अध्याय ८
1
जब येशू डाँडाबाट तल ओर्लनुभएको थियो, ठुलो भीडले उहाँलाई पछ्यायो ।
2
हेर, एक जना कुष्ठरोगी उहाँको नजिक आयो र उहाँको अगि घोप्टो पर्यो, र भन्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने, मलाई शुद्ध पार्न सक्नुहुन्छ ।”
3
येशूले आफ्नो हात पसार्नुभयो र त्यसलाई छुनुभयो, र भन्नुभयो, “म चाहन्छु । तिमी शुद्ध होऊ ।” तब तुरून्तै आफ्नो कुष्ठरोगबाट ऊ शुद्ध भयो ।
4
येशूले त्यसलाई भन्नुभयो, “हेर, कुनै पनि मानिसलाई केही नभन्नू । आफ्नो बाटो लाग, आफैंलाई पूजाहारीकहाँ प्रकट गराऊ, र तिनीहरूको अगि गवाही होस् भनेर मोशाले आज्ञा गरेअनुसार भेटी चढाऊ ।”
5
उहाँ कर्फनहुममा प्रवेश गर्नुहुँदा, एक जना कप्तान उहाँकहाँ आएर उहाँलाई सोधे,
6
“हे प्रभु, मेरो एक जना नोकर पक्षाघातले ग्रसित भएर घरमा पल्टिरहेको छ र त्यो भयानक पीडामा छ ।”
7
अनि येशूले तिनलाई भन्नुभयो, “म आएर त्यसलाई निको पार्नेछु ।”
8
कप्तानले जवाफ दिए र भने, “प्रभु, तपाईं मेरो घरको छानामुनि आउनको निम्ति म योग्यको छैनँ । तपाईंले केवल वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ ।
9
किनकि म पनि एउटा यस्तो मानिस हुँ जो अधिकारको मुनि राखिएको छु, र मेरो मुनि पनि सिपाहीहरू छन् । म एक जनालाई ‘जाऊ’ भन्छु र त्यो जान्छ, र अर्कोलाई ‘आऊ’ भन्छु र त्यो आउँछ, अनि मेरो नोकरलाई ‘त्यो गर’ भन्छु र त्यसले त्यो गर्छ ।”
10
जब येशूले यो सुन्नुभयो, उहाँ छक्क पर्नुभयो र उहाँलाई पछ्याउनेहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, इस्राएलमा पनि यस्तो विश्वास भएको मैले कोही भेट्टाएको छैनँ ।
11
म तिमीहरूलाई भन्दछु, धेरै जना पूर्व र पश्चिमबाट आउनेछन्, अनि तिनीहरू अब्राहाम, इसहाक र याकूबसँग स्वर्गीय राज्यको भोजमा बस्नेछन् ।
12
तर राज्यका छोराहरू बाहिर अन्धकारमा फालिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।”
13
येशूले त्यस कप्तानलाई भन्नुभयो, “जाऊ । तिमीले विश्वास गरेजस्तै तिम्रो निम्ति गरियोस् ।” अनि त्यही घडी तिनको नोकर निको भयो ।
14
जब येशू पत्रुसको घरमा आउनुभयो, उहाँले पत्रुसकी सासू ज्वरोले बिरामी भई थला परिरहेकी देख्नुभयो ।
15
येशूले तिनको हातमा छुनुभयो, अनि ज्वरोले तिनलाई छोड्यो । त्यसपछि तिनी उठिन् र उहाँको सेवा गर्न थालिन् ।
16
जब साँझ पर्यो, मानिसहरूले भूतात्मा लागेका धेरै मानिसहरूलाई येशूकहाँ ल्याए । उहाँले एउटै वचनबाट भूतात्माहरूलाई बाहिर निकाल्नुभयो र सबै बिरामीलाई निको पार्नुभयो ।
17
यसरी यशैया अगमवक्ताद्वारा भनिएको यस्तो वचन पूरा भयो, “उहाँ आफैंले नै हाम्रा बिमारीहरू लिनुभयो, र हाम्रा रोगहरू उठाइलानुभयो ।”
