अध्याय २

1 यहूदियाको बेथलेहेममा राजा हेरोदको समयमा येशूको जन्म भएपछि पूर्वबाट ज्ञानी मानिसहरू यरूशलेममा आएर यसो भन्‍न लागे, 2 “यहूदीहरूका राजा भई जन्मनुभएका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौं र उहाँलाई दण्डवत् गर्न आएका छौं ।”

3 जब हेरोद राजाले यो सुने, तिनी र तिनीसँगै सारा यरूशलेम बेचैन भए । 4 हेरोदले सबै मुख्य पूजाहारी र मानिसहरूका शास्‍‍त्रीहरूलाई भेला गराए, र तिनले तिनीहरूलाई सोधे, “जन्मने भनिएका ख्रीष्‍ट कहाँ छन्?” 5 तिनीहरूले तिनलाई भने, “यहूदियाको बेथलेहेममा, किनकि अगमवक्‍ताद्वारा यस्तै लेखिएको थियो, 6 ‘र यहूदाको देशमा, ए बेथलेहम, यहूदाका शासकहरूभन्दा तँ कुनै कम छैनस्, किनकि तँबाट एक जना शासक आउनुहुनेछ जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नुहुनेछ’ ।”

7 त्यसपछि ठिक कुन समयमा तारा देखा परेको थियो भनी सोध्‍न हेरोदले गुप्‍त रूपमा ती ज्ञानी मानिसहरूलाई बोलाए । 8 तिनले तिनीहरूलाई यसो भन्दै बेथलेहेम पठाए, “जाओ र राम्रोसँग त्यस बालकलाई खोज । जब तिनलाई भेट्टाउनेछौ, मलाई खबर गर ताकि म पनि गएर तिनलाई दण्डवत् गर्न सकूँ ।”

9 तिनीहरूले राजाले भनेका कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे अनि तिनीहरूले पूर्वमा देखेका तारा तिनीहरूका अगि-अगि गए, र सानो बालक भएको ठाउँमा आइपुग्दा त्यो तारा त्यही ठाउँमाथि रोकियो । 10 जब तिनीहरूले त्यो तारा देखे, तिनीहरू हर्षले अति आनन्दित भए । 11 तिनीहरू घरभित्र पसे र सानो बालकलाई उहाँकी आमा मरियमको साथमा देखे । तिनीहरूले दण्डवत् गरे र उहाँको आराधना गरे । तिनीहरूले आफ्ना बहुमूल्य कुराहरू निकाले र उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका उपहारहरू चढाए । 12 परमेश्‍वरले तिनीहरूलाई हेरोदकहाँ फर्की नजानू भनी सपनामा चेतावनी दिनुभयो । त्यसैले तिनीहरू अर्कै बाटो भएर आ-आफ्नै देशमा गए ।

13 तिनीहरू गइसकेपछि परमप्रभुका एउटा दूत योसेफकहाँ सपनामा देखा परे र भने, “उठ, सानो बालक र उहाँकी आमालाई लिएर मिश्रदेशमा भागेर जाऊ । मैले नभनेसम्म त्यहीं बस, किनकि हेरोदले सानो बालकलाई मार्न उहाँलाई खोज्‍नेछ ।” 14 त्यो रात योसेफ उठे र सानो बालक र उहाँकी आमालाई लिए अनि मिश्रदेशतर्फ प्रस्थान गरे । 15 हेरोदको मृत्यु नभएसम्म उनी त्यहीं बसे । अगमवक्‍ताद्वारा परमप्रभुले भन्‍नुभएको कुरा यसरी पूरा भयो, “मैले आफ्ना पुत्रलाई मिश्रदेशबाट बोलाएको छु ।” 16 त्यसपछि जब हेरोदले आफू ती ज्ञानी मानिसहरूबाट छलिएको कुरा थाहा पाए, तिनी औधी रिसाए । ती ज्ञानी मानिसहरूबाट तिनले निर्धारण गरेका समयअनुसार, बेथलेहेम र त्यस क्षेत्रका दुई वर्ष पुगेका र त्योभन्दा मुनिका सबै पुरुष बालकलाई मानिसहरू पठाएर मार्न लगाए । 17 यसरी यर्मिया अगमवक्‍ताद्वारा जे भनिएको थियो, त्यो पूरा भयो, 18 “रामामा एउटा आवाज सुनियो, रोदन र ठुलो विलाप, बालकहरूका निम्ति राहेलको रोदन, र सान्त्वना तिनले इन्कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन् ।”

19 जब हेरोद मरे, हेर, परमप्रभुका एक जना दूत मिश्रमा योसेफकहाँ सपनामा देखा परे अनि उनलाई भने, 20 “उठ, अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल देशमा जाऊ, किनकि जसले बालकलाई मार्न चाहेका थिए, तिनीहरू मरिसकेका छन् ।” 21 योसेफ उठे, अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल देशमा आए ।

22 तर जब यहूदियामा आफ्ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले शासन गरिरहेका उनले सुने, उनी त्यहाँ जान डराए । परमप्रभुले सपनामा चेतावनी दिनुभएपछि उनी गालीलको क्षेत्रतिर लागे, 23 र नासरत भनिने सहरमा गएर बसे । “उहाँलाई नासरी भनिनेछ” भनेर अगमवक्‍ताहरूद्वारा बोलिएको वचन यसरी पूरा भयो ।