1 राजा हेरोद महानले त्यहाँ शासन गरेको समयमा यहूदिया प्रान्तको बेथलेहेम नगरमा येशूको जन्म भयो । येशू जन्मिनुभएको केही समयपछि, पूर्वमा धेरै टाढाबाट ताराहरूका अध्ययन गर्ने केही मानिसहरू यरूशलेम सहरमा आए । 2 तिनीहरूले मानिसहरूलाई सोधे, “जो यहूदीहरूका राजा भएर जन्मनुभएको छ उहाँ कहाँ हुनुहुन्छ ? हामीले पुर्वमा एउटा तारा देखेका छौं जसले हामीलाई उहाँ जन्मनुभएको छ भनी देखाउँछ, यसैले उहाँको आराधना गर्नलाई हामी आएका छौं ।” 3 जब राजा हेरोदले ती मानिसहरूले सोध्दै गरेको कुराको बारेमा सुने, धेरै चिन्तित भए । यरूशलेममा भएका धेरै मानिसहरू पनि चिन्तित भए । 4 तब सबै निर्णायक पुजारीहरू र यहूदी व्यवस्थाका शिक्षकहरूलाई हेरोदले एकसाथ बोलाए । अगमवक्ताहरूले भविष्यवाणी गरेका ख्रीष्ट कहाँ जन्मिनुपर्छ भनी तिनले तिनीहरूलाई सोधे । 5 तिनीहरूले तिनलाई भने, “यहाँ यहूदिया प्रान्तको बेथलेहेम नगरमा उहाँ जन्मिनुहुने छ, किनभने मिका अगमवक्ताले धेरै अघि लेखे, 6 ‘तिमीहरू जो यहूदिया मुलुकको बेथलेहेममा वसोवास गर्छौ, तिमीहरूको नगर निश्चय नै महत्त्वपूर्ण छ, किनभने तिमीहरूको नगरबाट एकजना मानिस शासक हुनुहुने छ । उहाँले इस्राएलमा बस्ने मेरो मानिसहरूको नेतृत्व गर्नुहने छ ।’” 7 त्यसपछि राजा हेरोदले ताराहरूको अध्ययन गरेका ती मानिसहरूलाई गोप्यरूपमा बोलाए । पहिलो पल्ट त्यो तारा देखा परेको ठिक समय तिनले तिनीहरूलाई सोधे । 8 तब तिनले तिनीहरूलाई भने, “बेथलेहेममा जाओ र नाबालक कहाँ छन् सबैतिर सोध । जब तिमीहरूले उनलाई भेट्टाउँछौ, फर्केर आओ र मलाई खबर गर, ता कि म आफैँ पनि त्यहाँ जान र उनको आराधना गर्न सक्छु ।” 9 त्यसपछि ती मानिसहरू बेथलेहेम नगरतिर गए । तिनीहरूलाई उदेक लाग्ने कुरा, तिनीहरू पूर्व देशमा हुँदा तिनीहरूले देखेका तारा बालक भएको घरमाथि पुगेर नरोकिएसम्म फेरि पनि तिनीहरूको अघि गयो । 10 जब तिनीहरूले त्यो तारा देखे, तिनीहरू धेरै हर्षित भए, र त्यसको पछि लागे । 11 तिनीहरूले त्यो घर भेट्टाए, त्यसभित्र पसे, र बालक र उहाँको आमा मरियमलाई देखे । तिनीहरू घोप्टो परे र उहाँको आराधना गरे । त्यसपछि तिनीहरूले आफ्ना धनका कन्तुरहरू खोले र तिनीहरूले उहाँलाई सुन, सुगन्धित धुप, र मुर्र उपहार दिए । 12 त्यसपछि परमेश्वरले तिनीहरूलाई सपनामा राजा हेरोदकहाँ नफर्कन चेतावनी दिनुभयो । यसैले तिनीहरू आफ्नो देश फर्के, तर तिनीहरू आएको बाटो फर्कनुको सट्टो, तिनीहरू अर्कै बाटो गए । 