1 येशू र उहाँका चेलाहरू यरूशलेम नजीक पुग्नुहुँदा, उहाँहरू जैतुनको डाँडा नजीकको बेथफागे गाउँमा आउनुभयो । येशूले आफ्ना दुईजना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूको अगाडि भएको गाउँमा जाओ । 2 तिमीहरू त्यहाँ पुग्नेबित्तिकै, तिमीहरूले एउटा गधा र त्यसको बछेडालाई त्यहाँ बाँधिएको देख्नेछौ । ती फुकाओ र मकहाँ ल्याओ । 3 तिमीहरूले त्यसो गरेकोमा कोही व्यक्तिले केही कुरा भन्छ भने, त्यसलाई भन, ‘प्रभुलाई ती चाहिएको छ ।’ त्यसपछि उसले ती ल्याउन दिनेछ ।” 4 जब यो सबै हुन आयो, तब अगमवक्ताहरूमध्ये एकजनाले लेखेको कुरा पूरा हुन आयो । ती अगमवक्ताले लेखेका थिए, “यरूशलेममा बसोबास गर्ने मानिसहरूलाई भन, ‘हेर ! तिमीहरूका राजा तिमीहरूकहाँ आउँदै हुनुहुन्छ ! उहाँ बिन्रम भएर आउनुहुनेछ । 5 उहाँ विन्रम हुनुहुन्छ भनी उहाँले देखाउनुहुनेछ, किनभने उहाँ एउटा गधाको बछेडामाथि सवार भएर आउँदै हुनुहुनेछ ।’” 6 यसैले ती दुई चेलाहरू गए र येशूले तिनीहरूलाई जे गर्न भन्नुभयो त्यही गरे । 7 तिनीहरूले गधा र त्यसको बछेडालाई येशूकहाँ ल्याए । उहाँलाई बस्नको लागि केही होस् भनेर तिनीहरूले त्यसमाथि आफ्ना लुगाहरू ओछ्याए । तब येशू त्यसमाथि चढ्नुभयो र लुगाहरूमाथि बस्नुभयो । 8 तब एउटा ठूलो भीडले आफ्ना केही बाहिरी वस्त्रहरू फुकालेर बाटोमा बिछ्याए र अरू मानिसहरूले खजूरका रूखहरूका हाँगाहरू काटे र ती बाटोमा बिछ्याए । 9 उहाँको पछि हिंडेका र उहाँको अघि हिंडेका भीडहरू कराउँदै थिए, “दाऊद राजाका पुत्र, ख्रीष्टको प्रशंसा होस् !” “परमेश्वरको प्रतिनिधि भई र परमेश्वरको अधिकारमा आउनुहुनेमाथि परमप्रभु परमेश्वरको आशिष् रहोस् ।” “परमेश्वरको स्तुति होस्, जो सर्वोच्च स्वर्गमा विराजमान हुनुहुन्छ !” 10 येशूल यरूशलेममा प्रवेश गर्नुहुँदा, शहरका चारैतिरबाट आएका धेरै मानिसहरू उत्साहित भए र यसो भन्दै थिए, “तिनीहरूले किन यो मानिसलाई त्यसरी सम्मान गर्दै छन् ?” 11 पहिलेदेखि नै उहाँको पछि हिंड्दै गरेको भिडले जवाफ दियो, “उहाँ गालीलको नासरतबाट आउनुभएको अगमवक्ता येशू हुनुहुन्छ !” 12 त्यसपछि येशू मन्दिरको चोकभित्र जानुभयो र त्यहाँ चीजबीजहरू किन्ने र बेच्नेहरू सबैलाई लखेट्नुभयो । मन्दिरको कर तिर्नलाई रोमी सिक्काहरू खरीद बिक्री गर्नेहरूका टेबलहरू उहाँले पल्टाई दिनुभयो, र बलि चढाउनलाई परेवाहरू बेच्दै गरेकाहरूको कुर्सीहरूलाई उहाँले पल्टाई दिनुभयो । 