41

1 दुई वर्षको अन्त्यमा फारोले एउटा सपना देखे । तिनी नील नदीको किनारमा उभिए । 2 नील नदीबाट सातवटा सप्रेका र मोटा-मोटा गाई निस्केर आए, अनि तिनीहरू नर्कटको झाडीमा चरे । 3 नील नदीबाट अरू सातवटा नसप्रेका र दुब्ला-दुब्ला गाई निस्केर आए । तिनीहरू नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए । 4 त्यसपछि नसप्रेका र दुब्ला-दुब्ला गाईहरूले सातवटा सप्रेका र मोटा-मोटा गाईलाई खाइदिए । अनि फारो ब्युँझे । 5 तिनी फेरि सुते र अर्को सपना देखे । सातवटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रे । 6 त्यसपछि सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका अरू सातवटा अन्‍नका बाला तिनीहरू पछि पलाए । 7 सेप्रा बालाहरूले ती सातवटा भरिला र असल बालालाई खाइदिए । फारो ब्युँझे, र यो त सपना पो रहेछ भनी तिनलाई थाहा भयो । 8 बिहान तिनको आत्मा बेचैन भयो । तिनले मिश्रका सबै जादुगर र बुद्धिमान् मानिसहरूलाई बोलाउन पठाए । फारोले तिनीहरूलाई आफ्ना सपनाहरू बताए, तर फारोलाई सपनाहरूको अर्थ खोल्न सक्‍ने त्यहाँ कोही भएन । 9 त्यसपछि मुख्य पियाउनेले फारोलाई भने, "आज म मेरो दोषको बारेमा सोच्दै छु । 10 फारो आफ्ना नोकरहरूसित रिसाउनु भई मलाई र मुख्य पकाउनेलाई अङ्गरक्षकका कप्‍तानको कैदखानामा राख्‍नुभयो । 11 तिनी र मैले एउटै रात सपना देख्यौँ । हामीले आ-आफ्नो अर्थ भएका सपना देख्यौँ । 12 त्यहाँ हामीसित एक जना जवान हिब्रू मानिस थियो जो अङ्गरक्षकका कप्‍तानको नोकर थियो । हामीले त्यसलाई हाम्रा सपनाहरू बताएपछि त्यसले अर्थ खोलिदियो । त्यसले हामीलाई आ-आफ्ना सपनाअनुसार अर्थ खोलिदियो । 13 त्यसले हामीलाई अर्थ खोलिदिएअनुसार नै हुन आयो । फारोले मलाई मेरो पदमा पुनर्स्थापना गरिदिनुभयो, तर अर्को मानिसलाई झुण्ड्याइयो ।" 14 त्यसपछि फारोले योसेफलाई डाक्‍न पठाए । तिनीहरूले तिनलाई चाँडै नै झ्यालखानाबाट निकालेर ल्याए । तिनले दारी खौरेपछि लुगाहरू बद्लेर फारोकहाँ आए । 15 फारोले योसेफलाई भने, "मैले एउटा सपना देखेँ, तर यसको अर्थ खोल्ने कोही भएन । तर तिमीले सपना सुन्यौ भने यसको अर्थ खोल्न सक्छौ भनी मैले तिम्रो बारेमा सुनेको छु ।" 16 योसेफले फारोलाई जवाफ दिए, "ममा यस्तो खुबी त छैन, तर परमेश्‍वरले फारोलाई निगाहसाथ जवाफ दिनुहुनेछ ।" 17 फारोले योसेफलाई बताए, "मेरो सपनामा म नील नदीको किनारमा उभिएँ । 18 नील नदीबाट सातवटा सप्रेका र मोटा-मोटा गाई निस्केर आए, अनि तिनीहरू नर्कटको झाडीमा चरे । 19 नील नदीबाट अरू सातवटा कमजोर, नसप्रेका र दुब्ला-दुब्ला गाई निस्केर आए । मैले पुरै मिश्रभरि तीजस्ता नसप्रेका गाईहरू कहिल्यै देखेको छैनँ । 