1 त्यसपछि येशूले भीडलाई र आफ्ना चेलाहरूलाई भन्नभयो, 2 “फरिसीहरू र हाम्रा यहूदी व्यवस्था सिकाउने मानिसहरूले आफैंलाई इस्राएलका मानिसहरूका लागि परमेश्वरले मोशाद्वारा दिनुभएको व्यवस्था व्याख्या गर्नेहरू बनाएका छन् । 3 परिणामस्वरूप, तिमीहरूले गर्नुपर्छ भनेर जे तिनीहरूले तिमीहरूलाई भन्छन् त्यो तिमीहरूले गर्नुपर्छ । तर तिनीहरूले जे गर्छन् त्यो नगर, किनभने तिनीहरू आफैंले ती कुराहरू गर्दैनन् । 4 तिनीहरूले पालना गर्न कठिन धेरै त्यस्ता नियमहरू तिमीहरूलाई पालन गर्न लगाउँछन् । तर ती नियमहरू पालन गर्न तिनीहरू आफैंले कसैलाई पनि मद्दत गर्दैनन् । यो त तिनीहरूले धेरै गाह्रो भारीहरू बाँधेको र ती तिमीहरूले बोक भनी तिमीहरूका काँधमा राखिदिएको जस्तै हो । तर ती बोक्नलाई तिमीहरूलाई मद्दत गर्न तिनीहरूले एउटा औला पनि चलाउँदैनन् । 5 तिनीहरूले जे गर्छन्, तिनीहरूले ती कुराहरू यस हेतुले गर्छन्, मानिसहरूले तिनीहरूलाई देख्नेछन् र तिनीहरूको प्रशंसा गर्नेछन् । उदाहरणको लागि, तिनीहरूले आफ्ना हातहरूमा लगाउने धर्मशास्त्रका खण्डहरूलाई धेरै चौडा बनाउँछन् । तिनीहरूले परमेश्वर लाई आदर गर्छन् भनी अरूले विचार गरून् भनेर तिनीहरूले आफ्ना वस्त्रका झुम्काहरूलाई ठूला बनाउँछन् । 6 अरू मानिसहरूले तिनीहरूको आदर गरेको तिनीहरू चाहान्छन् । उदाहरणको लागि, रात्री भोजमा तिनीहरू सबभन्दा प्रतिष्ठित मानिसहरू बस्ने आसनहरूमा बस्छन् । सभाघरहरूमा तिनीहरू त्यस्तै किसिमका ठाउँहरूमामा बस्न रुचाउँछन् । 7 बजारहरूमा मानिसहरूले ठुलो आदर देखाएर तिनीहरूलाई अभिवादन गरेको र मानिसहरूले तिनीहरूलाई ‘गुरु’ भनेको तिनीहरू मन पराउँछन् । 8 तर मानिसहरूले अरू यहूदी गुरुहरूलाई भनेझैं तिमीहरू, मेरो चेलाहरूले ‘गुरु’ भनेर सम्बोधन गर्न दिनुहुँदैन । म एकमात्र तिमीहरूको साँचो गुरु हुँ । यसको अर्थ तिमीहरू सबै एकआपसमा बराबर हौ जस्तो दाजुभाइ र दिदीबहिनी हुन्छन् । 9 यस पृथ्वीमा कसैलाई सम्बोधन गरेर तिनलाई ‘पिता’ नभन, किनभने स्वर्गमा हुनुहुने तिमीहरूका पिता परमेश्वर मात्र तिमीहरूका साँचो पिता हुनुहुन्छ । 10 मानिसहरूले तिमीहरूलाई ‘गुरु’ भनेर सम्बोधन गर्न नदेओ, किनभने ख्रीष्ट मात्र तिमीहरूका गुरु हुन् । 11 त्यसको साटोमा, तिमीहरूका माझमा भएका हरेक जसले परमेश्वरले आफूलाई प्रतिष्ठित ठान्नुभएको होस् भन्ने इच्छा गर्नेहरूले सेवकहरूले गरेझैँ अरूहरूको सेवा गर्नुपर्छ । 12 जसले आफैंलाई प्रतिष्ठित बनाउने कोसिस गर्छ त्यसलाई परमेश्वरले विनम्र बनाउनुहुन्छ । जसले आफैंलाई विनम्र बनाउँछ, परमेश्वरले तिनीहरूलाई साँच्चै प्रतिष्ठित बनाउनुहुनेछ ।” 13 “तिमीहरू व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमीहरू कपटीहरू हौ ! परमेश्वरले तिमीहरूलाई कति भयानक किसिमले दण्ड दिनुहुनेछ, किनभने तिमीहरू स्वर्गको राज्यमा आउन इन्कार गर्छौ र अरूहरूलाई पनि बाहिरै राख्छौ । 