अध्याय १

1 पावल, येशू ख्रीष्‍टका दास, प्रेरित हुनको निम्ति बोलाइएको र परमेश्‍वरको सुसमाचारको निम्ति अलग गरिएको हो, 2 जुन सुसमाचार उहाँले आफ्ना अगमवक्‍ताहरूद्वारा पहिले नै पवित्र धर्मशास्‍‍‍त्रमा प्रतिज्ञा गर्नुभयो, 3 यो उहाँको पुत्रको विषयमा हो जो शरीरअनुसार दाऊदको वंश हुनुहुन्थ्यो । 4 येशू ख्रीष्‍ट हाम्रा प्रभु मृतकहरूबाट पुनरुत्‍थान हुनुभएर पवित्रताको आत्माद्वारा शक्‍तिसाथ परमेश्‍वरका पुत्र घोषणा गरिनुभएको थियो । 5 उहाँको नाउँको खातिर सबै जातिहरूमाझ विश्‍वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं । 6 यी जातिहरूमध्ये तिमीहरू पनि येशू ख्रीष्‍टका हुन बोलाइएका छौ । 7 हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रह र शान्ति तिमीहरूमा रहोस् । 8 पहिले, तिमीहरू सबैका निम्ति येशू ख्रीष्‍टद्वारा म परमेश्‍वरलाई धन्यवाद चढाउँछु, किनभने तिमीहरूको विश्‍वास सारा संसारभरि घोषणा गरिएको छ । 9 किनकि म तिमीहरूलाई कत्तिको लगातार सम्झन्‍छु भनी परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ जसलाई म उहाँका पुत्रको सुसमाचारमा मेरो आत्माले सेवा गर्छु । 10 परमेश्‍वरको इच्छाद्वारा जसरी भए पनि म तिमीहरूकहाँ आउन सफल हुन सकूँ भनी म सधैं मेरो प्रार्थनामा अनुरोध गर्छु । 11 किनकि म तिमीहरूलाई भेट्ने इच्छा गर्छु, ताकि तिमीहरूलाई बलियो बनाउनको लागि म तिमीहरूलाई केही आत्मिक वरदानहरू दिन सकूँ । 12 अर्थात् तिमीहरू र मेरो, एक-अर्काका विश्‍वासद्वारा तिमीहरूका माझमा पारस्परिक रूपमा प्रोत्साहित हुन म उत्कट इच्छा गर्छु । 13 अब भाइ हो, तिमीहरू अनभिज्ञ होऊ भन्‍ने म चाहन्‍नँ कि मैले प्रायः तिमीहरूकहाँ आउने इच्छा गरें (तर म अहिलेसम्म रोकिएको छु), ताकि मैले बाँकी गैरयहूदीहरूका माझमा झैं तिमीहरूका माझमा पनि केही फल प्राप्‍त गरूँ । 14 म ग्रीकहरू र विदेशीहरू, बुद्धिमान्‌हरू र मूर्खहरू दुवैप्रति ऋणी छु । 15 त्यसैले मेरो विषयमा भन्‍नुपर्दा, म तिमीहरू रोममा हुनेहरूलाई पनि सुसमाचार घोषणा गर्न तयार छु । 16 किनकि म सुसमाचारको निम्ति शर्माउँदिनँ, किनकि यो विश्‍वास गर्ने सबैको निम्ति मुक्‍तिको लागि परमेश्‍वरको शक्‍ति हो, पहिले यहूदी र त्यसपछि ग्रीकहरूका निम्ति । 17 किनकि यसैमा परमेश्‍वरको धार्मिकता विश्‍वासबाट विश्‍वासमा प्रकट गरिएको छ, जस्तो लेखिएको छ “धर्मी विश्‍वासद्वारा नै जिउनेछन् ।” 18 किनकि अधार्मिकताद्वारा सत्यतालाई रोक्ने मानिसहरूका सबै भक्‍तिहीनता र अधार्मिकता विरुद्ध परमेश्‍वरको क्रोध स्वर्गबाट प्रकट भएको छ । 