20 त्यसपछि नसप्रेका र दुब्ला-दुब्ला गाईहरूले सातवटा मोटा-मोटा गाईलाई खाइदिए । 21 तिनीहरूले ती गाईहरूलाई खाइसकेपछि तिनीहरू खाएका जस्ता देखिँदैनथे किनकि तिनीहरू पहिलेजस्तै अझै पनि नसप्रेका देखिन्थे । त्यसपछि मेरो निद्रा खुल्यो । 22 मेरो अर्को सपनामा मैले सातवटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रिरहेका देखेँ । 23 त्यसपछि सुकेका, सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका अरू सातवटा अन्‍नका बाला तिनीहरू पछि पलाउन थाले । 24 सेप्रा बालाहरूले ती सातवटा भरिला र असल बालालाई खाइदिए । मैले जादुगरहरूलाई यी सपनाहरू बताएँ, तर मलाई तिनको अर्थ खोलिदिने कोही भएन ।" 25 योसेफले फारोलाई भने, "फारोका सपनाहरू एउटै हुन् । परमेश्‍वरले गर्न लाग्‍नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको छ । 26 सातवटा असल गाई र सातवटा असल बाला सात वर्ष हुन् । सपनाहरू एउटै हुन् । 27 तीपछि आएका सातवटा दुब्ला-दुब्ला र नसप्रेका गाई सात वर्ष हुन्, र पूर्वीय बतासद्वारा ओइल्याइएका सातवटा बाला अनिकालका सात वर्ष हुन् । 28 मैले फारोलाई बताएको कुरा यही नै हो । परमेश्‍वरले गर्न लाग्‍नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको छ । 29 हेर्नुहोस्, मिश्रदेशभरि ठुलो सहकालको सात वर्ष हुनेछ । 30 त्यसपछि सात वर्षको अनिकाल पर्नेछ, र मिश्रभरि त्यस सात वर्षको सहकालको सम्झना हुनेछैन, अनि अनिकाले देशलाई सखाप पार्नेछ । 31 देशमा पछि आउने अनिकालको कारणले गर्दा सहकाललाई सम्झनेछैन किनकि यो अति नै भयानक हुनेछ । 32 फारोलाई सपना दोहोर्‍याइनुको कारणचाहिँ यही हो, कि परमेश्‍वरले यो विषयलाई पक्‍का गर्नुभएको छ, र उहाँले चाँडै यसो गर्नुहुनेछ । 33 अब फारोले कुशल र बुद्धिमान् मानिसको खोजी गरी तिनलाई मिश्र देशको जिम्मेवारी दिनुहोस् । 34 फारोले देशमाथि अधिकारीहरू नियुक्त गर्नुभएको होस् र तिनीहरूले सहकालका सात वर्षमा मिश्रका अनाजहरूको पाँचौँ हिस्सा उठाऊन् । 35 सहरहरूमा खानाका लागि तिनीहरूले आउँदै गरेका यी असल वर्षहरूका सबै अनाज जम्मा गरून् । तिनीहरूले यसको सञ्चय गर्नुपर्छ । 36 मिश्रमा आउने सात वर्षको अनिकालको अवधिमा यी अनाज वितरण गरिनुपर्छ । यसरी अनिकालद्वारा देश सखाप हुनेछैन ।" 37 फारो र तिनका सबै कामदारको दृष्‍टिमा यो सल्लाह राम्रो थियो । 38 फारोले आफ्ना कामदारहरूलाई भने, "यिनीजस्तै परमेश्‍वरको आत्मा भएको अर्को कुनचाहिँ मानिस हामी पाउन सक्छौँ र?" 39 त्यसैले फारोले योसेफलाई भने, "परमेश्‍वरले तिमीलाई यी सबै देखाउनुभएकोले तिमीजस्तै कुशल र बुद्धिमान् अरू कोही छैन । 