अध्याय २८

1 जब हामीलाई सुरक्षित तरिकाले ल्याइयो, टापुको नाम माल्टा रहेछ भन्‍ने कुरा हामीले जान्यौं । 2 ती स्थानीय मानिसहरूले सामान्य खालको दया मात्र देखाएनन्, तर निरन्तर पानी परेर जाडो भएको हुनाले तिनीहरूले आगो बालेर हामी सबै जनालाई स्वागत पनि गरे । 3 तर जब पावलले एक बिटा दाउरा जम्मा गरे, र त्यसलाई आगोमा हाले, तापले गर्दा एउटा विषालु सर्प निस्केर तिनको हातमा बेरियो । 4 जब त्यहाँको स्थानीय मानिसहरूले तिनको हातमा त्यो प्राणी झुण्डिरहेको देखे, तब तिनीहरूले एक आपसमा यसो भने, “यो मानिस पक्‍का पनि हत्यारा हो, जो समुद्रबाट उम्किएतापनि इन्साफले त्यसलाई जिउन दिएन । 5 तर तिनले त्यो प्राणीलाई आगोमा झट्कारिदिए र कुनै हानि भोगेनन् । 6 तिनीहरूले तिनलाई हनहनी ज्‍वरो आउँछ वा तिनी अचानक मर्छन् भनेर पर्खिरहेका थिए । तर तिनीहरूले तिनलाई लामो समयसम्म हेरिसकेपछि, तिनलाई कुनै पनि असामान्य कुरा नभएको देखे, तिनीहरूले आफ्नो विचारलाई परिवर्तन गरे र तिनी त ईश्‍वर रहेछन् भने । 7 अब त्यसको नजिकैको स्थानमा, पब्लियस नाम गरेको त्यस टापुको मुख्य मानिसको जमिन थियो । तिनले हामीलाई स्वागत गरे, र दयाका साथ हामीलाई तीन दिनसम्म बन्दोबस्त गरिदिए । 8 पब्लियसका बुबा ज्‍वरो र आउँले गर्दा बिरामी परेका थिए । जब पावल उनी भएको ठाउँमा गए, तिनले प्रार्थना गरे, उनी माथि हात राखे, र उनलाई निको पारे । 9 यस्तो घटना भइसकेपछि, त्यस टापुमा रहेका बिरामी मानिसहरू पनि तिनीकहाँ आए र निको पारिए । 10 ती मानिसहरूले पनि धेरै सम्मानका साथ हाम्रो आदर गरे । जब हामीले जहाजको यात्राको लागि तयारी गरिरहेका थियौं, तिनीहरूले हामीलाई खाँचो परेका थोकहरू दिए । 11 तीन महिनापछि यसै टापुमा हिउँद काटेको, अलेक्जेन्ड्रियाको जहाज, जसमा "जुम्ल्याहा देव" को प्रतिमा थियो, त्यहीं जहाजमा हामीले यात्रा सुरू गर्‍यौं । 12 साइराक्युस सहरमा पुगिसकेपछि त्यहाँ हामी तीन दिन बस्यौं । 13 हामी त्यहाँबाट यात्रा गरेर रेगीयमको सहरमा आइपुग्यौं । त्यसको एक दिनपछि दक्षिणी बतास चल्यो, र त्यसको दुई दिनपछि पटेओली भन्‍ने सहरमा आइपुग्यौं । 14 त्यहाँ हामीले केही भाइहरूलाई भेट्टायौं, जसले हामीलाई सात दिनसम्म तिनीहरूसँग रहनको लागि निमन्‍‍त्रणा दिए । यसरी हामी रोम आइपुग्यौं । 15 हाम्रो बारेमा सुनेर त्यहाँ रहेका भाइहरू हामीलाई भेट्न आप्पियासको बजार र तीन भट्टीसम्म आए । जब पावलले ती भाइहरूलाई देखे, तिनले परमेश्‍वरलाई धन्यवाद दिए र साहस पाए । 16 जब हामी रोममा प्रवेश गर्‍यौं, पावललाई एक जना सिपाहीको रेखदेखमा एक्लै बस्‍ने अनुमति दिइयो । 17 तब यसको तीन दिनपछि, पावलले यहूदीहरूका माझ भएका अगुवाहरूलाई एकसाथ बोलाए । जब तिनीहरू एकसाथ आइपुगे तिनले तिनीहरूलाई भने, “भाइहरू हो, यद्यपि मैले मानिसहरूको विरुद्धमा वा पितापुर्खाको रितीरिवाजको विरुद्धमा कुनै पनि गलत काम गरेको छैन, मलाई एक जना कैदीको रूपमा यरूशलेमबाट रोमीहरूको हातमा सुम्पिएको छ । 