अध्याय १२

1 निस्तार-चाडको छ दिन अगाडि येशू बेथानिया आउनुभयो, जहाँ उहाँले मृत्युबाट जीवित पार्नुभएका लाजरस थिए । 2 त्यसैले तिनीहरूले उहाँको लागि बेलुकीको खाना तयार पारे, मार्थाले सेवा-सत्कार गरिरहेकी थिइन्, तर येशूसँगै टेबुलमा ढल्किरहेकाहरूमध्ये लाजरस एक थिए । 3 तब मरियमले आधा लिटर जति शुद्ध जटामसीले बनेको बहुमूल्य अत्तर लिइन्, त्यसले येशूको पाउ अभिषेक गरिन्, अनि तिनको आफ्नो कपालले उहाँको पाउ पुछिन् । त्यो घर अत्तरको सुगन्धले भरियो । 4 उहाँका चेलाहरूमध्ये एक जना यहूदा स्करियोत जसले उहाँलाई विश्‍वासघात गर्ने थियो, त्यसले भन्यो, 5 “यो अत्तर तिन सय चाँदीका सिक्‍कामा बेचेरे गरिबहरूलाई किन दिइएन?” 6 अब त्यसले यो कुरा गरिबहरूको वास्ता गरेर भनेको थिएन, तर त्यो चोर भएकोले यसो भन्यो । त्यससँग पैसाको थैलो थियो र यसमा राखिएकोबाट चोर्ने गर्थ्यो । 7 येशूले भन्‍नुभयो, “तिनीसँग मेरो दफनको दिनको लागि जे छ, त्यो राख्‍न देऊ । 8 गरिबहरू त तिमीहरूसँग सधैं हुनेछन् । तर म तिमीहरूसँग सधैं हुनेछैनँ ।” 9 अब यहूदीहरूको ठुलो भीडले येशू त्यहाँ हुनुहुन्छ भन्‍ने थाहा पायो र तिनीहरू येशूको निम्ति मात्र होइन, तर लाजरसलाई हेर्न पनि आए, जसलाई येशूले मृत्युबाट जीवित पार्नुभएको थियो । 10 मुख्य पूजाहारीहरूले एकसाथ षड्‍यन्‍‍त्र रचे, ताकि तिनीहरूले लाजरसलाई पनि मार्न सकून्; 11 किनकि तिनको कारण धेरै यहूदीहरू भड्‌किएर येशूमा विश्‍वास गरे । 12 अर्को दिन चाडमा ठुलो भीड आयो । जब येशू यरूशलेममा आउँदै हुनुहुन्छ भन्‍ने तिनीहरूले सुने, 13 तिनीहरूले खजुरको बोटका हाँगाहरू लिए र उहाँलाई भेट्न गए, अनि उच्‍च सोरमा यसो भने, “होसन्‍ना! परमप्रभुको नाउँमा आउनुहुने इस्राएलका राजा धन्यको हुनुहुन्छ ।” 14 येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो र त्यसमाथि चढ्नुभयो; जस्तो लेखिएको थियो, 15 “सियोनकी छोरी नडराऊ; हेर, तिम्रा राजा गधाको बछेडामा चढेर आउँदै हुनुहुन्छ ।” 16 उहाँका चेलाहरूले सुरूमा यी कुराहरू बुझेनन्; तर जब येशू महिमित हुनुभयो, तब उहाँको विषयमा यी कुराहरू लेखिएका थिए र यी कुराहरू तिनीहरूले उहाँकै निम्ति गरेका थिए भनी तिनीहरूले सम्झे । 17 अब उहाँले लाजरसलाई चिहानबाट बाहिर बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग भएको भीडले गवाही दियो । 18 यही कारणले गर्दा पनि भीड उहाँलाई भेट्न गयो, किनभने उहाँले यो चिन्‍ह गर्नुभएको थियो भन्‍ने तिनीहरूले सुने । 19 यसकारण फरिसीहरूले एक-आपसमा भने, “हेर, तिमीहरू केही पनि गर्न सक्दैनौ; हेर, संसारै त्यसको पछि लागेको छ ।” 20 अब चाडमा आराधना गर्न माथि गइरहेका तिनीहरूमध्ये केही ग्रीकहरू पनि थिए । 21 तिनीहरू फिलिपकहाँ गए जो गालीलको बेथसेदाका थिए, र तिनलाई यसो भन्दै बिन्ती गरे, “महाशय, हामी येशूलाई भेट्न चाहन्छौं ।” 22 फिलिपले गएर अन्द्रियासलाई भने; अन्द्रियास फिलिपसँग गए, र तिनीहरूले येशूलाई भने । 23 येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “मानिसका पुत्रको निम्ति महिमित हुने घडी आएको छ । 24 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना जबसम्म माटोमा झरेर मर्दैन, त्यो आफैं एक्लो रहन्छ; तर यदि त्यो मर्छ भने यसले धेरै फल फलाउनेछ । 25 जसले आफ्नो जीवनलाई प्रेम गर्छ त्यसले त्यो गुमाउनेछ; तर जसले यस संसारमा आफ्नो जीवनलाई घृणा गर्छ त्यसले त्यो अनन्त जीवनको लागि जोगाइराख्‍नेछ । 26 यदि कसैले मेरो सेवा गर्छ भने, त्यसले मलाई पछ्‍याओस्; र म जहाँ हुन्छु त्यहाँ मेरो सेवक पनि हुनेछ । यदि कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको आदर गर्नुहुनेछ । 