40 तिमी नै मेरो घरको अधिकारी हुनेछौ र तिम्रो वचनअनुसार नै मेरा सबै मानिस चल्नेछन् । सिंहासनमा मात्रै म तिमीभन्दा ठुलो हुनेछु ।" 41 फारोले योसेफलाई भने, "हेर, मैले तिमीलाई मिश्र देशभरिको अधिकारी तुल्याएको छु ।" 42 फारोले आफ्नो औँलाबाट छाप-औँठी फुकाली योसेफको औँलामा लगाइदिए । तिनले योसेफलाई सुन्दर मलमलको लुगा पहिराइदिए र तिनको गलामा सुनको सिक्री लगाइदिए । 43 फारोले तिनलाई आफूसित भएको दोस्रो दर्जाको रथमा सवार गराए । मानिसहरू यसो भन्दै तिनको सामु चिच्‍च्याए, "घुँडा टेकेर झुक ।" फारोले तिनलाई सारा मिश्रको अधिकारी तुल्याए । 44 फारोले योसेफलाई भने, "म फारो हुँ, र तिमीबाहेक अरू कसैले मिश्र देशमा आफ्नो इच्छाअनुसार कुनै काम गर्न पाउनेछैन ।" 45 फारोले योसेफको नाउँ "सापनत-पानेह" राखिदिए । तिनले योसेफलाई पुजारी पोतीपेराकी छोरी आसनतसित विवाह गराइदिए । योसेफ मिश्र देशभरि जान्थे । 46 मिश्रका राष्‍ट्रप्रमुख फारोको सामु उभिँदा योसेफ तिस वर्षका थिए । योसेफ फारोको उपस्थितिबाट गई सारा मिश्र देशभरि चाहार्थे । 47 सहकालका सात वर्षमा जमिनले प्रचुर मात्रामा उब्जनी गर्‍यो । 48 तिनले सात वर्षमा मिश्र देशका सबै अनाज सङ्कलन गरी त्यसलाई सहरहरूमा राखे । तिनले हरेक सहरमा वरिपरिका खेतहरूबाट अनाज थन्क्याएर राखे । 49 योसेफले अन्‍नको भण्डारण समुद्रको बालुवासरह गरे । अन्‍न यति धेरै थियो कि तिनले हिसाब राख्‍नै छाडिदिए । 50 अनिकालका वर्षहरू सुरु हुनुभन्दा अगि योसेफले ओनका पुजारी पोतीपेराकी छोरी आसनतबाट दुई जना छोरा जन्माइसकेका थिए । 51 योसेफले आफ्नो जेठो छोरोलाई मनश्शे नाउँ दिएका थिए किनकि तिनले भने, "परमेश्‍वरले मेरा र मेरा पिताका घरानाका सबै कष्‍ट बिर्सन लगाउनुभएको छ ।" 52 तिनले दोस्रो छोरोको नाउँ एफ्राइम राखे किनकि तिनले भने, "परमेश्‍वरले मेरो कष्‍टलको देशमा मेरो फलिफाप गराउनुभएको छ ।" 53 मिश्र देशको सात वर्षको सहकालको अन्त्य भयो । 54 योसेफले भनेजस्तै गरी सात वर्षको अनिकालको थालनी भयो । सबै देशहरूमा अनिकाल परेको थियो तर मिश्र देशमा भने अनाज थियो । 55 सारा मिश्र अनिकालले तडपिँदा जनताहरूले अनाजको लागि फारोलाई पुकारे । फारोले सबै मिश्रीहरूलाई भने, "योसेफकहाँ जाओ र तिनले भनेझैँ गर ।" 56 अनिकालले पुरै देशलाई ढाकेको थियो । योसेफले सबै भण्डारणहरू खुला गरी मिश्रीहरूलाई अनाज बेचे । मिश्र देशमा अनिकाल अति भयानक थियो । 57 सारा संसारमा भयानक अनिकाल परेकोले सबै देशका मानिसहरू योसेफबाट अनाज किन्‍न मिश्रमा आउँदै थिए ।