14 तिमीहरू आफैं पनि भित्र जाने इच्छा गर्दैनौ र अरूहरूलाई पनि भित्र जानलाई रोक्छौ । 15 तिमीहरू व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिनीहरू कपटीहरू हौ ! परमेश्वरले तिमीहरूलाई कति भयानक किसिमले दण्ड दिनुहुनेछ ! तिमीहरू जे सिकाउँछौ त्यसमा विश्वास गर्ने एकजना भेट्टाउनलाई तिमीहरू कडा परिश्रम गर्छौ । त्यसो गर्ने उदेश्यले तिमीहरू समुद्रहरू र जमिनहरूमा यात्रा गरेर धेरै टाढाका ठाउँहरूसम्म पनि पुग्छौ । र परिणामस्वरूप, जब तिमीहरूले सिकाएका कुरामा एकजनाले विश्वास गर्छ, तब तिमीहरूले त्यस व्यक्तिलाई तिमीहरू आफूभन्दा पनि धेरै बढी नरक जान योग्यको बनाउँछौ ।” 16 “तिमीहरू यहूदी अगुवाहरू, परमेश्वरले तिमीहरूलाई कति भयानक किसिमले दण्ड दिनुहुनेछ । तिमीहरू अरूहरूलाई डोर्याउन कोसिस गर्ने अन्धा मानिसहरू जस्तै छौ । तिमीहरू भन्छौ, ‘कसैले केही कुराको भाकल गर्दा मन्दिरलाई व्यक्तिझैं मानेर उसले त्यो गर्नेछ भन्ने कुरा पक्का गर्न मन्दिरलाई बिन्ती गर्छ भने, उसले जे प्रतिज्ञा गर्यो त्यो पूरा गर्दैन भने पनि त्यसले कुनै अर्थ हुँदैन । तर उसले केही गर्नेछ भनी मन्दिरमा भएको सुनलाई पक्का गर्न बिन्ती गर्छ भने, उसले त्यो पूरा गर्नैपर्छ ।’ 17 तिमीहरू मूर्खहरू हौ, र तिमीहरू अन्धा मानिसहरू जस्तै छौ ! मन्दिरमा भएको सुन महत्त्वपूर्ण हुन्छ, तर मन्दिर त झन् धेरै महत्त्वपूर्ण हुन्छ , किनभने मन्दिरले नै त्यो सुन परमेश्वरको लागि मात्र हो भन्ने जनाउँछ । 18 अझै, तिमीहरू भन्छौ, ‘कसैले केही कुराको भाकल गर्दा वेदीलाई व्यक्तिझैं मानेर उसले वेदीलाई पक्का गर्न बिन्ती गर्छ भने, उसले जे प्रतिज्ञा गर्यो त्यो पूरा गर्दैन भने पनि त्यसले कुनै अर्थ हुँदैन । तर उसले केही गर्नेछ भनी वेदीमा चढाएको भेटीलाई पक्का गर्न बिन्ती गर्छ भने, उसले त्यो पूरा गर्नैपर्छ ।’ 19 तिमीहरू अन्धा मानिसहरू जस्तै हौ । वेदीमा चढाएको भेटी महत्त्वपूर्ण हुन्छ, तर वेदी त झन् धेरै महत्त्वपूर्ण हुन्छ किनभने वेदीले नै त्यो भेटी परमेश्वरको लागि मात्र हो भन्ने जनाउँछ । 20 यसैले कसैले केही गर्ने प्रतिज्ञा गर्छ र त्यसपछि तिनीहरूले त्यो गर्नेछन् भन्ने कुरा पक्का गर्न वेदीलाई बिन्ती गर्छन् भने, तिनीहरूले वेदीमाथि भएका सबै कुराहरूलाई नै त्यो गर्न बिन्ती गरेका हुन्छन् । 21 हो, र कसैले केही गर्ने प्रतिज्ञा गर्छन् र त्यसपछि तिनीहरूले त्यो गर्नेछन् भनी पक्का गर्न मन्दिरलाई बिन्ती गर्छन् भने, त्यो पक्का गर्न तिनीहरूले परमेश्वरलाई नै बिन्ती गरेका हुन्छन् किनभने मन्दिर उहाँकै हो । 