1
दारा राजाको दोस्रो बर्षको छैटौं महिनाको पहिलो दिनमा, शालतिएलका छोरा, यहूदाका राज्यपाल यरुबाबेल, र यहोसादाकका छोरा, प्रधान पूजाहारी यहोशूकहाँ अगमवक्ता हाग्गैद्वारा परमप्रभुको यस्तो वचन आयो,
2
“सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: यी मानिसहरू भन्छन्, ‘हामी आएर परमप्रभुको भवन निर्माण गर्ने समय अझै आएको छैन’ ।”
3
त्यसपछि अगमवक्ता हाग्गैद्वारा परमप्रभुको यस्तो वचन आयो,
4
“यो भवन ध्वस्त हुँदा के यो तिमीहरू आफ्ना सुन्दर घरहरूमा बस्ने समय हो?
5
यसैकारण सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: आफ्ना मार्गहरूमाथि ध्यान देओ!
6
तिमीहरूले प्रशस्त बीउ छरेका छौ, तर फसल भने थोरै मात्र ल्याउँछौ, तिमीहरू खान्छौ तर पर्याप्त छैन । तिमीहरू पिउँछौ, तर प्रशस्त मद्य तिमीहरूसँग छैन । तिमीहरू लुगा लगाउँछौ तर आफैँलाई तातो राख्न सक्दैनौ, र ज्यालादारीमा काम गर्नेहरूले पैसा कमाउँछन् तर तिनीहरूले ती प्वालहरू भएका झोलामा राख्छन्!”
7
सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: “आफ्ना मार्गहरूमाथि ध्यान देओ ।
8
माथि पर्वतमा जाओ, काठहरू ल्याओ, र मेरो भवन बनाओ, अनि म त्यसमा आनन्द मनाउनेछु, र म महिमित हुनेछु! - परमप्रभु भन्नुहुन्छ ।”
9
“तिमीहरूले धेरै कुराको खोजी गर्यौ, तर हेर! तिमीहरूले घरमा थोरै कुरा ल्यायौ, किनभने मैले ती उडाइदिएँ । किन?” सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ । “किनभने मेरो भवन भग्नावशेषको बीचमा छ, तर तिमीहरू हरेक भने आफ्नै घर बनाउन लागिपरेका छौ ।
10
यसैकारण आकाशले आफ्नो शीत रोकिदिन्छ, र पृथ्वीले आफ्नो उब्जनी दिंदैन।
11
मैले भूमि, पर्वतहरू, अन्न, नयाँ मद्य, तेल, पृथ्वीका उब्जनीहरू, मानिसहरू, पशुहरू, र तिमीहरूका हातका परिश्रममाथि अनिकाल बोलाएको छु!”
12
अनि शालतिएलका छोरा यरुबाबेल, र येहोसादाकका छोरा प्रधान पूजाहारी यहोशूले, बाँकी रहेका सबै मानिसका साथमा तिनीहरूका परमेश्वर परमप्रभुको आवाज र अगमवक्ता हाग्गैका वचनलाई पालन गरे, किनभने परमप्रभु तिनीहरूका परमेश्वरले तिनलाई पठाउनुभएको थियो र मानिसहरूले परमप्रभुको भय माने ।
13
त्यसपछि परमप्रभुका समाचारवाहक, हाग्गैले मानिसहरूलाई यसो भनी परमप्रभुको सन्देश सुनाए, “म तिमीहरूसँग छु! - परमप्रभु घोषणा गर्नुहुन्छ!”
14
यसकारण परमप्रभुले यहूदाका राज्यपाल, शालतिएलका छोरा यरुबाबेल, येहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू, र सबै बाँकी रहेका मानिसहरूका आत्मालाई उत्तेजित गरिदिनुभयो, त्यसैले तिनीहरू गए र तिनीहरूका परमेश्वर सेनाहरूका परमप्रभुको भवनमा काम गरे ।
15
दारा राजाको दोस्रो वर्षको छैटौं महिनाको चौबीसौं दिनमा यो भयो ।