13 त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “एकजना अगमवक्ताले धर्मशास्त्रमा लेखे जसमा परमेश्वरले भन्नुभयो, “म आफ्नो घरलाई मानिसहरूले मसँग प्रार्थना गर्ने ठाउँ होस् भन्ने इच्छा गर्छु, तर तिमीहरूले यसलाई डाकुहरू भेला हुने ठाउँ बनाएका छौ !” 14 त्यसपछि, धेरैजना दृष्टिवहीन मानिसहरू र अपाङ्ग मानिसहरू तिनीहरूलाई येशूले निको पार्नुहुन्छ भन्ने उदेश्यले मन्दिरमा उहाँकाहाँ आए र उहाँले निको पार्नुभयो । 15 मुख्य पुजारीहरू र यहूदी व्यवस्था सिकाउने मानिसहरूले येशूले गर्नुभएको अचम्मका कामहरू देखे । बालकहरूले मन्दिरमा यसो भनेर कराउँदै गरेको तिनीहरूले देखे, “हामी दाऊद राजाको सन्तान ख्रीष्टको प्रशंसा गर्छौ !” तिनीहरू क्रोधित भए । 16 तिनीहरूले उहाँलाई सोधे, “तिमीले यो कसरी सहन सक्छौ ? यी मानिसहरूले के भनेर कराउँदै छन् त्यो तिमी सुन्छौ ?” त्यसपछि येशूले तिनीहरूलाई जवाफ दिनभयो, “हो, म तिनीहरूको आवाज सुन्दैछु, तर बालकहरूले मेरो प्रशंसा गर्ने बारेमा धर्मशास्त्रमा तिमीहरूले जे पढेका छौ त्यो तिमीहरूलाई याद हुन्छ भने, तिमीहरूलाई थाहा हुनेछ कि परमेश्वर तिनीहरूसँग खुशी हुन्छ । भजन लेखकले परमश्वरमा यसो भन्दै लेखे, ‘तपाईंले सिद्धरूपमा आफ्नो प्रशंसा गर्नलाई तपाईंले शिशुहरू र अन्य बालकहरूलाई सिकाउनुभएको छ ।’” 17 त्यसपछि येशूले त्यो शहर छोड्नुभयो । चेलाहरू उहाँसँगै बेथानिया गाउँमा गए, र त्यो रात उहाँहरू त्यहाँ बस्नुभयो । 18 भोलिपल्ट बिहान सबेरै उहाँहरू शहरतिर फर्कंदैगर्दा, येशू भोकाउनुभयो । 19 उहाँले बाटो नजीक एउटा अन्जिरको रूख देख्नुभयो, यसैले खानलाई केही अञ्जीर टिप्न उहाँ त्यसको छेउमा जानुभयो । तर जब उहाँ नजीकै पुग्नुभयो, रूखमा अन्जिरको पातहरूबाहेक कुनै फल उहाँले देख्नुभएन । यसैले उहाँले त्यस अन्जिरको रूखलाई भन्नुभयो, “तैंले फेरि कदापि अन्जिर उब्जाउने छैनस् !” परिणामस्वरूप, त्यो अन्जिरको रूख तुरुन्तै सुक्यो । 20 अर्को दिन चेलाहरूले त्यो अन्जिरको रूख पूर्णरूपमा मरिसकेको देखे । तिनीहरू छक्क परे र येशूलाई सोधे, “यति चाँडै अञ्जीरको रूख कसरी सुक्यो ?” 