19 किनभने परमेश्‍वरको बारेमा जानिएको कुरा तिनीहरूले देख्‍न सक्‍ने भएको छ । किनकि परमेश्‍वरले तिनीहरूलाई प्रकाश दिनुभएको छ । 20 किनकि संसारको उत्‍पत्तिदेखि बनाइएका कुराहरूमा उहाँका अद‍ृश्य गुणहरू अर्थात् उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभाव, स्पष्‍ट रूपमा देखिने भएका छन् । त्यसैले तिनीहरूलाई कुनै बहाना छैन । 21 किनभने तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा महिमा दिएनन् न त धन्यवाद दिए । बरु तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो भए । 22 तिनीहरूले बुद्धिमान्‌ भएको दाबी गरे, तर तिनीहरू मूर्ख भए । 23 तिनीहरूले अविनाशी परमेश्‍वरको महिमालाई नाश हुने मानिस, चराचुरुङ्गीहरू, चार खुट्टे जनावरहरू र घस्रने जन्तुहरूको प्रतिमाका रूपसँग साटे । 24 त्यसकारण परमेश्‍वरले तिनीहरूलाई अशुद्धताको निम्ति, तिनीहरूका शरीर एकआपसमा अनादर होस् भन्‍नको निम्ति तिनीहरूका हृदयका कामबासनामा नै छाडिदिनुभयो । 25 यी तिनीहरू नै हुन् जसले परमेश्‍वरको सत्यतालाई झुटसँग साटे, र सदासर्वदा प्रशंसनीय सृष्‍टिकर्ताको सट्टा सृष्‍टिको पूजा र सेवा गरे । आमेन । 26 यसैकारण परमेश्‍वरले तिनीहरूलाई अनादरपूर्ण अभिलाषाहरूमा छाडिदिनुभयो, किनकि तिनीहरूका स्‍‍त्रीहरूले प्राकृतिक सम्बन्धहरूलाई अप्राकृतिक सम्बन्धहरूसँग साटे । 27 त्यसै गरी, पुरुषहरूले पनि स्‍‍त्रीहरूसँगको प्राकृतिक सम्बन्धहरूलाई छोडे, र एक-अर्काप्रतिको कामुकतामा जले । यी तिनै पुरुषहरू थिए जसले पुरुषहरूसँग अश्‍लील कार्य गरे र तिनीहरूको त्रुटिको लागि तिनीहरूले पाउनुपर्ने दण्ड तिनीहरू आफैंले पाए । 28 तिनीहरू आफ्नो सजगतामा पनि परमेश्‍वर हुनुहुन्छ भनी सहमत नभएका हुनाले उहाँले तिनीहरूलाई अनुचित कुराहरू गर्नलाई भ्रष्‍ट मनमा छोडिदिनुभयो । 29 तिनीहरू सारा अधार्मिकता, दुष्‍टता, लालच, र द्वेषले भरिएका छन् । तिनीहरू ईर्ष्या, हत्या, कलह, छल र दुष्‍ट विचारले पूर्ण छन् । तिनीहरू कुरौटे, 30 निन्दा गर्ने, र परमेश्‍वरलाई घृणा गर्नेहरू, हिंस्रक, घमण्डी, अहङ्कारी, दुष्‍ट थोकहरूका आविष्कारकहरू हुन्; तिनीहरू आमाबुबाप्रति अनाज्ञाकारी छन् । 31 तिनीहरूमा समझविहिन, अविश्‍वासयोग्य, निर्दयी, र कृपारहित छन् । 32 यसो गर्नेहरू मृत्युका भागीदार हुन्छन् भन्‍ने परमेश्‍वरका नियमहरूलाई तिनीहरू जान्दछन् । तर तिनीहरू यी थोकहरू गर्ने मात्र होइनन्, तिनीहरू यसो गर्नेहरूसँग सहमत पनि हुन्छन् ।