1 “परमेश्वरले स्वर्गबाट कसरी राज्य गर्नुहुन्छ भन्ने कुरा एउटा जमीनको मालिकले गरेको कामसित तुलना हुन्छ । जमीनको मालिक सबेरै बजारमा गए, जहाँ काम खोज्ने मानिसहरू जम्मा हुन्थे । आफ्नो दाखबरीको काम गराउनलाई ज्यालाका कामदारहरू खोज्न तिनी त्यहाँ गए । 2 तिनले ज्यालामा ल्याएका मानिसहरूलाई दिनको स्तरीय ज्याला तिनीहरूलाई दिने प्रतिज्ञा तिनले गरे । तब तिनले तिनीहरूलाई आफ्नो दाखवरीमा पठाए । 3 त्यसै बिहान नौ बजे तिनी फेरि बजारमा गए । त्यहाँ तिनले काम नभएका अरू धेरै मानिसहरूलाई देखे । 4 तिनले तिनीहरूलाई भने, ‘अरू मानिसहरूले गरेजस्तै तिमीहरू पनि मेरो दाखबारीमा जाओ र त्यहाँ काम गर । म तिमीहरूलाई ठीक ज्याला दिनेछु ।’ यसैले तिनीहरू पनि तिनको दाखबारीमा गए र काम गर्न सुरु गरे । 5 मध्यान्हमा र तीन बजे पनि तिनी बजारमा गए र अरू कामदारहरू भेटे जसलाई तिनले उचित ज्याला दिने प्रतिज्ञा गरे । 6 पाँच बजे फेरि एकपल्ट तिनी बजारमा गए र अरू मानिसहरू त्यहाँ खडा भएका देखे जसले काम गर्दै थिएनन् । तिनले तिनीहरूलाई भने, ‘तिमीहरू दिनभरि यहाँ किन खडा हुँदैछौ र काम गर्दै छैनौ ?’ 7 तिनीहरूले तिनलाई भने, ‘किनभने कसैले पनि हामीलाई ज्यालामा लिएका छैनन् ।’ तिनले तिनीहरूलाई भने, ‘म तिमीहरूलाई ज्यालामा लिनेछु । अरू मानिसहरूले गरेझैं मेरो दाखवरीमा जाओ र त्यहाँ काम गर ।’ यसैले तिनीहरू गए । 8 जब साँझ पर्यो, दाखबारीका मालिकले आफ्नो व्यवस्थापकलाई भने, ‘मानिसहरूलाई आउनलाई भन जसले गर्दा तिमीले तिनीहरूलाई आफ्ना ज्याला दिन सक्छौ । अन्तमा आएर काम गर्न लागेका मानसिहरूलाई आफ्ना ज्याला पहिले देऊ, र सुरुमा आएर काम गर्न लागेका मानसिहरूलाई ज्याला अन्तमा देऊ ।’ 9 मानिसहरूमध्ये प्रत्येकलाई, जसले दिनको पाँच बजेसम्म पनि काम सुरु गरेका थिएनन् तिनीहरूलाई समेत, व्यवस्थापकले दिनभरिको उचित ज्याला दिए । 10 जब बिहानको पहिलो पहरदेखि नै काम गर्न सुरु गरेका मानिसहरू आफ्ना ज्याला लिन गए, तिनीहरूले दिनभरिको उचित ज्यालाभन्दा बढी पाउनेछन् भन्ने तिनीहरूको विचार थियो । तर, तिनीहरूले पनि दिनभरिको उचित ज्याला मत्रै पाए । 11 यसैले तिनीहरूले दाखबारीका मालिकसित गुनासो गरे किनभने तिनीहरूको ज्याला भुक्तान अनुचित भयो भन्ने तिनीहरूले विचार थियो । 12 तिनीहरूले तिनलाई भने, ‘तपाईंले उचित व्यवहार गर्दै हुनुहुन्न ! हामीहरू बाँकी सबैजनाभन्दा पछि काम सुरु गरेका मानिसहरूले एक घन्टा मात्र काम गरे ! तपाईंले हामीहरूलाई जति ज्याला भुक्तान दिनभयो, तिनीहरूलाई पनि त्यति नै ज्याला भुक्तान दिनभयो । तर हामीहरूले दिनभरि कडा काम गर्यौं । हामीहरूले दिनको चर्को घाममा पनि काम गर्यौं !’ 