21 येशूले तिनीहरूलाई भन्नुभयो, “यो कुराको बारेमा विचार गरः परमेश्वरसँग तिमीहरू जे गर्न बिन्ति गर्छौ त्यो गर्ने शक्ति उहाँसँग छ भनी तिमीहरू विश्वास गर्छौ र त्यसमा तिमीहरूले शंका गर्दैनौ भने, मैले यस अन्जिरको रूखलाई जस्तो गरेको छु तिमीहरूले त्यसै कुराहरू गर्न सक्नेछौ । परको त्यो पहाडलाई यसो भन्ने जस्तो आश्चर्यका कामहरू पनि तिमीहरू गर्न सक्नेछौ, ‘आफैँलाई उखेल् र आफैँलाई समुद्रमा फालिदे,’ र त्यो हुनेछ ! 22 त्यसका अतिरक्त, जबजब तिमीहरूले परमेश्वरसँग प्रार्थना गर्दा उहाँसँग केही कुराको निम्ति बिन्ती गर्छौ, त्यो उहाँले तिमीहरूलाई दिनुहुनेछ भनी तिमीहरू विश्वास गर्छौ भने, त्यो तिमीहरूले उहाँबाट पाउनेछौ ।” 23 त्यसपछि, येशू मन्दिरको चोकभित्र जानुभयो । उहाँले मानिसहरूलाई शिक्षा दिंदै गर्नुहुँदा, मुख्य पुजारीहरू र मानिसहरूका अगुवाहरू उहाँको नजीक आए । तिनीहरूले भने, “कुन अधिकारले तिमी यी कुराहरू गर्छौ ? तिमीले हिजो यहाँ गरेका कुराको लागि तिमीलाई कसले अधिकार दियो ?” 24 येशूले तिनीहरूलाई भन्नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्नेछु, र तिमीहरूले मलाई जवाफ दिन्छौ भने, मलाई यी कुराहरू गर्ने अधिकार कसले दियो त्यो म तिमीहरूलाई भन्नेछु । 25 बप्तिस्मा दिने यूहन्नाले तिनीकहाँ आउने मानिसहरूलाई बप्तिस्मा दिने अधिकार तिनले कहाँबाट पाए ? तिनले त्यो परमेश्वरबाट पाए वा मानिसहरूबाट पाए?” मुख्य पुजारीहरू र अगुवाहरूले के जवाफ दिने भनी आपसमा छलफल गरे । तिनीहरूले एक अर्कालाई भने, “हामीहरूले, ‘त्यो परमेश्वरबाट थियो’ भनौं भने, तिनले हामीहरूलाई भन्नेछन्, ‘त्यसो भए तिमीहरूले तिनको सन्देशलाई गर्नुपर्थ्यो !’ 26 तर हामीहरूले, ‘त्यो मानिसहरूबाट थियो’ भनौं भने, भिडले हाम्रो विरोधमा हिंसात्मकरूपमा प्रतिक्रिया जनाउन सक्छन्, किनभने सबै मानिसहरूले यूहन्नालाई परमेश्वरले पठाउनुभएको एक अगमवक्ता थिए भनी विश्वास गर्दछन् ।” 27 यसैले तिनीहरूले येशूलाई जवाफ दिए, “यूहन्नाले कहाँबाट तिनको अधिकार पाए त्यो हामीलाई थाहा छैन ।” तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले मेरो प्रश्नको जवाफ नदिएको कारणले, मैले हिजो गरेका यी कामहरू गर्ने अधिकार मलाई कसले दिनुभयो त्यो म तिमीहरूलाई भन्नेछैन ।” 28 “मैले अब भन्ने कुराको बारेमा तिमीहरूको के विचार छ मलाई भन । एकजना मानिसका दुई छोराहरू थिए । तिनी आफ्नो जेठो छोरोकहाँ गए र भने, ‘मेरो छोरा, जाऊ र आज मेरो दाखबारीमा काम गर !’ 29 तर त्यस छोराले आफ्नो बुबालाई भन्यो, ‘म जाने छैन !’ तर पछि उसको मन बद्ल्यो र ऊ दाखबारीमा गयो र काम गर्यो । 