18 तिनीहरूले मलाई प्रश्‍न गरिसकेपछि, तिनीहरूले मलाई स्वतन्‍‍त्र गर्न चाहे, किनभने ममा मृत्युदण्डको सजाय पाउनु पर्ने कुनै पनि कारण थिएन । 19 तर जब यहूदीहरूले तिनीहरूको चाहना विरुद्धमा बोले, तब कैसरकहाँ अपिल गर्न म बाध्य भएँ, तथापि यो मैले मेरो जातिको विरुद्धमा कुनै पनि दोष लगाइरहेको जस्तो होइन । 20 त्यसैले यही कारणले गर्दा मैले तपाईंहरूलाई भेट्न, र कुराकानी गर्न सकूँ भनेर मैले तपाईंहरूलाई बोलाएको हुँ, किनभने इस्राएलको आशाको कारणले म अहिले साङ्लाले बाँधिएको छु । 21 तब तिनीहरूले तिनलाई भने, “हामीले न त तपाईंको बारेमा यहूदाबाट कुनै पत्र नै प्राप्‍त गर्‍यौं, न त कुनै भाइहरू आएर तपाईंको बारेमा कुनै नराम्रो प्रतिवेदन दिए वा कुनै नराम्रो कुरा गरे । 22 तर यस पन्थको बारेमा तपाईं के विचार गर्नुहुन्छ भन्‍ने कुरा हामी तपाईंबाट सुन्‍न चाहन्छौं, किनभने सबैतिर यसको विरुद्धमा बोलिन्छ भनेर हामी जन्दछौं । 23 जब तिनीहरूले तिनको निम्ति एक दिन तोकिदिए, तब तिनको बासस्थानमा धेरै मानिसहरू आए । तिनले त्यस विषयलाई तिनीहरूको सामु प्रस्तुत गरे, र परमेश्‍वरको राज्यको बारेमा गवाही दिए । तिनले तिनीहरूलाई येशू ख्रीष्‍टको बारेमा मोशाको व्यवस्था र अगमवक्‍ताहरूको पुस्तक दुवैबाट बिहानदेखि बेलुकासम्म विश्‍वस्त पार्ने कोसिस गरे । 24 कति जना भनिएको कुरामा विश्‍वस्त भए भने कतिले विश्‍वास गरेनन् । 25 जब तिनीहरू एक अर्कामा सहमत भएनन् तब पावलले यो एउटा वचन बोलिसकेपछि तिनीहरू गएः “पवित्र आत्माले यशैया अगमवक्‍ताद्वारा तिनीहरूका पितापुर्खाहरूसँग ठिकै कुरा बोल्नुभयो । 26 तिनले भने, “यी मानिसहरूकहाँ जा, र भन्, ‘ सुन्‍न त तिमीहरू सुन्‍नेछौ, तर तिमीहरूले बुझ्‍नेछैनौ; हेर्नु त हेर्नेछौ, तर तिमीहरूले देख्‍नेछैनौ । 27 किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन्, र तिनीहरूको कानले मुश्किलसाथ सुन्छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन् । नत्रता तिनीहरूले आफ्नो आँखाले देख्‍नेथिए, र तिनीहरूका कानले सुन्‍नेथिए, र तिनीहरूका हृदयले बुझ्‍नेथिए, र फर्कनेथिए, र म तिनीहरूलाई निको पार्ने थिएँ ।’ 28 त्यसकारण तिमीहरूले जान्‍नुपर्ने हुन्छ, कि परमेश्‍वरको यो मुक्‍ति गैरयहूदीहरूका निम्ति पठाईएको छ, र तिनीहरूले सुन्‍नेछन् ।" 29 1 30 पावल आफैले भाडामा लिएको घरमा पूरा दुई वर्षसम्म बसे, र तिनीकहाँ आउने सबैलाई तिनले स्वागत गरे । 31 तिनले विना रोकटोक ठुलो साहसका साथ परमेश्‍वरको राज्यको प्रचार गरिरहेका थिए र प्रभु येशू ख्रीष्‍टको बारेमा शिक्षा दिइरहेका थिए ।

1प्रेरित २८:२९- केही प्राचीन प्रतिलिपिहरूमा २९ पद छ जब तिनले यी कुराहरू भनिसके, तब ती यहूदीहरू गए । तिनीहरूका बीचमा ठूलो वाद-विवाद हुँदै थियो