1 थियोफिलस, मैले लेखेको पहिलो पुस्तकमा, येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुरा बताए, 2 त्यस दिनसम्मको, जब उहाँले चुन्नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा उहाँले आज्ञा दिनुभएपछि उहाँ उचालिनुभयो । 3 उहाँको कष्टभोगपछि उहाँले धेरै विश्वसनीय प्रमाणसहित आफैंलाई तिनीहरूकहाँ जीवित प्रस्तुत गर्नुभयो । उहाँ चालिस दिनसम्म तिनीहरूकहाँ देखा पर्नुभयो, र परमेश्वरको राज्यको बारेमा बताउनुभयो । 4 उहाँले तिनीहरूसँग भेटघाट गरिरहनुहुँदा, उहाँले तिनीहरूलाई यरूशलेम नछोड्न, तर पिताको प्रतिज्ञाको प्रतीक्षा गर्नलाई आज्ञा दिनुभयो, जसको बारेमा उहाँले भन्नुभयो, “तिमीहरूले मबाट सुन्यौ 5 कि वास्तवमा यूहन्नाले पानीले बप्तिस्मा दिए, तर केही दिनमा नै तिमीहरूको पवित्र आत्मामा बप्तिस्मा हुनेछ । 6 तिनीहरू एकसाथ भेलाहुँदा, तिनीहरूले उहाँलाई सोधे, “प्रभु, के तपाईंले इस्राएल राज्य पुनर्स्थापना गर्नुहुने समय यही हो?” 7 उहाँले तिनीहरूलाई भन्नुभयो, “पिताले उहाँको अधिकारद्वारा तोक्नुभएको समय वा ऋतुहरू जान्ने काम तिमीहरूको होइन । 8 तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ, तिमीहरूले शक्ति प्राप्त गर्नेछौ, अनि तिमीहरू यरूशलेममा र सारा यहूदियामा र सामरियामा, र पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ ।” 9 येशूले यी कुराहरू भनिसक्नुभएपछि, तिनीहरूले माथि हेरिरहँदा, उहाँ माथि उचालिनुभयो, र बादलले उहाँलाई तिनीहरूका आँखाबाट छेक्यो । 10 उहाँ जाँदै गर्नुहुँदा तिनीहरूले स्वर्गतिर उत्कटतापूर्वक हेरिररहेका बेला, सेतो वस्त्र पहिरेका दुई जना मानिस अचानक तिनीहरूका छेउमा खडा भए । 11 तिनीहरूले भने, “हे गालीलका मानिसहरू हो, तिमीहरू किन स्वर्गतिर हेरेर यहाँ उभिरहेका छौ? स्वर्गारोहण हुनुभएका यी येशूलाई तिमीहरूले जसरी स्वर्गतिर गइरहेका देखेका छौ, उहाँ त्यसरी नै फर्कनुहुनेछ । 12 त्यसपछि तिनीहरू यरूशलेम नजिकै पर्ने जैतून डाँडाबाट यरूशलेमतिर फर्के, जुन एक विश्रामको दिनको यात्रा जति टाढा थियो । 13 जब तिनीहरू आइपुगे, तब तिनीहरू आफू बसिरहेको माथिल्लो कोठामा गए । तिनीहरू पत्रुस, यूहन्ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्फयसका छोरा याकूब, उग्रवादी सिमोन र याकूबका छोरा यहूदा थिए । 14 तिनीहरू सबै, अन्य महिलाहरू, र येशूकी आमा मरियम, र उहाँका भाइहरूसहित एकै मनको भएर समर्पित भई प्रार्थनामा लागिरहन्थे । 15 ती दिनहरूमा झण्डै १२० जना भाइका माझमा पत्रुस खडा भए र भने, 16 “भाइहरू हो, येशूलाई पक्राऊ गर्नलाई अगुवाइ गर्ने यहूदाको बारे दाऊदको मुखबाट पवित्र आत्माले पहिला नै बोल्नुभएको धर्मशास्त्र पूरा हुनु आवश्यक थियो । 17 किनकि त्यो हामीमध्ये एक जना थियो र त्यसले यही सेवकाइको हिस्सा प्राप्त गर्यो ।” 18 (अब त्यस मानिसले त्यसको दुष्ट कर्मको कमाइबाट एउटा खेत किन्यो, त्यसको टाउको तल पारेर खस्यो, त्यसको शरीर फुट्यो, र त्यसको सबै आन्द्रा-भुँडी निस्क्यो । 19 यो कुरा यरूशलेममा बस्ने सबैले सुने, त्यसैले तिनीहरूले आफ्नो भाषामा त्यस खेतको नाम "अखेल्दमा" राखे जसको अर्थ “रगतको खेत” हुन्छ । ) 20 “किनकि भजनसंग्रहको पुस्तकमा यसो लेखिएको छ, ‘त्यसको खेत उजाड बनाइयोस्, र त्यहाँ कोही एक जना पनि नबसोस्’; ‘त्यसको नेतृत्वको पद अरू कसैले लिओस् ।’ 21 यसकारण यो आवश्यक छ, कि प्रभु येशू हाम्रो माझमा भित्र-बाहिर गर्नुहुँदा सधैँभरि, 22 अर्थात् यूहन्नाको बप्तिस्माको दिनदेखि उहाँलाई हामीबाट माथि लगिएको दिनसम्म, हामीलाई साथ दिने मानिसहरूमध्येबाट एक जना, हामीसँगै उहाँको पुनरुत्थानको साक्षी भएको हुनुपर्छ ।” 23 तिनीहरूले दुई जना अर्थात् बारसाबास भनिने योसेफ जसको नाउँ युस्तस पनि थियो र मतियासलाई अगि सारे । 24 तिनीहरूले प्रार्थना गरे र भने, “तपाईं प्रभुले सबै मानिसहरूको हृदय जान्नुहुन्छ, त्यसैले यी दुई जनामध्ये कसलाई चुन्नुभएको छ प्रकट गर्नुहोस् 25 तिनले यो सेवकाइ र प्रेरितको पद लिऊन् जसबाट यहूदा भड्केर आफ्नो निज ठाउँमा गयो ।” 26 उनीहरूले तिनीहरूको निम्ति चिट्ठा हाले, र चिट्ठा मतियासको नाममा पर्यो, र तिनलाई एघार जना प्रेरितसँगै गनियो ।