1 1 धेरैले हाम्रा बीचमा पूरा भएका घटनाहरूको विवरण लेख्‍ने प्रयास गरेका छन्, 2 जसरी पहिले वचनका प्रत्यक्षदर्शीहरू र सेवकहरूले ती कुराहरू हामीलाई सुम्पिदिए । 3 त्यसैले माननीय थियोफिलस, मैले सुरुदेखि नै सबैकुराहरू ठिकसित अनुसन्धान गरेको हुनाले, ती कुराहरू क्रमबद्ध रूपमा तपाईंलाई लेखिदिन मलाई पनि असल लाग्यो, 4 ताकि तपाईंलाई सिकाइएका कुराहरूको निश्‍चयताबारे तपाईंलाई थाहा होस् । 5 यहूदाका राजा हेरोदको समयमा जकरिया नाउँ गरेका एक जना पूजाहारी थिए जो अबियाको दलका थिए; तिनकी पत्‍नी एलीशिबा पनि हारूनको सन्तान थिइन् । 6 परमेश्‍वरको सामु तिनीहरू दुवै धर्मी थिए, तिनीहरू परमप्रभुका सबै आज्ञाहरू र धार्मिक विधानहरूमा हिँड्थे । 7 तर तिनीहरूको कुनै सन्तान थिएन, किनभने एलीशिबा बाँझी थिइन् र त्यतिबेला तिनीहरू दुवै जना वृद्ध भइसकेका थिए । 8 अब जकरियाले आफ्नो दलको पालोअनुसार परमेश्‍वरको उपस्‍थितिमा पूजाहारी कामहरू गरिरहेका थिए । 9 कुन पूजाहारीले सेवा गर्ने भनेर छनोट गर्ने चलन अनुसार तिनी धूप बाल्‍न परमप्रभुको मन्दिरभित्र पस्‍नला‌ई चिट्ठाद्वारा चुनिएका थिए । 10 धूप बाल्‍ने समयमा मानिसहरूको पूरै भीड बाहिर प्रार्थना गरिरहेको थियो । 11 त्यसै बेला परमप्रभुका एउटा दूत तिनीकहाँ देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए । 12 जब जकरियाले स्वर्गदूतलाई देखे, तब तिनी आत्तिए र डराए । 13 तर स्वर्गदूतले तिनलाई भने, “जकरिया, नडराऊ, किनभने तिम्रो प्रार्थनाको सुनाइ भएको छ । तिम्री पत्‍नी एलीशिबाले तिम्रो लागि एउटा छोरो जन्माउनेछिन् । तिमीले तिनको नाउँ यूहन्‍ना राख्‍नेछौ । 14 तिमीमा खुसी र आनन्द हुनेछ, र तिनको जन्ममा धेरै मानिसहरू आनिन्दित हुनेछन् । 15 किनकि परमप्रभुको द‍ृष्‍टिमा तिनी महान् हुनेछन् । तिनले दाखमद्य वा कडा मद्य पिउनु हुँदैन, र तिनी आफ्नी आमाको गर्भदेखि नै पवित्र आत्माले भरिनेछन् । 16 इस्राएलका सन्तानहरूमध्ये धेरैलाई परमप्रभु तिनीहरूका परमेश्‍वरतर्फ फर्काइनेछन् । 17 बुबाहरूको हृदय आफ्ना छोराछोरीतिर फर्काउन र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन—परमप्रभुको निम्ति तयार पारिएका मानिसहरूलाई उहाँको निम्ति तयार गर्न तिनी एलियाको आत्मा र शक्तिमा परमप्रभुको अगि अगि जानेछन् ।" 18 जकरियाले स्वर्गदूतलाई भने, “यो मैले कसरी थाहा पाउने? किनकि म बुढो छु र मेरी पत्‍नी पनि धेरै बुढी छिन् ।” 19 स्वर्गदूतले जवाफ दिए र तिनलाई भने, "म गब्रिएल हुँ, जो परमेश्‍वरको उपस्थितिमा उभिन्छु । तिमीसित बोल्न र शुभ खबर दिन म पठाइएको थिए । 20 हेर! यी कुराहरू पूरा हुने दिनसम्‍म तिमी चूप हुनेछौ र बोल्‍न सक्‍ने छैनौ । किनभने तिमीले मेरो वचनमा विश्‍वास गरेनौ, जुन ठिक समयमा पूरा हुनेछ ।” 21 अनि मानिसहरूले जकरियालाई पर्खिरहेका थिए । तिनले लामो समयसम्म मन्दिरमा समय बिताइरहेकोले तिनीहरू अचम्मित थिए । 22 तर जब तिनी बाहिर आए, तब तिनी तिनीहरूसँग बोल्न सकेनन् । तिनले मन्दिरभित्र हुँदा तिनले एउटा दर्शन देखेका थिए भनी तिनीहरूले थाहा गरे । तिनले तिनीहरूलाई इसारा मात्र गरिरहे, र चूप रहिरहे । 23 जब तिनको सेवाको समय पूरा भयो, तब तिनी आफ्नो घरमा फर्किए । 