अध्याय १४

1 आइकोनियममा आइसकेपछि पावल र बारनाबास सँगसँगै यहूदीहरूको सभाघरमा प्रवेश गरे र यसरी बोले कि यहूदीहरू र ग्रीकहरू दुवैका ठुलो भीडले विश्‍वास गरे । 2 तर अनाज्ञाकारी यहूदीहरूले गैरयहूदीहरूका मनहरूलाई खल्बल्याइदिए र दाजुभाइहरूको विरुद्धमा तितो बनाइदिए । 3 त्यसैले उहाँले आफ्नो अनुग्रहको सन्देशको बारेमा प्रमाण दिंदा प्रभुको शक्तिमा सहासपूर्वक बोल्दै तिनीहरू लामो समयसम्म त्यहाँ बसे । उहाँले यो पावल र बारनाबासका हातहरूद्वारा चिन्‍हहरू र अचम्मका कामहरू गर्न दिएर गर्नुभयो । 4 तर सहरका मानिसहरू विभाजित भए; कोही यहूदीहरूका पक्षमा, कोही प्रेरितहरूका पक्षमा लागे । 5 यहूदीहरू र गौरयहूदीहरू दुवैले (तिनीहरूका अगुवाहरूसहित) उनीहरूलाई दुर्व्यवहार गर्न र ढुङ्गाले हान्‍ने प्रयास गरे, 6 तर यो कुरा थाहा पाएपछि तिनीहरू लुकोनियाका सहरहरू लुस्‍‍त्रा, र डर्बी र वरिपरिका क्षेत्रतिर भागेर गए 7 जहाँ तिनीहरूले सुसमाचार प्रचार गरिरहे । 8 लुस्‍‍त्रामा एकजना मानिस बसेको थियो जसको खुट्टा शक्तिहीन र आमाको गर्भमै लङ्गडो थियो र ऊ कहिलै हिंडेको थिएन । 9 पावलले बोलिरहेको त्यो मानिसले सुन्यो । पावलले आफ्ना आँखाले त्यसलाई एकटक लगाएर हेरे र त्यो मानिसमा निको हुनसक्‍ने विश्‍वास भएको देखे । 10 त्यसैले तिनले ठुलो स्वरमा त्यसलाई भने, “आफ्नो खुट्टामा उठ ।” अनि त्यो मानिस उफ्रियो र वरिपरि हिंड्‍यो । 11 जब भीडले पावलले गरेका काम देखे, तब तिनीहरूले आफ्ना स्वर उच्‍चालेर यसो भन्दै लुकोनियाको भाषामा कराए, “देवहरू मानिसहरूका रूपमा हामीकहाँ तल ओर्लिआएका छन् ।” 12 तिनीहरूले बारनाबासलाई “जिउस,” र पावललाई “हर्मेस” भने, किनभने तिनी चाहिं प्रमुख वक्ता थिए । 13 जिउसका पूजाहारी, जसको मन्दिर सहरको बाहिरपट्टि थियो, उनले ढोकामा गोरुहरू र फूलका मालाहरू ल्याए; र उनले र भीडले बलिदान चढाउन चाहन्थे । 14 तर जब प्रेरित, बारनाबास र पावलले यो सुने, तिनीहरूले आफ्ना लुगा च्याते र झट्टै यसरी कराउँदै मानिसहरूका भीडतिर गए, 15 “ए मानिसहरू हो, यी कुराहरू तपाईंहरूले किन गरिरहनुभएको छ? हामी पनि तपाईंहरूजस्तै भावना भएका मानव जाति हौं । हामीले तपाईंहरूलाई व्यर्थका कुराहरूबाट जीवित परमेश्‍वरतिर फर्कनू भन्‍नलाई सुसमाचार सुनाउँदै छौ, जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनुभयो । 16 विगतका समयहरूमा, उहाँले सबै जातिहरूलाई आ-आफ्ना मार्गमा हिंड्न अनुमति दिनुभयो । 17 तर अझै उहाँले आफैंलाई गवाहीबिना छोड्नुभएन, त्यस कुरामा उहाँले असल गर्नुभयो र तपाईंहरूलाई स्वर्गबाट वर्षा र फलदायी ऋतुहरू दिएर भोजन र आनन्दले तपाईंहरूका हृदयलाई भर्नुभयो ।’’ 18 यी वचनहरूले पनि, पावल र बारनाबासले तिनीहरूका निम्ति भीडलाई बलिदान गर्नबाट बढो मुस्किलले रोके । 19 तर एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू आए र भीडहरूलाई मनाए । तिनीहरूले पावललाई ढुङ्गाले हाने र तिनी मरेछन् भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले । 20 तर पनि चेलाहरू तिनको वरिपरि उभिरहँदा, तिनी उठे र सहरभित्र पसे । अर्को दिन बारनाबाससँग तिनी डर्बीतिर गए । 21 सहरमा तिनीहरूले सुसमाचार प्रचार गरेर धेरैलाई चेलाहरू बनाएपछि तिनीहरू लुस्‍‍त्रा, आइकोनियम र एन्टिओखियामा फर्किए । 22 तिनीहरूले यसो भन्दै चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्‍वासमा रहिरहनका निम्ति उत्साह दिइरहे, "धेरै सातवटहरूबाट भएर नै हामी परमेश्‍वरको राज्यमा पस्‍नुपर्छ ।" 23 जब तिनीहरूले आफ्ना निम्ति हरेक मण्डलीमा धर्म-गुरुहरू नियुक्त गरे, र उपवाससहित प्रार्थना गरे, तिनीहरूले आफूले विश्‍वास गरेका प्रभुमा उनीहरूलाई सुम्पिदिए । 24 त्यसपछि तिनीहरू पिसिदिया हुँदै पाम्फिलिया आए । 25 पर्गामा वचन बोलेपछि तिनीहरू अटालियातिर झरे । 26 त्यहाँबाट तिनीहरू जहाजमा चढेर एन्टिओखियातिर गए जहाँ तिनीहरूले भर्खरै पूरा गरेका कामको निम्ति परमेश्‍वरको अनुग्रहमा तिनीहरू समर्पण गरिएका थिए । 27 जब तिनीहरू एन्टिओखियामा आइपुगे र मण्डलीलाई भेला गरे, तब तिनीहरूले परमेश्‍वरले तिनीहरूसँग गर्नुभएका कामहरू, र गैरयहूदीहरूका बीचमा कसरी उहाँले विश्‍वासको ढोका खोलिदिनुभएको थियो भनी सबै कुरा बताए । 28 तिनीहरू चेलाहरूसँग लामो समयसम्म बसे ।