30 तब बुबा आफ्नो कान्छो छोरोकहाँ गए र जेठ छोरोलाई तिनले जे भनेका थिए त्यही उसलाई भने । त्यो छोरोले भन्यो, ‘सर, म जानेछु र आज दाखबारीमा काम गर्नेछु ।’ तर ऊ त्यहाँ गएन । 31 यसैले यी मानिसका दुईजना छोराहरूमध्ये कुनचाहिंले आफ्ना पिताको इच्छा पूरा गरे । तिनीहरूले जवाफ दिए, “जेठोचाहिं छोराले । ” तब येशूले तिनीहरूलाई भन्नुभयो, “यसैले यस बारेमा विचार गरः परमेश्वरले तिमीहरूमाथि राज्य गर्न खुशी हुनुभन्दा धेरै चाँडै कर उठाउनेहरू र यौनव्यापार गर्नेहरूमाथि राज्य गर्न खुशी हुनुभएर उहाँले तिनीहरूलाई दया गर्नुहुनेछ । ती मानिसहरूले मोशाको व्यवस्थालाई वेवास्ता गरेको कारणले तिमीहरूले तिनीहरूलाई दोषी ठहराए तापनि यो कुरा सत्य हो । 32 म तिमीहरूलाई यो भन्छु, किनभने बप्तिस्मा दिने यूहन्नाले तिमीहरूलाई कसरी ठीक किसिमले जीवन बिताउने भनेर बताएको भए तापनि, तिमीहरूले तिनको शन्देसलाई विश्वास गरेनौ । तर कर उठाउनेहरू र यौनव्यापारीहरूले तिनको सन्देशलाई विश्वास गरे, र तिनीहरूले आफ्ना पापपूर्ण व्यवहार छाडेर फर्के । त्यसको विपिरत, तिनीहरू बद्लिएको तिमीहरूले देख्यौ तापनि, तिमीहरूले पाप गर्न छोड्नलाई इन्कार गर्यौ, र तिमीहरूले यूहन्नाको शन्देसलाई विश्वास गरेनौ ।” 33 “अर्को दृष्टान्त सुन जुन म तिमीहरूलाई भन्दैछु । एकजना जमिन्दार थए जसले एउटा दाखबारी लगाए । त्यसको वरिपरी तिनले बार लगाए । अंगुरबाट निस्कने रस जम्मा गर्नलाई तिनले एउटा ठाउँ बनाए । तिनले त्यहाँ एउटा अग्लो ठाउँ पनि बनाए जसमा कोही बसेर त्यो दाखबरीको सुरक्षा गर्न सकोस् । तिनले त्यो दाखबरीको केही मानिसहरूलाई भाडामा दिए जसले त्यसको रखदेख गर्छन् र तिनलाई अंगुर दिन्छन् । तब तिनी अर्को देशमा गए । 34 जब अंगुर जम्मा गर्ने समय आयो, दाखबरीले उत्पादन गरेको अंगुरको आफ्नो भाग लिनलाई जमीनका मालिकले आफ्ना सेवकहरूमध्ये कसैलाई दाखबारीको रेखदेख गर्दै गरेका ती मानिसहरूकहाँ पठाए । 35 तर भाडामा राखेको मानिसहरूले ती सेवकहरूलाई समाते । तिनीहरूमध्ये एक जनालाई तिनीहरूले पिटे, अर्को एकजनालाई तिनीहरूले मारे, र तिनीहरूमध्ये तेस्रोलाई तिनीहरूले ढुंगाले हानेर मारे । 36 यसैले जमीनका मालिकले पहिलोपल्ट पठाएकोभन्दा धेरै सेवकहरूलाई तिनले पठाए । तर जमीन भाडामा लिनेहरूले ती सेवकहरूलाई त्यस्तै व्यवहार गरे जस्तो तिनीहरूले अरू सेवकहरूलाई गरेका थिए । 