13 ताराहरूका अध्ययन गर्ने मानिसहरूले बेथलेहेम छोडेपछि, परमप्रभुबाट आएका एउटा दूत योसेफकहाँ सपनामा देखा परे । तिनले भने, “उठ, बालक र उहाँको आमालाई लेऊ र मिश्र देशमा भाग । तिमीले त्यो ठाँउ छोड्नुपर्छ भनी मैले तिमीलाई नभनेसम्म त्यहीँ बस, किनभने राजा हेरोदले बालकलाई खोज्न सिपाहीहरू पठाउँन लागेको छ, जसले गर्दा तिनीहरूले उहाँलाई मार्न सक्छन् ।” 14 यसैले योसेफ त्यो रात उठे; बालक र उहाँको आमालाई लिए, र तिनीहरू मिश्र देशमा भागे । 15 राजा हेरोदको मृत्यु नभएसम्म तिनीहरू त्यहाँ बसे, र त्यसपछि तिनीहरूले फेरि मिश्र देश छोडे । यसरी, परमेश्वरले होशे अगमवक्तालाई जे लेख्न भन्नुभएको थियो त्यो पुरा हुन आयो, “मैले आफ्नो पुत्रलाई मिश्र देशबाट बोलाएको छु ।” 16 राजा हेरोदको मृत्यु हुनुअघि, ती मानिसहरूले तिनलाई छल गरेको महसुस तिनलाई भयो, र तिनी क्रोधित भए । येशू अझै बेथलेहेमको नजीकै हुनुहुन्छ भन्ने विचार तिनलाई भएको कारणले हेरोदले दुई वर्ष पुगेका र त्योभन्दा साना सबै केटा बालकहरूलाई मार्न सिपाहीहरू पठाए । ताराहरूको अध्ययन गर्ने मानिसहरूले त्यो तारा पहिलो पल्ट कहिले देखा पर्यो भन्ने बारेमा तिनलाई भनेका कुराअनुसार हेरोदले बालक कति वर्षका थिए भनी हिसाब निकाले । 17 जब हेरोदले यसो गरे, यर्मिया अगमवक्ताले धेरै अघि जे लेखेका थिए त्यो पुरा हुन आयो, जतिबेला तिनले रामा नगर नजीकको बेथलेहेमको बारेमा लेखे : 18 रामाका स्त्रीहरू रुँदै र ठुलो स्वरले विलाप गर्दै थिए । तिनीहरूका मृत बालकहरूका लागि, ती स्त्रीहरूका पूर्खा राहेल रुँदै थिइन् । मानिसहरूले तिनलाई सान्त्वना दिने खोजे, तर तिनीहरूले सकेनन्, किनभने सबै बालकहरू मारिए । 19 हेरोदको मृत्युपछि र योसेफ तथा तिनका परिवार मिश्रदेशमा हुँदा नै, परमप्रभुले पठाउनुभएको एउटा दूत सपनामा योसेफकहाँ देखा परे । तिनले योसेफलाई भने, 20 “उठ र बालक र उहाँको आमालाई लेऊ र बस्नलाई इस्राएल देशमा फर्केर जाऊ, किनभने बालकलाई मार्न खोज्ने मानिसहरूको मृत्यु भइसकेको छ ।” 21 त्यसैले योसेफले बालक र उहाँको आमालाई लिए, र तिनीहरू इस्राएल फर्केर गए । 22 यतिबेला यहूदिया प्रान्तमा आफ्नो बाबु हेरोद महानको साटोमा अर्खिलाउसले शासन गरेको जब योसेफले सुने, तब तिनी त्यहाँ जान डराए । तब परमेश्वरले योसेफलाई के गर्ने भनी सपनामा निर्देशन दिनुभयो, यसैले योसेफ, बालक र मरियम गालील जिल्लामा गए । 23 तिनीहरू बसोबास गर्नलाई नासरत नगरमा गए । परिणामस्वरूप अगमवकक्ताहरूले धेरै अघि जे भनेका थिए त्यो पुरा हुन आयो : “मानिसहरूले भन्ने छन्, उहाँ नासरतबाट हुनुहुन्छ ।”