24 यी दिनहरूपछि, तिनकी पत्‍नी एलीशिबा गर्भवती भइन् र पाँच महिनासम्म उनले आफूलाई लुकाइन् । उनले भनिन्, 25 “मानिसहरूका सामु मेरो लाज हटाउनलाई परमप्रभुले मलाई निगाहले हेर्नुहुँदा उहाँले मेरो निम्ति यसो गरिदिनुभएको छ ।" 26 छैठौं महिनामा, परमेश्‍वरद्वारा गब्रिएल स्वर्गदूत गालीलको नासरत नाउँको सहरमा एउटी कन्याकहाँ पठाइए, 27 उनको मगनी दाऊदका सन्तान योसेफ भन्‍ने एउटा मानिससित भएको थियो, र त्यो कन्याको नाउँ मरियम थियो । 28 तिनी उनीकहाँ आए र भने, “अभिवादन, तिमी जसले धेरै निगाह पाएकी छ्‍यौ! परमप्रभु तिमीसँग हुनुहुन्छ । 29 तर उनी तिनका कुराले विचलित भइन् र यो कस्तो प्रकारको अभिवादन हो भनी सोचिन् । 30 स्वर्गदूतले उनलाई भने, “नडराऊ, मरियम, किनकि तिमीले परमेश्‍वरबाट निगाह प्राप्‍त गरेकी छ्‍यौ । 31 हेर, तिमी गर्भवती हुनेछ्‍यौ, र एउटा छोरो जन्माउनेछ्‍यौ । तिमीले उहाँको नाउँ येशू राख्‍नेछ्‍यौ । 32 उहाँ महान् हुनुहुनेछ र उहाँ सर्वोच्‍चका पुत्र कहलाइनुहुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ । 33 उहाँले याकूबको घरानामाथि सदासर्वदा राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त हुनेछैन ।" 34 मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुनेछ, जब कि मेरो कुनै मानिससँग सहवास भएको छैन?” 35 स्वर्गदूतले जवाफ दिए, र उनलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ र सर्वोच्‍चका शक्‍तिले तिमीलाई ढाक्नेछ । त्यसैले जन्मिन लाग्‍नुभएको पवित्र जन, परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ । 36 हेर, तिम्री नातेदार एलीशिबाले पनि उनको वृद्धावस्थामा एउटा छोरो गर्भधारण गरेकी छिन् । उनी अहिले छैटौं महिनामा छिन् जो बाँझी कहलाइएकी थिइन् । 37 किनकि परमेश्‍वरको लागि कुनै पनि कुरा असम्भव हुनेछैन ।” 38 मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी एक दासी हुँ । तपाईंको वचनअनुसार नै मलाई होस् ।” त्यसपछि स्वर्गदूत उनीबाट बिदा भए । 39 त्यसपछि मरियम ती दिनहरूमा हतारिंदै यहूदियाको पहाडी देशको एउटा सहरमा गइन् । 40 उनी जकरियाको घरमा गइन् र एलीशिबालाई अभिवादन गरिन् । 41 जब एलीशिबाले मरियमको अभिवादन सुनिन्, उनको गर्भमा भएको बालक उफ्रियो र एलीशिबा पवित्र आत्माले भरिइन् । 42 उनले ठुलो आवाजमा यसो भनिन्, “स्‍‍त्रीहरूमा तिमी धन्यकी हौ, र तिम्रो गर्भको फल धन्यको हुनुहुन्छ । 43 मलाई यो किन हुन आयो, कि मेरा प्रभुकी आमा मकहाँ आइन् ? 44 किनकि हेर, जब तिम्रो अभिवादनको आवाज मेरो कानमा पर्‍यो, मेरो गर्भमा भएको बालक आनन्दले उफ्रियो । 45 उनी धन्यकी हुन् जसले परमप्रभुद्वारा उनलाई भनिएका कुराहरू पूरा हुनेछन् भनेर विश्‍वास गरिन् । 46 मरियमले भनिन्, “मेरो प्राणले परमभुको प्रशंसा गर्छ, 47 र मेरो आत्मा परमेश्‍वर, मेरो उद्धारकमा रमाएको छ । 48 किनकि उहाँले आफ्नी दासीको दीन अवस्थामा हेर्नु भएको छ । किनकि हेर, अब उप्रान्त सबै पुस्ताहरूले मलाई धन्यकी भन्‍नेछन् । 49 किनकि सर्वशक्‍तिमान्‌ले मेरो लागि महान् कार्यहरू गर्नुभएको छ, र उहाँको नाउँ पवित्र छ । 50 उहाँको भय मान्‍नेहरूमाथि उहाँको दया पुस्तादेखि पुस्तासम्म रहन्‍छ । 51 उहाँले आफ्नो बाहुलीले आफ्नो शक्ति देखाउनुभएको छ; आफ्नो हृदयमा घमण्ड विचार भएकाहरूलाई उहाँले तितर-बितर पार्नुभएको छ । 