27 अब मेरो प्राण दुःखित भएको छ र म के भनूँ? 'हे पिता, मलाई यस घडीबाट बचाउनुहोस्'? तर यही कारणको निम्ति म यस घडीमा आएँ । 28 हे पिता, तपाईंको नाउँ महिमित पार्नुहोस् ।” तब स्वर्गबाट एउटा आवाज आयो, र भन्‍यो, “मैले त्यो महिमित पारेको छु र म फेरि महिमित पार्नेछु ।” 29 तब उहाँको छेउमा उभिने भीडले यो आवाज सुने, र तिनीहरूले मेघ गर्जेको हो भने । अरूहरूले भने, “स्वर्गदूत तिनीसँग बोलेका हुन् ।” 30 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “यो आवाज मेरो निम्ति आएको होइन, तर तिमीहरूका निम्ति हो ।” 31 अब यो संसारको न्याय हुन्छः अब यस संसारको शासक बाहिर फ्याँकिनेछ । 32 अनि जब म पृथ्वीबाट उचालिन्छु, म सबैलाई आफूतिर खिंच्‍नेछु ।” 33 उहाँ कस्तो किसिमको मृत्यु मर्नुहुनेछ भन्‍ने सङ्केत गर्न उहाँले यो कुरा भन्‍नुभएको थियो । 34 भीडले उहाँलाई जवाफ दियो, “हामीले व्यवस्थाबाट सुनेका छौं, कि ख्रीष्‍ट सधैं रहनुहुनेछ । तपाईं कसरी भन्‍नसक्‍नुहुन्छ, ‘मानिसका पुत्र उचालिनुपर्छ?’ यो मानिसका पुत्र को हुन्?” 35 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “केही समयको निम्ति ज्योति तिमीहरूसँग अझै हुनेछ । तिमीहरूसँग ज्योति हुँदा हिंड, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस् । जो अन्धकारमा हिंड्छ त्यो कहाँ जाँदैछ भनी त्यसलाई थाहा हुँदैन । 36 तिमीहरूसँग ज्योति हुँदा नै त्यो ज्योतिमा विश्‍वास गर, ताकि तिमीहरू ज्योतिका सन्तान हुन सक ।” 37 तिनीहरूको सामु येशूले धेरै चिन्‍हहरू गर्नुभएतापनि तिनीहरूले उहाँमाथि अझै पनि विश्‍वास गरेनन् 38 ताकि यशैया अगमवक्‍ताको वचन पूरा होस्, जसमा तिनले भने, “परमप्रभुको, हाम्रो समाचार कसले विश्‍वास गरेको छ, र परमप्रभुको बाहुली कसलाई प्रकट गरिएको छ?” 39 यसैकारण तिनीहरूले विश्‍वास गर्न सकेनन्, किनकि यशैयाले यसो पनि भनेका थिए, 40 “उहाँले तिनीहरूका आँखा अन्धो तुल्याइदिनुभएको छ, र उहाँले तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ, नत्रता तिनीहरूले आफ्ना आँखाले देख्‍नेछन् र आफ्ना हृदयले बुझ्‍नेछन् र फर्किनेछन्, अनि म तिनीहरूलाई निको पार्नेछु ।” 41 यशैयाले यी कुराहरू भने, किनभने तिनले येशूको महिमा देखे र उहाँको विषयमा बोले । 42 तरै पनि शासकहरूमध्ये धेरैले येशूमा विश्‍वास गरे; तर फरिसीहरूको कारणले गर्दा तिनीहरूले यसलाई स्वीकार गरेनन्, ताकि तिनीहरूलाई सभाघरमा रोक नलगाइयोस् । 43 तिनीहरूले परमेश्‍वरबाट आउने महिमाभन्दा मानिसहरूबाट आउने महिमा बढी रुचाए । 44 येशूले ठुलो सोरमा भन्‍नुभयो, “जसले ममाथि विश्‍वास गर्छ त्यसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेमाथि पनि विश्‍वास गर्छ, 45 र जसले मलाई देख्‍छ त्यसले मलाई पठाउनुहुनेलाई देख्‍छ ।” 46 म संसारमा ज्योतिको रूपमा आएको छु ताकि जसले मलाई विश्‍वास गर्छ त्यो अन्धकारमा नरहोस् । 47 यदि कसैले मेरा वचन सुन्छ, तर ती पालना गर्दैन भने म त्यसको न्याय गर्दिनँ; किनकि म संसारको न्याय गर्न आएको होइनँ, तर संसारलाई बचाउन आएको हुँ । 48 जसले मलाई इन्कार गर्छ, र मेरा वचन ग्रहण गर्दैन, त्यसको न्याय गर्ने एक जना हुनुहुन्छ । मैले बोलेको मेरो वचनले नै अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ । 49 किनकि म मेरो आफ्नै तर्फबाट बोलिनँ, तर मलाई पठाउनुहुने पिता नै हुनुहुन्छ, जसले के भन्‍ने र के बोल्ने विषयमा मलाई आज्ञा दिनुभएको छ । 50 म जान्दछु कि उहाँको आज्ञा अनन्त जीवन हो, त्यसैले म त्यही भन्छु— पिता मसँग जस्तो बोल्नुभएको छ, म त्यस्तै बोल्दछु ।"