1 परमेश्वर र प्रभु येशू ख्रीष्टका सेवक याकूबबाट, छरपष्ट भएका बाह्र कुललाई अभिवादन! 2 मेरा भाइहरू हो, तिमीहरूले अनेकौं किसिमका समस्याहरूको अनुभव गर्दा त्यसलाई पूर्ण रूपमा आनन्द सम्झ, 3 तिमीहरू जान्दछौ, कि तिमीहरूको विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ । 4 धैर्यलाई पूर्ण रूपमा काम गर्न देओ, ताकि तिमीहरू सम्पूर्ण रूपमा सुधारिएको र पूर्ण हुन सक र तिमीहरूमा कुनै कुराको कमी नहोस् । 5 तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने, माग्ने जति सबैलाई उदारतासँग र नहप्काइकन दिनुहुने परमेश्वरसँग त्यसले मागोस् र उहाँले त्यसलाई त्यो दिनुहुनेछ । 6 तर त्यसले शङ्का नगरी विश्वाससाथ मागोस् । किनकि शङ्का गर्नेचाहिं बतासले हुत्त्याउने र यताउता पल्टाउने समुद्रको छालजस्तो हुन्छ । 7 त्यस्तो व्यक्तिले प्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस्, 8 त्यस्तो व्यक्ति दोहोरो मनको हुन्छ, र आफ्ना सबै चालमा अस्थिर हुन्छ । 9 दीन भाइले आफ्नो उच्च अवस्थामा गर्व गरोस्, 10 तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने त्यो घाँसमा फलेको जङ्गली फुलझैं ओइलाएर बितिजानेछ । 11 किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्छ । फुल झर्छ, र त्यसको सौन्दर्य नष्ट हुन्छ । त्यसैगरी, धनी मानिस आफ्नो यात्राको बीचमा नै बिलाएर जानेछ । 12 त्यो मानिस धन्यको हो जो परीक्षामा स्थिर रहन्छ । किनकि परीक्षामा सफलता प्राप्त गरिसकेपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ । 13 परीक्षामा पर्दा “म परमेश्वरबाट परीक्षामा परेको छु” भनी कसैले पनि नभनोस् किनभने दुष्टबाट परमेश्वरको परीक्षा हुँदैन न त उहाँ आफैंले पनि कसैको परीक्षा गर्नुहुन्छ । 14 तर प्रत्येक व्यक्ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्छ, जसले त्यसलाई बहकाउँछ र प्रलोभनमा पार्छ । 15 अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ, अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ । 16 मेरा प्रिय भाइहरू हो, धोकामा नपर । 17 हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो । ज्योतिका पिताबाट त्यो तल आउँछ । उहाँमा कुनै परिवर्तन हुने वा बदली हुने छाँया हुँदैन। 18 उहाँले सृष्टि गर्नुभएका सबै कुरामध्ये हामी पहिलो फलझैं हुन सकौं भनेर परमेश्वरले सत्यको वचनद्वारा हामीलाई जीवन दिनलाई चुन्नुभयो । 19 मेरो प्रिय भाइहरू हो, तिमीहरू यो जान्दछौः हरेक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस् । 20 किनकि मानिसको रिसले परमेश्वरको धार्मिकता पूरा गर्दैन । 21 यसकारण, सबै पापमय घिनलाग्दा कुरा र दुष्टताको प्रचुरतालाई मिल्काइदेओ । रोपिएको वचनलाई विनम्रतामा धारण गर जसले तिमीहरूका प्राणलाई बचाउन सक्छ । 22 आफैंलाई धोका दिने गरी वचन सुन्ने मात्र होइन, तर पालन पनि गर । 23 किनकि यदि कोही वचन सुन्ने मात्र व्यक्ति हो, तर पालन गर्ने व्यक्ति होइन भने त्यो ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्ने मानिसजस्तै हो । 24 त्यसले आफैंलाई जाँच्छ र गइहाल्छ र त्यो कस्तो थियो भन्ने कुरा तुरुन्तै बिर्सिहाल्छ । 25 तर सुनेर बिर्सने व्यक्ति मात्र नभई स्वतन्त्रताको सिद्ध व्यवस्थालाई होसियारीपूर्वक ध्यान दिने र निरन्तर त्यस्तै गरिरहने व्यक्तिचाहिँ त्यसले गर्ने कामहरूमा आशिषित हुनेछ । 26 यदि कसैले आफैंलाई धार्मिक ठान्छ, तर त्यसले आफ्नो जिब्रोलाई नियन्त्रण गर्दैन भने त्यसले आफ्नो हृदयलाई धोका दिन्छ र त्यसको धर्म व्यर्थको हुन्छ । 27 हाम्रा परमेश्वर र पिताको सामु पवित्र र निष्कलङ्क धर्म यही होः अनाथ र विधवाहरूको कष्टमा तिनीहरूलाई सहायता गर्नु, अनि आफैंलाई संसारबाट दोषरहित राख्नु ।