अध्याय १२

1 अब त्यसै समयमा हेरोद राजाले मण्डलीका केही मानिसहरूलाई दुर्व्यवहार गर्न तिनीहरूमाथि हात हाले । 2 तिनले यूहन्‍नाको भाइ याकूबलाई तरवारले मारे । 3 यस कुराले यहूदीहरूलाई प्रसन्‍न पारेको तिनले देखेपछि, तिनी पत्रुसलाई पनि पक्रन अगि बढे । यो अखमिरी रोटीको चाडको समय थियो । 4 उनलाई पक्रेपछि, तिनले उनलाई झ्यालखानामा हाले र उनलाई सुरक्षा गर्न चारवटा सैनिक दललाई खटाए; निस्तार चाडपछि उनलाई मानिसहरूका बीचमा ल्याउने तिनले विचार गरिरहेका थिए । 5 त्यसैले पत्रुस झ्यालखानामा हालिए, तर उनको निम्ति मण्डलीले यत्‍नपूर्वक परमेश्‍वरसँग प्रार्थना गरेका थिए । 6 हेरोदले उनलाई सोधपूछ गर्न बाहिर ल्याउन खोजेको अघिल्लो रात, पत्रुस दुई जना सिपाहीका बीचमा दुईवटा साङ्लाले बाँधिएर सुतिरहेका थिए । ढोकाको अगाडि पहरेदारहरूले झ्यालखानाको सुरक्षा दिइरहेका थिए । 7 हेर, अचानक उनको छेउमा प्रभुका दूत देखा परे, र त्यस कोठामा ज्योति चम्क्यो । तिनले पत्रुसको कोखामा हिर्काएर उनलाई उठाए र भने, “छिटो उठ,” त्यसपछि उनका हातहरूबाट साङ्लाहरू झरे । 8 स्वर्गदूतले उनलाई भने, “तिमी आफैंले कपडाहरू र चप्पलहरू लगाऊ ।” पत्रुसले त्यसै गरे । स्वर्गदूतले उनलाई भने, “आफ्ना बाहिरी वस्‍‍त्र लगाऊ र मलाई पछ्याऊ ।’’ 9 त्यसैले पत्रुसले स्वर्गदूतलाई पछ्‍याए र बाहिर गए । स्वर्गदूतले जुन काम गरेका थिए त्यो वास्तविक थियो भन्‍ने कुरा पत्रुसलाई थाहा नै थिएन । उनले दर्शन देखिरहेको छु भनी विचार गरे। 10 पहिलो र दोस्रो पहरेदारलाई पारगरि सकेपछि, तिनीहरू सहरतिर डोर्‍याउने फलामे ढोकामा आइपुगे; यो तिनीहरूका निम्ति आफैं खोलियो । तिनीहरू बाहिर गए र तलतिरको गल्लीमा गए, र ठिक त्यही समयमा स्वर्गदूतले उनलाई छाडेर गए । 11 जब पत्रुस आफ्नो होशमा आए, उनले भने, “अब मलाई साँच्‍चै थाहा भयो कि प्रभुले आफ्ना स्वर्गदूत पठाउनुभएको छ र हेरोदको हातबाट र यहूदी मानिसहरूले आशा गरिरहेका सबै कुराबाट मलाई छुटकारा दिनुभएको छ ।” 12 जब उनले यो महसुस गरे, उनी मर्कूस पनि भनिने यूहन्‍नाकी आमा मरियको घरमा गए, जहाँ धेरै विश्‍वासीहरू भेला भएर प्रार्थना गरिरहेका थिए । 13 जब उनले ढोका ढकढक्याए, तब रोधा नाउँ गरेकी एकजना सेविका ढोका खोल्न आई । 14 जब त्यसले पत्रुसको आवाज चिनी, तब आनन्दले भरिएर ढोका खोल्नै भुली; बरु कुद्दै कोठाभित्र आई; पत्रुस ढोकामा उभिरहेका थिए भनी सुनाई । 15 त्यसैले तिनीहरूले त्यसलाई भने, “तँ बहुलाईस् ।” तर त्यसले त्यस्तै नै थियो भनी जिद्दी गरी । तिनीहरूले भने, “यो उनको स्वर्गदूत हो ।” 16 तर पत्रुसले निरन्तर ढोका ढकढक्याइरहे, र जब तिनीहरूले ढोका खोले, तिनीहरूले उनलाई देखे र चकित भए । 17 पत्रुसले तिनीहरूलाई चुप रहन हातले इसारा गरे, र प्रभुले उनलाई कसरी झ्यालखानामाबाट बाहिर ल्याउनुभयो तिनीहरूलाई भने । उनले भने, “याकूब र भाइहरूलाई यी कुराहरू बताइदेओ ।” त्यसपछि उनी निस्के र अर्को ठाउँतिर गए । 18 तब उज्यालो भएपछि, पत्रुसलाई के भयो होला भनी त्यहाँ सिपाहीहरूको माझमा कम्ति हलचल थिएन । 19 हेरोदले उनलाई खोजे र भेटाउन नसकेपछि, तिनले पहरेदारहरूलाई प्रश्‍न गरे र तिनीहरूलाई मृत्युदण्डको हुकुम दिए । त्यसपछि तिनी यहूदियाबाट कैसरियामा झरे र त्यहीं बसे । 20 अब हेरोद सीदोन र टुरोसका मानिसहरूसँग साह्रै रिसाएका थिए । तिनीहरू एक मनका भई तिनीकहाँ गए, र तिनीहरूलाई सहयोग गर्नका निम्ति राजाका सहायक बलस्तसलाई मनाइसकेपछि तिनीहरूले शान्तिको लागि बिन्ती गरे किनभने तिनीहरूको देशले राजाको देशबाट खाद्यान्‍न प्राप्‍त गर्ने गर्दथ्यो । 21 एउटा तोकिएको दिनमा हेरोदले राजकीय पहिरन पहिरिए र सिंहासनमा बसे; तिनले तिनीहरूलाई भाषण दिए । 22 मानिसहरू चिच्‍च्‍याए “यो त ईश्‍वरको आवाज हो, मानिसको होइन!” 23 तिनले परमेश्‍वरलाई महिमा नदिएका हुनाले तुरुन्तै प्रभुका एउटा दूतले तिनलाई प्रहार गरे; तिनी कीराहरूद्वारा खाइए र मरे । 24 तर परमेश्‍वरको वचन बढ्दै र वृद्धि गयो । 25 त्यसैले जब बारनाबास र शाऊलले यरूशलेमको तिनीहरूको कार्यलक्ष्य पूरा गरे, तिनीहरूले आफूसँगै मर्कूस पनि भनिने यूहन्‍नालाई लिएर तिनीहरू यरूशलेमबाट फर्के । 1

1केही प्राचीन प्रतिलिपिहरूमा तिनीहरू यरूशलेममा फर्के छ ।