13 दाखबारीका मालिकले गुनासो गर्नेहरूमध्येका एकजनालाई भने, ‘मित्र, मैले तिमीहरूलाई अनुचितरूपमा व्यवहार गरिन । दिनभरिको उचित ज्यालामा दिनभरि काम गर्न तिमीहरू मसँग सहमत भयौ । 14 मसँग गुनासो गर्न छोड ! आफ्नो ज्याला लेओ र जाओ ! तिमीहरू सबैले काम गर्न सुरु गरेपछि अन्तमा काम गर्न सुरु गरेका मानिसहरूलाई पनि मैले त्यति नै ज्याला दिने इच्छा गर्छु, जति ज्याला मैले तिमीहरूलाई दिएँ । 15 मेरो पैसा मेरो इच्छाअनुसार खर्च गर्ने अधिकार निश्चितरूपमा मसँग छ, छैन र ? मेरो उदारताको बारेमा तिमीहरू ईर्ष्यालु हुनुहुँदैन ।’” 16 यसरी नै अहिले कम प्रतिष्ठित कोही मानिसहरूलाई परमेश्वरले राम्रो इनाम दिनुहुनेछ, र अहिले धेरै प्रतिष्ठित कोही मानिसहरूलाई उहाँले इनाम दिनुहुनेछैन ।” 17 जब येशू बाह्रजना चेलाहरूसँग यरूशलेमको बाटोमा हिंड्दै हुनुहुन्थ्यो, उहाँले तिनीहरूसँग गोप्यमा कुरा गर्ने उदेश्यले, उहाँले तिनीहरूलाई मात्र एक ठाउँमा लानुभयो । तब उहाँले तिनीहरूलाई भन्नुभयो, 18 “ध्यान दिएर सुन ! अहिले हामीहरू यरूशलेममा जाँदैछौं । हामी त्यहाँ हुँदा, कोही एकजनाले म, मानिसको पुत्रलाई गिरफ्तार गर्न मुख्य पुजारीहरू र यहूदी व्यवस्था सिकाउने मानिसहरूलाई सक्षम बनाउनेछ, र तिनीहरूले मेरो जाँचबुझ गर्नेछन् । तिनीहरूले मलाई दोषी ठहराउनेछन् र मलाई मार्नुपर्छ भन्नेछन् । 19 त्यसपछि तिनीहरूले मलाई गैर-यहूदीहरूको हातमा सुम्पिनेछन् जसले गर्दा तिनीहरूले मलाई गिल्ला गर्न , कोर्रा लगाउन र क्रुसमा काँटीमा झुण्डाएर मार्न सक्नेछन् । तर, त्यसको तेस्रो दिनमा, परमेश्वर मलाई फेरि जीवित पार्नुहुनेछ ।” 20 त्यसपछि जब्दीयाका छोराहरू याकूब र यूहन्नाकी आमाले आफ्ना दुई छोराहरूलाई येशूकहाँ ल्याइन । तिनी येशूको अघि घोप्टो परिन् र तिनको निम्ति एउटा कृपा गर्न उहाँलाई बिन्ती गरिन् । 21 येशूले तिनलाई भन्नुभयो, “तिम्रो लागि मैले के गरौं भनी तिमी इच्छा गर्छौ ?” तिनले उहाँलाई भनिन्, “तपाईं राजा बन्नुहुँदा, मेरो यी दुई छोराहरूलाई अति आदरणीय ठाउँहरू, एउटालाई तपाईंको दाहिने हातपट्टी र अर्कोलाई देब्रे हातपट्टी बस्ने अनुमति दिनुहोस् ।” 22 येशूले तिनलाई र तिनका छोराहरूलाई भन्नुभयो, “तिमीहरूले के माग्दैछौ, त्यो तिमीहरूले बुझ्दैनौ । मैले भोग्न लागेको दुःख के तिमीहरू भोग्न सक्छौ ?” याकूब र यूहन्नाले उहाँलाई जवाफ दिए, “हो, हामी त्यो गर्न सक्छौ ।” 