अध्याय १

1 यो परमेश्‍वरका पुत्र प्रभु येशू ख्रीष्‍टको सुसमाचारको सुरुवात हो । 2 जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “हेर, म मेरो समाचारवाहकलाई तिम्रो अगि पठाउँदैछु, जसले तिम्रो बाटो तयार पार्नेछ ।” 3 “उजाड-स्थानमा कोही कराउनेको आवाज, ‘परमप्रभुको बाटो तयार पार, उहाँका बाटाहरू सिधा बनाओ’ ।” 4 यूहन्‍ना उजाड-स्थानमा बप्‍तिस्मा दिंदै र पाप-क्षमाको निम्ति पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए । 5 यहूदियाको पूरै इलाकाबाट र यरूशलेमका सबै मानिस तिनीकहाँ गए । तिनीहरूले आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्‍तिस्मा लिए । 6 यूहन्‍नाले ऊँटको रौंबाट बनेको लुगा लगाउँथे र कम्मरमा छालाको पेटी बाँध्‍थे र तिनले सलहहरू र वन मह खान्थे । 7 तिनले यसो भन्दै प्रचार गरे, “मपछि कोही आउनुहुनेछ जो मभन्दा शक्‍तिशाली हुनुहन्छ, र म त उहाँको जुत्ताको फित्ता निहुरेर फुकाल्न योग्यको पनि छैन । 8 मैले तिमीहरूलाई पानीले बप्‍तिस्मा दिएँ, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्मा दिनुहुनेछ ।” 9 ती दिनहरूमा यसो भयो, कि येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिनुभयो । 10 जसै येशू पानीबाट निस्कनुभयो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि आइरहनुभएको देख्‍नुभयो । 11 अनि स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ । तिमीसँग म अति प्रसन्‍न छु ।” 12 त्यसपछि पवित्र आत्माले उहाँलाई उजाड-स्थानमा जान बाध्य गराउनुभयो । 13 उहाँ शैतानद्वारा परीक्षित हुँदै चालिस दिनसम्म उजाड-स्थानमा रहनुभयो । उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो र स्वर्गदूतहरूले उहाँको सेवा गरे । 14 अब यूहन्‍ना पक्राउ परेपछि परमेश्‍वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो, 15 र भन्‍नुभयो, “समय पूरा भएको छ, र परमेश्‍वरको राज्य नजिकै छ । पश्‍चात्ताप गर र सुसमाचारमा विश्‍वास गर । 16 गालील समुद्र भएर जानुहुँदा उहाँले सिमोन र तिनका दाजु अन्द्रियासलाई जाल हानिरहेका देख्‍नुभयो, किनभने तिनीहरू मछुवाहरू थिए । 17 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।” 18 तुरुन्तै तिनीहरूले जालहरू छोडे र येशूको पछि लागे । 19 जसै येशू हिंडेर अलि अगाडि पुग्‍नुभयो, उहाँले जब्दियाका पुत्र याकूब र तिनका भाइ यूहन्‍नालाई देख्‍नुभयो; तिनीहरू डुङ्गामा बसेर जालहरू मर्मत गरिरहेका थिए । 20 उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले आफ्ना पितालाई भाडाका सेवकहरूसँग डुङ्गामा नै छोडे, र तिनीहरू उहाँको पछि लागे । 21 र उहाँहरू कफर्नहुममा आउनुभयो, अनि विश्रामको दिनमा येशू सभाघरमा जानुभयो र शिक्षा दिनुभयो । 22 तिनीहरू उहाँको शिक्षामा छक्‍क परे, किनकि उहाँले तिनीहरूलाई शास्‍‍त्रीहरूले जस्तो होइन, तर अधिकार भएको व्यक्‍तिले जस्तै सिकाइरहनुभएको थियो । 23 त्यस बेला सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस थियो । त्यो यसो भन्दै चिच्‍च्यायो, 24 “हे नासरतका येशू, तपाईंसँग हाम्रो के सरोकार? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा छ । तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ ।” 25 येशूले भूतलाई हकार्नुभयो र भन्‍नुभयो, “चुप लाग्, र त्यसबाट निस्की आइज!” 26 अनि अशुद्ध आत्माले त्यसलाई पछार्‍यो, र ठुलो स्वरमा चिच्‍च्याउँदै त्यसबाट निस्कियो । 27 अनि सबै मानिस छक्‍क परेर एक-आपसमा भन्‍न लागे, “यो के हो? अधिकारसहितको एउटा नयाँ शिक्षा! यिनले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्छन् र तिनीहरूले यिनको आज्ञा मान्छन्!” 28 उहाँको बारेमा भएको समाचार तुरुन्तै गालीलका सबै क्षेत्रमा जताततै फैलियो । 29 सभाघरबाट बाहिर निस्‍कनुभएपछि उहाँहरू याकूब र यूहन्‍नासँगै सिमोन र अन्द्रियासको घरमा आउनुभयो । 30 अब सिमोनकी सासू ज्वरो आएर सुतिरहेकी थिइन्, र तिनीहरूले तिनको विषयमा झट्टै येशूलाई बताए । 31 यसकारण उहाँ आउनुभयो र तिनको हातमा समाएर तिनलाई उठाउनुभयो, र ज्वरोले तिनलाई छोडिहाल्यो, र तिनले उहाँहरूको सेवा गर्न थालिन् । 32 त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले बिरामी भएका र भूत लागेका सबैलाई उहाँकहाँ ल्याए । 33 सारा सहर नै त्यो घरको ढोकामा भेला भयो । 34 उहाँले विभिन्‍न प्रकारका बिमारी भएका रोगीहरूलाई निको पार्नुभयो र धेरै भूतहरू निकाल्नुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्थे । 35 उहाँ बिहान सबेरै अँध्यारो हुँदा नै उठ्नुभयो; उहाँ एकान्त ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्नुभयो । 36 सिमोन र तिनीसँग भएकाहरूले उहाँलाई खोजे । 37 तिनीहरूले उहाँलाई भेट्टाए र भने, “सबैले तपाईंलाई खोजिरहेका छन् ।” 38 उहाँले भन्‍नुभयो, “हामी कतै वरिपरि सहरहरूमा जाऔं, ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ । त्यसैको लागि म यहाँ आएँ ।" 39 उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालीलभरि जानुभयो । 40 एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो । त्यसले उहाँलाई बिन्ती गरिरहेको थियो, त्यसले घुँडा टेक्‍यो र उहाँलाई भन्यो, “यदि तपाईंले चाहनुभयो भने, तपाईंले मलाई शुद्ध गर्न सक्‍नुहुन्छ ।” 41 येशू दयाले भरिनुभयो र आफ्नो हात फैलाएर त्यसलाई छुनुभयो, अनि भन्‍नुभयो, “म चाहन्छु, तिमी शुद्ध होइजाऊ ।” 42 तुरुन्तै कुष्‍ठ रोगले त्यसलाई छोड्‍यो र त्यो शुद्ध भयो । 43 येशूले त्यसलाई कडाइका साथ चेतावनी दिनुभयो र त्यसलाई पठाउनुभयो । 44 उहाँले त्यसलाई भन्‍नुभयो, “कसैलाई केही नभन, तर जाऊ र पूजाहारीकहाँ आफैंलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम तिनीहरूलाई गवाहीको रूपमा तिम्रो शुद्धिकरणको निम्ति बलि चढाऊ ।” 45 तर त्यो व्‍यक्‍ति गयो र सबैलाई भन्‍न थाल्यो अनि कुरा यति धेरै फैलियो, कि येशू कुनै पनि सहरमा खुल्लमखुल्ला जान सक्‍नुभएन । यसकारण उहाँ एकान्त ठाउँहरूमा बस्‍नुभयो, र मानिसहरू चारैतिरबाट उहाँकहाँ आए ।