश्‍वरलाई मानिसको कला वा विचारअनुसार सुन वा चाँदी वा ढुङ्गाबाट खोपेर बनाइएको चीज हो भनी ठान्‍नुहुँदैन । 30 यसकारण परमेश्‍वरले अज्ञानताको समयलाई ध्यान दिनुभएन, तर अहिले उहाँले सबै ठाउँका सारा मानिसहरूलाई पश्‍चात्ताप गर्ने आज्ञा दिनुहुन्छ । 31 किनभने उहाँले एक दिन निश्‍चित गर्नुभएको छ, जुन दिन आफूले चुन्‍नुभएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्याय गर्नुहुनेछ । परमेश्‍वरले यी मानिसलाई मृत्युबाट जीवित पार्नुभएर सबै मानिसहरूलाई उहाँको बारेमा प्रमाण दिनुभएको छ ।” 32 जब एथेन्सका मानिसहरूले मृत व्यक्तिको पुनरुत्थानको बारेमा सुने, कसै-कसैले पावललाई गिज्याए; तर अरूहरूले भने, “हामी यो विषयमा तपाईंबाट फेरि सुन्‍नेछौं ।” 33 त्यसपछि पावलले तिनीहरूलाई छोडेर गए । 34 तर अरियोपागसका डायनोसियस, दामारिस नाउँ गरेकी एक स्‍‍त्री र तिनीहरूसित भएका अरूहरू पावलका साथ लागे र विश्‍वास गरे ।