अध्याय १५

1 यहूदियाबाट केही मानिसहरू एन्टिओखियामा आए र भाइहरूलाई यसो भन्दै सिकाए, “जबसम्म तपाईंहरूले मोशाको विधिअनुसार खतना गर्नुहुन्‍न, तबसम्म तपाईंहरूको उद्धार हुन सक्दैन ।” 2 यस कुराले पावल र बारनाबासको तिनीहरूसँग अति मतभेद र विवाद भयो । त्यसैले यस प्रश्‍नलाई लिएर पावल र बारनाबास र तिनीहरूमध्येबाटका केही मानिस यरूशलेममा प्रेरित र धर्म-गुरुहरूकहाँ जानलाई नियुक्त गरे । 3 त्यसकारण तिनीहरू मण्डलीद्वारा पठाइएपछि, फोनिसिया र सामरिया दुवै भएर गए र गैरयहूदीहरू विश्‍वासमा आएका कुरा घोषणा गरे । तिनीहरूले सबै दाजुभाइहरूमा ठुलो आनन्द ल्याए । 4 जब तिनीहरू यरूशलेममा आए, तिनीहरूलाई मण्डली, प्रेरितहरू र धर्म-गुरुहरूद्वारा स्वागत गरियो, र तिनीहरूसँग परमेश्‍वरले गर्नुभएका सबै कामहरूको बारेमा तिनीहरूले सुनाए । 5 तर फरिसी दलबाट विश्‍वास गरेका केही मानिसहरू उठे र भने, “तिनीहरूलाई खतना गर्न र मोशाको व्यवस्था पालन गर्न आज्ञा दिनु आवश्यक छ ।” 6 त्यसैले यस विषयमा विचार गर्न प्रेरितहरू र धर्म-गुरुहरू एकसाथ भेला भए । 7 धेरै छलफलपछि, पत्रुस उठे र तिनीहरूलाई भने, “भाइहरू, तपाईंहरूलाई थाहै छ कि केही समय अगाडि परमेश्‍वरले तपाईंहरूको माझमा एउटा छनौट गर्नुभएको थियो, कि मेरो मुखद्वारा गैरयहूदीहरूले सुसमाचारको वचन सुन्‍नपर्छ र विश्‍वास गर्नुपर्छ । 8 मानिसहरूका हृदय जान्‍नुहुने परमेश्‍वरले हामीलाई जस्तै तिनीहरूलाई पवित्र आत्मा दिएर तिनीहरूलाई गवाही दिनुहुन्छ । 9 विश्‍वासद्वारा तिनीहरूका हृदय शुद्ध गर्नुभएर उहाँले हामीहरू र तिनीहरूका बीचमा कुनै भेदभाव गर्नुभएन । 10 अब यसकारण चेलाहरूको घाँटीमा जुवा राख्‍नुपर्छ भनी तपाईंहरू किन परमेश्‍वरको परीक्षा गर्नुहुन्छ? जुन जुवा न त हाम्रा पिताहरूले न हामीहरूले बोक्न सक्यौं । 11 तर हामी विश्‍वास गर्छौं कि हामीहरू प्रभु येशूको अनुग्रहद्वारा बचाइनेछौं, जसरी तिनीहरू पनि बचाइए ।’’ 12 बारनाबास र पावलद्वारा गैरयहूदीहरूका माझमा परमेश्‍वरले गर्नुभएका चिन्‍ह र आश्‍चर्यकर्महरूको बारे तिनीहरूले भनेको सुनिरहँदा सारा भीड चुपचाप रह्‍यो । 13 तिनीहरूले बोल्न छोडेपछि, याकूबले यसो भन्दै जवाफ दिए, “भाइहरू हो, मेरा कुरा सुन्‍नुहोस् । 14 परमेश्‍वरले आफ्नो नाउँको खातिर तिनीहरूबाटै मानिसहरू लिनलाई कसरी पहिले गैरयहूदीहरूलाई कृपाद‍ृष्‍टिकासाथ सहायता गर्नुभयो भनी सिमोनले बताएका छन् । 15 यससँग अगमवक्‍ताका वचनहरू सहमत छन्, यसरी लेखिएको छ, 16 'यी कुराहरूपछि म फर्कनेछु, र म दाऊदको ढलेको पाल फेरि निर्माण गर्नेछु; यसका भग्‍नावशेषहरूलाई म उठाउनेछु र फेरी पुनर्स्थापित गर्नेछु, 17 ताकि बाँकी रहेका मानिसहरू लगायत मेरो नाउँद्वारा बोलाइएका सबै गैरयहूदीहरूले प्रभुलाई खोज्‍न सकून्।' 18 प्रभुले यसो भन्‍नुहुन्छ, जसले प्राचीन समयदेखि थाहा भएका यी कुराहरू गर्नुभएको छ । 1 19 त्यसकारण मेरो विचार यो छ कि परमेश्‍वरतिर फर्कने गैरयहूदीहरूलाई हामीले दुःख दिनुहुँदैन । 20 तर हामीले तिनीहरूलाई यो लेख्‍नेछौं कि तिनीहरू मूर्तिहरूको अशुद्धताबाट, व्यभिचारबाट र घाँटी अठ्याएर मारेको मासु, र रगतबाट अलग रहनुपर्छ । 