22 हो, र कसैले केही गर्ने प्रतिज्ञा गर्छन् र त्यसपछि तिनीहरूले त्यो गर्नेछन् भनी पक्का गर्न स्वर्गलाई बिन्ती गर्छन् भने, तिनीहरूले त्यो गर्नेछन् भनी पक्का गर्न परमेश्वरको सिंहासनलाई नै बिन्ती गरेका हुन्छन्, र तिनीहरूले सिंहासनमा विराजमान हुनुहुने परमेश्वरलाई नै त्यो पक्का गर्न बिन्ती गरेका हुन्छन् ।” 23 “तिमीहरू व्यवस्थाका शिक्षकहरू र तिमीहरू फरिसीिहरू, परमेश्वरले तिमीहरूलाई कति भयानक किसिमले दण्ड दिनुहुनेछ ! तिमीहरू कपटीहरू हौ, किनभने तिमीहरू पुदिना, सूँप र जिरा जस्ता आफूले उत्पादन गरेका कुराको दशांश दिन्छौ, तापनि परमेश्वरका झन् महत्त्वपूर्ण आज्ञाहरू तिमीहरू पालन गर्दैनौ । उदाहरणको लागि, तिमीहरू अरूहरूप्रति न्यायोचित किसिमले व्यवहार गर्दैनौ, तिमीहरू मानिसहरूप्रति कृपापूर्ण व्यवहार गर्दैनौ, र तिमीहरूले बल प्रयोग गरेर अरूहरूबाट चीजबीजहरू लैजान्छौ । तिमीहरूका उत्पादनको दशांस परमेश्वरलाई दिनु असल हो, तर तिमीहरूले झन् बढी महत्त्वपूर्ण अरू व्यवस्थाहरू पनि पालन गर्नुपर्छ । 24 तिमीहरू अगुवाहरू अरूहरूलाई डोर्याउन खोज्ने अन्धा मानिसहरू जस्ता छौ । तिमीहरूले पानी पिउँदा साना किराहरू निलेर परमेश्वरको चित्त नदुखोस् भनेर तिमीहरू होशियार हुन्छौ, तर तिमीहरू ऊँटलाई नै निले झैं खराब व्यवहार गर्छौ ! 25 “तिमीहरू कपटीहरू, तिमीहरू व्यवस्थाका शिक्षकहरू र फरिसीहरू हो, परमेश्वरले तिमीहरूलाई कति भयानक किसिमले दण्ड दिनुहुनेछ । तिमीहरू आफैंलाई अन्य मानिसहरूका अघि असल मानिसहरू झैं प्रस्तुत गर्छौ । तिमीहरू धर्मी छौ भन्ने विचार मानिसहरूमा होस् भन्ने कोसिस तिमीहरू गर्छौ, तर तिमीहरूका लालच र तिमीहरूले आफैंलाई खुशी पार्नलाई अरूहरूका चीजबीजहरू लिएर साँच्चै तिमीहरूले पाप गर्छौ । तिमीहरू बाहिरपटी माझेका थालहरू जस्ता छौ तर भित्र अझै फोहर हुन्छ । 26 तिमीहरू अन्धा फरिसीहरू ! सबभन्दा पहिला तिमीहरूले अरूहरूबाट चोरी गर्ने जस्ता खराब काम बन्द गर्नुपर्छ । त्यसपछि तिमीहरू जे धर्मी हुन्छ त्यो गर्न सक्षम हुनेछौ र तिमीहरू भित्र र बाहिर दुवैपटी सफा भएको थाल जस्ता हुनेछौ ।” 27 “तिमीहरू कपटीहरू हौ, तिमीहरू व्यवस्था सिकाउने मानिसहरू र तिमीहरू फरिसीहरू, परमेश्वरले तिमीहरूलाई कति भयानक किसिमले दण्ड दिनुहुनेछ ! तिमीहरू मानिसहरूका चिहानमाथि बनाइएका भवनहरू, सेतो रङ्ग पोतिएका भवनहरू जस्ता छौ जसले गर्दा मानिसहरूले ती देख्नेछन् र ती छुनेछैनन् । ती चिहानको बाहिरपटी सुन्दर देखिन्छ, तर भित्रिपटी त्यहाँ मरेका मानिसहरूका हाडहरू तथा फोहरले भरिएका हुन्छन् । 28 तिमीहरू ती चिहानहरूजस्ता हौ । जब मानिसहरूले तिमीहरूलाई हेर्छन्, तिमीहरू धर्मी भएको तिनीहरूले विचार गर्छन्, तर तिमीहरूको भित्री अन्तस्करणमा तिमीहरू कपटीहरू हौ, किनभने तिमीहरू परमेश्वरका आज्ञाहरू उलङ्घन गर्छौ ।” 