अध्याय ४

1 यसकारण, म, प्रभुको निम्ति कैदीको रूपमा, जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यस बोलावटमा उचित ढंगले चल्नको निम्ति म तिमीहरूलाई आग्रह गर्छु । 2 म तिमीहरुलाई आग्रह गर्छु कि एक अर्कालाई प्रेममा स्वीकार गर्दै ज्यादै विनम्रता र कोमलता र धैर्यतामा जिओ । 3 आत्माको एकतालाई शान्तिको बन्धनमा राख्‍नलाई उत्कृष्‍ट तरिकाले प्रयत्‍न गर । 4 शरीर एउटै छ र आत्मा पनि एउटै हुनुहुन्छ, जसरी तिमीहरू पनि एउटै आशामा बोलाइएका थियौ । 5 र एउटै प्रभु , एउटै विश्‍वास, एउटै बप्‍तिस्मा, 6 र एउटै परमेश्‍वर र सबैका पिता, जो सबै कुरामाथि र सबै कुराभित्र र सबै कुरामा हुनुहुन्छ । 7 हामी प्रत्येकलाई ख्रीष्‍टको वरदानको नापअनुसार अनुग्रह दिइएको छ । 8 जसरी धर्मशास्‍‍‍‍त्रले भन्छः “जब उहाँ उच्‍च स्थानमा उक्लनुभयो, उहाँले कैदीहरूलाई कैदमा राख्‍नुभयो, र उहाँले मानिसहरूलाई वरदानहरू दिनुभयो ।” 9 “उहाँ उक्लनुभयो” भन्‍ने भनाइको अर्थ के हो त, यस बाहेक उहाँ पृथ्वीको तल्लो स्थानमा पनि ओर्लनुभयो? 10 उहाँ जो तल ओर्लनुभयो उहाँ नै सबै स्वर्गहरूभन्दा धेरै माथि उक्लनुभयो, ताकि उहाँले सबै कुराहरूलाई भरिपूर्ण गरुन्। 11 ख्रीष्‍टले कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई पास्टरहरू र शिक्षकहरू हुन दिनुभयो । 12 परमेश्‍वरका पवित्र जनहरूलाई सेवा कार्यको निम्ति, ख्रीष्‍टको शरीरलाई निर्माण गर्नेको निम्ति सुसज्जित गर्नलाई उहाँले यो गर्नुभयो । 13 विश्‍वासको एकता र परमेश्‍वरका पुत्रको ज्ञानमा हामी सबै नपुगेसम्म उहाँले यो गर्नुहुन्छ, ताकि हामी परिप‍क्‍व हुन सकौं र ख्रीष्‍टको पूर्णताको उचाइमा पुग्‍न सकौं । 14 ख्रीष्‍टले हामीलाई निर्माण गर्नुहुन्छ ताकि हामी बालकहरू जस्तै नहोऔं जो छालहरूद्वारा यता-उता बरालिन्छन्, सबै शिक्षाको बेगसँगै र मानिसहरूको धोखा दिने चलाखीपनको छलद्वारा बहकिन्छन्। 15 बरु प्रेममा सत्य बोल्दै, हाम्रो शिर, ख्रीष्‍टमा हामी सबै क्षेत्रमा वृद्धि हुनुपर्छ । 16 ख्रीष्‍टले सम्पूर्ण शरीर बनाउनुहुन्छ र हरेक सहयोगी तन्तुहरूद्वारा त्यो जोडिन्छ र एक साथ गाँसिन्छ र जब प्रत्येक भागले काम गर्छ, यसले शरीरको वृद्धि गराउँछ ताकि यो आफैं प्रेममा निर्माण होस् । 17 त्यसैले, म तिमीहरूलाई भन्छु र प्रभुमा जोड दिन्छु, कि गैरयहूदीहरू आफ्ना विचारहरूको व्यर्थतामा हिंडे झैं अबदेखि तिमीहरू चाहिं हिंड्नुहुँदैन । 18 तिनीहरू आफ्ना बुझाइमा अन्धा भएका छन्, तिनीहरूका हृदयको कठोरताको कारण, तिनीहरूमा भएको अज्ञानताले तिनीहरू परमेश्‍वरको जीवनबाट अलग गरिएका छन् । 19 तिनीहरू निर्लज्ज भएका छन् र आफैलाई कामुकताको निम्ति सुम्पिदिएका छन् र तिनीहरू लालचका साथ हर किसिमका अशुद्धताको अभ्यास गर्छन् । 20 तर तिमीहरूले यस्तो तरिकाले ख्रीष्‍टको बारेमा जानेका होइनौ । 21 म ठान्छु कि तिमीहरूले उहाँको बारेमा सुनेका छौ र येशूमा नै सत्यता भएको हुनाले तिमीहरू उहाँमा नै सिकाइएका थियौ । 22 तिमीहरूको जीवनको पुरानो आचरणअनुसार गरिएका कुराहरू, पुरानो मनुष्यता त्याग्‍न तिमीहरूलाई सिकाइएको थियो । यही पुरानो मनुष्यता त्यसका छली अभिलाषाहरूका कारण भ्रष्‍ट छ । 23 तिमीहरूलाई आफ्नो मनको आत्मामा पुनः नयाँ हुन, 24 र परमेश्‍वरको स्वरूपमा सत्य धार्मिकता र पवित्रतामा सृजना गरिएको नयाँ मनुष्यता धारण गर्न सिकाइएको थियो। 25 त्यसैले, असत्यतालाई त्याग र तिमीहरू प्रत्येकले आफ्नो छिमेकीसँग सत्य बोल किनभने हामी एकअर्काका सदस्यहरू हौं। 26 रिस गर, तर पाप नगर । तिमीहरू रिसाइरहेकैमा घामलाई अस्ताउन नदेओ । 27 दुष्‍टलाई मौका नदेओ । 28 चोर्नेले अब उसो नचोरोस् । बरु आवश्‍यकतामा रहेका मानिसहरूलाई सहायता गर्नको निम्ति त्यसले आफ्ना हातहरूलाई उपयोगी काममा लगाएर परिश्रम गरोस् । 29 तिम्रो मुखबाट कुनै अपशब्द ननिस्कोस् । तर यस्ता शब्दहरू मात्र प्रयोग गर जुन यसको आवश्यता परेकाहरूलाई सुधार गर्नलाई उपयोगी हुन्छ ताकि तिम्रा शब्दहरूले सुन्‍ने मानिसहरूलाई अनुग्रह देओस्। 30 र परमेश्‍वरको पवित्र आत्मालाई दुःखित नतुल्याओ किनकि छुटकाराको दिनको निम्ति उहाँद्वारा नै तिमीहरूमा छाप लगाइएको थियो । 31 सबै तीतोपना, क्रोध, रिस, झगडा र अपमान सहित सम्पूर्ण किसिमका दुष्‍टता तिमीहरूले त्याग । 32 एकअर्का प्रति दयालु होओ, कृपालु मनका होओ, जसरी ख्रीष्‍टमा परमेश्‍वरले तिमीहरूलाई क्षमा दिनुभयो त्यसरी नै तिमीहरूले पनि एकअर्कालाई क्षमा देओ ।