37 जमीनका मालिकले यो कुरा सुनेपछि, अंगुरको आफ्नो भाग लिनलाई जमीन भाडामा लिनेहरूकहाँ तिनले आफ्नै छोरालाई पठाए । जब तिनले उसलाई पठाए, तिनले मनमनै भने, ‘तिनीहरूले निश्चय नै मेरो छोरोलाई आदर गर्नेछन् र अंगुरको मेरो भाग उसलाई दिनेछन् ।’ 38 तर जब भाडामा लिनेहरूले तिनको छोरालाई आइरहेको देखे, तिनीहरूले एक अर्कामा भने, ‘यो मानिस त यस दाखबारीको हकदार हो ! हामी एकसाथ मिलौं र उसलाई मारौं र यस सम्पत्तिलाई हामीहरू एक अर्कामा बाँडौं ।’ 39 यसैले तिनीहरूले उसलाई समाते, उसलाई दाखबारी भन्दा बाहिर घिसार्दै लगे र उसलाई मारे । 40 अब म तिमीहरूलाई सोध्छु, जब जमीनदार आफ्नो दाखबारीमा फर्खन्छन्, तिनले यी भाडामा राखेकाहरूलाई के गर्नेछन् भनी तिमीहरू विचार गर्दछौ ? 41 मानिसहरूले जवाफ दिए, “उनले ती पापी मानिसहरूलाई पूर्णरूपमा नाश गर्नेछन् ! त्यसपछि उनले त्यो दाखबारी अरूलाई भाडामा दिनेछन् । जब अंगुर जम्मा गर्ने बेला हुन्छ, र तब तिनीहरूले उनको आफ्नो भाग उनलाई दिनेछन् ।” 42 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले धर्मशास्त्रमा पढेका यी वचनहरूलाई होशियार भएर विचार गर्नु आवश्यक छः ‘एउटा ठूलो भवन निमार्ण गर्ने मनिसहरूले कुनै ढुंगालाई तिस्कर गरे । तर अरूहरूले त्यही ढुंगालाई ठीक ठाउँमा राखे, र त्यो नै भवनको सबभन्दा महत्त्वपूर्ण ढुंगा बनेको छ । परमप्रभुले यो गर्नुभएको छ, र हामीले त्यसलाई हेर्दा हामी आश्चर्य चकित हुन्छौं । 43 म तिमीहरूलाई यो भन्दैछुः अबदेखि यहूदीहरूलाई परमेश्वरले स्वर्गबाट राज्य गर्नुहुने मानिसहरू हुन उहाँले दिनुहुनेछैन । बरु, उहाँ गैर-यहूदीहरूमा राज्य गर्न राजी हुनुहुनेछ र उहाँले तिनीहरूलाई जे गर्न भन्नुहुन्छ, तिनीहरूले त्यही गर्नेछन् । 44 यो ढुंगामाथि खस्ने कुनै पनि व्यक्ति टुक्राटुक्रा हुनेछ, र कुनै पनि व्यक्ति जसमाथि यो ढुंगा खस्नेछ, त्य धुलोपीटो हुनेछ ।” 45 जब मुख्य पुजारीहरू र फरिसीहरू अगुवाहरू यो दृष्टान्त सुने, तब उहाँले तिनीहरूलाई दोष लगाउँदै हुनुहुन्छ भनी तिनीहरूले महसुस गरे, किनभने उहाँ ख्रीष्ट हुनुहुन्छ भनी तिनीहरूले विश्वास गरेनन् । 46 तिनीहरूले उहाँलाई गिरफ्तार गर्ने इच्छा गरे, तर तिनीहरूले त्यसो गरेनन्, किनभने तिनीहरूले त्यसो गरे भने, भिडहरूले के गर्नेछन् भनी तिनीहरू डराए, किनभने भिडहरूले येशूलाई एकजना अगमवक्ता हुनुहुन्छ भनी विश्वास गर्दथे ।