23 तब येशूले तिनीहरूलाई भन्नुभयो, “हो, तिमीहरूले दुःख भग्नेछौ जस्तो मैले दुःख भोग्नेछु । तर, राज्य गर्नलाई मेरो छेउमा को बस्नेछ भनेर रोज्ने काम मेरो होइन । तर परमेश्वर, मेरो पिताले जसलाई दिने इच्छा गर्नुहुन्छ तिनीहरूलाई नै उहाँले ती ठाउँहरूमा दिनुहुन्छ ।” 24 जब याकूब र यूहन्नाले के बिन्ती गरे भनी अरू दशजना चेलाहरूले सुने, तब उनीहरूसँग तिनीहरू रिसाए, किनभने तिनीहरू पनि अति आदरणीय पदहरूमा रहेर येशूसँगै राज्य गर्ने इच्छा गर्थे । 25 यसैले येशूले तिनीहरू सबैजनालाई एकसाथ बोलानुभयो र तिनीहरूलाई भन्नुभयो, “गैर-यहूदीहरूलाई राज्य गर्नेहरू आफूलाई शक्तिशाली देखाउन खुशी हुन्छन् भन्ने तिमीहरूलाई थाहा छ । मुख्य शासकहरू आफ्ना अधीनका मानिसहरूलाई आदेश दिन खुशी हुनछन् ।” 26 तिमीहरू तिनीहरूजस्तो हुनुहुँदैन । त्यसको साटोमा, तिमीहरूमध्ये परमेश्वरले आफूलाई महान ठान्नुभएको होस् भनी इच्छा गर्नेहरू हरेकले बाँकी अरूको सेवा गर्नुपर्छ । 27 हो, तिमीहरूका माझमा परमेश्वरले आफूलाई सबभन्दा प्रतिष्ठित ठान्नुभएको होस् भनी इच्छा गर्ने हरेकले तिमीहरू बाँकीको सेवा गर्नुपर्छ । 28 तिमीहरूले मेरो अनुकरण गर्नुपर्छ । म, मानिसको पुत्र, अरूले मेरो सेवा गरोस् भनी म आएको होइन । त्यसको साटोमा, तिनीहरूको सेवा गर्न र तिनीहरूले मलाई मार्न म आएको हुँ, जसले गर्दा धेरै मानिसहरूलाई आफ्ना पापहरूका निम्ति दण्डित हुनदेखि बचाउनलाई मेरो मृत्यु एउटा मूल्य भुक्तान गरेजस्तै होस् ।” 29 उहाँहरू यरीहो शहर छाडेर जाँदैगर्दा, मानिसहरूको एउटा ठूलो भीड उहाँहरूको पछि लाग्यो । 30 उहाँहरू हिंड्दै जाँदा, उहाँहरूले दुईजना दृष्टिविहिन मानिसहरूलाई बाटोको छेउमा बस्दै गरेको देख्नुभयो । जब येशू त्यहाँबाट जाँदै हुनुहुन्छ भनी तिनीहरूले सुने, तिनीहरूले उहाँलाई चर्को स्वरले बोलाए, “प्रभु, दाऊद राजाका सन्तान, तपाईं ख्रीष्ट हुनुहुन्छ ! हामीमाथि दया गर्नुहोस् !” 31 भिडमा भएका मानिसहरूले तिनीहरूलाई गाली गरे र तिनीहरुलाई चुप लाग्ने भने । तर दृष्टिविहिन मानिसहरूले झन् बढी चर्का स्वरमा कराए, “प्रभु, दाऊद राजाका सन्तान, तपाईं ख्रीष्ट हुनुहुन्छ ! हामीमाथि दया गर्नुहोस् !” 32 येशू रोकिनुभयो र तिनीहरूलाई आफूकहाँ आउनलाई बलाउनुभयो । अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूका निम्ति के गरेको तिमीहरू इच्छा गर्छौ ?” 33 तिनीहरूले उहाँलाई भने, “प्रभु, हाम्रो आँखा निको पार्नुहोस् जसले गर्दा हामी देख्न सक्छौं !” 34 येशू तिनीहरूका निम्ति दुःखी हुनुभयो र तिनीहरूका आँखा छुनुभयो । तुरुन्तै तिनीहरूले देख्न सक्ने भए र तिनीहरू येशूको पछि लागे ।