1
पावल डर्बी र लुस्त्रामा पनि आए, र हेर, त्यहाँ तिमोथी नाउँ गरेका एक जना चेला थिए, तिनी एउटी विश्वासी यहूदी स्त्रीका छोरा थिए, तर तिनका बाबुचाहिं ग्रीक थिए ।
2
लुस्त्रा र आइकोनियममा भएका भाइहरूले तिमोथीका बारेमा असल कुरा भन्थे ।
3
पावलले तिमोथीलाई आफूसँगै यात्रामा लान चाहन्थे, यसकारण पावलले तिनलाई आफूसँगै लगे र ती इलाकाहरूमा रहने यहूदीहरूको कारणले गर्दा तिनको खतना गरे, किनकि तिनका बाबु ग्रीक हुन् भनेर तिनीहरू सबैलाई थाहा थियो ।
4
ती सहरहरूको यात्रा गर्दैजाँदा तिनीहरूले मण्डलीहरूलाई उनीहरूले पालन गर्नुपर्ने निर्देशनहरू दिए, जुन निर्देशनहरू प्रेरितहरूले र धर्म-गुरुहरूले यरूशलेममा लेखेका थिए ।
5
यसरी मण्डलीहरू विश्वासमा बलियो भए र दिन प्रतिदिन संख्यामा वृद्धि भए ।
6
एसियाको प्रान्तमा वचन प्रचार गर्न तिनीहरूलाई पवित्र आत्माले मनाही गर्नुभएको हुँदा, पावल र तिनका साथीहरू फ्रिगिया र गलातियाका क्षेत्रहरू हुँदै गए ।
7
जब तिनीहरू माइसियाको नजिक आइपुगे तिनीहरूले बिथिनिया जान प्रयास गरे, तर येशूका आत्माले तिनीहरूलाई रोक्नुभयो ।
8
त्यसैले माइसिया हुँदै तिनीहरू त्रोआस सहरमा झरे ।
9
रातको समयमा पावलले एउटा दर्शन देखेः माकेडोनियाका एक जना मानिस उभिएर तिनलाई बिन्ती गरेर यसो भनिरहेका थिए, “माकेडोनिया आउनुहोस् र हामीलाई सहायता गर्नुहोस् ।”
10
पावलले त्यो दर्शन देखेपछि, परमेश्वरले हामीलाई तिनीहरूलाई सुसमाचार प्रचार गर्न बोलाउनुभएको हो भन्ने निष्कर्ष निकालेर हामीहरू तुरुन्तै माकेडोनियाको बाटोतर्फ लाग्यौं ।
11
त्यसकारण हामी त्रोआसबाट जहाजमा चढेर सोझै सामोथ्रेकको बाटो लाग्यौं, र अर्को दिन हामी नियापोलिस पुग्यौं ।
12
त्यहाँबाट फिलिप्पी गयौं, जुनचाहिं माकेडोनियाको एउटा सहर, जिल्लाको एकदमै महत्त्वपूर्ण सहर र रोमी उपनिवेश हो, र हामी त्यस सहरमा केही दिन बस्यौं ।
13
विश्रामको दिनमा हामी सहरको ढोकाबाट बाहिर नदी किनारमा पुग्यौं जहाँ प्रार्थना गर्ने ठाउँ होला भन्ने हामीले ठान्यौं । हामी बस्यौं र जम्मा भएका स्त्रीहरूसँग कुरा गर्यौं ।
14
थिआटिरा सहरकी, वैजनी रङको वस्त्रको व्यापारी, परमेश्वरको आराधना गर्ने, लिडिया नाउँ गरेकी एउटी स्त्रीले हाम्रो कुरा सुनिन् । पावलले भनेका कुरा तिनले ध्यानपूर्वक सुनून् भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो ।
15
तिनी र तिनका घरानाले बप्तिस्मा लिएपछि, तिनले हामीलाई यसो भन्दै आग्रह गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुप्रति विश्वासयोग्य ठान्नुहुन्छ भने मेरो घरमा आएर बस्नुहोस् ।” र तिनले हामीलाई मनाइन् ।
16
हामीहरू प्रार्थना गर्ने स्थानतर्फ जाँदै गर्दा, जोखना हेर्ने आत्मा भएकी एउटी जवान स्त्रीसँग हाम्रो सामना भयो । त्यसले जोखना हेरेर आफ्ना मालिकहरूका निम्ति धेरै धन कमाइदिन्थी ।
17
त्यो स्त्री यसो भन्दै पावल र हाम्रो पछि लागी, “यी मानिसहरू सर्वोच्च परमेश्वरका सेवकहरू हुन् । यिनीहरूले तपाईंहरूलाई मुक्तिको बाटो घोषणा गर्छन् ।”
18
त्यसले धेरै दिनसम्म त्यसो गरिरही । तर त्यसबाट धेरै झिजो मानेर पावलले पछाडितिर फर्केर त्यो आत्मालाई भने, “येशू ख्रीष्टको नाउँमा म तँलाई यसबाट निस्केर जाने आज्ञा दिन्छु ।” र त्यो तुरुन्तै निस्केर गयो ।
19
जब त्यसका मालिकहरूले आफ्नो कमाइको आशा गुम्यो भन्ने देखे, उनीहरूले पावल र सिलासलाई समातेर घिसार्दै बजारमा अधिकारीहरूका अगि लगे ।
