1 अब यहूदीयामा भएका प्रेरितहरू र भाइहरूले गैरयहूदीहरूले पनि परमेश्वरको वचन ग्रहण गरेका थिए भन्ने सुने । 2 जब पत्रुस यरूशलेममा आए, खतनाको समूहका मानिसहरूले तिनको आलोचना गरे; 3 तिनीहरूले भने, “तपाईं बेखतनाका मानिसहरूसँग बस्नुभयो र तिनीहरूसँग खानुभयो!” 4 तर पत्रुसले तिनीहरूलाई त्यो कुरा विस्तृत रूपमा यसो भन्दै वर्णन गर्न सुरु गरे, 5 "म योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ, र मैले चारै कुनामा बाँधिएको एउटा ठुलो तन्नाजस्तो एउटा वस्तु स्वर्गबाट खसिरहेको दर्शन देखें । यो मकहाँ आयो । 6 मैले यसलाई एक टक लगाएर हेरें र यस बारे सोचें । मैले पृथ्वीको चारखुट्टे जनावरहरू, जङ्गली जन्तुहरू, घस्रने जन्तुहरू, र आकाशका चराचुरुङ्गीहरू देखें। 7 त्यसपछि मैले एउटा आवाजले मलाईं भनेको सुने, 'पत्रुस उठ; मार र खाऊ!' 8 मैले भने, 'प्रभु, यसो होइन; किनकि अहिलेसम्म अपवित्र वा अशुद्ध थोक मेरो मुखमा परेकै छैन ।' 9 तर त्यस आवाजले स्वर्गबाट फेरि उत्तर दियो, 'परमेश्वरले जुन कुराहरूलाई शुद्ध घोषणा गर्नुभएको छ, तिमीले अशुद्ध भन्नुहुँदैन ।' 10 यो तीन पल्टसम्म भयो, र त्यसपछि सबै कुरा स्वर्गतिर फेरि लगियो । 11 हेर्नुहोस्, हामी भएको घर अगाडि तीन जना मानिस उभिरहेका थिए; तिनीहरूलाई कैसरियाबाट मकहाँ पठाइएको थियो । 12 आत्माले मलाईं तिनीहरूसँग जानू र मैले तिनीहरूको सम्बन्धमा कुनै विभेद गर्नुहुँदैन भनी आज्ञा दिनुभयो । यी छ जना भाइहरू मसँग गए, र हामी त्यो मानिसको घरभित्र गयौं । 13 तिनले हामीलाई बताए कि तिनले कसरी स्वर्गदूत आफ्नो घरमा उभिरहेको र यसो भनिरहेको तिनले देखेका थिए, 'योप्पामा मानिसहरूलाई पठाऊ र पत्रुस भनिने सिमोनलाई फर्काएर ल्याऊ । 14 उनले तिम्रो लागि एउटा सन्देश बताउने छन् जसद्वारा तिमी बचाइनेछौ—तिमी र तिम्रो सबै घराना ।' 15 जसै म तिनीहरूसँग बोल्न थालें, तिनीहरूमाथि पवित्र आत्मा आउनुभयो, जसरी सुरुमा हामीमाथि आउनुभएको थियो । 16 मैले प्रभुका वचनहरू सम्झें कि कसरी उहाँले भन्नुभएको थियो, ‘यूहन्नाले निश्चय नै पानीले बप्तिस्मा दिए; तर तिमीहरूलाई पवित्र आत्मामा बप्तिस्मा दिइनेछ ।’ 17 त्यसो भए यदि हामीले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दा परमेश्वरले हामीलाई दिनुभएको त्यही वरदान उहाँले तिनीहरूलाई दिनुभयो भने, परमेश्वरको विरोध गर्ने म को थिएँ र?’’ 18 जब तिनीहरूले यी कुराहरू सुने, तिनीहरूले कुनै पनि प्रतिकृया जनाएनन्, तर तिनीहरूले परमेश्वरको प्रशंसा गरे र भने, ‘‘परमेश्वरले गैरयहूदीहरूलाई पनि जीवनको निम्ति पश्चात्ताप दिनुभएको छ ।’’ 19 अब स्तिफनसको विषयमा भएको सतावटले गर्दा छरपस्ट भएकाहरू, यहूदीहरूलाई मात्र वचन प्रचार गर्दै फोनेसिया, साइप्रस र एन्टिओखियासम्म फैलिए । 20 तर तिनीहरूमध्ये केही मानिसहरू, साइप्रस र कुरेनीबाटका, एन्टिओखियामा आए र प्रभु येशूको प्रचार गर्दै ग्रीकहरूसँग पनि बोले । 21 तिनीहरूसँग प्रभुको हात थियो; ठुलो संख्यामा मानिसहरूले विश्वास गरे र प्रभुतिर फर्के । 22 तिनीहरूको बारेको खबर यरूशलेमको मण्डलीको कानमा आइपुग्यो, र तिनीहरूले बारनाबासलाई एन्टिओखियासम्म पठाए । 23 जब तिनी आए र परमेश्वरको अनुग्रहलाई देखे, तब तिनी खुसी भए, र तिनीहरू सबैलाई आफ्नो सम्पूर्ण हृदयले प्रभुसँगै रहिरहन तिनले उत्साह दिए । 24 किनकि तिनी एक असल र पवित्र आत्माले भरिएका, र विश्वासमा परिपक्व मानिस थिए, र प्रभुमा धेरै मानिसहरू थपिए । 25 तब बारनाबास शाऊललाई खोज्नका निम्ति टार्ससतिर गए । 26 जब उनले तिनलाई भेटाए, तब उनले तिनलाई एन्टिओखियामा ल्याए । तिनीहरू पूरै वर्षभरि नै मण्डलीसँगै भेला भए र धेरै मानिसहरूलाई सिकाए । एन्टिओखियामा नै पहिलोपल्ट चेलाहरूलाई ख्रीष्टियान भनियो । 27 अब यी दिनहरूमा केही अगमवक्ताहरू यरूशलेमबाट तल एन्टिओखियामा आए । 28 तिनीहरूमध्ये एक जना अगाबस नाउँ गरेका उभिए र संसारभरि नै ठुलो अनिकाल आउन लागेको छ भनी आत्माद्वारा सङ्केत दिए । क्लाउडियसका दिनहरूमा यस्तो भयो । 29 त्यसैले सक्ने जति प्रत्येक चेलाहरूले यहूदियामा भएका भाइहरूलाई सहायता पठाउने निर्णय गरे । 30 तिनीहरूले यसो गरे; तिनीहरूले शाऊल र बारनाबासको हातमा धर्म-गुरुहरूकहाँ पैसा पठाए ।