29 “तिमीहरू यहूदी व्यवथा सिकाउने मानिसहरू र फरिसीहरू, तिमीहरू कपटीहरू हौ ! परमेश्वरले तिमीहरूलाई कति भयानक किसिमले दण्ड दिनुहुनेछ । अरूहरूले धेरै अघि मारेका अगमवक्ताहरूका चिहानहरू तिमीहरू पुनःनिर्माण गर्छौ । तिमीहरू स्मारकहरू सजाउँछौ जसले धर्मी मानिसहरूको आदर गर्छ । 30 तिमीहरू भन्छौ, ‘हाम्रा पुर्खाहरूले जीवन बिताएको समय हामीहरूले जीवन बिताएको भए, अगमवक्ताहरूका हत्या गर्नेहरूलाई हामीहरू मद्दत गर्ने थिएनौं ।’ 31 यसरी तिमीहरू तिनै हत्याराहरूका सन्तानहरू हौ भनी तिमीहरू स्वीकार गर्छौ; यसैले तिमीहरू तिनीहरू जस्तै हौ । 32 तिमीहरू पनि अघि सर्छौ र तिमीहरूका पुर्खाहरूले गर्न सुरु गरेका सबै पापहरू गरेर सिध्याउँछौ । 33 तिमीहरू असाध्ये दुष्ट मानिसहरू हौ ! तिमीहरू विषालु सर्पहरू जस्तै खतरनाक छौ ! परमेश्वरले तिमीहरूलाई नरकमा दण्ड दिनबाट तिमीहरू उम्कनेछौ भनी विचार गर्नु तिमीहरू मूर्ख हुनु हो ! 34 यो कुरा ध्यान देऊ कि यसैकारणले म अगमवक्ताहरू, ज्ञानी मानिसहरू र शिक्षकहरू पठाउनेछु । तिनीहरूमध्ये कसैलाई तिमीहरूले क्रुसमा काँटीमा झुण्डाएर मार्नेछौ, र कसैलाई तिमीहरूले अन्य कुनै किसिमले मार्नेछौ । तिनीहरूमध्ये कसैलाई तिमीहरूले आफ्ना आराधना गर्ने ठाउँहरूमा कोर्रा लाउनेछौ र तिमीहरूले तिनीहरूलाई एक सहरबाट अर्को सहरमा लखेट्नेछौ । 35 यसैले आदमका छोरा धर्मी मानिस हाबिलदेखि तिमीहरूका पूर्खाहरूले मन्दिर र वेदी बीचको पवित्रस्थानमा मारेका बेरेक्याहका छोरा जकरियासमेत यस संसारमा सदासर्वदा जीवन बिताएका सबै धार्मी मानिसहरूलाई मारेको कारणले परमेश्वरले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दोषी ठहराउनुहुनेछ । ती दुई मानिसहरूले जीवन बिताएका समयहरूका बीचमा जीवन बिताएका अरू सबै अगमवक्ताहरूलाई पनि तिमीहरूले मार्यौ । 36 यस कुरालाई विचार गरः ती सबै अगमवक्ताहरूलाई मारेको निम्ति, तिमीहरू, मेरो सेवालाई देखेका मानिसहरूलाई नै परमेश्वरले दण्ड दिनुहुनेछ !” 37 “हे यरूशलेमका मानिसहरू हो, तिमीहरू जो धेरै अघि जीवन बिताएका अगमवक्ताहरूलाई मार्नेहरू, र तिमीहरू जो परमेश्वरले तिमीहरूकहाँ पठाउनुभएका अरूहरूलाई ढुंगाहरूले हानेर मार्नेहरू हो । तिमीहरूको सुरक्षा गर्न धेरैपल्ट मैले तिमीहरूलाई एकसाथ जम्मा पार्ने इच्छा गरें, जस्तो एउटा कुखुराले आफ्ना चल्लाहरूलाई आफ्ना पखेटामुनि जम्मा गर्छ । तर मैले त्यसो गरौं भन्ने इच्छा तिमीहरूलाई भएन । 38 यसैले यो कुरा सुन् : तिमीहरूका सहर एउटा निर्जन ठाउँ हुनेछ । 39 यो कुरा ध्यान देः तैंले मलाई फेरि म फर्केर आउँदा मात्र देख्नेछस्, जतिबेला तैंले मेरो बारेमा यसो भन्छस्, ‘परमेश्वरको अधिकारसहित आउने यी मानिससँग परमेश्वर साँच्चै नै प्रसन्न हुनुहुन्छ ।’”