20
जब उनीहरूले पावल र सिलासलाई न्यायाधीशहरूकहाँ ल्याए, उनीहरूले भने, “यी मानिसहरू हाम्रो सहरमा एकदम हलचल मच्याइरहेका छन्। यिनीहरू यहूदीहरू हुन्
21
यिनीहरूले यस्ता-यस्ता प्रथाहरू सिकाइरहेका छन्, जुन रोमीहरूका लागि ग्रहण गर्न वा पालन गर्न न्यायसङ्गत छैनन् ।”
22
त्यसपछि भीड पावल र सिलास माथि खनियो; न्यायाधीशहरूले तिनीहरूका कपडा च्यातिदिए र तिनीहरूलाई लहुराले हिर्काउने आदेश दिए ।
23
उनीहरूले तिनीहरूलाई धेरै पिटेपछि उनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र तिनीहरूमाथि कडा निगरानी राख्न झ्यालखानाका हाकिमलाई आदेश दिए ।
24
तिनले यस्तो आदेश पाएपछि, झ्यालखानाका हाकिमले तिनीहरूलाई भित्री झ्यालखानामा हाले र तिनीहरूका खुट्टाहरू ठिंगुरामा ठोकेर बाँधे ।
25
मध्यराततिर पावल र सिलास परमेश्वरसँग प्रार्थना गर्दै र भजन गाउँदै थिए र अरू कैदीहरूले तिनीहरूलाई सुनिरहेका थिए ।
26
अचानक त्यहाँ एउटा ठुलो भूकम्प गयो जसले गर्दा झ्यालखानाका जगहरू हल्लिए; र तुरुन्तै सबै ढोकाहरू खोलिए, अनि सबैका साङ्लाहरू खोलिए ।
27
झ्यालखानाका हाकिम आफ्नो निद्राबाट ब्युँझिए र झ्यालखानाका ढोकाहरू खुल्ला देखे; कैदीहरू भागिसके भन्ने ठानेर तिनले आफ्नो तरवार निकालेर आफूलाई मार्नै लागेका थिए ।
28
तर पावलले यसो भन्दै चर्को सोरले कराए, “आफूलाई हानि नगर्नुहोस् किनभने हामी सबैजना यहीं छौं ।”
29
झ्यालखानाका हाकिमले बत्ती बाल्न लगाए र दौडेर भित्र पसे अनि डरले काम्दै पावल र सिलासको सामु घोप्टो परे ।
30
अनि तिनीहरूलाई बाहिर निकाले र भने, “हजुर, उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ?”
31
तिनीहरूले भने, “प्रभु येशूमा विश्वास गर्नुहोस् अनि तपाईंले उद्धार पाउनुहुनेछ, तपाईं र तपाईंको घरानाले ।”
32
तिनीहरूले प्रभुको वचन तिनलाई र तिनका घरानाका सबैलाई सुनाए ।
33
तब रातको त्यही घडी झ्यालखानाका हाकिमले तिनीहरूलाई निकालेर लगे अनि तिनीहरूका घाउचोटहरू सफा गरिदिए र तिनी र तिनका सबै घरानालाई तुरुन्तै बप्तिस्मा दिइयो ।
34
तब जसै तिनले पावल र सिलासलाई आफ्नो घरमा लिएर गए र तिनीहरूका सामु खाना राखे, तिनी तिनका घरानासहित निकै रमाए किनभने तिनीहरू सबैले परमेश्वरमा विश्वास गरेका थिए ।
35
अब उज्यालो भएपछि न्यायाधीशहरूले सिपाहीहरूलाई यसो भन्दै आदेश पठाए, “ती मानिसहरूलाई छोडिदेओ ।”
36
झ्यालखानाका हाकिमले पावललाई यसो भन्दै सुनाए, “न्यायाधीशहरूले तपाईंहरूलाई छोडिदिनू भनेर मलाई आदेश दिनुभएको छ, त्यसैले तपाईंहरू बाहिर आउनुहोस्, र शान्तिसँग जानुहोस् ।”
37
तर पावलले तिनीहरूलाई भने, “हामी रोमी नागरिक भए तापनि दोषी नै नठहराईकन, तिनीहरूले हामीलाई सार्वजनिक स्थलमा पिटे—र तिनीहरूले हामीलाई झ्यालखानामा हाले । अहिले तिनीहरू हामीलाई सुटुक्क पठाउन खोज्छन्? होइन! तिनीहरू आफैं आऊन् र हामीलाई छुटाएर लैजाऊन् ।”
38
सिपाहीहरूले न्यायाधीशहरूलाई यी कुरा सुनाए, अनि तिनीहरूले पावल र सिलास रोमी हुन् भन्ने थाहा पाएपछि न्यायाधीशहरू डराए ।
39
न्यायाधीशहरू आए र तिनीहरूसँग क्षमा मागे र तिनीहरूलाई सहर छाडेर जान आग्रह गर्दै तिनीहरूलाई बाहिर लगे ।
40
त्यसैले पावल र सिलास झ्यालखानाबाट निस्केर लिडियाको घरमा गए । जब पावल र सिलासले दाजुभाइहरूलाई देखे, तिनीहरूले उनीहरूलाई प्रोत्साहन दिए र त्यसपछि त्यस सहरबाट आफ्नो बाटो लागे ।