अध्याय २

1 र तिमीहरूको लागि, तिमीहरू त आफ्ना अपराधहरू र पापहरूमा मरेका थियौं, 2 यस संसारको रीतिअनुसार तिमीहरू यस्ता कुराहरूमा एकपल्ट हिंडेका थियौ । आकाशको शक्तिको शासक अनुसार तिमीहरू बाँचिरहेका थियौ, त्यो आत्मा जो अनाज्ञाकारिताका सन्तानहरूमा काम गर्थ्यो । 3 हामी एकपल्ट त्यही व्यक्तिहरू बीच बाँचिरहेका थियौं, आफ्ना शरीरको खराब इच्छाहरु पूरा गर्दै, र शरीर र दिमागको इच्छा अनुसार काम गर्ने गर्‍थ्‍यौं । हामी अरू मानिसहरू जस्तै स्वभावले क्रोधका सन्तान थियौं। 4 तर परमेश्‍वर दयामा धनी हुनुहुन्छ आफ्नो महान् प्रेमको कारण जसद्वारा उहाँले हामीलाई प्रेम गर्नुभयो । 5 जब हामी आफ्ना अपराधहरूमा मरेका थियौं, उहाँले हामी सबैलाई सँगै ख्रीष्‍टमा जीवित तुल्याउनुभयो । उहाँको अनुग्रहद्वारा तिमीहरू बचाइएका छौ । 6 ख्रीष्‍ट येशूमा हामीलाई परमेश्‍वरले उठाउनुभएको छ, र परमेश्‍वरले हामीलाई स्वर्गीय स्थानहरूमा येशू ख्रीष्‍टसँगेे बसाल्नुभएको छ । 7 ताकि आउँदा दिनहरूमा उहाँले आफ्नो अथाह अनुग्रहको प्रशस्तता हामीलाई देखाउन ख्रीष्‍ट येशूमा उहाँको दयाद्वारा यो व्यक्त गर्नुभयो । 8 किनकि तिमीहरू अनुग्रहबाट विश्‍वासद्वारा बचाइएका छौ, र यो तिमीहरूबाट आएको होइन, यो परमेश्‍वरको उपहार हो, 9 कामहरूबाट यो होइन, यसैकारण कसैले घमण्ड गर्न सक्दैन । 10 किनकि हामीहरू परमेश्‍वरका कारिगरीहरू, धेरै पहिले देखि नै योजना गर्नुभएको असल काम गर्नको निम्ति ख्रीष्‍ट येशूमा सृजना गरिएका हौं, ताकि हामीहरू ती बमोजिम हिडौं। 11 त्यसकारण यो कुरा सम्झ कि एक समय तिमीहरू शरीरमा गैरयहूदीहरू थियौं । मानिसहरूका हातहरूबाट शरीरमा खतना भएकाहरूले तिमीहरूलाई “बेखातनाको” भनेर बोलाउँथे । 12 किनकि त्यो समयमा तिमीहरू ख्रीष्‍टबाट अलगिएका थियौं, इस्राएलका मानिसहरूका निम्ति परदेशी थियौ, प्रतिज्ञाका करारबाट बिराना थियौं, परमेश्‍वर बिना यस संसारमा तिमीहरूको कुनै आशा थिएन । 13 तर अब येशू ख्रीष्‍टमा तिमीहरू जो एक समय परमेश्‍वरबाट टाढा भएका थियौ येशू ख्रीष्‍टको रगतद्वारा नजिक ल्याइएका छौ । 14 किनकि उहाँ आफै हाम्रो शान्ति हुनुहुन्छ, उहाँले दुईलाई एक बनाउनुभयो । हामीलाई एक अर्कामा विभाजन गर्ने शत्रुताका पर्खालहरू उहाँको शरीरद्वारा भत्काइएका छन् । 15 उहाँले नियमहरू र आज्ञाहरूका कानुनलाई खारेज गरिदिनुभयो ताकि उहाँमा नै दुई मध्ये एउटा नयाँ मानिस सृष्‍टि गर्न, शान्ति बनाउनुभयो। 16 ख्रीष्‍टले क्रूसद्वारा दुवै मानिसहरूलाई परमेश्‍वरमा एकै शरीरमा मेलमिलाप गर्नुभयो , शत्रुतालाई नाश गर्नुभयो । 17 येशू आउनुभयो र धेरै टाढा भएकाहरूलाई शान्तिको असल समाचार र नजिक भएकाहरूलाई शान्तिको घोषणा गर्नुभयो । 18 किनकि येशूद्वारा हामी दुवै एउटै आत्मामा पिताकहाँ जान सक्छौं । 19 त्यसकारण, अब तिमी गैरयहूदीहरू कोही पनि नौलो मानिस वा परदेशी छैनौ । तर सबै परमेश्‍वरको निम्ति अलग गरिएकाहरू सँगै उहाँको राज्यको संगी नागरिकहरू हौ र परमेश्‍वरको परिवारका सदस्यहरू हौ । 20 तिमीहरू प्रेरित र अगमवक्ताहरूको जग माथि बसालेर निर्माण गरिएका हौ र ख्रीष्‍ट येशू आफैं कुने-ढुङ्गो हुनुहुन्छ । 21 येशू ख्रीष्‍टमा उहाँको सारा निर्माण मिल्दै जान्छ र प्रभुमा एउटै मन्दिरको रूपमा बढ्दै जान्छ । 22 अनि उहाँमा नै तिमीहरू पनि पवित्र आत्मामा परमेश्‍वरको वासस्थानको रूपमा सँगै निर्माण भइरहेका छौ ।