अध्याय १४
1
त्यस समयमा शासक हेरोदले येशूको बारेमा समाचार सुने ।
2
तिनले आफ्ना नोकरहरूलाई भने, “यिनी बप्तिस्मा-दिने यूहन्ना हुन्; यिनी मरेकाहरूबाट फेरि जीवित भएका छन् । त्यसकारण यी शक्तिहरूले यिनमा काम गरिरहेका छन् ।”
3
किनकि हेरोदले आफ्ना भाइ फिलिपकी पत्नी हेरोदियासको कारण यूहन्नालाई समाती बाँधेर झ्यालखानामा हालेका थिए ।
4
किनकि यूहन्नाले तिनलाई भनेका थिए, “तिनलाई आफ्नी पत्नीको रूपमा राख्नु तपाईंको निम्ति उचित छैन ।”
5
हेरोदले उनलाई मार्न सक्थे, तर तिनी मानिसहरूसँग डराए, किनभने मानिसहरूले यूहन्नालाई अगमवक्ता मान्थे ।
6
तर जब हेरोदको जन्म दिन आयो, हेरोदियासकी छोरीले मानिसहरूका माझमा नाचिन् र हेरोदलाई प्रसन्न बनाइन् ।
7
त्यसको प्रतिक्रियामा त्यसले जे मागे पनि दिनेछु भनेर हेरोदले वाचा गर्दै शपथ खाए ।
8
आफ्नी आमाले सिकाएपछि त्यसले भनी, “मलाई यहाँ एउटा थालमा बप्तिस्मा-दिने यूहन्नाको शिर दिनुहोस् ।”
9
राजा त्यसको बिन्तीबाट निकै निराश भए, तर त्यसको आफ्नो शपथको कारण र तिनीसँग रात्री भोजमा सामेल भएका सबै मानिसको कारणले गर्दा राजाले यस्तै होस् भनेर आज्ञा दिए ।
10
हेरोदले मानिसहरू पठाए र झ्यालखानामा यूहन्नाको शिर काटिदिए ।
11
अनि उनको शिर थालमा राखेर ल्याइयो र त्यस ठिटीलाई दिइयो र त्यसले त्यो आफ्नी आमाकहाँ लगी ।
12
अनि उनका चेलाहरू आएर उनको शवलाई लगेर गाडे । त्यसपछि तिनीहरू गए, र येशूलाई बताइदिए ।
13
जब येशूले यो कुरा सुन्नुभयो, उहाँले त्यस ठाउँलाई छोडेर डुङ्गाबाट एकान्त स्थानमा जानुभयो । जब भीडहरूले यो कुरा सुने, तिनीहरूले उहाँलाई सहरहरूबाट पैदलै पछ्याए ।
14
त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठुलो भीड देख्नुभयो । उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बीचमा भएका बिरामीहरूलाई निको पार्नुभयो ।
15
जब साँझ पर्यो, चेलाहरू उहाँकहाँ आएर भने, “यो त एउटा एकान्त ठाउँ हो र दिन बितिसक्यो । भीडलाई बिदा गरिदिनुहोस्, ताकि तिनीहरू गाउँहरूमा जान सकून् र आ-आफ्ना निम्ति खानेकुराहरू किन्न सकून् ।”
16
तर येशूले तिनीहरूलाई भन्नुभयो, “यिनीहरूलाई टाढा जान आवश्यक छैन । यिनीहरूलाई तिमीहरूले केही खान देओ ।”
17
तिनीहरूले उहाँलाई भने, “हामीसँग यहाँ जम्मा पाँचवटा रोटी र दुईवटा माछा मात्र छन् ।”
18
येशूले भन्नुभयो, “ती मकहाँ ल्याओ ।”
19
अनि येशूले भीडलाई चौरमा बस्नको लागि आदेश दिनुभयो । उहाँले ती पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो । माथि स्वर्गमा हेर्दै उहाँले आशिष् दिनुभयो र रोटीलाई भाँच्नुभयो अनि चेलाहरूलाई ती दिनुभयो । चेलाहरूले ती भीडलाई दिए ।
20
तिनीहरू सबैले खाए र टन्न भए । त्यसपछि तिनीहरूले खानाका बाँकी भएका टुक्राहरू बाह्र टोकरीभरि बटुले ।
21
त्यहाँ खाएकाहरूमध्ये स्त्री र बालबालिकाहरूबाहेक झन्डै पाँच हजार मानिस थिए ।
22
अनि उहाँले भीडलाई बिदा गरून्जेल उहाँले चेलाहरूलाई तुरुन्तै डुङ्गामा चढेर उहाँभन्दा अगि अर्कोपट्टि जान लगाउनुभयो ।
23
उहाँले भीडलाई पठाइसक्नुभएपछि उहाँ आफैं डाँडामा प्रार्थना गर्न जानुभयो । साँझ पर्दा, उहाँ त्यहाँ एकलै हुनुहुन्थ्यो ।
24
तर त्यस बेला डुङ्गा भने समुद्रको बीचमा थियो, बतास विपरीत दिशाबाट आएको कारण छालले त्यो अनियन्त्रित भयो ।
25
बिहान तीन बजेतिर येशू समुद्रमा हिंड्दै तिनीहरूका नजिक जानुभयो ।
26
जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिंडिरहनुभएको देखे, तिनीहरू भयभीत भए र भने, “यो त भूत हो” र तिनीहरू डरले चिच्च्याउन थाले ।
27
तर येशू झट्टै तिनीहरूसँग बोल्नुभयो र भन्नुभयो, “ढाडस गर! मै हुँ! नडराओ ।”
28
पत्रुसले उहाँलाई जवाफ दिए र भने, “प्रभु, तपाईं नै हुनुहुन्छ भने, मलाई तपाईंकहाँ पानीमाथि आउनलाई आदेश दिनुहोस् ।”
29
येशूले भन्नुभयो, “आऊ ।” त्यसैले पत्रुस डुङ्गाबाट बाहिर आए र येशूकहाँ जान पानीमा हिंडे ।
30
तर जब पत्रुसले बतासलाई देखे, तिनी डराए । जब तिनी डुब्न थाले, तिनले चिच्च्याउँदै भने, “प्रभु, मलाई बचाउनुहोस्!”
31
येशूले तुरुन्तै आफ्नो हात फैलाउनुभयो, पत्रुसलाई समात्नुभयो र तिनलाई भन्नुभयो, “ए अल्पविश्वासी! तिमीले किन शङ्का गर्यौ?”
32
त्यसपछि जब येशू र पत्रुस डुङ्गामा जानुभयो, तब बतास रोकियो ।
33
त्यसपछि डुङ्गामा रहेका चेलाहरूले येशूको आराधना गरे र भने, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ ।”
34
जब उहाँहरूले समुद्र पार गर्नुभयो, उहाँहरू गनेसरेतको भूमिमा आइपुग्नुभयो ।
35
जब त्यस ठाउँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले वरपरका सबै क्षेत्रमा त्यो समाचार फैलाए र तिनीहरूले बिरामी भएकाहरू सबैलाई उहाँकहाँ ल्याए ।
36
तिनीहरूले उहाँको कपडाको एउटा छेउ मात्र छुन पाऊँ भनी उहाँलाई बिन्ती गरे, र जतिले छोए सबै जना निको भए ।