21 किनकि प्राचीन समयदेखि हरेक सहरमा मोशा प्रचारिएका छन् र हरेक विश्रामको दिनमा तिनलाई पढिन्छ ।” 22 त्यसपछि बरसाबास भनिने यहूदा र सिलास जो मण्डलीका अगुवाहरू थिए, तिनीहरूलाई छानेर पावल र बारनाबासकहाँ एन्टिओखियामा पठाउन प्रेरितहरू र धर्म-गुरुहरू र सारा मण्डलीसहितलाई असल लाग्यो । 23 तिनीहरूले यो लेखे, “एन्टिओखिया, सिरिया र किलिकियामा भएका गैरयहूदी भाइहरूलाई प्रेरितहरू र धर्म-गुरुहरू अर्थात् तपाईंका भाइहरूको अभिवादन । 24 किनभने हामीले सुनेका छौं की हामीले आज्ञा नगरेका केही मानिसहरू हाम्रो बीचबाट गएका छन् र तपाईंहरूको आत्मालाई दु:खित पार्ने खालका शिक्षाहरूले तपाईंहरूलाई दुःख दिएका छन् । 25 हाम्रा प्रिय बारनाबास र पावलका साथमा कोही मानिसहरूलाई छानेर तपाईंहरूकहाँ पठाउन हामी सहमत भयौं र यो हामी सबैलाई असल लाग्यो, 26 बारनाबास र पावल जसले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका छन् । 27 त्यसकारण हामीले यहूदा र सिलासलाई पठाउँदैछौं, जसले तिमीहरूलाई त्यही कुराहरू आफ्नै शब्दहरूमा बताउनेछन् । 28 किनकि यी आवश्यक कुराहरूभन्दा बढी ठुलो भार तपाईंहरूमाथि नबोकाउन पवित्र आत्मा र हामीलाई असल लाग्यो, 29 जस्तैः तपाईंहरू मूर्तिहरूलाई चढाइएका बलिदानका कुराहरू, रगत, घाँटी अठ्‍याएर मारेको थोकहरू, र यौन अनैतिकताबाट अलग रहनुपर्छ । यदि तपाईंहरूले आफैंलाई यी कुराहरूबाट अलग राख्‍नुभयो भने तपाईंहरूलाई भलो हुनेछ । बिदा ।” 30 जब उनीहरू बिदा भएर एन्टिओखियामा आए; उनीहरूले भीडलाई एकसाथ भेला पारेपछि पत्र दिए । 31 जब तिनीहरूले यसलाई पढे, उत्साहको कारण तिनीहरू आनन्दित भए । 32 यहूदा र सिलास पनि अगमवक्‍ताहरू भएकोले धेरै वचनहरूद्वारा भाइहरूलाई उत्साह दिए र तिनीहरूलाई बलियो पारे । 33 उनीहरूले त्यहाँ केही समय बिताइसकेपछि भाइहरूको बीचबाट उनीहरूलाई पठाउनेहरूकहाँ शान्तिसाथ पठाइयो । 34 2 35 तर पावल र बारनाबास (अरु धेरैकासाथ) प्रभुको वचन सिकाउँदै र प्रचार गर्दै एन्टिओखियामा बसे । 36 केही दिनपछि पावलले बारनाबासलाई भने, “अहिले हामी फर्केर जाऔं र हामीले प्रभुको वचन घोषणा गरेको हरेक सहरका भाइहरूलाई भेटौं, र तिनीहरू कस्ता छन् हेरौं ।" 37 बारनाबासले मर्कूस भनिने यूहन्‍नालाई पनि उनीहरूसँगै लैजान चाहन्थे । 38 तर पावलले मर्कूसलाई लिएर जान ठिक छैन भनी विचार गरे । किनभने पाम्फिलियामा हुँदा तिनी उनीहरूबाट छुट्टिएर गएका थिए र उनीहरूसँग काममा अगाडि गएा थिएनन् । 39 तब त्यहाँ कडा असहमति उत्पन्‍न भयो । त्यसैकारण उनीहरू एकअर्काबाट छुट्टिए, अनि बारनाबासले मर्कूसलाई आफूसँगै लिएर साइप्रसतिर समुद्रयात्रा गरे । 40 तर भाइहरूद्वारा पावललाई प्रभुको अनुग्रहमा सुम्पिएपछि तिनले सिलासलाई छाने र त्यहाँबाट बिदा भए । 41 त्यसपछि तिनी मण्डलीहरूलाई बलियो पार्दै सिरिया र किलिकिया भएर गए ।

1केही प्राचीन ग्रीक खण्डका प्रतिलिपिहरू छन् जसको केही भिन्‍न अर्थ छन् प्रभुले यसो भन्‍नुहुन्छ, जसलाई प्राचीन समयदेखि आफ्ना सबै कार्यहरू थााहा छ छ ।
2उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा पद ३४ छैन (हेर्नुहोस्ः प्रेरित १५ः४०), तर सिलासलाई त्यहाँ रहन नै असल लाग्यो