52 उहाँले राजकुमारहरूलाई तिनीहरूका सिंहासनबाट खसाल्नुभएको छ अनि दीनहरूलाई उठाउनुभएको छ । 53 उहाँले भोकाहरूलाई असल थोकहरूले तृप्त पार्नुभएको छ, तर धनीहरूलाई रित्तै हात पठाउनु भएको छ । 54 आफ्नो दयालाई सम्झना गरेर, उहाँले आफ्नो दास इस्राएललाई सहायता गर्नुभएको छ, 55 (जसरी उहाँले हाम्रा पुर्खाहरू) अब्राहाम र तिनका सन्तानहरूलाई सदासर्वदाको लागि गर्ने भन्‍नुभयो ।" 56 मरियम लगभग तीन महिना एलीशिबासँग बसिन् र त्यसपछि आफ्नो घरमा फर्किन् । 57 अब एलीशिबाले आफ्नो बालक जन्माउने बेला आयो, र उनले एउटा छोरो जन्माइन् । 58 जब उनका छिमेकी र नातेदारहरूले परमप्रभुले उनीमाथि महान् दया गर्नुभएको कुरा सुने, तब तिनीहरू उनीसँग रमाए । 59 अब आठौं दिनमा तिनीहरू बालकको खतना गर्न आए । तिनीहरूले तिनलाई तिनको आफ्ना पिताको नाउँबाट नै "जकरिया" नाउँ दिन लागेका थिए । 60 तर तिनकी आमाले जवाफ दिएर भनिन्, “होइन, तिनलाई यूहन्‍ना भनेर बोलाइनेछ ।” 61 तिनीहरूले उनलाई भने, “तिम्रा नातेदारहरूका बीचमा यो नाउँ भएको कोही पनि छैन ।” 62 तिनीहरूले बालकको पितालाई बालकको नाउँ के राख्‍न चाहन्थे भनी इसारा गरे । 63 तिनका पिताले लेख्‍ने पाटी मागे, र लेखे, “तिनको नाउँ यूहन्‍ना हो ।” त्यो देखेर तिनीहरू सबै अचम्मित भए । 64 तुरुन्तै तिनको मुख खुल्यो र जिब्रो स्वतन्‍‍त्र भयो । तिनी बोले र परमेश्‍वरको प्रशंसा गरे । 65 तिनीहरूका वरिपरि बस्‍नेहरू सबैमा भय उत्पन्‍न भयो । यी सबै कुराहरू यहूदियाको सारा पहाडी मुलुकभरि नै फैलियो । 66 यी कुरा सुन्‍ने सबैले यसो भन्दै आफ्नो हृदयमा राखे, “त्यसो भए अब यो बालक कस्तो हुनेछ?” किनकि परमप्रभुको हात त्यस बालकसँग थियो । 67 उनका पिता जकरिया पवित्र आत्माले भरिए र यसो भन्दै अगमवाणी गरे, 68 “इस्राएलका परमप्रभु परमेश्‍वरको प्रशंसा होस्, किनकि उहाँले आफ्ना मानिसहरूलाई सहायता गर्न आउनुभएको छ र उद्धारको काम पूरा गर्नुभएको छ । 69 उहाँले हाम्रा निम्ति मुक्‍तिको सिङ्लाई उहाँका दास दाऊदको घरानामा खडा गर्नुभएको छ 70 (प्राचीनकालमा उहाँका पवित्र अगमवक्‍ताहरूका मुखद्वारा उहाँ बोल्नुभए झैँ), 71 उहाँले हाम्रा शत्रुहरू र हामीलाई घृणा गर्नेहरू सबैका हातबाट छुटकारा दिनुहुनेछ । 72 यो उहाँले हाम्रा पुर्खाहरूप्रति दया प्रकट गर्न र उहाँको पवित्र करारलाई स्मरण गर्न गर्नुहुनेछ, 73 जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहामसँग खानुभएको थियो, 74 हाम्रा शत्रुहरूका हातबाट मुक्त भएपछि निर्भयतासाथ, 75 उहाँको सम्मुख हाम्रो सारा जीवनभर पवित्रतामा र धार्मिकतामा उहाँको सेवा गरौं भनेर उहाँले शपथ खानुभयो । 76 हो, हे बालक, तिमी सर्वोच्‍चका अगमवक्‍ता कहलाइनेछौ, किनकि तिमी प्रभुको मार्ग तयार पार्न, 77 उहाँका मानिसहरूका पाप-क्षमाद्वारा तिनीहरूलाई मुक्तिको ज्ञान दिन उहाँको अगि-अगि जानेछौ । 78 हाम्रा परमेश्‍वरको कोमल कृपाको कारण स्वर्गबाट बिहानको सूर्य हामीकहाँ हामीलाई सहायता गर्न, 79 अन्धकार र मृत्युको छायामा बस्‍नेहरूमाथि चम्कनलाई आउनेछ । उहाँले हाम्रा गोडाहरूलाई शान्तिको मार्गतिर डोर्‍याउनुहुनेछ ।” 80 त्यसपछि बालक हुर्के र आत्मामा बलियो भए, र तिनी इस्राएलमा देखा नपरेसम्म उजाड-स्थानमा नै बसे ।