अध्याय २

1 तीन दिनपछि गालीलको कानामा एउटा विवाह थियो, र येशूकी आमा त्यहाँ थिइन् । 2 विवाहमा येशू र उहाँका चेलाहरूलाई निम्तो दिइएको थियो । 3 जब दाखमद्य सकियो, येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन ।” 4 येशूले तिनलाई भन्‍नुभयो, “हे नारी, तपाईं किन मकहाँ आउनुहुन्छ? मेरो समय अझ आइसकेको छैन ।” 5 उहाँकी आमाले सेवकहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे भन्‍नुहुन्छ, त्यही गर ।" 6 अब त्यहाँ यहूदीको शुद्ध हुने विधिको लागि प्रत्येकमा झण्डै एक सय लिटर अटाउने छवटा ढुङ्गाका भाँडाहरू थिए । 7 येशूले तिनीहरूलाई भन्‍नुभयो, “भाँडाहरूमा पानी भर ।” त्यसैले तिनीहरूले पानी मुखसम्मै भरिदिए । 8 तब उहाँले सेवकहरूलाई भन्‍नुभयो, “अब अलिकति लगेर भोजका मुखियाकहाँ लैजाओ ।" तिनीहरूले त्यसै गरे । 9 भोजका मुखियाले दाखमद्य बनेको त्यो पानी चाखे, तर यो कहाँबाट आएको भन्‍ने तिनलाई थाहा थिएन (तर पानी भर्ने सेवकहरूलाई थाहा थियो) । तब तिनले दुलहालाई बोलाए 10 र तिनलाई भने, “हरेक मानिसले असल दाखमद्य पहिले बाँड्छ, र तिनीहरू मातेपछि सस्तो दाखमद्य बाँड्छन् । तर तिमीले त असल दखमद्य अझसम्म राखिछोडेका छौ ।” 11 गालीलको कानामा येशूले गर्नुभएको यो पहिलो चिन्‍ह थियो, र उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, र उहाँका चेलाहरूले उहाँलाई विश्‍वास गरे । 12 यसपछि येशू, उहाँकी आमा, उहाँका भाइहरू, र उहाँका चेलाहरू कर्फनहुममा झरे, र त्यहाँ तिनीहरू केही दिनसम्म बसे । 13 अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो, र येशू यरूशलेममा जानुभयो । 14 उहाँले मन्दिरमा गोरुहरू, भेडाहरू र परेवाहरू बेच्‍नेहरूलाई भेट्टाउनुभयो, र पैसा साट्नेहरू त्यहाँ बसिरहेका थिए । 15 त्यसैले उहाँले डोरीहरूको एउटा कोर्रा बनाउनुभयो र दुइटै भेडाहरू र गोरुहरूसहित तिनीहरू सबैलाई मन्दिरबाट बाहिर खेद्नुभयो । उहाँले पैसा साट्नेहरूका पैसा छरपष्‍ट पारिदिनुभयो र तिनीहरूका टेबुलहरू पल्टाइदिनुभयो । 16 परेवा बेच्‍नेहरूलाई उहाँले भन्‍नुभयो, “यी कुराहरूलाई यहाँबाट लैजाओ । मेरा पिताको घरलाई बजार बनाउन छोड ।” 17 उहाँका चेलाहरूले यस्तो लेखिएको कुरा सम्झे, “तपाईंको घरको जोशले मलाई जलाउनेछ ।” 18 तब यहूदीहरूका अधिकारीहरूले उहाँलाई प्रत्युत्तर दिए, र भने, “तपाईंले यी कुराहरू गरिरहनुभएको हुनाले तपाईंले हामीलाई के चिन्ह देखाउनुहुनेछ?” 19 येशूले जवाफ दिनुभयो, “यो मन्दिरलाई भत्काओ र तीन दिनमा म यसलाई खडा गर्नेछु ।” 20 तब यहूदी अधिकारीहरूले भने, “यो मन्दिर छयालिस वर्षमा बनाइयो, र तपाईं यसलाई तीन दिनमा खडा गर्नुहुनेछ?” 21 तर उहाँले आफ्नो शरीरको मन्दिरबारे बताइरहनुभएको थियो । 22 उहाँ मृत्युबाट जीवित भई उठ्नुभएपछि, उहाँका चेलाहरूले उहाँले यो भन्‍नुभएको थियो भनी सम्‍झे, र तिनीहरूले धर्मशास्‍‍त्र र येशूले भन्‍नुभएको यो भनाइमाथि विश्‍वास गरे । 23 अब उहाँ निस्तार-चाडको बेलामा यरूशलेममा हुनुहुँदा जब धेरै जनाले उहाँले गर्नुभएका चिन्‍हहरू देखे, तिनीहरूले उहाँको नाउँमा विश्‍वास गरे । 24 तर येशूले तिनीहरूलाई भरोसा गर्नुभएन, किनभने उहाँले तिनीहरू सबैलाई चिन्‍नुहुन्थ्यो, 25 किनभने मानिसको बारेमा उहाँलाई कसैले गवाही दिनुपर्दैनथ्यो, किनकि मानिसभित्र के छ भन्‍ने उहाँ जान्‍नुहुन्थ्यो ।