18
जब येशूले भीडलाई आफ्नो वरिपरि देख्नुभयो, उहाँले गालील समुद्रको अर्कोपट्टि जानको निम्ति निर्देशन दिनुभयो ।
19
त्यसपछि एक जना शास्त्री आएर उहाँलाई भने, “गुरुज्यू, तपाईं जहाँ जानुहुन्छ म तपाईंलाई त्यहीं पछ्याउनेछु ।”
20
येशूले तिनलाई भन्नुभयो, “स्यालहरूका दुला छन्, र आकाशका चराचुरूङ्गीहरूका गुँडहरू छन्, तर मानिसका पुत्रको त आफ्नो शिर राख्ने ठाउँ कहीं पनि छैन ।”
21
चेलाहरूमध्ये एक जनाले उहाँलाई भन्यो, “प्रभु, पहिले मलाई गएर मेरो बुबालाई गाड्न दिनुहोस् ।”
22
तर येशूले तिनलाई भन्नुभयो, “मलाई पछ्याऊ, र मुर्दालाई तिनको आफ्नै मुर्दा गाड्न देऊ ।”
23
येशू डुङ्गामा चढ्नुभएपछि, उहाँका चेलाहरूले पनि उहाँलाई पछ्याए ।
24
हेर, समुद्रमा ठुलो आँधीबेहरी चल्यो, अनि त्यो डुङ्गा समुद्रको छालद्वारा छोपियो । तर येशू निदाउनुभएको थियो ।
25
चेलाहरू उहाँकहाँ आए र उहाँलाई यसो भनी उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्; हामी मर्नै लागेका छौं!”
26
येशूले तिनीहरूलाई भन्नुभयो, “ए अल्पविश्वासीहरू, तिमीहरू किन डराउँछौं?” त्यसपछि उहाँ उठ्नुभयो अनि आँधी र समुद्रलाई हकार्नुभयो । त्यसपछि त्यहाँ पूरै शान्ति छायो ।
27
ती मानिसहरू छक्क परे र भने, “उहाँ कस्ता मानिस हुनुहुन्छ कि समुद्र र आँधीले पनि उहाँका आज्ञा मान्दारहेछन्?”
28
जब येशू समुद्रको पारिपट्टि र गदरिनीहरूको देशमा आउनुभएको थियो, दुई जना भूतात्मा लागेका मानिसले उहाँलाई भेटे । तिनीहरू चिहानबाट निस्केर आइरहेका थिए र धेरै हिंसात्मक थिए, त्यसकारण त्यो बाटो भएर कोही पनि यात्रु जान सक्दैन थियो ।
29
हेर, तिनीहरूले ठुलो स्वरले कराए र भने, “हे परमेश्वरका पुत्र, तपाईंसँग हाम्रो के सरोकार? के तोकिएको समयभन्दा पहिले नै तपाईं यहाँ हामीलाई दुःख दिन आउनुभएको हो?
30
त्यहाँ नजिकै धेरै सुँगुरहरूको एउटा बथान चरिरहेको थियो ।
31
ती भूतात्माहरूले उहाँलाई बिन्ती गरिरहे र भने, “यदि तपाईंले हामीलाई बाहिर निकाल्नुहुन्छ भने, हामीलाई सुँगुरहरूको बथानमा पठाइदिनुहोस् ।”
32
येशूले तिनीहरूलाई भन्नुभयो, “जा!” ती भूतात्माहरू बाहिर निस्के र सुँगुरहरूभित्र पसे; अनि हेर, सबै सुँगुर त्यो भिरालो पहाडको तल दौडे र समुद्रमा खसे अनि तिनीहरू पानीमा डुबेर मरे ।
33
सुँगुरहरू चराइरहेका मानिसहरू त्यहाँबाट दौडेर गए । अनि जब तिनीहरू सहरमा गए, तिनीहरूले सबै कुरा बताइदिए, र विशेष गरी भूतात्मा लागेका मानिसहरूलाई के भएको थियो सो बताइदिए ।
34
हेर, पूरै सहर येशूलाई भेट्न आयो । जब तिनीहरूले उहाँलाई देखे, तब तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर जान अनुरोध गरे ।